विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन २४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् ।

राजधानी पटनामा राज्यपाल फागू चौहानलाई भेटेर उनले आफ्नो राजीनामापत्र हस्तान्तरण गरेको भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले जनाएको छ ।

केन्द्रमा सत्ता चलाइरहेको भारतीय जनता पार्टी भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीएसँग) खटपट उत्पन्न भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामापश्चात उनले भाजपाबाट अलग हुने सबैको इच्छा रहेको भन्दै विधायक एवम् सांसदहरुसँगको समन्वयमा पछिल्लो निर्णय लिइएको बताए ।

उनले अब नयाँ बाटोबाट सरकार बनाउने तयारी गरिरहेको दाबी गरेका छन् । आजतकका अनुसार उनले बिहार विभानसभामा आफूसँग १६० जना विधायकहरुको समर्थन रहेको दाबी गरेका छन् ।

२४३ सिट रहेको बिहार विधानसभामा सरकार बनाउन केबल १२२ सिट पर्याप्त हुन्छ ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा एफबीआईको छापा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा त्यहाँको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले छापा मारेको छ ।

पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवास केहीबेर एफबीआईले कब्जामा लिएको ट्रम्पले विज्ञप्ति जारी गर्दै बताएका छन् । ट्रम्पले एफबीआईबाट ठूलो संख्यामा आएका एजेन्टहरुले आफ्नो घर नियन्त्रणमा लिएको बताएका छन्।

गत वर्ष अमेरिकी क्यापिटल भवनमा भएको दंगामा ट्रम्पको संलग्नता भएको भन्दै छानबिन प्रक्रिया जारी छ । त्यसै क्रममा आफूले सहयोग गर्दा गर्दै अनाधिकृत रुपले एफबीआईले निवासमा छापा मारेको उनको गुनासो छ। उनले आफूलाई सन् २०२४ मा राष्ट्रपतीय निर्वाचन लड्न नदिने षड्यन्त्र भइरहेको समेत जिकिर गरे ।

ट्रम्प राष्ट्रपति भएको बेला सरकारी दस्ताबेज दुरुपयोग गरेको विषयमा एफबीआईले छापा मारेको बीबीसीले जनाएको छ ।

फ्लोरिडाको घरमा एफबीआईले छापा मार्दा पूर्वराष्ट्रपति ट्रम्प न्यूयोर्क शहरको ट्रम्प टावरमा रहेका थिए ।

प्यालेस्टाइनमा इजरायली सेनाले छापा मार्दा एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई जनाको मृत्यु

इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायल र इस्लामिक जिहाद लडाकुहरू बीचको भीषण लडाईँपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको हो ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन् । ती मध्ये चारको अवस्था गम्भीर रहेको छ ।

आतङ्कवादी लडाकु इब्राहिम अल–नाबुलसी र अर्का एक आतङ्कवादी नाब्लस शहरमा मारिएका इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्यालेस्टिनीहरूले सेनामाथि ढुङ्गा हानेपछि नाब्लसका अन्य भागहरूमा पनि इजरायली सेनासँग प्यालेस्टाइनीहरुको झडप भएको थियो ।

मार्चको अन्त्यदेखि हालसम्म कम्तीमा ५७ प्यालेस्टाइनीहरू मारिएका छन् । अधिकांश मारिएकाहरु प्रायः वेस्ट बैंकका नै बासिन्दा भएका समाचारमा जनाइएको छ ।

जापानको नागासाकी सहरमा आणविक बम हमलाको स्मरण

जापानको नागासाकी सहरमा मङ्गलबार अमेरिकी आणविक बम आक्रमणको ७७ औँ वार्षिकीको आयोजना गरिएको छ ।

आज उक्त घटनाको स्मरणमा विभिन्न अन्तर्राष्ट्रिय समुदायले जापानलाई आफू पीडितको रुपमा मात्र नलिन आग्रह गरेको चिनिायाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मङ्गलबारको वार्षिक समारोहमा जापान सरकारले कोभिड–१९ का प्रतिबन्धहरू खुकुलो बनाएर थप मानिसहरूलाई उपस्थित हुन अनुमति दिइएको थियो ।

उक्त समारोहमा ८० भन्दा बढी राष्ट्रका अधिकारी र प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साथै आणविक बमबाट बाँचेकाहरु र मृतकका आफन्तहरुको पनि सहभागिता रहेको थियो ।

उनीहरुले यस दिनलाई एक दुःखद् दिनका रुपमा स्मरण गरेका थिए । उनीहरुले यस्तो विनाशकारी दिन जापानमात्र नभई संसारमा नै कहिल्यै नआओस् भन्ने कामना पनि गरेका थिए ।

सन् १९४५ मा आजकै दिन बिहान ठीक ८ः१५ बजे जापानको नागासाकीमा नगरमा अमेरिकी युद्धक विमानले विनाशकारी बम खसालेको थियो ।

स्थानीय समयानुसार मङ्गलबार बिहान ११ः०२ मा यस समारोहमा उपस्थित व्यक्तिहरूले मौनधारण गरेका थिए । आजभन्दा ७७ वर्षअघि दोस्रो विश्वयुद्धताका सन् १९४५ का अगस्त ६ र ९ का दिन जापानका हिरोसिमा र नागासाकी नगरमा अमेरिकाले अणुबम खसालेको थियो ।

‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ नाम दिइएका दुई बम विस्फोटबाट हिरोसिमामा र नागासाकीमा गरी करिब एक लाख ४० हजार नागरिकले तत्कालै ज्यान गुमाएका थिए । यस बमको असरले पछि कति नागरिक मरे भन्ने यकिन तथ्याङ्क कतै भेटिँदैन ।

उक्त घटना भएको पाँच वर्षभित्र दुबै नगरमा आणविक विकिरणबाट प्रभावित थप एक लाख चार हजार नागरिकको मृत्यु भएको थियो । अमेरिकाविरुद्ध युद्ध लडेको जापानले यस अवधि र युद्धपश्चात् आफ्ना करिब दुई लाख पचास हजार नागरिकको ज्यान गुमाएको थियो ।

तत्कालीन अवस्थामा योभन्दा बढी सङ्ख्याका जापानी विकिरणबाट उत्पन्न विभिन्न रोगका कारण अङ्गभङ्ग भई बाच्न विवश भए । युद्धकालमा विकिरणबाट प्रभावित कतिपय जापानी तथा तिनका सन्तान समेत अनेक रोगबाट पीडित छन् ।

हिरोसिमा नगरमा खसालिएको बम, २० हजार टन टीएनटी बराबरको थियो । उक्त बममा युरेनियम–२३५ नामक रासायनिक तत्व प्रयोग गरिएको थियो र त्यसलाई ‘लिटिल ब्वाइ’ भन्ने नाम दिइएको थियो ।

दश फिट लम्बाइको यस पारमाणबिक बमलाई इनोला गे उपनाम दिइएको बी–२९ सुपर फोरट्रेस बमवर्षक विमानको बाहिरी भागमा झुन्ड्याइएको थियो ।

भारतमा कोरोना सङ्क्रमण घट्दै, पछिल्लो २४ घण्टामा १३ हजारभन्दा कम फेला

पछिल्लो २४ घण्टामा भारतमा १३ हजार भन्दा कम कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १२ हजार ७५१ नयाँ सङ्क्रमित फेला परेका हुन् ।

यसअघि हिजो प्रकाशित तथ्याङ्कअनुसार आइतबार भारतमा १६ हजार १६७ व्यक्ति सङ्क्रमित भएका थिए । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ७४ हजार ६५० सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ३१ हजार ८०७ रहेको छ ।

त्यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार सात सय ७२ व्यक्तिको मृत्यु भइसकेको छ । यहाँ कूल चार करोड ३५ लाख भन्दा बढी कोरोनामुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म २ अर्ब ६ करोड ५७ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना सुरु भएबाट हालसमम ८७ करोड ८० लाख भन्दा बढी व्यक्तिको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।

मलेसियामा कोरोना भाइरसको प्रकोप

मलेसियामा पछिल्लो समयमा कोभिडका संक्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको संक्रमण देखिएको छ ।

मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका संक्रमितहरु बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा बढीमा सो संक्रमण फैलिएको छ ।

यहाँ गएको २४ घन्टा मान्यता छ जना संक्रमितको कोभिडकै कारण ज्यान गएको छ । यो समेत गरी मलेसियामा कोभिडको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ ।

देशभर अहिले पनि ४३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । गम्भीर बिरामी भएका केहीको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

इरानमा अफगान नागरिकले चक्कु प्रहार गर्दा १० जनाको मृत्यु

दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

व्यक्तिगत विवाद हुँदा अफगान नागरिकले रफसन्जान सहरमा चक्कु प्रहार गर्ने हमलाकारीलाई प्रहरीले पक्राउ गरेको एन्तेखाब समाचार वेबसाइटले रफसन्जानका गभर्नर होसेन रेजाईलाई उद्धृत गर्दे उल्लेख गरेको छ।

उक्त घटनाका सबै पीडितहरू पुरुषहरू छन् । ती मध्ये छ अफगानी र चार इरानी नागरिकहरू छन् । रेजाईले बताएअनुसार आक्रमणकारीको मानसिक स्वास्थ्य असामन्य थियो । उसले आफैलाई प्रहार गरी चोट लगाएको पाइएको छ ।

हत्यारामा लागुपदार्थको लत पनि पुष्टि भएको छ । यसबारे थप अनुसन्धान जारी छ ।

ग्यास खपत कटौती गर्ने ईयूको योजना लागू

युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ (ईयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना मङ्गलबारदेखि लागू भएको छ ।

दुई साताअघि २७ राष्ट्रसम्मिलित यूरोपेली संघ (ईयू) ले सहमति गरेको उक्त योजनालाई समेटेर ईयूको नियम सोमबार युरोपेली सङ्घको आधिकारिक प्रशासनिक पत्रमा प्रकाशित गरिएको छ ।

‘यूक्रेनविरुद्ध रूसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षामा आसन्न खतरालाई ध्यानमा राख्दै यो नियम तत्काल लागू गरिनुपर्ने देखिएकोले मङ्गलबारदेखि कार्यान्वयनमा ल्याइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसको उद्देश्य अत्यधिक चिसो समयलाई आफ्नो ग्याँसको भण्डारलाई समयमै बलियो बनाउन सक्षम हुनुपर्ने र यसका लागि ईयूले यो निर्णय गरेको हो । युरोपेली घरपरिवार र व्यवसायहरू ऊर्जाका लागि रूसी ग्यासको भर पर्नुपर्ने र यसका लागि इन्धन भण्डारण नै निर्विकल्प उपाय भएको विज्ञप्तिमा बताइएको छ ।

पत्रमा भनिएको छ, ‘ईयू देशहरूले उनीहरूले अघिल्लो पाँच वर्षमा औसतमा कति प्रयोग गरे भन्ने आधारमा यही अगष्टदेखि अर्को वर्षको मार्चसम्म ‘कम्तिमा १५ प्रतिशत’ ग्यास खपत घटाउन आफ्नो सर्वोत्तम प्रयास प्रयोग गर्नेछन् ।’

केही ईयू देशहरूले यस नियमलाई कडाइका साथ पालना असम्भव भएको भन्दै नियम कार्यान्वयन गर्न मानिरहेका थिएनन् । उनीहरूले कुनै पनि अवस्थामा ‘स्वैच्छिक माग कटौती’ गर्ने सर्त राखेका थिए । यी देशहरू युरोपेली विद्युत् ग्रीडमा पूर्णरूपमा जडान गरिएका थिएनन् वा ईयूका अन्य भागहरूमा ग्यास पाइपलाइनहरूसँग वा अन्य सदस्य राष्ट्रहरूलाई मद्दत गर्न पर्याप्त पाइपलाइन ग्यास खाली गर्न असमर्थ थिए ।

रुसबाट सिधै ल्याइने ग्यासमा निर्भर रहेको हंगेरीले यसको अपवादको माग गरेको थियो । ईयूको आर्थिक महाशक्ति जर्मनीले गत वर्ष रूसबाट आयात हुने ४० प्रतिशत ग्यास आयातमा ठूलो हिस्सा ओगटेको थियो ।

यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले ईयू सदस्य राष्ट्रहरूलाई ग्याँस कटौतीका लागि बाध्यकारी बनाउँदछ र अपवादहरू सीमित गर्दछ ।

इयूले यूक्रेन युद्धका लागि मस्कोमाथि लगाएको प्रतिबन्धमा रूसी ग्यासलाई समावेश नगरे पनि ब्रसेल्सले युरोपलाई बलियो बनाउन सक्ने अनुमानसहित ब्रसेल्सका लागि हुने आपूर्तिमा पनि क्रेमलिनले भारी कटौती गरेको छ ।

राष्ट्रसङ्घले इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने

संयुक्त राष्ट्रसङ्घले अफ्रिकी मुलुक इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । खडेरी प्रभावितलाई मानवीय सहयताको खाँचो रहेको भन्दै राष्ट्रसङ्घले खाद्यान्न उपलब्ध गराइने जनाएको हो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता निकायलाई खडेरीबाट पीडित भएका एक करोड ६० लाख र बाढी प्रभावित १७ लाख इथियोपियालीलाई सहयोग गर्न आह्वान गरिएको छ ।

इथियोपियामा गएको ४० वर्षयताकै सबैभन्दा खराब खडेरी परेको पाइएको छ । यसबाट धेरैभन्दा धेरै नागरिकले अत्यावश्यक वस्तुको अभाव झेलिरहेका छन् ।

महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले त्यहाँको खडेरी इतिहासकै सबैभन्दा खराब प्रकृतिको रहेको भन्दै यसबाट लाखौँ मानिस विस्थापित भएका बताएका छन् ।

उनले यो खडेरीका कारण करिब ३५ लाख पशु चौपायासमेत मरेका जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयातासम्बन्धी एजेन्सीलाई उद्धृत गर्दै उनले जनाएअनुसार खडेरी पीडितमध्ये अधिकांशले खाद्यान्नको अभाव झेल्नुपरेको छ ।

साथै इथियोपियाका बालबालिका तथा महिलाले आवश्यक पोषणको अभावमा विभिन्न प्रकृतिका रोगबाट झेल्नुपरेको पाइएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले इथियोपियामा एकातर्फ खडेरीले मानिसमा असर गरेको र अर्कातर्फ बाढीका कारण पनि धेरै नागरिकको ज्यान गएको र विस्थापित हुनुपरेको जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : १९ बजे

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले