विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भदौ २० २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ५, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

लिज ट्रस बनिन् नयाँ बेलायती प्रधानमन्त्री

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छिन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व दौडमा निवर्तमान अर्थमन्त्री ऋषि सुनकलाई पछि पार्दै निवर्तमान विदेशमन्त्री ट्रस नयाँ प्रधानमन्त्री बन्न सफल भएकी हुन् ।

कन्जरभेटिभ पार्टीको नेतृत्व परिवर्तन भएसँगै निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनको कार्यकाल पनि टुङ्गिएको छ । उनले मंगलबार प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिट छाड्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनले स्कटल्याण्डको भ्रमण गरी महारानी एलिजावेथ द्वितीयलाई औपचारिक रुपमा राजीनामापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । विभिन्न प्रकरण एवम् विवादमा फसेपछि जोनसनले गत जुलाई महिनामा पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

ट्रसले पनि महारानीसँग भेट गरी नयाँ सरकार बनाउनका लागि प्रक्रिया थाल्न आग्रह गर्ने जनाइएको छ । बेलायतमा सन् २०१५ मा भएको आम निर्वाचनपछि प्रधानमन्त्री बन्ने ट्रस चौथो कन्जरभेटिभ नेता हुन् ।

हाल युक्रेनमा जारी रुसी आक्रमण, बढ्दो मूल्यवृद्धि, राजनीतिक विभाजन लगायतका समस्याको समाधान गर्नु उनका लागि चुनौती रहेको विश्लेषण गरिएको छ ।

पाकिस्तानमा बाढी – अर्बौ डलरको आर्थिक क्षति भएको अनुमान

बितेका दुई महिनामा पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी एक हजार तीन सय १४ जनाको मृत्यु भएको छ भने १२ हजार सात सय तीन जना घाइते भएका छन् ।

बाढीबाट तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएका छन् ।

बितेका २४ घण्टामा बाढीले बगाउँदा २४ जनाको ज्यान गएको तथा एक सय १५ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । उक्त प्रान्तमा १९ जनाले ज्यान गुमाएका छन् । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा तीन जनाको मृत्यु भएको तथा पञ्जाब प्रान्तमा एक जनाको मृत्यु भएको छ भने एक सय सात जना घाइते भएका प्राधिकरणले पछिल्लो पटक जारी गरेको बाढीको अद्यावधिक विवरणमा जनाइएको छ । बलुचिस्तान र गिलगिट बाल्टिस्तान पनि बाढीको चपेटमा परेका छन् ।

खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले तीन हजार चार सय ५७ किलोमिटर सडक बगाएको, एक सय ५९ पुल भत्काएको, २० लाख एकड भन्दा बढी क्षेत्रफलमा लगाएको बाली नष्ट भएको, एक सय ९५ पसल बगाएको, नौ लाख ५९ हजार आठ सय ५८ भन्दा बढी घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

हालसम्म ७१ हजार दुई सय ७५ जनालाई उद्धार गरिएको तथा पाँच लाख १३ हजार चार सय ४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । देशमा आपतकाल घोषणा गरिएको छ ।

साथै सरकारले बाढीपहिरो प्रतिकार्यसमबन्धी कामलाई संस्थागतरूपमा सम्पादन गर्न समन्वय केन्द्र स्थापना गरेको छ । बाढीले निम्त्याएको भीषण परिस्थितिको सामना गर्न तथा क्षति भएका भौतिक संरचनालाई पुनः स्थापना गर्न भरमग्दुर प्रयास भइरहेको जनाइएको छ ।

सरकारी एवम् गैरसरकारी संस्थाले उक्त केन्द्रसँगको समन्वयमा राहत तथा उद्धारका काम गरिरहेका छन् ।

बाढीबाट देशको भौतिक संरचनामा अकल्पनीय क्षति भएको छ । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब ५० करोड डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

देशका एक सय १८ जिल्ला बाढीको चपेटामा परेसँगै मुलुकको कुल जनसङ्ख्याको करिब ३७ प्रतिशत गरिबीमा धकेलिएको छ ।

क्यानडामा छुरा प्रहार हुँदा १० जनाको मृत्यु

क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ ।

३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइलेस स्यान्डरसन नामका दुई संदिग्धहरू फरार छन् । प्रहरीले शंकास्पद व्यक्तिहरुको खोजी कार्य जारी राखेको छ।

पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्याउनुअघि सावधानी अपनाउनुहोस् रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले ट्वीट गरे ।

जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन् ।

बंगलादेशमा सडक दुर्घटना

बङ्गलादेशमा सडक दुर्घटना भएको छ । राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तर पश्चिममा अवस्थित रङपुर जिल्लामा सवारी दुर्घटना भएको हो ।

आज मध्यराती साढे १२ बजे सवारी दुर्घटना भएको ढाकाबाट प्रकाशित हुने ढाका ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् ।

यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

घटनास्थलमा पाँच जनाको ज्यान गएको रङपुर जिल्लाको तारापुञ्ज क्षेत्रका उपप्रमुख मोहम्मद रसेलले बताए । अन्य चार जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

सडक दुर्घटनामा केही यात्री गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।

उत्तर प्रदेशमा आगलागी

भारतको उत्तर प्रदेशमा आगलागी भएको छ । उत्तर प्रदेशको राजधानी लखनऊस्थित हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी भएको हो ।

आगलागीमा परी चार जनाको मृत्यु भएको भारतीय अखबार इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ । घटनामा अरु १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीले स्थानीय अस्पतालमा गई घाइतेहरुसँग भेट गरेको जनाइएको छ । जिल्ला प्रशासनका अधिकारीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई घटनास्थलमा पुगेका तथा त्यहाँ राहत एवम् उद्धारका काममा समन्वय गरिरहेका मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चीनमा देखिएको तापलहरका कारण लिथियम ब्याट्रीको आपूर्तिचक्र नै प्रभावित

चीनका विभिन्न क्षेत्रमा देखिएको तापलहरका कारण सौर्य उर्जाका लागि आवश्यक लिथियम ब्याट्री र सोलर प्यानलेको विश्वव्यापी आपूर्तिचक्रमा ठूलो दबाब परिरहेको पाइएको छ ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको सिचुआन प्रान्तमा देखिएको तापलहरका कारण सरकारले कारखाना बन्द गर्न निर्देशन दिएसँगै त्यहाँ रहेका कारखानाको काम ठप्प भएको छ ।

बिजुली जोगाउन भन्दै चीन सरकारले तापलहरका बेला औद्योगिक उत्पादन बन्द गराएको हो । यस्ता कारखानाहरुले आफूहरुले सरकारी निर्देशन पालना गरिरहेको साउथ चाइना मर्निङ पोस्टलाई जानकारी दिएका छन् ।

यसका कारण ती कारखानाहरुले लिथियम र पोलिसिलिकनको उत्पादन प्रभावित भएको जनाएका छन् ।

चीन विश्वकै सबैभन्दा ठूलो लिथियम ब्याट्री उत्पादक मुलुक हो ।

चीनमा भूकम्प

चीनमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । दक्षिणप्रश्चिम चीनको सिचुवान प्रान्तस्थित लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ ।

स्थानीय समयअनुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी चेङदुमा पनि महसुस गरिएको थियो ।

राष्ट्रिय आपतकालीन प्रतिकार्य तथा उद्धार कार्यालयले उद्धार एवम् सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको जनाएको छ ।

भारतीय कांग्रेसद्वारा सरकारविरोधी प्रदर्शन

इन्धनको मूल्य वृद्धि र बढ्दो बेरोजगारीको विरोधमा भारतीय कंग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

विपक्षी नेता राहुल गान्धीको नेतृत्वमा हजारौँ भारतीयहरूले सरकारविरोधी प्रदर्शन गरेका हुन् । नेता राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जनताका समस्याहरू सम्बोधन गर्न असफल भएको आरोप लगाएका छन् ।

गान्धीले मोदीले साना तथा मझौला उद्योग र गरिब किसान र मजदुरहरूको खर्चमा ठूला व्यापारिक समूहहरूलाई फाइदा पु¥याउने नीतिहरू अवलम्बन गरेको आरोप लगाए । बेरोजगारी र मूल्यवृद्धिबाट मानिसहरू प्रभावित भइरहेका उनले सुनाए ।

‘मोदीजीले कांग्रेसले ७० वर्षमा के ग¥यो भनेर प्रश्न गर्छन्’, राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा सम्बोधन गर्दै उनले भने, ‘सत्तरी वर्षमा कांग्रेसले देशमा यस्तो मूल्यवृद्धि गरेको छैन ।’

उनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दू–मुस्लिम ध्रुवीकरणको नीतिको प्रसंग उठाउँदै सरकारले भय र घृणाको वातावरण सृजना गरेर देशलाई कमजोर बनाउँदै लगेको आरोप पनि लगाए । उनले संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को पनि आलोचना गरे । राहुलले भने, ‘हिन्दू सर्वोच्चतावादी संगठन राष्ट्रिय स्वयंसेवक संघ भाजपाको वैचारिक आदर्श हो ।’

आठ वर्षअघि मोदी सत्तामा आएदेखि पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र गहुँजस्ता अत्यावश्यक खाद्यवस्तुको मूल्य ४० देखि १७५ प्रतिशतले बढेको उनले जनाए ।

आफूहरुमाथि अनावश्यक आरोप नलगाउन पाकिस्तानी तालिबानको चेतावनी

पाकिस्तानमा सक्रिय लडकु समूह तालिबानले आफूहरुविरुद्ध अनावश्यक आरोप नलगाउन राष्ट्रवादी एवम् धर्मनिरपेक्ष समूहहरुलाई चेतावनी दिएको छ ।

तहरिक ए तालिबान पाकिस्तानमा भनिने पाकिस्तानमा सक्रिय तालिबानले यस्तो चेतावनी दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

तालिबानले सरकारसँगको वार्तामा प्रगति भइरहेको भन्दै यसका कारण देशमा सुधार देख्न नचाहने तत्वहरु उत्तेजित भएको टिप्पणी गरेको छ ।

‘यी मानिसहरु पाकिस्तान शान्त र समृद्ध होस् भन्ने चाहँदैनन् ।’ तालिबानले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

आफूहरु पाकिस्तानमा ‘वास्तविक शान्ति’ को पक्षमा रहेको जनाउँदै तालिबानले आफूहरु पाकिस्तानविरोधी वा राज्यविरोधी नरहेको स्पष्ट पारेको छ ।

साथै तालिबानले आफूहरु कुनै पनि राजनीतिक वा धार्मिक संगठनको विरुद्धमा नरहेको बताउँदै यस्ता समूहहरुले आफूहरुमाथि लगाउँदै आएको नाजायज आरोप बन्द गर्नुपर्ने चेतावनी दिएको छ ।

‘प्रशान्त महासागरमा प्लाष्टिकको ९० प्रतिशतभन्दा बढी तैरिरहेको फोहोरका लागि ६ देश जिम्मेवार’

प्रशान्त महासागरमा प्लाष्टिकको ९० प्रतिशतभन्दा बढी तैरिरहेको फोहोर केबल ६ वटा देशबाट जम्मा हुने गरेको एउटा नयाँ अनुसन्धानले देखाएको छ । प्रायः फोहोर जापान र चीनमा अत्यधिक माछा मार्ने पक्रियाबाट जम्मा हुने अध्ययनमा देखाइएको छ ।

विश्लेषण र उचित नमूना परीक्षणपछि महासागर सफाई परियोजना र वासिंगटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले जर्नलमा आफ्नो रिपोर्ट प्रकाशित गरेका छन् ।

उत्तर प्रशान्त महासागरमा हाल हजारौं टन तैरिरहेको प्लास्टिकको फोहोर रहेको र त्यसले ठूलो समुद्री सतह ढाकेको अनुसन्धानमा उल्लेख छ । फोहर फैलिएको क्षेत्रलाई उत्तर प्रशान्त गार्बेज प्याच (एनपीजीपी) भनिएको छ ।

फोहोरको ठूलो अंश माछा मार्ने जाल र डोरी रहेको अध्ययनले देखाएको छ । बाँकी फोहर प्रायः कडा प्लास्टिक वस्तुहरू र टुक्राहरू मिलेर बनेको छ ।

अध्ययनअनुसार महासागरमा जम्मा तैरिने फोहरमध्ये ३३ दशमलब ६ प्रतिशत जापान, ३२ दशमलब ३ प्रतिशत दक्षिण कोरिया र ९ दशमलब ९ प्रतिशत अमेरिकाको रहेको छ । त्यस्तै, ६ दशमलब ५ प्रतिशत ताइवान र ४ दशमलब ७ प्रतिशत फोहरमा क्यानडा जिम्मेवार छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ७ : ५९ बजे

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको