नीति तथा कार्यक्रम र बजेटबारे के गर्दैछन् प्रदेश सरकारहरू ? | Khabarhub Khabarhub

नीति तथा कार्यक्रम र बजेटबारे के गर्दैछन् प्रदेश सरकारहरू ?


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने समय नजिकै आउँदैछ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्ष असार महिनाको एक गतेभित्र राजस्व र व्ययको अनुमान अर्थात वार्षिक बजेट प्रदेश सभामा पेश गर्नुपर्ने प्रावधान छ ।

संघीय संसदमा झैँ प्रदेश सभामा पनि प्रदेश प्रमुखले सम्बोधनमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ । प्रिबजेट छलफल हुने व्यवस्था छ ।

प्रदेश सरकारहरूमा भने अन्योलको अवस्था रहेको छ । प्रदेश १ मा प्रदेश सभाको अधिवेशन चालु छ तर गत वैशाख ५ गते स्थगित भएपछि अर्को बैठक भएको छैन । मुख्यमन्त्री शेरधन राई सत्तारूढ दलकै आन्तरिक विवादका कारण बहुमत र अल्पमतको दोसाँधमा छन् । यही विवादमा सत्तापक्षकै सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले स्थगित गरेका थिए । उनले अर्को बैठक तोकेका छैनन् ।

प्रदेश २ मा पनि प्रदेश सभाको अधिवेशन चालु चालु छ तर गत वैशाख १० गते स्थगित भएपछि अर्को बैठक भएको छैन । अधिवेशन अन्त्य भएको ६ महिना पुग्नै लागेपछि संवैधानिक प्रावधानअनुसार बोलाइएको अधिवेशन एउटा बैठक भएर स्थगित भएको थियो ।

प्रदेशसभाका तीन जना कर्मचारीमा कोरोना संक्रमण भएको कारण देखाएर बैठक स्थगित गरिएको थियो । सभामुख सरोजकुमार यादले अर्को बैठक बोलाएका छैनन् । जनता समाजवादी पार्टी (जसपा) दुई पक्षमा विभक्त भई विभाजनको संघारमा पुगेपछि मुख्यमन्त्री लालबाबु राउत समस्यामा परेका छन् ।

वाग्मती प्रदेशमा प्रदेश सभाको आठौँ अधिवेशन जेठ १६ गते शुरू भएको छ । यहाँ पनि सरकार अल्पमत र बहुमतको विवादमा परेको छ । सत्तापक्षकै केही सांसदहरू मुख्यमन्त्री डोरमणि पौडेलको विपक्षमा छन् ।

गण्डकी प्रदेशमा पनि प्रदेश सभाको आठौँ अधिवेशन जेठ १६ गते शुरू भएको छ । यहाँ पनि सरकार अल्पमत र बहुमतको विवादमा परेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अविश्वास प्रस्ताव छलेर राजीनामा गरी प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा फेरि मुख्यमन्त्री पदमा नियुक्ति लिएका थिए ।

गत वैशाख २९ गते नियुक्त मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न बाँकी छ । उनले विश्वासको मत पाउन नसक्ने सम्भावना कायमै छ । यसो भएमा नीति तथा कार्यक्रम र बजेट अन्योलमा पर्नेछ । गठबन्धन सरकार बन्न नसके प्रदेश सभा विघटन हुन सक्नेछ । यसो भए संघीय सरकारले झैँ अध्यादेश बजेट पेश हुनेछ ।

लुम्बिनी प्रदेशमा यही जेठ १९ गते प्रदेशसभा अधिवेशन शुरू हुँदैछ । यहाँ मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान हुने भनेकै दिन पोखरेलले पदबाट राजीनामा गरी एकल बहुमत देखाएर फेरि मुख्यमन्त्री पदमा नियुक्ति लिएका थिए ।

विपक्षीहरूले आफ्नो बहुमत दाबी गर्दै अविश्वास प्रस्तावका लागि विशेष प्रदेशसभाको अधिवेशन माग गरेका भए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले अस्वीकार गरिदिए । जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेका चार जना सांसदलाई सर्वोच्च अदालतले अन्तरिम आदेशद्वारा पुनर्स्थापित गरिदिएछि सरकार झिनो संख्याले बहुमतमा हुन सक्नेछ । यसो भए पनि एमालेको आन्तरिक विवादको असर पर्न सक्नेछ ।

कर्णाली प्रदेशमा गत वैशाख २९ गते प्रदेश सभाको अधिवेशन अन्त्य भएको थियो । अर्को अधिवेशन बोलाइएको छैन । सरकार माओवादी केन्द्रको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । त्यहाँ सरकारमा कांग्रेसको सहभागिताबारे छलफल चलिरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा गत वैशाख ७ गते प्रदेश सभाको अधिवेशन अन्त्य भएको थियो । अर्को अधिवेशन बोलाइएको छैन । यहाँ माओवादी केद्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनी बहुमतमा देखिए पनि सरकारमा सामेल नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीच विवाद छ ।

संघीय सरकारको तत्कालीन सत्तारूढ दल नेकपा विभाजनको र अहिलेको सत्तारूढ दल नेकपा एमालेको आन्तरिक विवादको असर सात वटै प्रदेश सरकारमा परेको छ । नीति तथा कार्यक्रममा नै प्रदेश सरकारहरूको स्थिति प्रष्ट हुनेछ । गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङले नीति तथा कार्यक्रमअघि नै विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् ।

सत्तारूढ दलको विवादको असर स्थानीय तहको बजेटमा पनि पर्न सक्नेछ । स्थानीय तहले असार १० गतेभित्र बजेट पेश गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ५ : १२ बजे

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई