विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

आज वैशाख २५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे ८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

पूर्वी युक्रेनको विद्यालयमा रुसी फौजले बम खसाल्दा ६० जनाको मृत्यु भएको आशंका

पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रहेको एक विद्यालयलाई निशाना बनाइ रुसी फौजले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ ।

लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले जनाएअनुसार विद्यालयमा रुसी फौजले बम खसाल्दा विद्यालय भवन ध्वस्त भएको छ । हाल विद्यालयको भग्नावशेषमा दुई जनाको शव फेला परेको र उद्धारको कार्यलाई तीव्रता दिइएको बताइएको छ ।

ध्वस्त भवनको भग्नावशेषबाट ३० सर्वसाधारणलाई बाहिर निकालिएको समेत उनले जानकारी दिए । उद्धार गरिएकामध्ये ७ जना घाइते छन् ।

सामाजिक सञ्जाल टेलिग्राममा सन्देश सार्वजनिक गर्दै उनले बताएअनुसार लुहान्स्क क्षेत्रको बिलोहोरिभ्का गाउँमा रहेको सो विद्यालय भवनमा ९० सर्वसाधारणले शरण लिएका थिए ।

शनिबार रुसी फौजले विद्यालय भवनमा बम खसालेपछि विष्फोट भएको र यसबाट लागेको आगो निभाउन झण्डै चार घण्टा लागेको हाइदाइको भनाइ छ ।

यसको आधिकारिक पुष्टि भने नभइसकेको कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

रुसद्वारा बेलायती युट्युबर पक्राउ

बेलायती युट्युबरलाई रुसले पक्राउ गरेको छ । कजाखस्तानस्थित रुसको नियन्त्रणमा रहेको बैकोनूर कोस्मोड्रोममा बेलायती युट्युबर बेन्जामिन रिच पक्राउ परेको रुसी अन्तरीक्ष निकाय रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले बताएका हुन् ।

गैरकानूनी काम गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको रोगोजिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीसँगै बेलारुसकी नागरिक एलिना सेलिउपा पनि पक्राउ परेको उनको भनाइ छ ।

उनीहरूलाई हाल बैकोनूरमा रहेको आन्तरिक मामिला विभागमा नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । बेन्जामिन रिच ‘बल्ड एण्ड बैंकरप्ट’ नामक युट्युब च्यानल चलाउँछन् । उनले पूर्व सोभियत संघका मुलुकहरूमा भ्लग बनाउँदै आएका छन् ।

उनको च्यानलमा ३५ लाख सस्बस्क्राइबर्स छन् । बेलायतको विदेश मन्त्रालयले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

यता रिचले भने आफू पक्राउ नपरेको बताएका छन् । सामाजिक सञ्जालमा सन्देश जारी गर्दै आफूहरूलाई कोस्मोड्रोममा केही घण्टा सोधपुछ गरिएपनि आफूहरू मुक्त भएको जानकारी दिएका हुन् ।

उनले आफूले ६० पाउण्ड जरिवाना समेत तिरेको जनाएका छन् ।

सर्वसाधारणको उद्धार कार्य पूरा

रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको मारिउपोल शहरबाट सर्वसाधारणलाई बाहिर निकाल्ने कार्य पूरा भएको छ ।

रुस र युक्रेनले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । मारिउपोलको एजोभस्तल क्षेत्रमा रहेका सबै महिला, बालबालिका र बुढाबुढीको उद्धार गर्ने कार्य गरिएको हो ।

युक्रेनकी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले मानवीय कारवाही समाप्त भएको बताइन् । त्यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले माउिपोल शहरको एजोभस्तल क्षेत्रबाट ३ सय सर्वसाधारणको उद्धार गरिएको बताए ।

यद्यपि रुसको रक्षा मन्त्रालयले भने पछिल्ला तीन दिनमा सो क्षेत्रबाट केबल ५१ जनाको उद्धार भएको बीबीसीले उल्लेख गरेको छ ।

रुसी आक्रमणसँगै भीषण लडाइँको चपेटामा परेको मारिउपोल शहरको अधिकांश क्षेत्रमा रुसी फौजको नियन्त्रण रहेपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने अझै पनि युक्रेनी सैनिकहरूले रुसी फौजको प्रतिकार गरिरहेको बताइन्छ ।

एजोभस्तल क्षेत्रमा फसेका सर्वसाधारणको उद्धार गर्नका लागि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेड क्रसले पहल गरेका हुन् । यद्यपि उद्धार कार्य पूरा भएकोबारे ती संस्थाहरूले भने कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।

उद्धार गरिएकाहरूलाई कहाँ लगिएको भन्नेबारे अझै स्पष्ट नभइसकेको जनाइएको छ । त्यस्तै, एजोभस्तलमा रहेका युक्रेनी फौजको उद्धार गर्नेबारे पनि कूटनीतिक पहलहरू भइरहेको जेलेन्स्कीले बताएका छन् ।

दक्षिण कोरियामा ४० हजार भन्दा धेरै कोरोना संक्रमित थपिए

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा धेरै हो ।

तर, त्यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्लो समय घट्दै गएको थियो । यद्यपि पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ ।

दक्षिण कोरियामा संक्रमितको संख्या बढ्दै गएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ७५ लाख भन्दा पनि बढी संक्रमित भइसकेका छन् ।

अघिल्लो दिन यहाँ ३७ हजार जनामा संक्रमण देखिएकामा २४ घन्टायता त्यसमा केही वृद्धि भएको बताइएको हो ।

तर संक्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेका व्यक्ति भने थोरै छन् । दक्षिण कोरियामा मृत्यु दर पनि कम रहेको बताइएको छ । हालसम्म कोरियामा कोरोनाबाट २३ हजार ३ सय ६० जनाको ज्यान गइसकेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्यो

अमेरिकामा पछिल्लो समय कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्न थालेको पाइएको छ ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरूले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोना जन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका हुन् ।

अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ को समाचारमा पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरू कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेका जनाइएको छ ।

सो पत्रिकाले जनाएअनुसार गत बिहीबार मात्र त्यहाँका अस्पतालमा कोरोना जन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार जना रहेको थियो । यो संख्या अमेरिकाका सबै अस्पतालहरूको हो ।

तर यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि सो पत्रिकाले जनाएको छ । त्यहाँ गएको दुई हप्ता अघिको तुलनामा संक्रमितको संख्या पनि बढेको पाइएको सो पत्रिकाले जनाएको छ ।

कोरोनाका संक्रमित गएको बिहीबार मात्र अमेरिकामा ६८ हजार जना भेटिएका थिए । यो संख्या अघिल्लो हप्ताको तुलनामा ६० प्रतिशतले बढी हो ।

सार्वजनिक ठाउँमा अनुहार छोप्न महिलाहरूलाई तालिबानको उर्दी

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले महिलाहरूलाई सार्वजनिक ठाउँमा बुर्का लगाउन उर्दी जारी गरेको छ ।

तालिबानले सार्वजनिक स्थानमा सबै महिलाहरूलाई अनुहार ढाक्ने पहिरन लगाउन निर्देशन दिएको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।

यसबाहेक तालिबानले महिलाहरूलाई लामो दूरीको एक्लै यात्रा गर्ने अधिकारबाट समेत बञ्चित गरेको जनाइएको छ । यस्तै, तालिबानले महिलाहरूलाई स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा काम गर्न पनि बन्देज लगाएको गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

महिलाहरूले बुर्का लगाउने नियम कार्यान्वयनको जिम्मा भने उनै महिलाका अभिभावक, नातेदार वा रोजगारदातालाई दिइएको बताइएको छ ।कोही महिलाले सार्वजनिक स्थानमा अनुहार नछोपेको खण्डमा ती महिलाका ‘अभिभावक’ लाई सजाय हुने व्यवस्था राखिएको छ । महिलाहरू घरबाट बाहिर ननिस्किऊन् भन्नाका लागि यस्तो नियम ल्याइएको हो ।

‘अफगानिस्तानका सबै स्वाभिमानी महिलाहरूलाई हिजाब लगाउनु आवश्यक छ र सबैभन्दा राम्रो हिजाब चदोरी हो, जुन हाम्रो संस्कारको एउटा हिस्सा पनि हो ।’ अफगानिस्तानको दुराचार तथा सदाचार मन्त्रालयका अधिकारी शिर मोहम्मदलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

‘जति पनि महिलाहरू छन्, जो धेरै बूढा छैनन्, धेरै कलिला पनि छैनन्, उनीहरूले आँखाबाहेक सबै अनुहार छोप्नुपर्छ ।’ उनले भने ।

अनुहारलाई पुरै छोप्ने किसिमको अफगानिस्तानको परम्परागत बुर्कामा आँखाबाट हेर्नका लागि ससाना प्वालहरू मात्र पारिएको हुन्छ ।यता अफगानिस्तानका मानव अधिकारवादीहरूले भने तालिबानको पछिल्लो कदमको चर्को निन्दा गरेको गार्जियनले जनाएको छ ।

साउदी राजा सलमान अस्पताल भर्ना

साउदी अरबका राजा सलमान अस्पताल भर्ना भएका छन् । साउदी राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको  सरकारी सञ्चारमाध्यमले आइतबार उल्लेख गरेको छ ।

साउदी सरकारले सामान्यतया ८६ वर्षीय वृद्ध राजाको स्वास्थ्यको बारेमा सूचनाहरू रोक्ने गरेको छ ।

यद्यपि राजदरबारलाई उद्धृत गर्दै साउदी अरबको साउदी प्रेस एजेन्सीले राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको जनाएको छ । राजा सलमानले सन् २०१५ यता साउदी अरबको शासन गरिरहेका छन् ।

उनी शनिबार तटीय शहर जेद्दास्थित किङ फैसल स्पेशलिस्ट अस्पतालमा केही स्वास्थ्य परीक्षण गर्न गएका थिए । यद्यपि उनको स्वास्थ्यमा कस्तो समस्या आएको हो भन्नेबारे केही खुलाइएको छैन । सन् २०२० मा राजा सलमानको पित्तथैलीको शल्यक्रिया भएको थियो ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता र अरब संसारको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहेको साउदी अरबमा उनको शासनकालमा उनको मुलुकले छिमेकी यमनमा युद्धमा प्रवेश गर्ने लगायत थप दृढ परराष्ट्र नीति अपनाउँदै  महत्वाकाङ्क्षी आर्थिक सुधारहरू शुरु गरेको  र महिलाहरूलाई थप अधिकार दिइएको बताइन्छ ।

पूर्व सुरक्षा प्रमुख हङ्कङका नयाँ नेता चुनिए

हङ्कङका पूर्व सुरक्षा प्रमुख त्यहाँको नयाँ नेता चुनिएका छन् । बन्द मतदानबाट पूर्व सुरक्षा प्रमुख जोन ली हङ्कङको नयाँ नेता चुनिएका हुन् । चुनावमा उनी एकमात्र उम्मेद्वार रहेको बीबीसीले जनाएको छ ।

मुख्यभूमि चीनको कट्टर समर्थक मानिने लीको चुनावलाई हङ्कङमा चीनले आफ्नो नियन्त्रणलाई अझ सुदृढ बनाउने अर्थमा विश्लेषण गरिएको छ ।

सन् २०१९ मा हङ्कङमा लोकतन्त्रवादी प्रदर्शनकारीमाथि दमन भएको समयमा उनी नै त्यहाँको सुरक्षा प्रमुख रहेको जनाइएको छ ।उनले सन् २०१७ यता हङ्कङको नेतृत्व गरिरहेकी क्यारी लामलाई प्रतिस्थापित गर्ने जनाइएको छ ।

हङकङमा १५ सय जनाको सानो समूहले मात्र नेता चुन्ने प्रावधान रहेको र तीमध्ये अधिकांश चीनसमर्थक रहेको बीबीसीले जनाएको छ ।

युक्रेनमा फेरि दुष्ट पसेको जेलेन्स्कीको टिप्पणी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा फेरि एकपटक दुष्ट पसेको टिप्पणी गरेका छन् ।

 दोश्रो विश्वयुद्धमा जर्मनीको हारको वार्षिकोत्सव अर्थात विजय दिवसका दिन सम्बोधन गर्दै युक्रेनमा फेरि एकपटक दुष्ट पसेको टिप्पणी गरेका हुन् ।‘दुष्ट फर्केको छ । फेरि !’ जेलेन्स्कीलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

‘फरक शैलीमा, फरक नाराका साथ, तर उही उद्देश्यले ।’ उनले भने, ‘कुनै पनि दुष्ट जिम्मेवारबाट भाग्न सक्दैन, बंकरमा पनि लुक्न सक्दैन ।’

नाजी तानाशाह एडल्फ हिटलरले आफ्ना अन्तिम दिनहरू जर्मनीको राजधानी बर्लिनमा रहेको बंकरमा लुकेर बिताएका थिए । अन्त्यमा उनले आत्महत्या गरी प्राण त्यागेका थिए ।

बेलायतले युक्रेनलाई थप १ अर्ब ३० करोड पाउण्ड सहायता प्रदान गर्ने

बेलायतले युक्रेनलाई थप १ अर्ब ३० करोड पाउण्डको सहायता प्रदान गर्ने भएको छ ।

बेलायती अर्थमन्त्री ऋषि सुनकले युक्रेनकाका लागि १ अर्ब ३० करोड पाउण्डको अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको बेलायतबाट प्रकाशित हुने द सन्डे टाइम्सले जनाएको छ ।

यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइने र युक्रेनलाई बेलायतको विद्यमान १.५ अर्ब पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ ।

बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको द सन्डे टाइम्सले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसको जवाफमा पश्चिमा देशहरूले रुसविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति जारी राखेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : १९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न