११ वर्षमा मनसुनजन्य विपद्‍बाट २६ सय ६२ जनाको मृत्यु | Khabarhub Khabarhub

११ वर्षमा मनसुनजन्य विपद्‍बाट २६ सय ६२ जनाको मृत्यु

८८० बेपत्ता र १९ अर्बभन्दा बढी आर्थिक क्षति


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनजन्य विपद्का घटनाले बितेको ११ वर्षमा नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७८ चैत मसान्तसम्म ११ वर्षको अवधिमा नेपालमा मनसुनजन्य विपद्का घटनाका कारण २ हजार ६६२ जनाको मृत्यु भएको छ ।

सोही समयमा रेकर्ड भएका ५ हजार ८२५ वटा मनसुनजन्य विपद्का घटनामा ८८० जना व्यक्ति बेपत्ता भएका छन् । विपद्का घटनाले ११ वर्षमा १९ अर्ब ८ करोड ३७ लाख ९७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

‘नेपालको भौगर्भिक, भौगोलिक तथा जलवायुको अवस्था, वर्षातको प्रकृति एवं प्रवृत्ति, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहन, जथाभाबी हुने विकासका कार्यहरू र प्रकृतिमा मानवको अतिक्रमणका कारण बाढी, पहिरो, हिमताल विस्फोट, हिम पहिरो जस्ता जलवायु तथा मनसुनजन्य प्रकोपका घटना हुने र ठूलो जनसङ्ख्यालाई प्रभावित गर्ने क्रम बढिरहेको छ,’ प्राधिकरणले तयार गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना २०७९ मा उल्लेख छ ।

नेपालमा मनसुनजन्य विपद्मध्ये बाढी, डुबान, कटान, पहिरो र भारी वर्षाले सबैभन्दा ठूलो जनधनको क्षति गर्ने गरेको छ । मनसुनजन्य विपद्ले पछिल्लो ११ वर्षमा १६ हजार ३९ घरमा पूर्ण क्षति र ४५ हजार ३९३ घरामा आंशिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

प्राधिकरणका अनुसार बितेको ११ वर्षको अवधिमा नेपालमा १ हजार ७५६ वटा बाढीका घटना रेकर्ड भएका छन् । ती घटनामा ८७५ जनाको मृत्यु र ५४८ जना बेपत्ता भएका छन् । बाढीका घटनाले १६ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी गरेको जानकारी प्राधिकरणले दिएको छ ।

‘नेपालको तराई र भित्री मधेसमा पर्ने तेइस जिल्लाहरू बाढीको उच्च जोखिममा छन् । काठमाडौं उपत्यकामा अवस्थित सहरहरू (काठमाडौँ, भक्तपुर, ललितपुर), हेटौडा, चितवन, तुलसीपुर, घोराही एवं वीरेन्द्रनगर सहरी बाढीको दृष्टिबाट उच्च प्रकोपयुक्त मानिन्छन्,’ कार्य योजनामा उल्लेख छ ।

विगत ११ वर्षमा मनसुनजन्य विपद्का घटनामध्ये सबैभन्दा बढी पहिरोका घटना भएका छन् । मानवीय क्षति पनि पहिरोबाट धेरै भएको छ । यस अवधिमा २ हजार ४६५ वटा पहिरोका घटना रेकर्ड भएको छन् । ती घटनामा परी १ हजार ३८७ जनाको ज्यान गएको छ भने ३३० जना बेपत्ता भएका छन् ।

पहिरोले पछिल्लो ११ वर्षमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

‘२०२६ देखि २०७५ सालसम्म गएका पहिरोहरूको तथ्याङ्कलाई विश्लेषण गर्दा नेपालको महाभारत श्रृङ्खलादेखि उच्च हिमाली क्षेत्र बिचको भू–खण्डमा बढी मात्रामा पहिरो गएको पाइन्छ । पहिरोको घनत्वको हिसाबले बागमती तथा गण्डकी प्रदेश उच्च जोखिममा रहेको पाइन्छ । त्यसै गरी लुम्बिनी तथा मधेस प्रदेश भने सापेक्षिक रूपमा पहिरोको कम जोखिममा रहेको पाइन्छ,’ कार्य योजनामा भनिएको छ ।

नेपालमा मनसुनमा हुने भारी वर्षाका कारण पनि ठूलो जनधनको क्षति हुने गरेको छ ।

विगत ११ वर्षमा नेपालमा १ हजार ६०४ वटा भारी वर्षाका घटना भएका छन् । यसबाट १ हजार ९८४ घरमा क्षति पुगेको छ भने ५ हजार ४७७ परिवार प्रभावित भएका छन् ।

भारी वर्षाका कारण उक्त अवधिमा नेपालमा ११८ जनाको मृत्यु भएको छ । भारी वर्षाले ५२ करोडभन्दा बढी आर्थिक क्षति गरेको छ ।

‘भौगोलिक रूपमा मध्य पहाडी क्षेत्रका जिल्लाहरूमा भारी वर्षाका धेरै घटना र क्षति हुने गरेको देखिन्छ,’ कार्य योजनामा उल्लेख छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : ५१ बजे

खबरहबमा प्रधानमन्त्री : सुशासनबारे छलफल (लाइभ)

काठमाडौं– इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र

मध्यपहाडी पुष्पलाल लोकमार्ग : सम्झौता तोडिएको नौ महिनापछि पुनः ठेक्का

गलकोट– मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त खण्डको रुपमा रहेको बागलुङको बिहुँ

मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

जनकपुरधाम- मधेशप्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

कोशी प्रदेशलाई खोरेतमुक्त बनाइँदै

विराटनगर– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले आगामी

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : गगन थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको