कर्णालीमा सय प्रतिशत रोपाइँ, भोकमरीको चपेटामा नपर्ने सङ्केत « Khabarhub
Logo
११ आश्विन २०७८, सोमबार

कर्णालीमा सय प्रतिशत रोपाइँ, भोकमरीको चपेटामा नपर्ने सङ्केत



काठमाडौँ– यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुँदा ३८ हजार ३८५ हेक्टर क्षेत्रफल धान उत्पादनका लागि उपयोग भएको छ ।

कर्णालीलाई सुख्खा प्रदेश भनिन्छ । समयमा र अविरल वर्षा भएकाले यस वर्ष कर्णाली भोकमरीको चपेटामा नपर्ने सङ्केत देखिन्छ ।

नेपालका अर्थतन्त्रमा धानको ठूलो महत्व छ । यसको उत्पादन वृद्धि हुँदा अर्थतन्त्र बलियो हुन्छ । घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । जिडिपीमा यसको योगदान १२ प्रतिशत छ ।

गत जेठ १५ देखि नै मनसुन शुरुआत भई समयमा रोपाइँ भएकाले किसान खुशी छन् । गत वर्षको यसै अवधिमा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष भने यसै अवधिमा ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । मौसमले साथ दिए पनि कृषि कर्ममा आकर्षण कम हुँदै गएको सो तथ्याङ्क पुष्टि हुन्छ ।

कृषि विभागका उप महानिर्देशक जानुका पण्डितले नेपालमा साउन महिनाभर रोपाइँ हुने भएकाले मसान्तसम्म ९७ प्रतिशत भन्दामाथि रोपाइँ हुने अनुमान गर्छिन् । यस वर्ष कर्णाली प्रदेशपछि सुदूरपश्चिममा ९९, लुम्बिनीमा ९७, वाग्मतीमा ९६, प्रदेश–२ मा ९२ र प्रदेश १ मा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको रोपाइँ हुँदै आएको छ ।

विसं २०६०/०६१ देखि २०७७/०७८ सम्म को तथ्याङ्कलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा परनिर्भर देखिन्छ । जुन वर्ष मौसम अनुकूल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम अनुकूल भएका बखत धानको उत्पादन घटेको छ ।

नेपालमा कूल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कूल खेतीयोग्य जमीनमध्ये लगभग ५० प्रतिशत जमीनमा धानखेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम ९असार–साउन० मा वर्षा भएन भने सिफारीस भएजति जमिनमा धान रोपाइँ हुन सक्दैन ।

नेपालमा २०६०/०६१ देखि २०७६/०७७ अर्थात् १६ वर्षमा सबैभन्दा धेरै धानखेती भएको वर्ष २०७६/०७७ साल हो । सो वर्ष १४ लाख ७३ हजार ४०० हेक्टर जमिनमा धानखेती भएको थियो । उक्त वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान फलेको थियो ।

नेपालको कूल जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा धान रोपाइँ गरिन्छ । यसमध्ये करिब ५० प्रतिशतमा रोपाइँ हुन्छ । सिँचाइ मन्त्रालयको तथ्याङ्कअनुसार ५३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । रोपाइँ हुने असार–साउन महिनामा वर्षा भएन भने सिफारिस भएजति क्षेत्रफलमा रोपाइँ हुन सक्दैन ।

प्रत्येक वर्ष धानखेती गर्ने जमिन घटिरेहेको छ । रु २०६०/०६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धानखेती भएको थियो । पन्ध्र वर्षपछि ९२०७४/०७५० मा १४ लाख ६९ हजार ५४५ हेक्टर जमिनमा सीमित हुन पुग्यो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कले धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कअनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि विकास सचिव डा योगेन्द्रकुमार कार्कीले नेपालीका लागि वार्षिक ६० लाख मेट्रिकटन धानको आवश्यकता पर्ने बताए । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो । भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपर जोन घोषणा गरी लागू गरेको छ ।

संसारका आधा जनसङ्ख्याको मुख्य खाना भात हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपत हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । विश्वका ७८ भन्दाबढी देशमा ८६४ थरीका धानका बीउ सिफारिस भएका छन् । नेपालमा ८६ उन्नत र सात रैथाने जातको बीउबाट उत्पादन गरिँदै आएको छ ।

हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विशलेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बर अर्थात् एक करोड चार लाख मेट्रिकटन गर्ने घोषण गरेको छ । –रासस


भर्खर

0