दिनभर आज: नागरिकता विधेयक फिर्ताको निर्णय सच्चाउन माग, माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सम्पन्न | Khabarhub Khabarhub

दिनभर आज: नागरिकता विधेयक फिर्ताको निर्णय सच्चाउन माग, माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सम्पन्न


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज दिनभर नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सम्पन्न, कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना, शिशुको मृत्यु काठमाडौंमा हैजा फैलँदो लगायतका समाचारले मुख्य स्थान पाए ।

यी हुन् आज दिनभरका शीर्ष समाचारहरुः

प्रतिनिधिसभाको बैठकले पारित गर्यो फौजदारी कसुर तथा फौजदारी कार्यविधि

प्रतिनिधिसभाको बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरेको छ ।

आज बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि बैठकमा सांसदहरुले विधेयकमाथि राखेका प्रश्नको जवाफ दिँदै कानूनमन्त्री कोइरालाले संवेदनशिल बिषयमा हल्का रुपमा टिप्पणी गर्दा अन्य क्षेत्रमा पनि त्यसले असर पार्ने बताए ।

जतिबेला पनि अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पार्न सक्ने गरी राजनीतिकरण गरेर विषयवस्तु उठाउँदा पनि समस्या हुन सक्ने उनको भनाइ छ ।

साथै उनले विधेयकमाथि जुन विषय हो, त्यसमा केन्द्रित रहेर सांसदहरुले भनाइ राख्दा उचित हुने बताए ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

यस्तै, बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।

नागरिकता विधेयक फिर्ताको निर्णय सच्चाउन भट्टराईको माग

नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ताको निर्णय सच्चाउन माग गरेका छन्।

राष्ट्रियसभाको आजको विशेष समयमा उनले उक्त विधेयक बनाउनका लागि दुई वर्षसम्म करोडौँको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको भन्दै निर्णय सच्चाउन सरकारको ध्यानाकर्षण गराए ।

मधेशमा जन्मसिद्ध नागरिकता पाउनका लागि ठूलो समस्या भएको र धेरै युवा नागरिकताबाट वञ्चित भएको भन्दै उनले अहिलेको विधेयकलाई नै छिटो पारित गर्नुपर्ने बताए ।

त्यस्तै उनले खेतीपातीको समयमा समेत मल उपलब्ध गराउन नसकेको भन्दै आपत्ति जनाए । उनले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेरमा अनाधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई लिएर अर्थमन्त्री जनार्दश शर्माले राजीनामा दिनु सकारात्मक भएको समेत बताए ।

बैठकको बिशेष समयमा सांसद उर्मिला अर्यालले अर्थमन्त्रीमाथि उठेका प्रश्नका बारेमा छानबिन समितिले सत्य अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने विश्वास व्यक्त गरिन् ।

सांसद सुमित्रा बिसीले अर्थमन्त्रीले तीन महिनासम्म राख्नपर्ने सिसीटिभी फुटेजलाई १३ दिनमै हटाएकोप्रति आपत्ति जनाइन् ।

नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गर्‍यो: प्रमुख सचेतक विशाल भट्टराई

प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गरेको टिप्पणी गरेको छ ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले दुई वर्ष छलफल भएर सहमति नजिक पुगेको उक्त विधेयक फिर्ता लिने निर्णयले आश्चर्यचकित भएको भन्दै सरकारले नागरिकको सामान्य हक खोस्ने काम गरेको बताएका हुन् ।

उनले सरकारले ल्याउने भनेको अर्को विधेयक नहेरी एमालेले आखा चिम्लेर समर्थन गर्न नसक्ने जिकिर गरे ।

भट्टराईले छिटो भन्दा छिटो ऐन पास गरेर नागरिकताविहीनलाई नागरिकता दिनुपर्ने उल्लेख गरे । उनले विनाकारण उक्त विधेयक फिर्ता लिने काम उचित नभएको तर्क गरे ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सम्पन्न

पार्टीको स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

आज काठमाडौंको प्रज्ञा भवनमा बसेको बैठकले पोलिटब्युरो १५६ जनाको पोलिटब्युरो गठन गरेको हो । बैठकले स्थायी कमिटी ४१ जनाको गठन गरेको र अहिले १५ जनाको नामावली पेश भएको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिए ।

बैठकले पदाधिकारी चयनका बारेमा छलफल गर्दै उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्ण बहादुर महरालाई चयन गरेको उनले बताए । अन्य पदाधिकारीको केही दिनमा नै टुङ्गो लाग्ने महराले बताए ।

बैठकले अध्यक्ष प्रचण्ड प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि जवाफ दिएको र बिभिन्न समसामायिक प्रस्ताव पारित गरेको उनले जानकारी दिए ।

त्यस्तै माओवादी नेता गिरिराजमणि पोखरेलले स्थानीय निर्वाचनले गर्दा पार्टीको विभिन्न कमिटी गठन गर्न केही ढिलाइ भएको बताए । बैठकमा प्रचण्डले केही दिनभित्रै पदाधिकारी टुङ्गो लगाउने बताएका थिए ।

काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश प्रहरीको समन्वयमा केन्द्र मातहतमा रहने

काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश प्रहरीको समन्वयमा केन्द्र मातहतमा रहने भएको छ ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गर्दै संशोधनसहित पारित गरेको हो ।

बैठकमा उपत्यकाको सुरक्षाका सन्दर्भमा आएको संशोधन प्रस्तावमा प्रदेश प्रहरीसँगको समन्वय रहने गरी बुँदा थप गरेर पास गर्ने गरी सहमति भएको हो ।

संशोधनका लागि ल्याइएको विधेयकको दफा १० मा उपत्यकामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्ने समेत उल्लेख गरिएको छ ।

त्यस्तै अध्यागमनसम्बन्धी कसुरको अनुसन्धान नेपाल प्रहरीले नै अनुसन्धान गर्ने कुरालाई यथावत राखिएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले गम्भीरतापूर्वक नै उपत्यकाको दायित्व निर्वाह गर्नुपर्ने भएकाले नै उक्त संशोधन ल्याइएको बताए ।

उनले संशोधनलाई पूर्ववर्ती सरकारले अघि बढाएको र अहिलेको सरकारले समेत निरन्तरता दिएको जानकारी दिए । अहिले उक्त व्यवस्था अध्यादेशको रुपमा कार्यान्वयनमा रहेको मन्त्री खाँणले बताए ।

यसअघि छलफलमा माओवादीका सांसदहरुले राजधानीको सुरक्षाका बिषयमा प्रदेश प्रहरीको अधिकार कटौती हुन नहुने बताएका थिए भने एमाले र कांग्रेसका सांसदहरुले उपत्यकाको सुरक्षाको जिम्मा नेपाल प्रहरीले नै गर्नुपर्ने गरी ल्याइएको संशोधनप्रति समर्थन जनाएका थिए ।

सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वन गरिनुपर्छः श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वन गरिने बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्रले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै यसको प्रभावकारी कार्यान्वयन गरिने बताएका हुन् ।

उनले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने बताए । उनले कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्दै लैजाने पनि बताए ।

कोषबाट आश्रित परिवार सुविधा र अवकाश सुविधावापत आर्थिक सहयोग प्राप्त हुने भएकाले यसको महत्व धेरै रहेको उनको भनाइ छ ।

कोषले आगामी भदौ १ गतेदेखि योगदानकर्तालाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने समेत तयारी गरेको छ । कोषमा हालसम्म रु १९ अर्ब ६२ करोड योगदान रकम जम्मा भएको बताइएको छ ।

उपराष्ट्रपति र भारतीय राजदूतबीच शिष्टाचार भेट

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

आज अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको जनाइएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेका बताए । उनले दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपतिले नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्ने पनि बताए । त्रीपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने उनको धारणा थियो ।

भेटमा उपराष्ट्रपतिले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने जनाएका थिए । उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमेकी मित्र भएको धारणा राखेका थिए ।

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएकोे छ ।

कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परीक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ जना रहेकोे छ । पछिल्लो चौबिस घण्टामा २३ जना संक्रमित निको भएका छन् ।

फेरि थप दुई जनामा हैजा

काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । गएराति थप दुई जनामा हैजाको बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले बताए ।

ती दुवै जनाको अहिले उपचार भइरहेको छ । कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौँ–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए ।

थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ । उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौँका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन् ।

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना, शिशुको मृत्यु

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको बेलौरी प्रहरीले जनाएको छ ।

तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त सवार थिए । उनीहरू समेत घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स अनियन्त्रित भएर घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा लिएको बेलौरीका प्रहरी नायव निरीक्षक रमेशसिंह बुढाथोकीले जानकारी दिए ।

२७० किलो गाँजासहित २ जना पक्राउ

प्रहरीले वीरगञ्जमा २७० किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं. ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० किलो गाँजा बरामद गरिएको र उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

कर्जा निक्षेप अनुपात ९५ प्रतिशत कायम गर्न बैंक तथा वित्तीय सस्था परिसंघको सुझाव

बैंक तथा वित्तीय सस्था परिसंघ (सिविफिन)ले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९५ प्रतिशत कायम गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

आज काठमाडौंमा आगामी आर्थिक वर्षको मौद्रीक नीतिका बारेमा राष्ट्र बैंकलाई दिएको सुझावका बारेमा पत्रकार सम्मेलन गर्दैै परिसंघले मौजुदा सीडी रेसियोलाई ९५ प्रतिशत कायम गरि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नका लागि प्रोत्साहनसहित आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने जनाएको हो ।

त्यस्तै बैंक तथा बित्तिय संस्थाहरुले आर्जन गरेको मुनाफा वितरणको निक्र्यौल गर्ने अधिकार पूर्ण व्यवस्था अनुरुपले सम्बन्धित संस्थाहरुलाई नै दिनुपर्ने परिसंघको सुझाव छ ।

स्थानीय निकायको रकमलाई सतप्रतिशत निक्षेप गणना गर्न दिने व्यवस्थाले उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्न मद्दत पुग्ने परिसंघले जनाएको छ ।

अनावश्यक र विलासीताका वस्तुहरुको आयातमा गरिएको कडाइलाई थप निरन्तरता दिँदै निर्यात प्रवर्द्धन गर्न उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने व्यवस्था हुनुपर्ने परिसंघका अध्यक्ष पवन गोल्यानले बताए ।

त्यसैगरी परिसंघले विप्रेषण आप्रवाहमा विशेष व्यवस्थापन गर्ने विप्रेषणको निश्चित हिस्सालाई वचत गर्न आकर्षित योजना ल्याउन पनि सुझाव दिएको छ ।

अति आवश्यक कृषिजन्य कच्चा पदार्थ वाहेक अन्य कृषिजन्य वस्तु तथा सामाग्रीको आयातमा रोक, फजुल खर्च र अनावश्यक वस्तु तथा सेवाको प्रयोगलाई निरुत्साहित गर्दै वचत गर्न प्रोत्साहन गर्नु पर्ने लगाएतका सुझाव पनि परिसंघले जनाएको छ ।

साझा यातायातको विद्युतीय बस सञ्चालन

साझा यातायातले आजदेखि नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा ल्याइएका तीन वटा बिद्युतिय बस आजबाट सञ्चालमा आएका हुन् ।

साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त विद्युतीय बसको हरियो झण्डा देखाएर शुभारम्भ गरेका हुन् । उक्त विद्युतीय बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुट र लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा सञ्चालन भएको साझा यातायातले जानकारी दिएको छ ।

साझाका तीन वटै बसमा चालक र परिचालक महिला छन् । अन्य ३७ वटा बस श्रावण महिनाभित्रै भित्राउने र दशै अघि सेवा सुरु हुने बताइएको छ ।

साझा यातायातले विद्युतीय बसको चार्जिङ स्टेसनका लागि सरकारले जग्गा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ ।

शेयर बजार आज पनि घट्यो

शेयर बजार आज साढे १६ अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आजा १६ दशमलव ६० अङ्कले घटेर २ हजार २७ दशमलव ३२ विन्दुमा झरेको छ ।

म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । २ सय २९ वटा कम्पनीका ४७ लाख ११ हजार कित्ता शेयर १ अर्ब ८० करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १० : १८ बजे

फिलिपिन्समा चरम गर्मीका कारण छ जनाको मृत्यु

मनिला– फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १

सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

  इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार

गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा

काठमाडौं– नयाँ वर्षको अवसर पारेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले

हामी जातीय राजनीति गर्दैनौँ, बहुपहिचानको पक्षमा छौँ : सभापति लामिछाने 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न