ह्याप्पी ग्रीन डे ! « Khabarhub
Logo
४ आश्विन २०७८, सोमबार

ह्याप्पी ग्रीन डे !



साउन ११ गते, सोमबार अर्थात साउने सोमबार । अघिल्लै दिन महादेवीको उर्दी जारी थियो, परिवारका सबै सदस्यले ब्रत लिने अर्थात नियमितरूपले सेवन गरिने परिकारमा बन्देज । शाकाहारी भोजन । बिहान शिवजीको पूजाआजा आदि ।

ब्रत भए नि नभए नि नियमित काममा बन्देज हुने कुरो भएन । आजभोलि म ‘पठाओ’ नामक सेवा प्रदायकका ट्याक्सी प्रयोग गर्छु । रङ्गीबिरङ्गी सवारी चालकहरूसँग भेट हुन्छ । कुनैले नक्साको कुरा बुझ्दैन । कुनैलाई कुन ठाउँ कता पर्छ भन्ने थाहा हुँदैन ।

धेरैलाई चार दिशा छुट्याउने भेउ छैन । कोही ग्राहकको सिग्नल अठ्याएर फोन नगरी बस्छन् । कोही फोन गर्छन् र सोध्छन्–

‘कहाँ हुनुहुन्छ ?’

यो प्रश्नले म झस्कन्छु । निचोड निकाल्छु, सवारी चालक व्यावसायिक परेन । अनि सिधा जवाफ दिन्छु ।

‘ठ्याक्कै लोकेसनमा छु ।’

ऊ के कम ! मेरो आशय नबुझी फेरि भन्छ, ‘लोकेशन कहाँ हो र ?’

अब मेरो कन्सिरी तातेर आउँछ । भैरव अर्यालले ‘टाउको’ शीर्षकको निबन्धमा लेखेझैँ ‘तृतीय पुरुष’ सम्बोधन गरेर आक्रोश व्यक्त गर्न मन लाग्छ ।

‘लोकेसन तेरा टाउकामा छ ।’

भित्र जे भए नि बाहिर संयमित हुन्छु । चालकको सवारीसाधन भएको स्थान नक्सामा हेर्छु र म भएको ठाउँमा आउने उपाय बताउँछु ।

आज पनि प्रायः हुने गरेकै दृष्टान्त दोहोरियो । नेपाल थरका एक जना चालकले मेरो सङ्केत अठ्याए तर फोन उनैले गरे ।

‘हजुर कहाँ हुनुहुन्छ ?’

‘म लोकेसनमा छु ।’

‘हुन्छ म जीपीयस चलाएर आउँछु ।’

मैले राहत महसुस गरेँ । नभन्दै उनी आइपुगे । घर सिन्धुली रहेछ । स्नातक तहको पढाइसकेका रहेछन् । कोरिया जाने धुनमा रहेछन् ।

म प्रायः चालकहरूसँग कुराकानी गर्छु । यो अन्यत्र नपाइने र सम्भवत नेपालमा मात्रै पाइने रमाइलो हो । म चालकको घरको भूगोलबाट वार्ता आरम्भ गर्छु । अधिकांशको घर काठमाडौँ बाहिर हुन्छ । जीपीयस जडित ट्याक्सीले कसरी उत्कृष्ट सेवा दिनसक्छ भन्ने कुरा मैले जानेको जति बताइदिन्छु ।

अघिल्लो दिन मलेशियाबाट ठूलो सङ्ख्यामा कामदारका लास नेपाल आएको खबर छापिएको थियो । मैले त्यही खबरलाई अधार मानेर उनलाई नेपालमै इलम गर्ने सल्लाह दिएँ । उनले ध्यान दिएर सुने ।

मेरो गन्तव्य थियो जावलाखेलको बरिस्ता कफी लाभाजा । स्ट्यान्डर्ड चार्टर्ड बैँक भएको भवनको पहिलो तलामा छ यो कफी पसल ।

म केही काम गर्नुपर्‍यो भने मुड बनाउन कफी पसल चाहार्छु । कफी मगायो, ल्यापटप खोल्यो र शुरू गर्‍यो आफ्नो काम । कति सहज पारेको छ प्रविधिले !

पसल, बैंक र कार्यालयहरू भर्खर खुल्दै थिए । म सरासर माथि उक्लिएँ । कफी पसलको अग्रभागमा बाटो छेकेर उभिएका दुई युवती भेटिए । उनीहरू दोस्रो तलामा रहेको क्लिनिकले राखेको जानकारीपाटी हेर्दै केही गफमा मस्त थिए । मेरो सम्बोधनले झस्किए ।

‘एक्सक्युज मी । अलिकता बाटो छोडिदिनुहुन्छ कि ?’

मैले बाटो पाएँ । उनीहरूसँग केही संवाद गर्ने बुद्धि पलाएको आभास भयो । आखिर म ‘प्रत्युत्पन्नमति’ की वाग्देवीको भक्त न परेँ ! म रोकिएँ, १८० डिग्रीको फन्को मारेँ र दुईमध्ये मेरा लागि अधिक बाटो छोडिदिने देवीजीसँग आँखा जुधाउँदै भने,

‘रङ्गमन्च नै बिथोल्नु प¥यो । क्षमा गर्नु होला ।’

उनीहरूले मुखामुख गरे । मैले स्पष्ट पारेँ ।

‘स्टेजको बीचबाट हिँड्नुपर्‍यो भनेको क्या !’

‘के फरक पर्‍यो र आखिर बाटो त सबैको हो !’

मुस्कान मिश्रित आवाज आयो । मेरो प्रत्युत्पन्नमतिको तीरले पूर्णता हासिल गरेको थियो । म तृप्त भएँ ।

दुर्भाग्य ! कफी पसल बन्द रहेछ । अघि आएकै बाटो ओर्लिएँ । अर्को पसलतिर लागेँ । जावलाखेलबाट कुमारीपाटीतिर जाँदा ‘डल्ले मोमोको पसल’ पुग्नुअघिको भवनको चौथो तलामा मेरो रोजाइको अर्को कफी पसल छ । त्यसैलाई गन्तव्य बनाएँ, त्यो पनि बन्द !

त्यसपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (जनजिब्रोमा स्टाफ कलेज) को विपरीत दिशामा रहेको हिमालयन हाइल्यान्ड कफी पसल पुगेँ । यो पसलका सञ्चालकसँग म परिचित छु । उनीहरूले बत्तिसपुतली र वानेश्वरमा पनि शाखा चलाएका छन् । अर्को दुर्भाग्य ! त्यो पनि बन्द रहेछ ।

त्यसपछि म पुगेँ लबिम मलको भुइँतलामा रहेको हिमालयन जाभा कफी । यो खुलै थियो । शायद मै पहिलो ग्राहक थिएँ । अमेरिकानो मगाएँ । लामखुट्टेको टोकाइका बाबजुद कफी पिउने र स्लाइडको तयारी गर्ने दुवै काम सम्पन्न भए ।

म पुल्चोकस्थित कार्यालयमा मध्याह्न १२ बजेतिर पुगेँ । अपराह्न साढे दुई बजे एशियाली विकास बैँककी परियोजना अधिकृतसँग जुम बैठक तय थियो । कोरोना कहरका कारण उनी लन्डनमै बसेर काम गर्दैछिन् । हाम्रा सबै काम भर्चुअल दुनियाँमा सम्पन्न हुन्छन् । म कहिलेकाहीँ ‘देवी प्रसङ्ग’ सिर्जना गरेर साथीभाइसँग ठट्टा गर्छु ।

‘म आजभोलि दुई देवीको निर्देशन पालना गर्छु । एक महादेवी र अर्की कामको रिमोट हातमा लिएर लन्डनमा बस्ने देवी ।’

छलफलको लागि गृहकार्य एक बजेतिरै सकियो । मसँग अब साढे एक घण्टा समय थियो । म जिउ तन्काउन कार्यकक्षबाट बाहिर निस्किएँ । वित्तीय व्यवस्थापकसँग भेट भयो ।

‘साउने सोमबारको शुभकामना ।’

‘हजुरलाई पनि शुभकामना । सरलाई म पनि सम्झिरहेकी थिएँ । एउटा चेक दिनु थियो ।’

कतिपय कार्यालयमा लेखा शाखा र प्रशासन शाखाका कर्मचारी भेट भए म ठट्यौली पारामा भन्छु–

‘मलाई लेखा शाखामा जाऊँ जाऊँ लाग्छ, त्यसले बोलाइरहोस् जस्तो लाग्छ तर प्रशासनपट्टि भने आँखा लाउन पनि मन लाग्दैन ।’

यसरी रमाइलो उम्रिन्छ । कार्यसम्पादनसँग जोडिएका यस्ता ठट्यौली र विनोदप्रिय कुराकानी नै कार्यालयहरूमा लम्पसार परेर मडारिइरहने मलामी–गाम्भीर्य चिर्ने अस्त्रहरू हुन् ।

चेक लिएर आफैँ बैँक जाने निधो गरेँ । पुल्चोकको मेरो कार्यालयका वरिपरि धेरैवटा वाणिज्य बैँकका शाखाहरू छन् । तोकिएको बैँकको चेक सटही काउन्टरमा पुग्दा खासै भिड थिएन । सुरक्षाकर्मीले मलाई एकछिन पर्खन आदेश दिइन् । अधिकांश काउन्टर बन्द थिए । केही मिनटको पर्खाइपछि काउन्टरमा एक महिला कर्मचारी उदाइन् । मैले अघि बढ्ने आदेश पाएँ ।

उनी चेकलाई नगदमा रूपान्तरण गर्ने काममा लागिन्, म उनलाई नियाल्न लागेँ । निधारमा रातो टीका थियो, नाडीमा हरिया चुरा, हरियै सलवारकुर्ता लगाएकी थिइन् । साउने सोमबारको फल प्राप्त गर्ने कित्तामा यी चेली पनि रहिछन् !

दुई वटा हस्ताक्षर गरी मोबाइल नम्बर पनि लेखेर मैले चेक बुझाएँ ।

उनी चेकलाई नगदमा रूपान्तरण गर्ने काममा लागिन्, म उनलाई नियाल्न लागेँ । निधारमा रातो टीका थियो, नाडीमा हरिया चुरा थिए । हरियै रङको सलवारकुर्ता लगाएकी थिइन् । साउने सोमबारको फल प्राप्त गर्ने कित्तामा यी चेली पनि रहिछन् ! उनले मतिर हेरिन् र औपचारिक प्रश्न सोधिन् ।

‘यो रकम तपाईंको तलब हो ?’

‘होइन ।’

‘उसो भए के को आम्दानी हो त ?’

बैंकिङ कारोबारको बारेमा मेरो ज्ञानभण्डार सानो छ । सेयर कारोबार गर्न पनि खासै रुचि छैन । सानोतिनो रकमको पनि केरकार गर्नुको अर्थ देख्दिनँ । विदेशी मुद्रा सटही गर्दा पनि यो झन्झट मैले व्यहोरेको छु । अमेरिकी डलरका हरेक नोटहरूको नम्बर कागतमा लेख्न लगाउँछन् । सानोतिनो नगद सटहीका लागि पनि घण्टौँ लाग्छ । विदेशमा, खास गरी विमानस्थलहरूमा, चुट्कीभरमा यी काम हुन्छन् ।

‘मेरो संस्था सेवाप्रदायक हो । मैले परामर्श सेवा दिए वापतको रकम हो ।’

उनले प्रतिप्रश्न गरिनन् । मैले रकम समातेँ अनि उनीतिर हेर्दै भनेँ, ‘थ्याङ्क यू, ह्याप्पी ग्रीन डे !’

उनले नबुझेको जस्तो गरेर हेरिन् ।

‘तपाईंले पनि साउने सोमबार मानेको जस्तो लागेर शुभकामना दिएको ।’

उनी मजैले हाँसिन् । मास्क लगाएकाले अनुहारको पूरै भाव पढ्न सकिनँ ।

‘थ्याङ्क यु सो मच ।’

उनी मेरो शुभकामनामा सहज प्रस्तुत भइन् । यसरी साउने सोमबारको साधना दोस्रो पटक प्रखरित भयो । म कार्यालय फर्किएँ । लन्डनकी देवीजीसँगको छलफल परिणाममुखी भयो ।

बिहान शिवजीको पूजा गर्दा मैले रातो अक्षताको टीको लगाएको थिएँ । विदेशीहरूलाई चासो पर्ला भनेर मैले देवीजीलाई जुमको भिडियो खोल्नासाथ भनेँ ‘आजको सोमबार नेपालमा पर्वको रूपमा मनाइन्छ । यसैले मैले निधारमा रातो टीका लगाएको छु ।’

भर्चुअल प्लेटफर्ममा आजभोलि छलफल गर्दा भिडियो खोलेर बोल्न मिल्ने सुविधा छ । कतिपयले यो सुविधाको सही उपयोग गरेका छन्, कतिपयले जानेका छैनन् ।

केही दिनअघि एक विशिष्ट व्यक्ति मदिराले लट्ठ भएको अवस्थामा जोडिएका थिए । कतिपयले पृष्ठभूमिका अनावश्यक दृष्यहरू देखाउँछन् । कोही पहिरनको बेवास्ता गर्छन् । कोही चियाखाजा खाइरहेको भिडिओ देखाउँछन् ।

अपराह्न पनि म थप दुई वटा जुम बैठकमा सहभागी भएँ । पहिलो थियो डा. रुजु शर्माले संयोजन गरेको छलफल । उनले भिडियो खोलिन्, हरियो वस्त्र लगाएकी थिइन् तर निधारमा टीको भने देखिनँ । मैले शुभकामना दिँदै भनेँ, ‘हरियो दिनको शुभकामना । अनि खै त टीका ?’

उनले प्रसन्नतापूर्वक जवाफ दिइन् ।

‘सानो लगाएकी थिएँ, मेटिइसकेछ ।’

दोस्रो थियो रोटरी नारी समूहले आयोजना गरेको ‘एजलेस ट्यालेन्ट’ अर्थात ‘उमेरविहीन प्रतिभा’ विषय केन्द्रित छलफल ।

मेरा दौँतरी स्वर्गीय सूर्यमान शाक्यले मलाई सन् २०१० मा रोटरी क्लबको सदस्य बन्न सिफारिस गरेका थिए । यो क्लबको सदस्य भएर मैले स्वदेशी र विदेशी गरी धेरैवटा क्लबहरूका बैठकहरूमा सहभागी मौका पाएको छु । अहिले नेपाल लगायत संसारभरि नै असल नेतृत्वको खाँचो छ । रोटरी अभियानले त्यो खाँचो केही हदसम्म सम्बोधन गर्न सक्छ भन्ने मलाई लाग्छ ।

सोमबारको त्यो कार्यक्रममा नेपाल र भारतका विभिन्न रोटरी क्लबहरूमा विशिष्ट पदाधिकारी नारीहरूको उपस्थिति थियो । पूर्व गभर्नर जया शाह र यो वर्षका गभर्नर सन्तोष रिजालको उपस्थिति थियो ।

केही बेर सुनेपछि मैले हात उठाएँ ।

यसरी कुनै समारोहमा वा सामूहिक भेलामा आफूलाई प्रदर्शन गरी एकै झ्वाँकमा भुइँमान्छेबाट नायक बन्न सक्ने अद्वितीय गुणले भरिभराउ थिए मेरा मित्र सूर्यमान । उनले मलाई धेरै गुन लगाएका छन् । मैले उनैलाई सम्झिँदै यो कार्यक्रममा पनि ‘नेतृत्व कौशल’ को त्यो कडी प्रदर्शन गर्ने सुर झिकेँ ।

कार्यक्रम सञ्चालिकाले मलाई अवसर दिइन् ।

मैले भनेँ, ‘मैले अहिले भर्खरै गुगलदेवीको सहयोगले के थाहा पाएँ भने रोटरी क्लबको ११५ वर्षको इतिहासमा एक नौलो काम हुन लागेको छ । पहिलो पटक एक नारी आरआई प्रेसिडेन्ट अर्थात रोटरी क्लबकी अन्तराष्ट्रिय अध्यक्ष हुन लागेकी छन् । ती भाग्यमानी नारी हुन् क्यानाडाकी जेनिफर जोन्स । म यो सभामा के निवेदन गर्न चाहन्छु भने तपाईंहरूसँग पनि त्यो ताकत छ । नारी नेतृत्वका गहिरा खाडलहरू पुरिन बाँकी छन् । नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छैन । भारतले दोस्रो महिला प्रधानमन्त्री पाएको छैन । नेपाल रोटरीको पहिलो महिला गभर्नर आदरणीय जया शाह यहाँ उपस्थित हुनुहुन्छ । दोस्रो महिला गभर्नर हुने अवसर तपाईंहरूसँग छ । यहाँ उपस्थित हुनुभएका सम्पूर्ण नारी प्रतिनिधिलाई नायकत्वको सगरमाथा आरोहण गर्नका लागि हृदयदेखि नै शुभकामना दिन्छु ।’

मेरो सम्बोधनमा ताली बजेका केही सङ्केतहरू देखिए । पछि मेरो प्रशंसामा डा. दिनेशराज मानन्धरको फोन आयो ।

मलाई लाग्यो, हरियो दिनको सबैभन्दा सशक्त शुभकामना त्यही थियो ।

दिउँसो साटेको चेकको रकम खाममा राखेर दिइएको थियो । त्यो खाम मैले सटको खल्तीमा ठाडो पारेर राखे । यो तरिका पनि मलाई सूर्यमानले नै सिकाएका थिए । घरमा पुगेपछि खामले महादेवीको ध्यानाकर्षण गर्‍यो । उनको मुहारमा प्रसन्नताका लहर देखिए । उनले मैले प्रसार गरेको मौन भाकाको सन्देश सहजै बुझिन् ।

मनमनमा भनेँ, ‘ह्याप्पी ग्रीन डे कैलाशपति ! आजको मेरो दिन सफल भयो ।’

 

 


भर्खर

0