गमला बाँडदै, फलफूलका विरुवा रोप्दै रुपेश « Khabarhub

गमला बाँडदै, फलफूलका विरुवा रोप्दै रुपेश

‘जसले मध्यपुरलाई चुनावबाट पनि रुपान्तरण गर्दैछन्’



भक्तपुर । स्थानीय निर्वाचनमा भोट कुम्ल्याउन गाउँ गाउँमा कतिपय उम्मेद्वार साडी बाँडीरहेका होलान् । मासु भात र रक्सीको छेलोखेलो भइरहेको होला । झूठा आश्वासन र स्वैर कल्पनाले भरिएका सपना बाँड्नेहरुको पनि कमी छैन ।

मध्यपुर थिमी नगरपालिका– ७ का एक उम्मेदवारले भने चुनाव प्रचारलाई नै सामाजिक जागरण अभियानमा परिणत गरेका छन् । युवाहरुको संस्था ‘युवान्तरण नेपाल’का अध्यक्ष एवं वडा नम्बर ७ मा सदस्यका उम्मेद्वार २८ वर्षीय रुपेश पौडेलको चुनावी घरदैलो कार्यक्रम वास्तवमै अनुकरणीय छ ।

मध्यपुर थिमीको सांस्कृतिक र प्राकृतिक महत्व उजागर गर्न उनी घरघरमा फूलको विरुवासहितको गमला बाँडीरहेका छन् । यसैगरी ‘हरेक घरमा एउटा फलफूलको बोट’ अभियान पनि उनले चलाइरहेका छन् ।

मध्यपुर थिमीको प्रजापती समुदायले वर्षौंदेखि अपनाउँदै आएको माटोका भाँडा बनाउने पेशालाई जिवन्त राख्ने अनि संस्कृति, परम्परा र जीवनशैलीसँग माटो र प्रकृतिको साइनोबारे नयाँ पुस्तामा चेतना जगाउने अभियानलाई उनले चुनावी अभियानसँग जोडेर प्रंशसा पाइरहेका छन् ।

विद्यार्थीकालदेखिकै सक्रियता
२०५९ सालमा क्याफोर्ड इन्जिनियरिङ कलेजमा पढ्दा उनी नेपाल विद्यार्थी संघको इकाइ कमिटीका वरिष्ठ सल्लाहकार थिए । २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा सक्रिय पौडेलको सक्रियता राजनीतिसँगै सामाजिक गतिविधिमा पनि बढ्दै गयो ।

२०७४ सालमा नेविसंघको मध्यपुर थिमी नगर संयोजक भएपछि उनको युवा जागरण अभियानले तीब्रता लिदै गयो । उनी हाल नेपाली कांग्रेस निकट प्राविधिक विद्यार्थी परिषदको उपाध्यक्ष पनि छन् ।

युवा उमेर टेकेपछि नै पौडेलमा समाजको हितमा केही न केही योगदान गर्ने हुटुहुटी थियो । साथीहरुसँग भेटघाट हुँदा पनि उनी समाजका लागि के गर्न सकिन्छ ? भन्नेबारे छलफल गरिरहन्थे ।

यो आजभन्दा करीब दश वर्षअघिको प्रसंग हो । स्थानीय श्रोत साधनको सही सदुपयोग र स्थानीय संस्कृति र सम्पदाको संरक्षण गरेको खण्डमा मात्र देशले विकासको फड्को मार्न सक्छ भन्ने सोचले पौडेललगायतका साथीहरु मध्यपुर थिमीका विभिन्न पार्क र मठ मन्दिरहरुको सरसफाईमा जुट्न थाले ।

एउटा भिन्न अभियान : पार्क र मठ मन्दिरमा सफाई
स्वस्फूर्त रुपमा सुरु भएको यो अभियानलाई संस्थागत रुप दिएर अझ प्रभावकारी बनाउन र नयाँ पुस्ताका लागि प्रेरणा जगाउन पाँच वर्षअघि रुपेश पौडेलकै अध्यक्षतामा ‘युवान्तरण नेपाल’ नामक संस्थाको गठन भएको हो ।

यो संस्थामार्फत पौडेल र उनका साथीहरुले विभिन्न गतिविधि अघि बढाए । यसक्रममा बिहान जिम जाने, मर्निङ वाक गर्ने आदि युवालाई पनि पार्क र मठ मन्दिरहरुको सरसफाईमा प्रेरित गरे ।

‘पार्क र धार्मिक सांस्कृतिक सम्पदाहरुको सरसफाई र संरक्षण गर्न हामी आफै अघि सर्नुपर्छ र यसमा युवाको भूमिका झन् प्रभावकारी हुनसक्छ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन पनि हामी साथीहरु आफै सरसफाई अभियानमा जुटेका थियौं, युवाले स्वस्फूर्त रुपमा समाजका लागि आफ्नो तर्फबाट योगदान दिनुपर्छ भन्ने हाम्रो सन्देश हो’, रुपेश भन्छन् ।

राष्ट्रिय युवा परिषद, भक्तपुरका अध्यक्ष उज्ज्वल श्रेष्ठले युवान्तरण नेपालका रचनात्मक र जागरणमुलक गतिविधिलाई नजिकबाट ‘नोटिस’ गरिरहेका रहेछन् । श्रेष्ठकै पहलमा राष्ट्रिय युवा परिषद, भक्तपुर जिल्लाको सामाजिक संस्था प्रतिनिधिका रुपमा युवान्तरण नेपालका अध्यक्ष रुपेशलाई चयन गरियो ।

रुपेशको टिम यसबाट झन् उत्साहित भयो । उनकै सक्रियतामा युवाका लागि स्वरोजगार कार्यक्रम, बेकरी र कफीलगायत विभिन्न सीपमुलक तालिम, साइबर अपराधबारे चेतनामुलक कार्यक्रम, हाइकिङ र ट्रेकिङ र वक्तृत्वकलालगायतका विभिन्न तालिमहरु संचालन हुन थाले ।

घरघरमा गमला
यस्तैमा सन् २०२० लाई सरकारले ‘भिजिट नेपाल वर्ष’ घोषणा ग¥यो । युवान्तरण नेपालले मध्यपुर थिमीको ऐतिहासिक, सांस्कृतिक र पौराणिक पक्षलाई ध्यानमा राखेर आफ्ना गतिविधि केन्द्रित गर्ने निधो ग¥यो ।

मध्यपुर थिमी आफैमा विभिन्न जात्रा र परम्पराको खानी । यसमा पनि विशेषगरी माटोका भाँडा बनाउने यहाँको कला प्रजापती समुदायको संस्कृति, जातीय पहिचानका साथै जिविकोपार्जनसँग जोडिएको पेशा हो । लेस्याइलो माटो पानीसँग मुछेर विभिन्न आकृतिमा ढाल्ने यो सिल्पकला विस्तारै लोप हुँदैछ ।

रुपेशका अनुुसार बढ्दो आधुनिकीकरणसँगै मध्यपुर थिमीमा पनि जग्गाको कारोबार बढ्दै गयो । खेतहरु प्लटिङ गरेर घडेरीमा परिणत भइरहेका छन् भने उन्नत तरकारी फल्ने माटोमा कंक्रिटका संरचना खडा हुँदैछन् ।

यसले गर्दा भाँडा बनाउने उपयुक्त माटोको श्रोत मासिदै जान थालेको छ । प्रजापति समुदायले माटो ल्याउने बोडे आसपासका खाली जमिनमा पनि घरहरु बन्न थालेपछि एकातिर माटोको अभाव छ, अर्कोतिर पेशा नै संकटमा छ ।

‘माटोका भाँडा बनाउने मध्यपुर थिमीको परम्परागत पेशा खासमा मौलिक परम्परा, संस्कृति र पहिचानको धरोहर हो, यसलाई जिवन्त राख्न नयाँ पुस्तामाझ जागरण ल्याउनैपर्छ भन्ने हामीले ठान्यौं’, रुपेश भन्छन् ।

मध्यपुर थिमीको सांस्कृतिक परम्परा जोगाउन रुपेश र उनको टिमले एउटा सार्थक अभियान थाल्यो । त्यो अभियान हो, हरेक घरमा प्रजापति समुदायले बनाएका माटोका गमला राख्ने । त्यसपछि उनले घरघरमा गमला बाँड्ने अभियान चलाए ।

‘प्रजापति समुदायले बनाएको गमलासँग संस्कृति मात्र हैन, प्रकृति पनि जोडिएको छ । गमला माटोबाट बनाइन्छ र माटो हाम्रो प्रकृति हो । गमला बनाउने कला र संस्कृतिसँगै माटो अर्थात प्रकृतिसँग जीवनको साइनो जोडिएकाले यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिने हाम्रो अभियानको उद्देश्य हो’, रुपेश भन्छन् ।

युवान्तरण नेपालले ‘राम्रो र नराम्रो काम’ वर्गीकरण गरेको छ । रुपेशको विचारमा प्रकृतिलाई हानी नहुने काम राम्रो हो । कुनै बेला मध्यपुर थिमीका घरहरुमा माटोको घैंटोमा पानी राखिन्थ्यो र त्यो स्वास्थ्यका लागि लाभकारी थियो, अचेल घैंटोको ठाउँ रेफ्रिजेरेटरले लिएको छ । किनकी, माटोका भाँडाको महत्व विस्तारै अहिलेको पुस्ताले भुलेको छ ।

‘कंक्रिटको जंगल मुनी सुनभन्दा महंगो माटो छ, जुन माटोको महत्व अहिले ओझेलमा पर्र्दैछ । माटोका भाँडाको संस्कृति जोगाउनु भनेको सय वर्षसम्म काम लाग्ने कुरा हो, संस्कृति र प्रकृतिमैत्री काम हो, त्यसैले यो राम्रो काम हो भनेर हामीले युवालाई प्रेरित गर्दै आएका छौं’, रुपेश भन्छन् ।

गमला दिएर मात्र भएन । त्यसैले युवान्तरण नेपालले गमलामा फूलको बोटसमेत राखेर दिने अभियान चलाइरहेको छ । अहिलेसम्म मध्यपुर थिमीका वडा नम्बर ४, ६, ७, ८ र ९ का करीब एक हजार घरमा फूलको बिरुवासहितको गमला बितरण गरिएको रुपेश बताउँछन् ।

यो अभियानमा लागेकै बेला स्थानिय निर्वाचन आइहाल्यो । विरुवासहितको गमला वितरण कार्यक्रमलाई उनले चुनावी अभियानमा जोडिदिए । अर्थात घरदैलो कार्यक्रममा जाँदा पनि उनी गमला बोकेरै जान थाले । मध्यपुर थिमीको मौलिक संस्कृतिको पक्षमा जागरण ल्याउन उनले चुनावी अवसरको पनि सदुपयोग गरिरहेका छन् ।

कुनै एनजीओ÷आइएनजीओको आर्थिक सहयोग बिना नै यस्ता गतिविधि संचालन गरिरहेको युवान्तरण नेपाललाई आखिर गमला किन्न पैसा कहाँबाट जुटाइरहेको छ त ? भन्ने प्रश्नमा रुपेश भन्छन्, ‘अहिलेसम्म वडा नम्बर ७ बाट २३ हजार रुपैयाँ मात्र हामीलाई प्राप्त भएको छ । यसबाहेक अरु कसैबाट आर्थिक सहयोग लिएका छैनौं । बरु, हामी आफै गमला बनाउने ठाउँमा गएर श्रम गर्नसमेत पछि परेका छैनौं ।’

एउटा गमला बाहिर किन्दा करीब ५ सय रुपैयाँ पर्छ । गमला बनाउने ठाउँमा गएर सस्तोमा गमला किन्न खोज्दा पनि प्रति गोटा दुइ सय रुपैयाँ पर्ने । त्यसपछि रुपेशको टिमले अली सानो खालको गमला बाँड्न थाल्यो । यस्तैमा उनीहरुलाई मध्यपुरथिमी–४ मा माटोका भाँडा बनाउँदै आएका श्याम प्रजापतिले सहयोग गरे ।

श्यामले रुपेश र उनका केही साथीहरुलाई गमला बनाउने सीप सिकाए । कोरियन अस्पतालअगाडि रहेको श्यामकै भाँडा बनाउने ठाउँमा गएर रुपेशको टिमले आपैmले गमला बनाएपछि निकै सस्तो पर्न गयो, गोटाको त्यस्तै ६० रुपैयाँ ।

‘हामीले घरघरमा गमला बाँडेर माटोका भाँडालाई माया गर्न जनतामा जागरण ल्याउने कोशिस त ग¥यौं, तर सबै घरको आँगनमा गमला राख्न नमिल्ने देखियो । त्यसपछि हामीले डोरीले बाँधेर गमला झुण्ड्याउने शैली पनि सिकायौं’, रुपेश भन्छन् ।

अहिले रुपेश ‘पकेट गार्डेन’को अवधारणामा पनि काम गरिरहेका छन् । रुपेशका अनुसार सानो ठाउँलाई पनि गमलाले सजाएर बगैंचा बनाउन सकिन्छ । हयाङगिङ गार्डेन बनाउन सकिन्छ ।

एक घर एक फलफूलको बोट
युवान्तरण नेपालले प्रकृतिमैत्री अर्को अभियान पनि चलाइरहेको छ, ‘एक घर एक फलफूलको बोट’ । विभिन्न घरमा फलफूलका बोट बाँडने यो अभियानको लक्ष्य हो, मानिसलाई हरियो बन नेपालको धनको असली अर्थ बुझाउने । अर्थात वृक्ष रोप्नुको अर्थ काठका लागि मात्र हैन, फलफूलका लागि पनि हुनुपर्छ भनेर सिकाउने ।

यो आइडिया चाहिँ कोरोना भाइरसको महामारी र लकडाउनका क्रममा फुरेको हो । लकडाउनका कारण खाद्यान्न, तरकारी र फलफूलकै अभावसमेत नेपालीले व्योहोरे । नगरमा भौतिक सुविधाका सब साधन छन् । गाडी, घर, खाना पकाउने ग्यास, लुगा धुने मेशिनदेखि सुपरमार्केटहरु छन् । तर, प्रकृतिसँग जोडिएको जीवनशैली भएन ।

रुपेशका शब्दमा मानिसको जीवन जंगलबाट सुरु भएको हो, गुफा र जंगलमा प्रकृतिमै निर्भर भएर मानिसको क्रम विकास भएको हो । तर, आधुनिकतासँगै मानिसले प्राकृतिक पक्षलाई भुल्दै गयो, जसको असर हामीले कोभिड महामारीका क्रममा देख्यौं, हामीलाई खान लाउनकै दुःख भयो ।

‘हरियो बन नेपालको धन कुनैबेला थियो होला । नेपालका बन मासेर कमाउन पल्किएकाहरुका लागि त्यो धन थियो होला, तर हरियो बनको अर्थ काठ मात्र हैन, बनले मानिसको भोक मेटयो कि मेटेन भन्ने पक्ष मुख्य हो । त्यसैले अब हामीले वृक्षारोपण गर्दा फलफूललाई महत्व दिनुपर्छ’, रुपेश भन्छन् ।

यही सन्देश दिदै अचेल रुपेश र उनका साथीहरु टोल टोलमा कागती, सुन्तला र मुन्तालाका बिरुवा बाँडिरहेका छन् । हालै मात्र उनीहरुले सूर्यविनायकका एक सय घर र मध्यपुर थिमीका ३ सय घरमा फलफूलका बिरुवा बाँडिसकेका छन् ।

जमीन हुनेले फलफूलका ठूलै रुख र नहुनेले सानै गमलामा पनि फल्ने खालका बिरुवा लगाउन सक्ने रुपेश बताउँछन् । उनीहरुले फलफूलका बोट चाहिँ बनेपास्थित राममणि अधिकारीको नर्सरीबाट ल्याएर वितरण गरिरहेका हुन् ।

युवान्तरण नेपालले घर–घरमा मात्र हैन, पार्कहरुमा समेत फलफूलका विरुवा रोप्ने अभियान चलाइरहेको छ । सानो ठिमी कलेजदेखि आमी ब्यारेकसम्मका पार्कहरुमा फलफूलको बोट लगाएका छन् । पार्कहरुमा करीब चालिस प्रतिशत बिरुवा फलफूलकै हुनुपर्ने उनीहरुको जोड रहने गरेको छ ।

‘रातो विहानी’ अभियान
रातो अर्थात विजय र विहानी अर्थात उज्यालो । रजस्वला हुनु विजय र उज्यालोको संकेत हो भन्दै युवान्तरण नेपालका युवाहरु अचेल रजस्वला भएका महिलाप्रति सकारात्मक सोचको विकास गराउन अभियानमा पनि जुटेका छन् ।

‘कुनै पनि महिला रजस्वला हुनु भनेको उनी आमा बन्न सक्षम भएको हो । उनी परिपक्व भएको हो, त्यसैले रजस्वला हुँदा लुकाउनु हुँदैन भन्ने चेतना समाजमा फैलाउन रातो विहानी अभियान थालिएको हो’, रुपेश भन्छन् ।

रजस्वला भएका महिलाप्रतिको छुवाछुतको पक्ष त छँदैछ, हाललाई आफुहरु स्वास्थ्य सचेतना र आत्मविश्वास जगाउने पक्षमा काम गरिरहेको रुपेश बताउँछन् । यसका लागि पहिलो पटक रजस्वला भएका युवतीको अनुभवसहितको वृत्तचित्र निर्माण गरेर सार्वजनिक गर्ने सिलसिला पनि उनले सुरु गरेका छन् ।

पहिलो पटक रजस्वला हुँदाका अनुभव शेयर गर्नेहरुबाट प्रेरणा पाएर धेरैले आफ्ना अनुभव बाँडेका छन् । यसले रजस्वलाजस्तो प्राकृतिक कुराप्रति समाजको धारणा सकारात्मक हुनुका साथै स्वास्थ्य चेतना पनि बढने रुपेशको विश्वास छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ९ : ०६ बजे

बलिउड सेल्बेसको रिस प्रकट गर्ने शैली 

काठमाडौँ- बलिउड सेलिब्रेटीको फ्यान फ्लोअर्स जबर्जस्त छ । त्यसैले उनीहरूको

कृषि उपजको उचित मूल्य दिन माग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले

‘बुलाकी’ ले तय गर्‍यो रिलिज 

काठमाडौँ- फिल्म ‘बुलाकी’ कार्तिक १८ बाट प्रदर्शनमा आउने भएको छ।

पानी परेपछि दाङका किसान खुशी

दाङ- असारको दोस्रो हप्तासम्म दाङमा ५ प्रतिशत मात्र धान रोपाइँ

केरा खेतीबाट मनग्ये आम्दानी

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने