प्रधानमन्त्री ओली पानीमाथि कसरी ओभानै भए ! | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली पानीमाथि कसरी ओभानै भए !



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम अध्यक्षका रूपमा २ वर्ष ९ महिना २० दिन तत्कालीन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व गरे । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) २०७५ जेठ ३ गते एकीकरण भएको घोषणा गर्दा ओली दुई तिहाइ बहुमतका प्रधानमन्त्री थिए ।

ओली र उनका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए । अर्का वामपन्थी नेता ऋषि कट्टेलले उजुरी दिए । निर्वाचन आयोगले जोडिएको ‘नेकपा’ र छुट्टिएको ‘ने. क. पा.’ फरक देखाएर सत्तारूढ दललाई नै मान्यता दियो । ओली त्यही छुट्टिएको ने. क. पा. का प्रथम अध्यक्ष थिए ।

त्यो समयमा दुनियाँले भनेको हो, ऋषि कट्टेलमाथि अन्याय भयो । सत्ताको रापमा निर्वाचन आयोगले सत्तारुढ दलको विपक्षमा निर्णय गर्न सकेन । सकोस् पनि कसरी ! दुई तिहाइको तरबार घाँटीमा झुन्डिएको थियो र जुनसुकै बेला तेर्सिन सक्थ्यो । कट्टेल आफ्नो पार्टीको नाम फिर्ता पाउन सर्वोच्च अदालत पुगे ।

मङ्गलबार अपराह्न राजधानीको राष्ट्रिय सभागृहबाट ओलीले भने, ‘अर्काको नाउँमा पार्टी दर्ता गरेर, पेलेर, मिचेर, ह्याकुल्लाले मिचेर ! मिच्ने बानी पर्‍या क्या ! पल्क्या मिच्न ! जे गरे पनि हुने ?’

राष्ट्रिय सभागृहको त्यै मञ्चबाट २०७५ जेठ ३ गते ओली र प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्र विघटन भएको र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको घोषणा गरेका थिए ।

फाइल तस्वीर

मङ्गलबार त्यही सभागृहबाट प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीले यसो भने,

‘नमागेको न्याय दियो अदालतले भन्ने, तपाईंले नमागेको दियो होला, तपाईंले त अर्काको नाममा पार्टी दर्ता गर्नुभएको थियो, ऋषि कट्टेलले त मागेकै दियो नि त ! अनि दुइटा झडियामध्ये दुइटैलाई मागेको ! एउटा मान्छे घाम अनि अर्को मान्छे पानी ! त्यसमा दुइटैलाई घाम पनि पानी पनि कसरी दिने ! ऋषि कट्टेललाई माग्या न्याय दियो । प्रचण्डलाई माग्या न्याय दिएन अरे ! नमागेको दियो अरे ! उहाँहरूले नमागेकै दियो नि ! अर्काको नाउँमा पार्टी दर्ता गरेर, पेलेर, मिचेर, ह्याकुल्लाले मिचेर ! मिच्ने बानी पर्‍या क्या ! पल्क्या मिच्न ! जे गरे पनि हुने ? जे गरे पनि हुने ! उहाँहरूको बानी के पर्‍यो भने विनाश गरे पनि हुने, ध्वस्त गरे पनि हुने, भत्काए पनि हुने, लुटे पनि हुने, मारे पनि हुने, कुटे पनि हुने काटे पनि हुने, जे गरे पनि सय खत माफ ! होक्काँ गर्‍या छ, जुरो हल्लाको छ, हिँडेको छ आफैँ, त्यो भएको हुनाले बानी बिग्रेको । अब यो चल्दैन प्रचण्ड जी ! तीन दिन गए ।’

ओलीले यहाँ ‘तपाईं’ भनेर प्रचण्डलाई लक्षित गरेका थिए ।

यसरी ओलीले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताको सम्पूर्ण दोष द्वितीय अध्यक्ष प्रचण्डमाथि थोपरे । यतिसम्म कि ‘मिच्ने बानी परेकाले’ मिचेर अर्काको पार्टी दर्ता गराएको आरोप लगाए । साढे दुई वर्षभन्दा धरै अध्यक्ष रहेका, त्यही पार्टीको संसदीय दलको नेता भएर दुई तिहाइ बहुमतको सरकार चलाएका प्रधानमन्त्री ओली पार्टी दर्ताको दोषमा पानीमाथि कसरी ओभानै रहे !

प्रचण्डको मिच्ने, काट्ने कुट्ने, मार्ने नीतिका कारण अर्काको पार्टीको नाम आफ्नो हो भनेर दर्ता गराएको आरोप लगाए ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने गत फागुन ११ गतेको फैसलामा अदालतको प्रशंसा गरेकोमा र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने २३ गतेको फैसलामा अदालतको आलोचना गरेकोमा पनि ओलीले प्रचण्डमाथि प्रहार गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता खारेजीको फैसला पुनरावलोनका लागि गएकोमा प्रचण्डलाई कटाक्ष गर्दै ओलीले प्रश्न गरे, ‘अदालत मजाक गर्ने ठाउँ हो ?’

प्रधानमन्त्री ओलीले केही मान्छेले आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको भन्दै प्रचण्डमाथि नै प्रहार गरे । उनले प्रश्न गरे, ‘यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछि सती जानुपर्ने हो ?’ उनले गाउँका ‘जाली-फटाहा’ सँग तुलना गर्दै र ‘अर्काको हडपेर खाने बानी परेको’ भन्दै प्रचण्डमाथि प्रहार गरे ।

ओलीले प्रचण्डको ‘सो कल्ड सेना’ र हतियार बाँकी नरहेको पनि बताए ।

ओलीको निशानामा परे अर्का नेता माधवकुमार नेपाल । पार्टी अध्यक्षलाई साधारण सदस्यता समेतबाट निष्काशन गरेको, संसदीय दलको नेताबाट हटाएको र सडकबाट आफू अध्यक्ष बनेको भन्दै प्रहार गरे । आफूले तेस्रो अध्यक्ष बन भन्दा अरूले उचालेका भरमा प्रचण्डको द्वितीय अध्यक्ष भएको भन्दै कटाक्ष गरे । आफ्नो स्वार्थका लागि देशको राजनीति धमिल्याउन सक्रिय रहेको आरोप लगाए ।

फाइल तस्वीर

ओलीले नेपालमाथि प्रहार गरे, ‘महाधिवेशनमा मसँग हारेको मान्छे मलाई चाहियो, मलाई चाहियो भन्ने !’

ओलीको निशानामा रामकुमारी झाँक्री पनि परिन् । झाँक्रीले एउटा सभामा मुखमा आफैँले टाँसेको कालो टेप र कालो ज्याकेट खोलेर ‘बोल्न पाइन्छ’ भन्दै मन्चमा गएको नक्कल गर्दै ओलीले वाक स्वतन्त्रताका नाममा मनपरी बोलेको आरोप लगाए ।

ओलीको अर्को निशानामा थिए ‘बुद्धिजीवीहरू’ । उनले ‘डबली मोडरेट बुद्धिजीवी’ भन्दै आक्रोश प्रकट गरे । उनीहरूले डबलीमा गएर सरकारको हुर्मत लिएको आरोप लगाए । प्रधानमन्त्री ओलीका अनुसार आफूलाई निकै ठूला भन्ने केही बुद्धिजीवीहरू वर्तमान सरकार हटाएरै छाड्ने काममा लागेका छन् ।

सरकारले गरेको विकास र समृद्धिको काम देख्न नसकेर उनीहरूले सरकार हटाउन चाहेको आरोप लगाए ।

ओलीले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई पनि छाडेनन् । केही सञ्चारमाध्यमले स्वतन्त्र र निष्पक्षरूपमा समाचार लेख्न्ने गरेका भए पनि केही अझै ‘मिसन पत्रकारिता’ मा रहेको बताए । यसो गर्नेहरूले व्यक्तिको भ्रमपूर्ण समाचार लेख्ने गरेको, व्यक्तिको चरित्र हत्या गर्ने गरेको र ब्ल्याकमेलिङ गर्ने गरेको अरोप लगाए । उनले स्वतन्त्रताको उपयोग सही तरिकाले गर्न सुझाब पनि दिए ।

ओलीले एउटा ‘मिसन पत्रकारिता पुरस्कार’ पनि आवश्यक परेको भन्दै सञ्चारकर्मीप्रति कटाक्ष गरे ।

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमको भाषाशैलीबारे पनि पहिलेझैँ असन्तुष्टि जनाए ।

सञ्चारकर्मीहरूलाई ‘टाठाबाठा’ भन्दै टाठाबाठाहरूले सामाजिक मर्यादा कायम राख्नुपर्ने बताए । ‘हामी कति अरूका नक्कल गर्छौ, नक्कलभन्दा बढी अलिकति पारि नै गइरहेको छ,’ उनले भने, ‘हाम्रो सामाजिक मूल्यमान्यता, शिष्टाचार ध्वस्त नहोस् ।’

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले ‘तिमी’ लेख्ने र भन्ने गरेकोमा चर्को असन्तुष्टि जनाउँदै आएका छन् । उनले अंग्रेजीको ‘यु’ लाई नेपालीमा जस्ताको तस्तै नक्कल गरेर आदरमा नेपाली सभ्यताको हुर्मत लिएको आरोप लगाउँदै आएका छन् ।

आफ्ना मन्तव्यहरूमा शिष्टाचार र मर्यादाका कुरामा निकै बढी जोड दिए पनि ओली आफैँ प्रधानमन्त्री पदको शिष्टाचार र मर्यादा भुलेर विरोधीहरूमाथि जाइलाग्छन् भनेर टिप्पणी गर्नेहरू पनि प्रशस्तै भेटिन्छन् ।

मङ्गलबारको मन्तव्यमा उनको असन्तुष्टि यसैतर्फ थियो ।

प्रधानमन्त्री ओलीले देशमा ‘राजनीतिक संकट परेको’ र ‘संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको’ भन्ने धारणा सोझै अस्वीकार गर्छन् । मङ्गलबारको मन्तव्यमा पनि यस्तो धारणा अस्वीकार गरे । उनले प्रश्न गरे, ‘कहाँ पर्‍यो देश संकटमा ? वाक भएन कि ? स्वतन्त्रता भएन कि ?’

प्रधानमन्त्री ओलीले संघीयता समस्यामा परेको कुरा पनि अस्वीकार गरे । उनले भने, ‘केही अनुभूति र फिलिङ्सका कुरा छन्, फिलिङ्स बाहेक बजेटमा फरक पारिएको छैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेका विकास निर्माणको बयान गर्न पनि छुटाएनन् । रेल, सुरुङ, पक्की सडक, हुलाकी राजमार्ग, मेलम्चीको पानी, एकै दिन २०९ वटा अस्पताल शिलान्यास, मधेशमा साढे ३ लाख बिघाभन्दा बढी जमिनमा सिँचाइ इत्यादिको फेहरिस्त सुनाए ।

उनले आगामी साउन १ गतेदेखि लागु हुने गरी सामाजिक सुरक्षाभत्ता बढ्ने घोषणा गरे । केही दिनमै देशभरका स्कूललाई भौतिक सुधारका लागि ५ अर्ब रुपैयाँ वितरण गर्न लागेको बताए ।

प्रधानमन्त्री ओली हरेक मन्चलाई आफ्ना विपक्षीप्रति चर्को प्रहार गर्ने र आफ्नो सरकारका कामको बयान गर्ने अवसरका रूपमा उपयोग गर्छन् । आखिर प्रशंसा गर्नेले पनि ‘मुखमा सरस्वतीको वास भएका’ नेता भन्ने गरेका छन् ।

आफ्ना मन्तव्यहरूमा शिष्टाचार र मर्यादाका कुरामा निकै बढी जोड दिए पनि ओली आफैँ प्रधानमन्त्री पदको शिष्टाचार र मर्यादा भुलेर विरोधीहरूमाथि जाइलाग्छन् भनेर टिप्पणी गर्नेहरू पनि प्रशस्तै भेटिन्छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ३ : ५६ बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न