'फेरि नेकपा ब्युताउन राष्ट्रिय अभियान सुरु गरेका हौँ' | Khabarhub Khabarhub

‘फेरि नेकपा ब्युताउन राष्ट्रिय अभियान सुरु गरेका हौँ’

वाम एकतालाई ओली र प्रचण्डले पनि मान्नुहुन्छ


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय कम्युनिष्ट पार्टीको एकताका लागि वामदेव गौतम फेरि सक्रिय भएका छन् । उनले हालै नेपाल एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् । यसलाई वामदेव स्वयंमले पार्टी भने पनि यो केवल अभियानका रुपमा अघि बढेको देखिन्छ । जसमा वामदेवले आफ्नै श्रीमति र छोरालाई समेत अभियानको सदस्य राखेपछि यसको आलोचना बढ्दो छ । यसअघि पनि अभियान घोषणा गरेर सफल नभएका वामदेवको सक्रियताले यसपटक फेरि संसदीय चुनावमा माओवादी र एमाले मिल्ने सम्भावना नकार्न सकिदैन । तर, यो वामदेवकै नेतृत्वमा फेरि सम्भव हुन्छ वा हुँदैन ? चाँसोको विषय बनेको छ । खबरहबका लागि वामदेव गौतमको राष्ट्रिय एकता अभियानका बारेमा उनकी पत्नी तथा अभियानकी सदस्य तुलसा थापासँग धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंको परिवार मिलेर किन र के उद्देश्यले नेकपा एकता राष्ट्रिय अभियान पार्टी गठन गर्नु भएको हो ?
यो पार्टीभन्दा पनि हामीले अहिले अभियानको रुपमा गठन गरेका छौँ। पार्टीको रुपमा दर्ता छैन। यो अभियानको मुख्य उद्देश्य भनेको साना साना टुक्रामा विभाजित कम्युनिष्ट पार्टीलाई एक गर्नु हो। मुलुकका सबै कम्युनिष्ट पार्टीको उद्देश्य समान भए पनि अलग अलग बाटो हिँडिरहेका छन्। हामीले सकेसम्म सबैलाई एक बनाउन नभए पनि पूर्व नेकपा पार्टी ब्युताउँने गरी काम गरौँ भनेर यो अभियानको घोषणा गरेका हौँ। नेकपा विभाजन भएदेखि नै एकताका लागि प्रयास भइरहेको थियो। त्यति बेला नै राष्ट्रिय एकता अभियान घोषणा भएको थियो। अहिले दोस्रो पटक हामीले यसलाई शसक्त रुपमा अगाडि बढाउने गरी घोषणा गरेका हौँ। अलग अलग भएर हिड्दा ‘समृद्ध नेपाल सुखी नेपाली’को जुन लक्ष्य छ, त्यो भेट्टाउन सकिदैन भनेर नै हामीले एकताको प्रयास सुरु गरेका हौँ।

कम्युनिष्ट पार्टी एक बनाउने भनेर अभियान त घोषणा गर्नुभयो। तर, एकताका लागि को–कोसँग संवाद भइरहेको छ ? एमाले र माओवादीका अध्यक्षसँग भेट भएको छ ?
एमाले र माओवादी केन्द्रका अध्यक्षसँग कुरा गर्न हामीले अभियानका संयोजक वामदेव कमरेडलाई जिम्मा दिएका छौँ। उहाँले संवाद प्रक्रिया अघि बढाउनु हुनेछ। यसक्रममा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता भएको छ। अन्य साना कम्युनिष्ट पार्टीहरुसँग पनि सहकार्यका लागि छलफल अघि बढ्ने छ। हामी सबैसँग संवाद गर्ने तयारीमा छौ, त्यसका लागि तयारी भइरहेको छ। त्यसअघि पहिला हामी नै शसक्त रुपमा आउनुपर्छ भनेर हामीले अभियानको घोषणा गरेका हौ।

तपाईंले कम्युनिष्ट पार्टी एक बनाउन अभियान घोषणा गरेको भने पनि धेरैले वामदेवको व्यक्तिगत स्वार्थ पुरा गर्न पार्टी खोलेको भनेर टिप्पणी गरेका छन् नि ?
कमरेड वामदेवको कुनै स्वार्थ छैन्। उहाँ सक्रिय राजनीति गर्न चाहानुहुन्छ, बस त्यति हो उहाँको स्वार्थ। उहाँको उद्देश्य भनेको नै छिन्न भिन्न भएका कम्युनिष्ट एक गरौँ भन्ने हो। फुटेर कतै पुगिदैन्। एक भइयो भने फेरि शक्तिशाली पार्टीको रुपमा उदाउन सकिन्छ भनेर नै उहाँ लाग्नु भएको हो। यसलाई कसैले स्वार्थका रुपमा बुझ्छ भने त्यसमा के भन्न सकिन्छ र ? तर, उहाँ उद्देश्य पवित्र छ। त्यही उद्देश्यमा कन्भिन्स भएर म पनि सामेल भएको हुँ। उहाँको अभियानलाई साथ दिएको हुँ।

पार्टीहरु एक बनाउने भन्ने अनि फेरि भइराखेको एमाले छाडेर तपाईं किन यता हानिएको ? उतै बसेर एकताको काम गर्न सकिदैन थियो ?
म अहिले पनि त्यो पार्टीमा छु। त्यही पार्टीबाट प्रतिनिधिसभाको सदस्य भएको हुँ, मेरो पद छदैछ। त्यही पार्टीको सदस्यको नाताले टुक्रिएको नेकपालाई जोड्नुपर्छ भनेर हिँडेकी हुँ। यो अभियानमा सामेल भएको हुँ। यता उता जता बसेपनि कुरा एउटै हो।

तपाईंलाई पार्टी एकताका लागि एमालेले परिचालन गरेको हो ? तपाईको भनाइले त त्यस्तै संकेत गर्यो।
हामी एमालेको सदस्य छदै छौँ। तर, वाम एकताका लागि एमालेले परिचालन गरेको होइन। हामी स्वस्फूर्त रुपमा कम्युनिष्ट पार्टी एकताको अभियानमा होमिएका हौं। संविधानले परिकल्पना गरेको जस्तो देश बनाउन, सुशासन र समृद्धि ल्याउन धेरै दल होइन थोरै तर बलिया दलहरु आवाश्यक पर्छन्। त्यसैले हामी कम्तिमा कम्युनिष्ट पार्टीहरुलाई एक बनाएर अघि बढौँ भन्ने उद्देश्यले लागि परेका छौँ। फेरि नेकपालाई ब्युताउनुपर्छ भनेर हिँडेका छौँ।

ओली–प्रचण्डले मानेनन् र कम्युनिष्ट पार्टी एक हुन सकेन भने तपाईंहरु के गर्नु हुन्छ ? आगामी निर्वाचनमा जानु हुन्छ ?
हामीलाई विश्वास छ, वामपन्थी एकताका लागि उहाँहरु मान्नु हुन्छ। तर, त्यसका लागि समय लाग्छ। हिजोका कमीकजोरी सबैले स्वीकार्ने र सच्याउने काम गर्नुपर्छ। यदि त्यसो हुन सकेको अवस्थामा पुन नयाँ ढंगको नेकपा बन्न सक्छ। यदि तत्काल एकताका लागि नेताहरु तयार नभए पनि हाम्रो प्रयास जारी रहन्छ। हामी हाम्रो ढंगले पार्टी गतिविधि पनि अघि बढाउँछौ। एक्लै हुँदैमा निर्वाचनबाट भाग्ने भन्ने कुरा हुँदैन्। तर, यस विषयमा छलफल हुन बाँकी छ। हाम्रो जोड एकतामा नै हो।

कम्युनिष्ट एकता भन्नु भएको छ, तर तपाईंहरुको टिमलाई धेरैले साथ नै दिएका छैनन्। वामदेव गौतमको परिवारको सदस्य मात्रै देखिनु हुन्छ ?
कुनै पवित्र उद्देश्य लिएर सञ्चालन गरेको अभियानमा परिवार सहभागी नै हुन नहुने हो र ? फेरि के कम्युनिष्ट आन्दोलनमा म आज बल्ल लागेको हो र ? जबसम्म परिवारले साथ दिँदैनन् तवसम्म कोही पनि कुनै पनि काममा सफल हुँदैन। यो कुरा सबैले राम्रोसँग बुझ्नुपर्छ। एक एक व्यक्ति मिलेर समूह बन्ने हो, अभियान चल्ने हो। सही कुरालाई हामी समर्थन गर्छौ। कम्युनिष्ट एकता आजको आवाश्यकता भन्दै सबैले आवाज उठाइ राखेका छन् त्यसलाई कमरेड वामदेवले नेतृत्व गर्नु भएको छ, सबैको साथ छ अनि हामी परिवारका सदस्यले किन साथ नदिने ? यसमा सबैले साथ दिनुपर्छ।

जसलाई अख्तियारले भ्रष्टाचारको अभियोगमा ६ महिना जेल सजाय सुनाएको थियो उसैलाई चाही किन तपाईंहरुको अभियानको सचिव बनाएको ? डिबी कार्कीबाहेक अरु कोही भेटिएन् ?
मान्छेले गल्ती गर्छ। त्यही गल्तीलाई लिएर जीन्दगी भेर घोच्नु हुँदैन्। उसको जीवन नै वर्वाद बनाउने काम गर्नु हुँदैन्। फेरि हामीले जसलाई सचिवको जिम्मेवारी दिएका छौ, उहाँलाई फसाइएको हो। तपाईंहरुलाई थाहा छ, यहाँ मान्छे फसाउन कसरी गिरोह नै सक्रिय हुन्छ भनेर। नत्र यहाँ करोडौं अर्बौ भ्रष्टाचार गर्नेहरु खुलम खुला घुमिरहेका छन्। ठूल ठूला ओदाहामा पटक पटक पुगिरहेका छन्। तर, उनीहरुलाई कारबाही हुँदैन्। यहाँ विभेद र जालझेल दुबै छ। डिबी कार्कीको सवालमा उहाँलाई फसाइएको हो। यसरी एक पटक फसाइएका ब्यक्ति सधैँका लागि भ्रष्टाचारी हुँदैन नी। त्यसैले हाम्रो पार्टीले उहाँलाई जिम्मेवारी दिएको हो। यसलाई ठूलौ इसु बनाउन आवाश्यक छैन्।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ४७ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या