पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो | Khabarhub Khabarhub

पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको यो आयोजना ठुलो मानिन्छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । पोखरेलीले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा बनाउने लक्ष्य राखिएको आयोजनाको हाल ८५ प्रतिशत काम सकिएको छ ।

आयोजना सम्पन्न हुने चरणमा पुग्नै लाग्दा अप्रशोधित धमिलो पानी पिउनुपर्ने बाध्यतासमेत अन्त्य हुँदै छ । पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरीकन धारामा पठाउने गरिएकामा आयोजनाको लक्ष्य मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउने योग्य बनाउने रहेको छ ।

गण्डकी प्रदेशको राजधानी सहर पोखराका आधाभन्दा बढी जनसङ्ख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजनाको पाइप लाइन विस्तार र एउटा ‘रिजर्भ वायर ट्याङ्की’ र मुहानमा केही काम मात्र बाँकी रहेको बताइन्छ ।

जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले आयोजना कार्यान्वयन गरिरहेको आयोजना निर्माणको काम जापानको हाज्मा एण्ड कर्पोरेशनले गरिरहेको छ ।

प्राविधिक समस्या समाधान भएको अवस्थामा आगामी छ महिनाभित्रमा आयोजना सम्पन्न भइसक्ने पोखरा खानेपानी सुधार आयोजनाले जनाएको छ ।आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले काम अन्तिम चरणमा पुगेको र बजारका केही स्थानमा पाइप लाइन विस्तारमा समस्या देखिएको बताए ।

उनले भने, “पाइप लाइन विस्तारका क्रममा केही ठाउँमा नयाँ पिच र अस्फाल्ट कालोपत्रे सडक खन्नुपर्ने हुन्छ, महानगर र सडक कार्यालयबाट सडक खन्ने अनुमति नपाउँदा ढिलाइ भएको छ ।

कोल पाटनमा एयरपोर्ट नजिकको रिजर्भ वायर ट्याङ्कीको कामसमेत अहिले अघि बढ्न सकेको छैन ।” आयोजनाको हालसम्म मर्दी मुहानमा ‘ग्रिड च्याम्बर’, ‘सेडिमेन्टेशन ट्याङ्की’ र ‘स्लो स्याण्ड फिल्टर’को ९५ प्रतिशत काम सकिएको छ ।

पोखराभित्रका तीन वटा ठुला रिजर्भ वायर ट्याङ्कीमध्ये फूलबारी र मालेपाटनको सकिएको छ । इन्जिनियर दासका अनुसार ‘रिजर्भ वायर ट्याङ्की’को कोल पाटनको काम प्राविधिक समस्याका कारण रोकिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल सँगैको सो ट्याङ्कीको उचाइका कारण एयरपोर्ट सञ्चालनमा प्राविधिक समस्या आउन सक्ने अनुमान कारण रोकिएको हो ।यसलाई अन्यत्र स्थानान्तरण गर्ने भन्ने बारेमा जाइका र नेपाल सरकारले निर्णय गरिसकेका छैनन् । यसैगरी बजार क्षेत्रमा १०० किमी पाइप लाइन विस्तारको काममध्ये अब १५/१६ किमी मात्र बाँकी छ ।

उनेले भने, “केही प्राविधिक समस्याले रोकिएको बाहेक आयोजनाका अन्य काम अन्तिम चरणमा छन् ।आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा सुधार हुनेछ र शुद्ध पानी उपभोक्ताकामा पुग्नेछ, प्राविधिक समस्या समाधान लगत्तै आयोजना सम्पन्न हुन पाँच÷छ महिना समय लाग्छ ।”

आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ ।

पोखरा महानगरका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या आयोजनाबाट लाभान्वित हुने अनुमान गरिएको छ । हाल साबिक पोखरा उपमहानगरपालिकाका १७ वडा र मुख्य पोखराको क्षेत्रमा मर्दी खोलाबाट ल्याइएको पानी वितरण हुँदै आएको छ ।

मर्दी मुहानबाट २० र १६ इन्चका पाइपमार्फत पोखरामा पानी वितरण हुन्छ । पोखराको ८० प्रतिशत उपभोक्ताकामा मर्दी को पानी वितरण हुन्छ । सन् २०१७ को फेब्रुअरी १५ तारिखमा सरकार र जाइकाबीच खानेपानी सुधार आयोजनासम्बन्धी सम्झौता भएको थियो ।

सम्झौतापछि विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर तीन वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित काम अघि बढेको थियो । यसरी सफा बनाइने छ पानी खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी यसको मुहान र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा आवश्यक प्रक्रियामा अपनाएर प्रशोधन गरिनेछ ।

प्रशोधित पानी त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिनेछ । पानी सफा बनाउन मुहान नजिक ‘ग्रीट च्याम्बर’ र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेशन ट्याङ्की’ ९ढुङ्गा, बालुवा हटाउने पोखरी० निर्माणको काम सकिनै लागेको छ ।

मुहानको सेडिमेन्टेशन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पुरुनचौरमा निर्माणाधीन ‘स्लोस स्याण्ड फिल्टर’मा लगिनेछ । त्यहाँ पानी थप प्रशोधनका लागि चार वटा पानी थिग्राउने ट्याङ्की तथा छटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की (स्लोस स्याण्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ । सफा पानी वितरणका लागि आयोजनाले फूलबारी, कोलपाटन र प्रस्याङमा २० लाख लिटर क्षमताका रिजर्भ वायर ट्याङ्की निर्माण गरेको हो ।

खानेपानी संस्थानका अनुसार पोखरामा संस्थानका ४७ हजार ग्राहक छन् । तीमध्ये मर्दीखोलाको पानी प्रयोग गर्ने ३५ हजार छन् । यसैगरी कालीखोला र भोटीखोलाका पाँच÷पाँच हजार ग्राहक छन् । दुई हजार घरमा बोरिङको पानी पुर्‍याइएको  छ ।

मुहान संरक्षणमा अझै उदासीनता पोखरामा ल्याइने पानी शुद्धीकरण गर्ने योजना कार्यान्वयन भइरहँदा मुहानको संरक्षणमा भने अझै उदासीनता देखिन्छ ।

अहिले पनि मुहानभन्दा माथि खोलाबाटै सवारी साधनको वारपार, भैँसी आहाल बस्ने तथा फोहोर मैला विसर्जन हुँदै आएको छ । हिउँदमा नदीजन्य पदार्थको उत्खननका कारण मुहान प्रदूषित हुने गरेको छ ।

पोखरामा आपूर्ति भएको पानी सफा राखि राख्नका लागि अहिलेको स्थानबाट पाँच किमीमाथि मुहान सार्नुपर्ने आवाज उपभोक्ताको छ । हालको खानेपानीको मुहानलाई माथि स्थानान्तरण गर्दा पानी सफा बनाउन थप सहयोग पुग्ने बताइन्छ ।

विगतमा अहिलेको मुहानभन्दा माथि थोरै मात्र बस्ती थियो । पछिल्लो समय तीव्र सहरीकरणका कारण मानव बसोबास बढेसँगै मुहान दूषित हुने समस्या पनि बढ्दै छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको अग्रसरतामा केही वर्ष अघि मुहान सफा राख्नका लागि विभिन्न छ स्थानमा शव दहनगृह निर्माण गरिए पनि ती स्थलको अहिले पनि सबै ठाउँमा प्रयोग गरिएको छ ।

शव दहनस्थल निर्माणमा नेतृत्व गरेका उद्योगी यदुनाथ अधिकारी खानेपानीको हालको मुहान त्यसभन्दा माथि नर्सादासम्म पोखराको पानी शुद्ध हुन नसक्ने बत्ताउँछन् ।

हाल कम मात्र मानव बसोबास भएको स्थानबाट पानी ल्याउँदा मात्र सफा पानी उपभोक्ताले प्राप्त गर्ने उनको भनाइ छ । उनले भने, “हालको मुहान स्थानान्तरणका लागि हामीले पटक–पटक आवाज उठाएका छौँ तर सुनुवाइ भएको छैन । शुद्ध पानी पोखरामा आपूर्तिका लागि मुहान नै सार्नुको विकल्प छैन ।”

खानेपानी संस्थानले भने प्राविधिक हिसाबले कठिनाइ नपर्ने भए पनि जलाधार क्षेत्र कम हुने भएकाले स्थानान्तरणको काम नभएको जनाएको छ । मुहानभन्दा केही माथि मात्र इदी खोला मर्दीमा मिसिन्छ । सोही कारण पानी आपूर्ति कम हुने भएकाले मुहान सार्न नसकिएको संस्थानले जनाएको छ ।

गाउँपालिकाले माग्यो वातावरणीय सेवाको भुक्तानी मर्दी खोला माछापुच्छ्रे गाउँपालिकाका छ वडा हुँदै बग्छ । मर्दीखोलाको पानी दुईवटा पाइप मार्फत खानेपानी संस्थानले पोखरामा वितरण गर्ने गरेको छ । मर्दी को पानी पोखराको विन्ध्यवासिनी मन्दिर नजिकको रिजर्भ वायरमा जम्मा गरेर उपभोक्तामा पठाइन्छ ।

गाउँपालिकाले आफ्नो प्रमुख प्राकृतिक सम्पदा मर्दी को उपभोग गरेबापत खानेपानी संस्थानसँग वातावरणीय सेवाको भुक्तानी सिद्धान्त अवलम्बन गर्न माग गरेको छ ।

संस्थानले मर्दी को पानीबाट बर्सेनि अर्बौँ राजस्व सङ्कलन गरे पनि मर्दी क्षेत्रको विकासमा ध्यान नदिएको भन्दै आगामी वर्षको नीति कार्यक्रममा सो सिद्धान्त लागू हुनुपर्ने माग गरेको हो ।

पानी प्रयोगबापत निश्चित प्रतिशत राजस्व गाउँपालिकाले पाउनुपर्ने माग स्थानीय सरकारको रहेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताए ।

उनले भने, “हाम्रो पालिकाको प्रमुख प्राकृतिक स्रोतको उपभोग गरेबापत खानेपानी संस्थानले प्रभावित क्षेत्रका लागि सहयोग गरोस् भन्ने हाम्रो माग हो । वातावरणीय सेवाको भुक्तानीको सिद्धान्त विश्वका धेरै देशमा प्रचलित छ । संस्थानले आम्दानीको निश्चित प्रतिशत पालिकालाई दिनुपर्दछ ।”

यसअघि पनि यस विषयमा आवाज उठे पनि यस पटक गाउँपालिकाले आफ्नो नीति कार्यक्रममै यस विषयलाई समेटेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : १३ बजे

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत