नारी दिवसमा पुरुषको बारेमा पनि सोचौं | Khabarhub Khabarhub

नारी दिवसमा पुरुषको बारेमा पनि सोचौं



आज अन्तर्राष्ट्रिय नारी दिवस । प्रत्येक वर्षको मार्च ८ मा नारी दिवस मनाइने गरिन्छ । सन् १९०९ फेब्रअरी २८ मा अमेरिकामा सोसलिस्ट पार्टीले महिलाहरुको सहभागिता गराएर महिला सशक्तिकरणको आवाज उठाएको थियो । सन् १९१० मा ‘इन्टरनेश्नल वुमेन कन्फेरेन्स’ भयो र त्यहीँबाट मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो ।

तत्कालीन समयमा नारीलाई चुनावमा भोट हाल्न दिनेसम्म अधिकार थिएन । संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने घोषणा गरेपछि अमेरिका, बेलायत, फ्रान्सजस्ता देशमा महिलाले पनि मतदान गर्न पाउने व्यवस्था लागू भयो । अहिलेसम्म पनि महिलाले मतदानको लागि लडाइ लडिरहनुपरेको छ । सन् २०१५ डिसेम्बर १२ मा मात्र साउदीका महिलाले मतदान गर्न पाउने स्वतन्त्रता पाएका थिए । अहिले पनि समानताका लागि महिलाले निकै संघर्ष गरिरहनुपरेको छ ।

तर अहिले अन्तर्राष्ट्रिय रुपमै महिला अधिकारको क्षेत्र फरक भएको छ । नेपालमा पनि महिला आन्दोलनले ठूलो फड्को मारेको छ । महिलाहरुले पुरुषलाई विदेशमा काम गर्न पठाएर घर व्यवहार धानेका छन् । हलो नाघ्नेसम्म स्वतन्त्रता नभएका महिलाले अहिले आफै जोत्ने गरेका छन् । दाहसंस्कार गर्दा पुरुषले मात्रै दागबत्ति दिने तथा किरिया बस्ने प्रचलन तोड्दै महिला आफैले विकृति र परम्परा तोडेर दाहसंस्कारमा सरिक हुन थालेका छन् ।

यी सबै परिवर्तन हुन एक सताब्दिभन्दा बढी महिलाहरुले ठूलो संघर्ष गर्नुपरेको छ । तर पुरुषको सहभागिता बिनाको संघर्षले परिवर्तनमा बाधा पुर्याएको छ । महिला अधिकार खोज्दा पुरुषलाई विपक्षी ठान्ने परम्परा झनै बढ्दै गएको छ । साम, दाम, दण्ड, भेदमै महिला र पुरुषको बीचमा ठूलो खाडल छ । त्यो खाडल पुर्न महिलाको आन्दोलनमा पुरुषले पनि साथ दिन आवश्यक छ ।

नेपालमा वैदेशिक रोजगारीले सामाजिक संरचना र महिला पुरुष समानतामा थुप्रै परिवर्तन ल्याएको छ । तर आर्थिक क्रियाकलापमा भने परनिर्भरता बढ्दै गएको छ । पुरुषले विदेशमा गएर कमाउने र महिलाले त्यही कुरा उपभोग गर्नुपर्ने बाध्यता छ । हो, यही असमानता धेरेको छ । किनकी आफु कमाउन सक्ने महिलाले पनि श्रीमानको कमाइमा रमाएर नै समय ब्यतित गरेको आरोप छ । समानताका लागि त महिलाले पनि आत्मनिर्भरको बाटो रोज्नुपर्छ । पुरुषले उठाएको आर्थिक भारको हिस्सा अब आफैँले बोक्नुपर्छ । समानता खोज्ने मात्रै होइन, हस्तक्षेपपूर्वक समानता कार्यान्वयन गरेर महिलाले नै नेतृत्व गर्नुपर्छ ।

हिजोआज गाउँ वा सहरमा कुनै कार्यक्रम हुँदैछ भने त्यसैबाट पनि सुरु भएको हुन्छ, महिला र पुरुषबीचको दुरी । धेरै पुरुषहरू त्यो कार्यक्रमबारे प्रचार–प्रसार मात्रै होइन कि प्रमुख अतिथि, अतिथि भएका हुन्छन । तर महिला कार्यक्रममा प्रवेशस्थलमै स्वागत गर्नको लागी हातमा पुष्पगुच्छा लिएर बस्ने । के त्यो काम पुरुषले गर्न सक्दैनन् ? के महिलाले पुरुषले गरेको काम गर्न सक्दैनन् ?

हाम्रो समाजमा अहिले पनि पूजापाठ, विवाह, ब्रतबन्ध भइरहेका ठाउँमा महिलाको काम टीकाको थाली बोकेर गेट नजिक बस्ने अनि पाहुनापाक्षीलाई टीका लगाइदिने, भान्छामा काम गर्ने त्यो पनि भाँडा माझ्नका लागि, पानी ओसार्ने । पुरुषहरू भने नजिकै बसेर ठुला ठुला गफ गरेर बस्नुपर्ने, के यसमा पनि परिवर्तन गर्न सकिदैन ?

जति नै प्रचार प्रसरको कार्यक्रम गरे पनि अझै पनि घरबाटै हुने गरेको भेदभाव झन् ठूलो छ । यस्तो विभेद हटाउन कतिपय ठाउँमा महिला नै समस्याका रुपमा देखिएका छन् । यदि छोरी राति ८ बजे सम्म घरमा पुगिनन् भने आमाले धेरै पटक फोन गरिसकेकी हुन्छिन् । छोरी कतिखेर आउँछ्यौ ? कता अल्मिलियाँ ? भनेर चिन्ता व्यक्त गरिरहेकी हुन्छिन् । तर त्यै घरको छोरा रातको १० बजे सम्म पनि आएन भने तीनै आमाले भन्छिन कतै साथीकोमा गएको होला ।

हाम्रा सामाजिक नियम र मूल्यमान्यता पनि महिलालाई पीडा थप्ने खालकै छन् । छाउपडी प्रथाका कारण कति महिला पीडित भइरहेका छन् । मौन रहेका भगवानको नाममा कति महिलालाई मौन बनाइन्छ । उनीहरुको आवाजमा बन्देज लगाइएको छ । यस्ता उदाहरणले समाजमा अझै पनि महिलाले कुन स्थितीमा दैनिकी गुजार्नु परेको प्रस्ट हुन्छ ।

अहिले पनि छोरी भएकै कारण भ्रुणहत्या गर्ने गरिएको खबर आउन बन्द भएका छैनन् । दैनिकजसो महिला बलात्कारको सिकार भइरहेका छन् । तर, न्याय पाउन अझै पनि सहज छैन । पैसा, पावर र इज्जतको नाममा घटनालाई लुकाइन्छ, दबाइन्छ ।

भविष्यको नाममा लेनदेनमा घटना गुपचुप राखिन्छ । अनि, प्रतिष्ठाको नाममा मिलाइन्छ । अनेकथरि सामाजिक अड्चनले पीडित महिलालाई समाजिक बन्धन नाघ्न अप्ठ्यारो बनाएको छ । पहिलो कुरा त अझै पनि चेतनाको कमी छ । चेतना भएपनि झन्झटिलो कानुनी प्रक्रियाका कारण महिलाले पीडा दबाएर बस्न बाध्य हुनुपरेको अवस्था छ ।

समाज बदलिँदै पनि गएको छ । यो खुसीको कुरा हो । मलाई स्कुल पढ्दा जिन्सको पाइन्ट लगाउदा ‘खुब तरुनी भैछस्’ भन्नेहरुका छोरीले अहिले मिन्स्किट लगाएर हिड्न सक्ने वातावरण बनेको छ । महिला स्वतन्त्रता कुरा गाउँसम्म पुगेको तर लागू भने केवल एक दिनको लागी भएको छ ।

महिला स्वतन्त्रताको बारेमा चर्को–चर्काे भाषण गर्ने चमेली दिदीले घरमा खाएको थाल माझ्नको लागी ती नै महिलालाई राखेकी छिन । अब भन्नुस् तिनको भाषणको औचित्य कति ? यसो भन्दै गर्दा महिला विरोधी भन्ने आरोप लाग्छ होला । तर, महिला स्वतन्त्रता तीनको लागी आउनु पर्छ । जो चमेलीको घरमा भाँडा मोलेर बस्नु परेको छ ।

स्वतन्त्रता तिनको लागी आउनुपर्छ, जसले एक छाक टार्नको लागी मालिकको खुट्टा मालिस गर्नु परेको छ । स्वतन्त्रता तिनको लागी आउनु पर्छ । जसले छोरी भएकै कारण ज्यान गुमाउनु परेको छ । साच्ँचै नारी दिवस तीनलाई आउनु परेको छ । जसले बलात्कृत भएर पनि लाचार बन्नु परेको छ, चुपचाप बस्नु परेको छ ।

कुनै कार्यक्रमा गएर चर्का चर्का भाषण अनि नारा घन्काउदै सडक पेटी तताउनु भन्दा आफुले अरुको अधिकार हनन् नगरौँ । आफुले भोगेको पीडा आउने पुस्तालाई नदिउँ आफुले गरेको दमन र पीडितको भावनालाई बुझ्ने कोशिस गरौं । छोरीलाई राम्रो चाहनेले बुहारीलाई पनि त्यो व्यवहार गर्न सिकौं ।

अनि पराईको घर होइन आफु गएपछि, बसेपछि आफ्नै घर सम्झेर आमाको व्यवहार सासुआमालाई गरौं । यति मात्रै गर्न सकियो भने पनि देशले काचुँली पक्कै फेर्ने छ । महिला महिलाबाटै पीडित बन्ने अवस्थाको अन्त्य हुने छ । अनि चमेलीको घरमा काम गर्न बस्ने दिदीले पनि नारी दिवसको महसुस गर्न सक्नेछिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ७ : ४० बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले