‌ओमिक्रोनबारे अनुसन्धानहरू भइरहेका छन्, डेल्टाभन्दा घातक पाइएको छैन (भिडियो) | Khabarhub Khabarhub

‌ओमिक्रोनबारे अनुसन्धानहरू भइरहेका छन्, डेल्टाभन्दा घातक पाइएको छैन (भिडियो)



काठमाडौं– महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन सिंगो विश्व समुदाय लागिपरेको छ । यो भाइरसको उन्मुलन गर्न संसारमा कैयन् प्रयासहरू भइरहेका छन् ।

वैज्ञानिकहरुले यसको भ्याक्सिन (खोप) निर्माण गरे पनि यसका थुप्रै भेरियन्टहरु देखा परेका छन् । जसले गर्दा विश्व समुदायमा यसको प्रभाव कुनै न कुनै रूपमा परिरहेको छ ।

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेसँगै यसका रोकथामका लागि अनेक प्रयासहरु भइरहेका छन् । नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिइसकेका छन् ।

ओमिक्रोन भेरियन्ट थप फैलिन नदिन भन्दै स्वास्थ्य सेवा विभागले स्थानीय र प्रदेश सरकारलाई थप शतर्कता अपनाउन निर्देशन दिएको छ ।

महाशाखाका अनुसार कोरोना भाइरसको जोखिम कायमै रहेकाले संक्रमितको संख्या बढ्न नदिन नेपालमा पनि शतर्कता उपनाउन आवश्यक रहेको महाशाखाले जनाएको छ । अर्कातिर छिमेकी मुलुक भारतमा समेत पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिएको छ ।

भारतमा ओमिक्रोन संक्रमित देखिएपछि नेपालमा पनि जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराउन, कोरोना परीक्षणको दायरा बढाउन, पहिचान भएका संक्रमितहरुको उचित व्यवस्थापन गर्न महाशाखाले निर्देशन दिएको छ ।

त्यस्तै संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको फलोअप एवम् मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।

सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भने कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परे पनि आतंकित भाइहाल्नुपर्ने अवस्था नभएको बताउँछन् । उनका अनुसार ओमिक्रोन भेरियन्ट यसअघि देखा परेको ‘डेल्टा भेरियन्ट’ भन्दा घातक छ कि छैन भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।

‘डेल्टा भेरिएन्टसँग तुलना गर्नुको कारण हालसम्म देखिएका ‘भेरिएन्ट अफ कन्सर्न’ अन्तर्गतका कोरोना भाइरसहरुमध्ये यो भेरियन्टलाई कडा मानिनु हो । डेल्टा भेरियन्ट नेपालमा दोस्रो लहरको कारक पनि मानिन्छ,’ डाक्टर पुन भन्छन् ।

पुनका अनुसार ‘भेरियन्ट अफ कन्सर्न’ भन्नुको अर्थ यो भेरियन्टप्रति एकदमै सचेत हुनुपर्छ भन्ने बुझ्नुपर्छ । यो भेरियन्टका बारेमा अझै पनि अध्ययन भइरहेको पुन बताउँछन् ।

नेपालमा डेल्टा भेरियन्ट फैलिँदा दैनिक २ सय ४६ जनासम्म संक्रमितको मृत्यु भएको थियो ।

ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकामा देखा परेको थियो । यो भेरियन्ट अन्य भेरियन्टका तुलनामा समुदायमा छिटो फैलिएको पाइएको थियो । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई दुई दिनमै ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखेको थियो ।

दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट देखिएसँगै नेपालमा पनि सावधानी अपनाइएको थियो । सावधानीका बावजूद नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन भेरियन्टको संक्रमण भएको पुष्टि भइसकेको छ ।

ओमिक्रोन भेरियन्टमा अत्यधिक म्युटेसन हुँदा प्रश्न, जिज्ञासा तथा केही मिथ्याहरु फैलिए । जसले गर्दा नागरिकको जनजीवन प्रभावित बन्यो । विगतमा चीनमा देखिएको कोरोना भाइरसले युरोपमा (विशेषतः इटाली), बेलायतमा अल्फा भेरिएन्ट, बेटा भेरिएन्टले दक्षिण अफ्रिकामा र नेपाल–भारतमा डेल्टाले उथल–पुथल नै ल्याएको थियो ।

यसले गर्दा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट आउनासाथ सर्वसाधारण त्रसित बन्ने गरेका छन् ।

अहिलेको अवस्था पहिलेको भन्दा फरक भएको डाक्टर पुन बताउँछन् । उनका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा अघिल्लो भेरियन्ट डेल्टाको तुलनामा ओमिक्रोन भेरियन्ट कम घातक देखिएको छ ।

‘भारतमा यसको प्रभाव देखिएको छ, नेपालमा पनि ढिलोचाँडो फैलिन सक्ने अवस्था आउन सक्छ, त्यसैले यो भेरियन्टबाट जोगिनु आवश्यक छ, तर आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनी भन्छ्न ।

‘सास फेर्दा आफैँमा भाइरस छिरेर सार्ने होइन कि थुकको छिट्टा वा सक्रिय संक्रमितसँग हात मिलाएर अनि अर्को मानिसलाई छोयो भने सार्ने सम्भावना रहन्छ,’ संक्रमण भएको नौ दिनपछि कुनै व्यक्तिको आरएनए पोजिटिभ देखिए पनि त्यो आरएनए संक्रमण गर्ने खालको नहुने देखिएको छ,’ डाक्टर पुन भन्छन् ।

उनका अनुसार निको भएका व्यक्तिमा बढीमा दुई महिनासम्म एन्टीबडी रहने अध्ययनहरूबाट देखिएको छ । त्यसपछि ती व्यक्तिलाई फेरि कोरोना भाइरस संक्रमण हुने सम्भावना रहन्छ ।

एकपटक संक्रमित भएर निको भएको भन्दै कोरोना भाइरसविरुद्ध आजीवन प्रतिरोधी क्षमता विकास भएको रूपमा बुझ्न नहुने उनको सुझाव छ ।

‘निको भएका व्यक्तिले पनि मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेजस्ता मापदण्डको उत्तिकै पालना गर्नुपर्ने हुन्छ।,’ उनी अगाडि थप्छन् ।

‘विगतमा ख्याल गर्नुपर्ने कुरामा हामी कहाँ चुक्यौँ, त्यसका आधारमा थप शतर्कता अपनाउनुपर्छ,’ पुन थप्छन्, ‘कोरोना भाइरसका भेरियन्टमा केही परिवर्तन त आयो तर कसरी फैलिन्छ, कसरी असर पार्छ भन्ने कुरा पहिलेकै जस्तो हो ।’

उनी जनस्वास्थ्यका मापदण्ड अपनाएर आ–आफ्नो काम गर्दा खासै फरक नपर्ने सुझाव दिन्छन् । उनी सकभर कोरोना भाइरसको खोप लगाउँदा अझ प्रभावकारी हुने तर नलगाएको भए पनि नआत्तिन आग्रह गर्छन् ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १ : २३ बजे

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ