रसिक पुटिनको रहष्यमय प्रेम कहानी ! | Khabarhub Khabarhub

रसिक पुटिनको रहष्यमय प्रेम कहानी !



काठमाडौं- यूक्रेनमाथि विध्वंशात्मक युद्ध प्रारम्भ गरेका रुसका राष्ट्रपति भ्लादिमीर पुटिन सार्वजनिक रुपमा जति क्रुर र निर्दयी देखिन्छन्, उनको निजी जीवन उत्तिकै रसिक र रोमान्सपूर्ण छ। पुटिनको प्रेम सम्बन्धका चर्चा बारम्बार हुने गर्छन्।

राष्ट्रपति पुटिन सार्वजनिक रुपमा आफ्नो परिवार, बालबच्चा र निजी जीवनबारे खासै चर्चा गर्दैनन्। उनले आफ्नो निजी जीवनलाई करिबकरिब गोप्य राखेका छन्। उनले एकपटक मिडिया सामु भनेका थिए, ‘मेरो निजी जीवन पनि छ, तर म त्यसबारे चर्चा गर्न उचित ठान्दिन।’

रुसका राष्ट्रपति पुटिन सार्वजनिक रुपमा जति निर्दयी देखिन्छन्, उनको निजी जीवन उत्तिकै रसिक छ। कयौंसँग पुटिनको प्रेम सम्बन्ध भएको चर्चा बारम्बार हुने गर्छन्।

एक पटक रुसी मिडियालाई पुटिनको निजी जीवनशैलीबारे सामाग्री प्रशारण गर्ने अनुमति दिइयो, जसमा पुटिनले व्यायाम, खानपान र बिहानदेखि साँझसम्मको व्ययस्तता देखाइएको थियो। तर, सो भिडियोमा पनि पुटिनको परिवारलाई कतै देखाइएन।

ल्यूडमिल्लासँग सम्बन्ध विच्छेद
पुटिनको पहिलो विवाह सन् १९८३ मा ल्यूडमिला शक्रेबेनेवासँग भएको थियो, जो पेशाले फ्लाइट अटेन्डेन्ट थिइन्। २५ वर्षीया ल्यूडमिलासँग विवाह गर्दा ३० वर्ष उमेरका पुटिन त्योबेला रुसी गुप्तचर निकाय ‘केजीबी’का एजेन्ट थिए।

३१ वर्षपछि सन् २०१४ मा पुटिन र ल्यूडमिलाबीच सम्बन्ध विच्छेद भयो। ल्यूडमिलाबाट पुटिनका दुई छोरी भए, मारिया र क्याटरिना। जो अचेल ‘लो प्रोफाइल’ जीवन बिताइरहेका छन्। मारिया एक मेडिकल रिसर्चर हुन् र मास्कोमा डच पति जारिट फेसेनसँग छिन्।

अर्की छोरी क्याटरिना एक्रोब्याट डान्सर हुन्। उनी कुनैबेला मास्को स्टेट युनिभर्सिटीमा उच्च पदमा आसिन थिइन्, तर सुरक्षाका कारण उनलाई पुटिनले त्यहाँबाट हटाइदिए। क्याटरिना मनमौजी र रसिक स्वभावकी छिन्, जो रेस्टुराँमा मस्तीका लागि नाम बदली रहन्छिन्।

क्याटरिनाले सन् २०१७ मा रुसका अर्बपति काइली श्यामलावसँग विवाह गरेकी थिइन्, तर हालै उनीहरुबीच सम्बन्ध बिच्छेद भइसकेको छ। दुबै छोरीलाई पुटिनले आफ्नी छोरीको रुपमा कहिल्यै सार्वजनिक पहिचान दिएनन्। उनले एक पटक यसलाई ‘सुरक्षाको कारण’ बताएका थिए।

पुटिनको रहष्यमय प्रेम
पत्नीसँग सम्बन्ध विच्छेदपछि पुटिनको सम्बन्ध कयौं महिलासँग भयो। तीमध्ये दुईपटक ओलम्पिकमा स्वर्ण पदक जितीसकेकी जिम्न्यास्ट एलिना कबावेभासँगको पुटिनको अफेयरको चर्चा विश्वव्यापी छ। तर, त्यसअघि नै एक सफाइ कर्मचारीसँगको उनको प्रेम सम्बन्धबारे सन् २०२० मा मात्र मिडियाले प्रकाश पारेका थिए।

सफाइ कर्मचारी स्वेतलाना क्रिवोनोगिख अहिले करोडौंको मालिक बनेकी छिन्, जोसँग नब्बेको दशकमै पुटिन ‘रिलेशन’मा थिए। सन् २००३ मा दुबै अलग भए। पुटिन र स्वेतलानाबाट एक छोरी एलिजाबेथ भ्लादिमीरोवना (लुइजा)को जन्म भएको थियो, जो अहिले १९ वर्षकी भइसकेकी छन्। लुइजाको जन्मपछि नै पुटिन र स्वेतलाना अलग भएका थिए।

एक पटक पुटिनले भनेका थिए, ‘मेरो एक निजी जीवन छ, जसमा म कसैको चियो चर्चाको अनुमति दिन्न। यसको सम्मान हुनुपर्छ।’

यसपछि पुटिनको सम्बन्ध ३७ वर्षीया पूर्व जिम्नास्ट एलिना कबायेभासँग भएको चर्चा चुलियो। दुई बच्चालाई जन्म दिएलगत्तै एलिना दृश्यमा छैनन्। उनलाई सन् २०१८ मा अन्तिम पटक देखिएको थियो। उनले तिनताक मस्को अस्पतालमा दुई बच्चालाई जन्म दिएकी थिइन् र उनीहरु पुटिनकै सन्तान भएको खबर रुसी पत्रिकामा छापिएको थियो। त्यसयता एलिना बेपत्ता भइन्।

रुसले यूक्रेनमाथि हमला गरेसँगै जब पुटिनको विश्वव्यापी चर्चा भएपछि उनकी प्रेमिका र बच्चाका बारेमा पनि नयाँ नयाँ तथ्यहरु मिडियामा आउन थाले। हालै मात्र ‘पेज सिक्स’ पत्रिकाले दाबी गरेको छ, ‘पुटिनकी प्रेमिका एलिना र उनका सन्तानलाई अहिले स्वीटजरल्याण्डको एक सुरक्षित भवनमा लुकाइएको छ। यूक्रेनसँगको युद्ध नरोकिएसम्म उनीहरुलाई त्यही ठाउँमा राखिनेछ।’

‘पेज सिक्स’का अनुसार स्वीटजरल्याण्डको एउटा काठै काठले बनेको घरमा एलिना र उनका बच्चाहरुलाई राखिएको छ। विश्व राजनीतिमा स्वीटजरल्याण्ड प्रायः तटस्थ हुने भएकाले एलिना र बच्चाहरुलाई पुटिनले त्यहाँ राखेको बताइएको छ। एलिनाले मस्कोमा दुई छोरा र जुम्ल्याहा छोरीलाई जन्म दिएको र उनीहरु चारै जना पुटिनकै भएको पनि पत्रिकाको दाबी छ।

सूत्रको हवाला दिँदै ‘पेज सिक्स’ लेख्छ, ‘जतिबेला पुटिन युक्रेनमा हमला गरेर निर्दोष नागरिकलाई तारो बनाइरहेका छन् र बच्चा मारिरहेका छन्, त्यतिबेला उनको परिवार चाहिँ स्वीटजरल्याण्डमा एउटा निजी र सुरक्षित भवनमा लुकिरहेका छन्। एलिना र सबै बच्चासँग स्वीस पासपोर्ट छ।’

एलिना एक चर्चित र सफल जिम्नास्ट थिइन्, जसले ओलम्पिकमा दुई पटक स्वर्ण पदक, १४ पटक विश्व च्याम्पियन र २५ पटक युरोपेली च्याम्पियन जितिन्। खेलबाट सन्यास लिएपछि उनी राजनीतिमा लागिन् र पुटिनकै यूनाइटेड रसिया पार्टीमा आवद्ध भएर सांसदसमेत बनिन्।

‘द सन’का अनुसार कुनैबेला एक पत्रिकामा एलिनाको अर्धनग्न तस्बिर प्रकाशित भएको थियो र उनले एक चलचित्रमा पनि काम गरिसकेकी छिन्। गायनमा पनि उनको रुची थियो। रुसको नेशनल मिडिया ग्रुपको प्रमुख रहेर पनि उनले केही वर्ष काम गरिन्।

रुसी राष्ट्रपति पुटिन र एलिनाबीचको रोमान्सको चर्चा सन् २००८ मा पहिलो पटक मिडियामा छायो। त्यसअघि सन् २००४ मा एलिनाको नाम रुसी नेता डेभिड मुसेलिआनीसँग जोडिएर चर्चामा थियो। रुसी पत्रिका ‘मोस्कोभ्स्की कोरेस्पोन्देन्त’ले पहिलो पटक खुलासा गरेको थियो कि एलिन र पुटिनबिच प्रेम सम्बन्ध छ। तर, केही समयपछि यो खबरको खण्डन गरियो।

‘मेल अनलाइन’मा प्रकाशित समाचार अनुसार सन् २०१३ मा एलिना स्वयंले खुलासा गरेकी थिइन्, ‘मैले एउटा यस्तो व्यक्तिलाई भेटें, जोसँग म प्रेम गर्छु।’

एलिना र पुटिनको अफेयरको खबरको खण्डन गरिए पनि सन् २०१६ मा एलिनाको हातमा विवाहको औंठी देखियो, जसलाई उनले प्रायः लुकाउन खोजेको देखिन्थ्यो। सन् २०१७ को एक टिभी अन्तर्वार्तामा पनि उनको हातमा सोही औैंठी देखियो, जुन पुटिनले लगाइदिएको चर्चा चल्यो। केही समयपछि उनी गर्भवती भएको चर्चा चल्यो।

२५ वर्षसम्म पुटिनको आफ्नो बेग्लै कोठा थिएन, उनी मातापितासँगै बस्थे। कोठामा मुसा धपाउँदैमा उनी हैरान हुन्थे। कलेज पढनुअघि नै उनले जासुस बन्ने सोच बनाएका थिए।

सन् २०१९ मा अर्को खबर आयो, एलिनाले मास्कोको एक अस्पतालमा दुई बच्चालाई जन्म दिइन्। बच्चाको जन्म एलिनाको सहजताका लागि अस्पतालको भिआइपी फ्लोर पुरै खाली गराइएको रिपोर्ट छापियो। तर, सरकारी दबाबका कारण ‘मोस्कोभ्स्की कोरेस्पोन्देन्त’ले यो खबरलाई इन्टरनेटबाट हटाइदियो। यो पत्रिका मिडया टाइकुन तथा केजीबीकै गुप्तचर एलेक्जेन्डर लेबेदेवको थियो। यो खबर क्रेमलिनका अधिकारीलाई मन परेन। उनीहरुले सो पत्रिका नै बन्द गराइदिए।

गोप्य निजी जीवन
सन् २०१६ मा ‘डेली मिरर’मा एउटा खबर प्रकाशित भयो। सो खबरको दाबी थियो, चर्चित मिडिया टाइकून रुपर्ट मर्डोककी पूर्वपत्नी वेन्डी डेंग र पुटिनबीच ‘गम्भीर सम्बन्ध’छ।

डेंगीलाई चेल्सी एफसीका मालिक रोमन अब्रामोका साथ डुंगामा चढिरहेको देखियो, जो राष्ट्रपति पुटिनका पनि मित्र हुन्। खबरको दाबी थियो, ‘बेन्डी र पुटिन आफ्ना कयौं मित्रहरु साझा गर्छन् भने पुटिन र डेंगबीच के भएको होला भनेर कसलाई थाहा ?’

मोर्डक पूर्व पत्नी डेंग र पुटिनको सम्बन्धको हल्ला धेरै दिन चलेन। किनकी, त्यसलाई पुष्टी गर्ने अन्य दृश्य कतै देखिएन। बरु, जर्मनीका प्रधानमन्त्री टोनी ब्लेयरलाई डेंगले निकै मन पराएको र सम्बन्ध राखेको आरोप लागेको थियो।

डोंगसँगको सम्बन्ध पुष्टि भएन, तर यस्ता हल्लाका कारण पुटिनलाई बेलाबेलामा तनावमा भने पार्ने गरेको छ। यही कारण पुटिन आफ्नो निजी जीवनमा कसैको कुनै प्रकारको चासो मन पराउँदैनन्। यसै कारण उनको निजी जीवन रहष्यले भरिएको छ। आफ्नो निजी जीवनबारे उनी कसैसँग केही भन्दैनन्। आफ्नी प्रथम पत्नीबाट जन्मिएका दुई छोरीलाई समेत उनले सार्वजनिक चर्चाबाट टाढै राख्ने गरेका छन्।

एक पटक पुटिनले भनेका थिए, ‘मेरो एक निजी जीवन छ, जसमा म कसैको चियो चर्चाको अनुमति दिन्न। यसको सम्मान हुनुपर्छ।’

ल्यूडमिलासँगको सम्बन्ध बिच्छेदबारे पनि पुटिनले मिडियालाई केही बताएनन्। बरु, स्वयं ल्यूडमिलाले भनेकी थिइन्, ‘हाम्रो वैवाहिक सम्बन्ध टुटनुको मुख्य कारण के हो भने हामी एकअर्कालाई प्रायः कमै देख्न पाउँछौं। भ्लादीमीर पूर्ण रुपमा आफ्नो काममा व्यस्त छन्। हाम्रा सन्तान ठूला भइसकेका छन् र उनीहरु सबै आफ्नो जीवन बाँचेका छन्। र, वास्तवमा म प्रचारबाजी मन पराउँदिन्।’

पुटिनको प्रेम सम्बन्धबारे मिडियामा मात्र होइन, राजनीतिक तवरमा पनि उपहास हुँदै आयो। पुटिनका राजनीतिक विरोधी एलेक्सी नावाल्नीले ‘पुटिनको पूर्वओलम्पियन जिमनास्टसँग एउटा गोप्य समारोहमा विवाह भएको’ खुला दाबी गरेका थिए, जसलाई पुटिनले कहिल्यै पुष्टि गरेनन्, न त आफ्नो सम्बन्धलाई स्वीकार नै गरे।

मिस बमबमलाई घुरेपछि…
रुस–युक्रेन युद्धकै बीच राष्ट्रपति पुटिन र ब्राजिलकी मोडल सूजी कार्टेज अर्थात् ‘मिस बमबम’को प्रसंग पनि चर्चामा छ। पुटिन र मिस बमबमको पहिलो भेट सन् २०१८ मा भएको थियो। त्यसबेला पुटिनले उनलाई बारम्बार रुस भ्रमणमा आउन निमन्त्रणा मात्र दिएनन्, भव्य आतिथ्यता प्रदान गरेका थिए।

पुटिनसँग डिनरमा समेत सहभागी मिस बमबमले हालै पुटिनलाई ‘सनकी शासक’ र ‘हिंश्रक मनोरोगी’को संज्ञा दिएकी छिन्। मिस बमबम ब्राजिलको एउटा सौन्दर्य प्रतियोगिता हो। हरेक वर्ष आयोजना हुने यो प्रतियोगितामा जुन युवतीको ‘हिप’ (कम्मर मुनीको पश्चभाग) सबैभन्दा राम्रो हुन्छ, उसैले उपाधि जित्छ।

‘डेली स्टार’मा प्रकाशित खबर अनुसार सूजी कार्टेज र पुटिनको भेटघाट त्यसबेला भएको थियो, जब उनी ‘विश्वकप इभेन्ट–२०१८’का लागि रुस पुगेकी थिइन्। सिबिएफ (ब्राजिल फुटबल कन्फेडेरेशन)को विश्वकप प्रतियोगिताकै क्रममा पुटिनसँग उनले डिनरको मौका पाएकी थिइन्।

‘डिनरका क्रममा पुटिनले मेरो हात दबाए र केही मिनेटसम्म मलाई घुरिरहे, जसबाट म केही डराएँ’, मिस बमबमले मिडियासँग भनेकी छिन्। मिस बमबमका अनुसार पुटिन यसरी बस्थे, मानौं कुनै सिंहासनमा बसेका हुन्।

‘मलाई केही भन्नुअघि उनी आफ्ना सेक्रेटरीलाई भन्थे र सेक्रेटरी मेरो नजिक आएर उनका कुरा सुनाउँथे। त्योबेला पुटिनले मेरो निकै प्रशंसा गरेका थिए र रुस भ्रमणको निम्तो दिएका थिए’, मिस बमबमले भनिन्।

रुसमा रहँदा मस्को घुम्न उनी उबर प्रयोग गर्थिन्। तर, पुटिनसँग भेट हुनासाथ एउटा सरकारी गाडीले उनलाई चाहेका हरेक ठाउँमा लैजान थाल्यो।

‘मलाई निकै अनौठो लाग्थ्यो, किनकी मैले बुझिहरेकी थिइन कि सरकारी गाडी मेरो सुरक्षाका लागि थियो या ममाथि निगरानी राखिएको थियो ? एक साता रुसमा बसेर म पुनः ब्राजिल आएँ। जब म वल्र्ड कप इभेन्टका लागि रुस फर्किएँ? त्यतिबेला मैले पुटिनसँग सकेसम्म नभेटने प्रयास गरेँ, किनकी म उनका साथ असहज महसुस गर्थें’, मिस बमबम सुजीले भनेकी छन्।

त्यसपछि सुजीले दोश्रो पटक कहिल्यै पुटिनलाई देखिनन्। उनी भन्छिन्, ‘अहिले म दाबीका साथ भन्छु कि मास्कोमा म खतरामा थिएँ। अहिले पुटिनले यूक्रेनमाथि आक्रमण गरेर साबित गरेका छन्, उनी वास्तवमै एक हिंस्रक मनोरोगी हुन्।’

पुटिनका अनेक सोख
रुसी राष्ट्रपति पुटिनलाई युद्ध र राजनीति मात्र आउँदैन। उनी जुडोमा ब्ल्याक बेल्ट मास्टर हुन्। अहिले करिब सत्तरी वर्षको उमेर टेकिरहेका पुटिन शारीरीक रुपमा तन्दुरुस्त देखिन्छन्, प्रेम र रोमान्समा शारीरिक तन्दुरुस्तीको महत्व कति हुन्छ, उल्लेख गरिरहनु नपर्ला।

विश्वका अन्य सरकार र राष्ट्र प्रमुखभन्दा पुटिनको जीवनशैली अली फरक छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहान सूर्योदय नहुँदै उठेर योग प्राणायाम गर्छन् भने पुटिन बिहान धेरै अबेरमात्र उठछन्। उनी नाश्ता दिउँसो मात्र गर्छन् र साँझ परेपछि बल्ल काममा खटिन्छन्।

पौडी खेल्नु पुटिको सोख हो। दैनिक दुई घन्टा उनी स्वीमिङ गर्छन्। यसक्रममा उनको पालतु कुकुर पनि स्वीमीङ पुलमै बसिरहेको हुन्छ। पुटिन एक पाइलट पनि हुन्। हवाइजहाज उडाउन निकै सोख राख्ने भएकाले उनीसँग ५० वटा निजी विमान भएको बताइन्छ।

केही वर्षपहिले रुसको जंगलमा भयंकर आगलागी भयो। पुटिन आफै विमान उडाएर मानिसलाई बचाउन र राहत दिन पुगेका थिए। यसका साथै पुटिनले फर्मूला वानको रेसिङ कार र पनडुब्बी पनि चलाइसकेका छन्।

पुटिनको अर्को सोख हो, शिकार खेल्ने। उनी कुशल शिकारी हुन्। समय पाउनासाथ उनी शिकार खेल्न गइहाल्छन्। बेलाबेलामा पुटिनले जंगलमा शिकार खेलिरहेका तस्बिर इन्टरनेटमा भाइरल भइरहन्छन्। सन् २००० मा रुसमा निर्वाचन हुँदा उनी फाइटर जेट उडाइरहेको अवस्थामा देखिए। सन् २०११ को बाइकर्स फेस्टीभलमा उनी स्पोर्टस् बाइक चलाएर पुगे।

रुसमा पुटिनलाई ‘हिरो’कै रुपमा स्थापित गरिएको छ। पुटिनको छवीमै आधारित रहेर ‘सुपर पुटिन’ नामक अनलाइन कमिक्स श्रृंखला पनि निर्माण गरिएको छ। यो श्रृंखलामा पुटिनलाई यस्तो हिरोका रुपमा देखाइएको छ, जो जुडो कराते प्रहार गरेर आतंकवादीलाई मारिदिन्छ।

सन् २००८ मा एक टेलिभिजनकर्मीमाथि बाघले हमला गर्दा पुटिनले नै बचाएका थिए। पुटिन खुँखार बाघ र भालुमाथि काबू पाउन सक्छन् भन्ने उनका समर्थकको दाबी छ। हुन पनि बाघ भालुसँगका उनका कयौं तस्बिर सार्वजनिक भएका थिए।

पुटिनले जिममा पसिना बगाइरहेको र आफ्नो सिक्स प्याक देखाइरहेका तस्बिर र भिडियो पनि भाइरल भएका छन्। यसैगरी मस्कोबाहिर बर्फमा रहने कुकुरसँग उनी खेलिरहेको भिडियो पनि इन्टरनेटमा भाइरल भएको थियो।

पुटिनको जीवनीमा उल्लेख भए अनुसार उनको प्रारम्भिक जीवन निकै साधारण वातावरणमा बितेको थियो। एउटा अपार्टमेन्टको ब्लकमा दुई भाइ र मातापिताका साथ उनी बस्थे। २५ वर्षसम्म पुटिनको आफ्नो बेग्लै कोठा थिएन, उनी मातापितासँगै बस्थे। कोठामा मुसा धपाउँदैमा उनी हैरान हुन्थे। कलेज पढनुअघि नै उनले जासुस बन्ने सोच बनाएका थिए। पढाइ पुरा गर्नासाथ उनी केजीबीमा भर्ना भए।

‘आजभन्दा ५० वर्ष पहिले लेनिनग्रादको सडकमा हुने मारपीटले मलाई के सिकायो भने यदि लडाइँ निश्चित छ भने पहिला पन्च स्वयंले प्रहार गर्नुपर्छ।’ कतै पुटिनले परमाणु हतियारका मामिलामा पनि ‘पहिला पन्च स्वयंले प्रहार गर्नुपर्ने’ नीति अपनाउने हुन् कि भन्ने चिन्ता व्याप्त छ।

अहिले युक्रेनमाथि रुसका तर्फबाटै पहिलो प्रहार भयो। जब उनले परमाणु हतियार अलर्ट अवस्थामा राखे, पुटिनको कलेज कालदेखिको आदर्श वाक्यबारे जानकार विश्वका विभिन्न मुलुकका सुरक्षा अधिकारीमा एक खालको आतंकको वातावरण छायो।पुटिनको कलेज कालदेखिको एउटा आदर्श वाक्य छ, ‘शत्रुलाई पहिलो प्रहार तिमी आफै गर।’

पुटिनको बाल्यकाल सेन्ट पिटसबर्गमा भएको थियो, जसलाई पहिला लेनिनग्राद भनिन्थ्यो। त्यहाँ उनीसँग बलिया केटा मारपीट गर्न आउँथे। उनीहरुलाई तह लगाउन पुटिनले जुडो सिके। सन् २०१५ मा पुटिनले आफ्नो जीवनीमा ति दिन सम्झदै भनेका छन्, ‘आजभन्दा ५० वर्ष पहिले लेनिनग्रादको सडकमा हुने मारपीटले मलाई के सिकायो भने यदि लडाइँ निश्चित छ भने पहिला पन्च स्वयंले प्रहार गर्नुपर्छ।’ कतै पुटिनले परमाणु हतियारका मामिलामा पनि ‘पहिला पन्च स्वयंले प्रहार गर्नुपर्ने’ नीति अपनाउने हुन् कि भन्ने चिन्ता व्याप्त छ।

विश्वमा सनकी तानाशाहको भर हुँदैन, उनीहरु जे पनि गर्न सक्छन्। सायद यही भएर अमेरिका र युरोपलगायत नाटो सदस्य राष्ट्र रुसविरुद्ध सैनिक कार्वाहीमा उत्रिएका छैनन्। उनीहरु चाहन्छन्, पुटिनलाई परमाणु हतियारका लागि उत्तेजित गराउनु विश्व मानव सभ्यताकै लागि खतरा हुनसक्छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १२ : ४१ बजे

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ