पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न माग | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न माग


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने  सांसदहरूले भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद दिलकुमारी रावल थापाले वर्तमान सरकारले जनताका समस्याप्रति कम चासो दिएको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्। अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा र घट्दा सोही अनुसार समायोजन हुनुपर्नेमा हाल दुई/दुई पटक मूल्य घटेको तर नेपाल आयल निगमले किन मूल्य नघटाएको भनी प्रश्न गरिन्।

सांसद दिपा गुरुङले राज्यले युवालाई सही दिशा दिन नसके युवा वर्ग विकृतिको सिकार हुनसक्ने बताउँदै खेलकुद मन्त्रालयको बजेट कम भएको टिप्पणी गरिन्। खेलकुद विकास र समृद्धिको परिचायक भएको बताउँदै उनले सरकारले खेलाडीलाई सम्मान गर्ने गरी हौसला बढाउने कार्य गर्नुपर्नेमा जोड दिइन्।

सांसद खिमलाल देवकोटाले सुशासनका लागि पारदर्शिता आवश्यक रहेकामा जोड दिँदै सबै मन्त्रीका काम जनताले हेर्न पाउने गरी सिसीटिभीको व्यवस्था गर्नुपर्ने बताए। साथै उनले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कानूनअनुसार कारबाही गर्नुपर्ने धारणा राखे। सांसद गङ्गाकुमारी बेलवासेले संवैधानिक परिषद्मा पूर्ववर्ती सरकारले अध्यादेशमार्फत आफू खुसी नियुक्ति गरेको स्मरण गर्दै यसमा आगामी दिनमा संशोधन गरी राष्ट्रिय सभाका उपाध्यक्षसमेत रहने व्यवस्था गर्नुपर्ने बताइन्।

सांसद गोमादेवी तिमिल्सिनाले देशको राजधानीमै फोहरको समस्या बढेको, ढल फुटेर दुर्गन्ध बढेको, बाटोका खाल्डामा पानी भरिएर हिँड्न गारो भएको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन्। केही राजनीतिक दलका क्रियाकलापका कारण राजनीतिक दलको विकल्पको आवाज उठ्न थालेकामा चिन्ता व्यक्त गर्दै हालका उपलब्धि यिनै दलका कारण आएको हो भन्ने कुरा पनि बिर्सन नहुने बताइन्। सांसद भुवनबहादुर सुनारले नागरिकता दिने क्रममा विभिन्न स्थानमा केही व्यक्तिका नाम अपमान हुने गरी उल्लेख भएको सन्दर्भमा ध्यानाकर्षण गराउँदै यस्ता लापरबाही गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरे।

सांसद सुमित्रा विसीले महँगी बढेर जनतालाई थप दुःख भएको उल्लेख गर्दै सरकारले अनुगमनमा कडाइ गरी नियन्त्रण गर्नुपर्ने बताइन्।साथै उनले मुगु जाने सहुलियतको नुन बाटोमा हराएको सम्बन्धमा सरकारसँग स्पष्ट जानकारी माग गरिन्।

सांसद बिना पोखरेलले संविधानमा समाजवाद उन्मुख भनेका छौँ तर कसरी जाने भनेर केही नदेखेको बताउँदै देशमा ज्येष्ठ नागरिकको अवस्था दयनीय भएकाले सरकारको ध्यान जाओस् भनिन्। उनले ज्येष्ठ नागरिकलाई जीवन धान्न केही सामाजिक सुरक्षा भत्ता दिएर मात्र खुसी नभएको भन्दै उनीहरूको जीवन खुसी तथा सन्तुष्टि र सम्मानका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताइन्।

सांसद नरबहादुर विष्टले अहिले लघुवित्त कम्पनीले गाउँमा चर्को ब्याज लिने गरेको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि आवश्यक पहल गर्न माग गरे। पूर्ववर्ती सरकारका पालामा बढेको दण्डहीनताका कारण अहिले पनि त्यस्ता घटना देखिने गरेको टिप्पणी गर्दै यसलाई नियन्त्रण गर्न तथा नदोहोर्‍याउन सरकारले आवश्यक पहल गर्नुपर्ने उनले बताए ।

सांसद तुलसाकुमारी दाहालले सामान्य महिलाको तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको बताउँदै कानुनले व्यवस्था गरेका शिक्षा, सामाजिक न्याय, सुरक्षा, राज्यका निकायमा सहभागिता, सेवामा पहुँचलगायत विषयमा गरेका व्यवस्था भएका कानुन कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिलाई सेवामा प्राथमिकता दिनुपर्ने बताइन्।

सांसद रमेशजङ्ग रायमाझीले सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचन घोषणा गरेकामा स्वागत गरे। उनले वर्तमान सरकारले संसद्लाई जीवित राखेर आमनिर्वाचनमा जान गरेको  निर्णय उत्तम भएको र यो प्रशंसायोग्य भएको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : ४९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न