विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन २०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ५, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियो सुन्नुहोस्-

चिनियाँ क्षेप्यास्त्र परीक्षणको अमेरिकाद्वारा निन्दा

अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ । सैनिक अभ्यासका क्रममा चीनले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सो कदम चालेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीले बताएका छन् । उनले चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन पनि आग्रह गरेका छन् ।

अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको थियो । यसबाट ताइवानको राष्ट्रिय सुरक्षा खतरामा पारेको विश्लेषणहरु भएका छन् । यस कदमबाट क्षेत्रीय तनाव पनि बढेको छ ।

लाइभ फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा शुरु गरिएको छ । चिनियाँ जनमुक्ती सेनाले ताइवानको जलक्षेत्र र हवाई क्षेत्र नजिक संयुक्त लडाइ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यस अघि नै जनाइसकेको छ।

बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउँन सक्ने बताइएको छ । यसै बीच ताइवान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई ताइवानमाथि चीनको सैन्य दबाबको निन्दा गर्न आग्रह गरेको छ ।

अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा

मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो ।

उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो ।

अमेरिकामा बिहीबारसम्ममा छ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो । सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखा परेको मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो ।

विश्वका कैयौँ देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ । विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ ।अहिले पनि विश्वका कतिपय देशहरुमा यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरु आइरहेका छन् ।

अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलेनोइ राज्यहरुमा बढी सङ्क्रमितहरु पाइएका बताइएको छ ।

जापानी प्रधानमन्त्री तथा अमेरिकी सभामुखबीच भेटवार्ता

जापानी प्रधानमन्त्री फुमियो किशिदा र अमेरिकी सभामुख न्यान्सी पेलोसीबीच भेटवार्ता भएको छ । एसियाको भ्रमणमा निस्केकी पेलोसीले जापानी प्रधानमन्त्री किशिदासँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा अमेरिकी सभामुख पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएकी छिन् ।

‘हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न सँगै काम गर्नेछौं,’ किशिदाले पेलोसीसँगको भेटपछि उल्लेख गरेको जापानी समाचार संस्था क्योदो न्युजले जनाएको छ ।

‘चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलई त्यस किसिमका अभ्यास तत्काल रोक्न आह्वान गरेका छौं,’ उनले भने ।

जापान सरकारले बिहीबार आफ्नो विशेष आर्थिक क्षेत्रमा चिनियाँ सेनाले पाँच वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको घटनाप्रति निन्दा गर्दै यसलाई ‘अत्यन्त जबरजस्ती’ कार्यको संज्ञा दिएको छ ।

सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियामा चीनले लाइभ फायर ड्रिलहरू सञ्चालन गरिरहेको छ । चीनले हिजो मात्रै प्रक्षेपण गरेको क्षेप्यास्त्र ओकिनावाको दक्षिणी प्रान्तको हातेरुमा टापुको दक्षिणपश्चिममा रहेको क्षेत्रमा खसेको थियो ।

जापानको क्योदो समाचार संस्थाले जापानले चीनलाई तुरुन्तै सैन्य अभ्यास बन्द गर्न आग्रह गरेको उल्लेख गरेको छ। ‘यो एउटा गम्भीर विषय हो जुन हाम्रो देशको राष्ट्रिय सुरक्षा र जनताको सुरक्षासँग सम्बन्धित छ,’ जापानी रक्षामन्त्री नोबुओ किशीले बताएका छन् ।

फुमियो किशिदा सरकारले चिनियाँ सरकारसमक्ष कूटनीतिक विरोध जनाइसकेको छ । अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ । यसका कारण ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको छ र यस क्षेत्रमा क्षेत्रीय तनाव पनि बढाएको छ ।

लाइभ फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा शुरु गरिएको छ । चिनियाँ जनमुक्ती सेना पीएलएले ताइवानको जलक्षेत्र र हवाई क्षेत्र नजिक संयुक्त लडाइ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यस अघि नै जनाइसकेको छ ।

बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउँन सक्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको जवाफमा सैन्य अभ्यासको रूपमा गरिएको जापानको विशेष आर्थिक क्षेत्रमा चीनको मिसाइल प्रक्षेपणको पनि अमेरिकाले निन्दा गरेको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बिहीबार एक ब्रिफिङ्गमा भनेका छन्– ‘हामी यी कार्यहरूको निन्दा गर्छौं जुन गैरजिम्मेवार छन् । यी कार्यहरू ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्ने हाम्रो लामो समयदेखिको लक्ष्यसँग बाझिएको छ ।’

इथियोपियामा दुई करोडभन्दा धेरैलाई मानवीय सहायताको खाँचो रहेको राष्ट्रसंघको भनाइ

अफ्रिकी मुलुक इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, ओएचसीएचएले दुई करोडभन्दा बढी इथियोपियालीलाई मानवीय सहायताको खाँचो रहेको पाइएको बताएको हो ।

सन् २०२२ मा यी इथियोपियालीलाई उक्त सहयोग आवश्यक रहेको पनि बताइएको छ । प्राप्त समाचारअनुसार यसरी सहायताको आवश्यकता परेका मानिसहरुमध्ये कम्तीमा पनि दुई तिहाई जति महिला तथा बालबालिका रहेका छन् ।

सन् २०२१ मा इथियोपियाको मानवीय अवस्था निकै खस्किँदो रहेकाले मानवीय सहायताको खाँचो यस वर्ष झन् धेरैलाई परेको सो एजेन्सीले बताएको छ ।

यहाँ आन्तरिक द्वन्द्व, खडेरी तथा कतै बाढी पहिरोका कारण यहाँका नागरिकमा मानवीय सहायताको खाँचो बढ्दै गएको पाइएको ओचाले जनाएको छ ।

केही वर्षदेखि यहाँ आन्तरिक द्वन्द्व जारी रहेको छ । त्यस्तै खडेरी आदिका कारण पनि यहाँ खेती उब्जनीमा समस्या परेको छ । जसका कारण मानवीय सहायताको खाँचो झन् बढ्दै गएको पाइएको समाचारमा जनाइएको छ ।

भारतमा २० हजारभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिए

भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार हिजो एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ ।

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४१ लाख ७ हजार पाँच सय ८८ पुगेको छ । गत दुई दिनयता २० हजार भन्दा कम भएको कोरोना सङ्क्रमितको सङ्ख्या शुक्रबार पुनः २० हजार नाघेको हो ।

देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी २१ हजार पाँच सय ९५ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ४५ हजार छ सय २४ पुगेको छ ।

हिजो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट ७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार छ सय जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएयता ८७ करोड ७७ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब पाँच करोड भन्दा बढी मात्रा खोप लगाइएको छ ।

अमेरिकाद्वारा क्षेप्यास्त्र परीक्षणमा ढिलाइ

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकाले नियमित मिनेटम्यान ३ क्षेप्यास्त्र परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले जनाएअनुसार सभामुख पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न हुन सक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकी वायुसेनाले चीनसँग कुनै पनि असमझदारी बच्न परीक्षण प्रक्षेपण स्थगित गरिएको जनाएको छ ।

अमेरिकी अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रणालीको विश्वसनीयताको मूल्याङ्कन गर्ने उद्देश्यले वर्षमा थुप्रै पटक गरिने यो परीक्षण शुरुमा क्यालिफोर्नियाको भान्डेनबर्ग एयर फोर्स बेसमा यस हप्ता हुने बताइएको थियो तर यसमा ढिलाइ भइरहेको जनाइएको छ ।

चीनद्वारा अमेरिकी सभामुखमाथि प्रतिबन्धको घोषणा

चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको परिवारका निकटतम सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ ।

चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएका दिएको बताएको छ ।

यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने पनि मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी अन्य ३७ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बिहान १० बजेर १७ मिनेटमा चार तले भवनमा आगलागी भएको थियो ।

त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत रहेको एवम् दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू रहेको जनाइएको छ । अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : ०० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका