रोकिएन नेपालमा सुन तस्करीको धन्दा | Khabarhub Khabarhub

रोकिएन नेपालमा सुन तस्करीको धन्दा

मुख्य तस्कर पक्राउ नपर्दा समस्या जहाँको तहीँ



काठमाडौँ– नेपालमा सुन तस्करीको घटना शृङ्खला रोकिएको छैन । तस्करीको अनुसन्धान र नियन्त्रणका लागि कयौँपटक विभिन्न समिति पनि बनेका छन् । सुन तस्करी रोकथाम तथा नियन्त्रण हुनुपर्ने माग समेत उठ्ने गर्छ । बेलामौकामा प्रहरीले सुन समेत बरामद गर्दै आएको छ। तस्करीको धन्दा भने रोकिएको छैन ।

यही माघ ११ गते मात्रै अवैधरूपमा ल्याएको सुनसहित प्रहरीले दुई जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलका अनुसार कतारबाट अवैध तरिकाले सुन ल्याउने र सुन जिम्मा लिने दुई जनालाई प्रहरीले पक्राउ गरको हो ।

पक्राउ पर्नेमा कतारबाट आएका सुवास गुरुङ र सुन जिम्मा लिन विमानस्थल पुगेका तनहुँका टकबहादुर गुरुङ छन् । कतार एयरवेजको उडान नम्बर क्यूआर–६५२ बाट काठमाडौँ आएका सुवासको लगेज चेक जाँच गर्दा बच्चाले लगाउने डाइपरमा लुकाएर ल्याएको ३४४ दशमलव ९९ ग्राम सुनका रिङ र बाला बरामद भएको हो ।

एसएसपी बास्तोलाका भन्छन्, ‘सुन तस्करी भइरहेको सूचनाको आधारमा हामीले नियन्त्रणमा लियौं ।’ गुरुङले प्रहरीलाई दिएको बयानका आधारमा सुन जिम्मा लिन गएका तनहुँ व्यास नगरपालिका–९ का ३१ वर्षीय टक बहादुरलाई समेत तत्काल पक्राउ गर्न प्रहरी सफल भयो ।

गत कात्तिकमा प्रहरीले वीरगन्जबाट २३ केजी सुन बरामद गरेको थियो । त्यसअघि काठमाडौँको सुन्धारामा प्रहरीकै सामुन्नेबाट भारतीय सुन तस्कर सञ्जय पटेल फरार भएका थिए। २०७६ मंसिर १२ गते हङ्कङबाट आएका दुई चिनियाँ नागरिक चेन होङयाङ र चेन क्विनहाङ ८ केजी सुनसहित विमानस्थलबाट पक्राउ परेका थिए।

यी घटना पछिल्ला केही उदाहारण हुन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो सात वर्षमा प्रहरीले करिब साढे ६ सय केजी सुन बरामद गरेको छ । बरामद सुनको मूल्य अहिलेको बजारभाउअनुसार सवा ४ अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।

तस्करीमा संलग्न मुख्य अभियुक्तसम्म पुग्न भने प्रहरी अझै सकेको छैन । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरका अनुसार सुन तस्करी नियन्त्रणमा प्रहरी सक्रियताका साथ लागेको छ ।

एसएसपी कुँवर भन्छन्, ‘आतंकवाद, सुन, लागूऔषध तस्करी जस्ता अपराध कुनै एक व्यक्ति वा एक देशभित्र मात्रै सीमित नहुने भएकाले कतिपय मुख्य अभियुक्त कानूनी दायरामा आउन सकेका छैनन् । हामीले सक्रियता भने बढाएका छौँ । ढिलोचाँडो दोषीहरू कानूनी दायरामा आउँछन् ।’

गहिराइमा पुगेर अनुसन्धान हुँदैन

२०७४ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको करिब साढे ३३ केजी सुनको सेटिङ भत्किएपछि सुन तस्कर मानिएका गोरे भनिने चूडामणि उप्रेतीले सहयोगी सनम शाक्यको हत्या गरे। सुन नभेटिए पनि हत्यासम्मको घटना भएपछि सुन तस्करीको घटनाले नेपालमा चर्चा पायो । त्यसयता तस्करीका विभिन्न घटना खुल्दै गए ।

तस्करीमा प्रहरी अधिकारीदेखि उच्च व्यापारिक घरानाका व्यक्तिको नामसमेत मुछियो तैपनि मुख्य अभियुक्त को हो भन्ने किटान भएन । यसरी तस्करीका संलग्न मुख्य नाइके फेला नपर्नु, कानूनी दायरामा नआउनु र यसमा संलग्न विदेशी नेटवर्क भत्किन नसक्नुले तस्करीको गिरोह सधैँ सक्रिय रहेको देखिन्छ ।

जानकारहरूका अनुसार पक्राउ परेका भरियामाथि गहिराइमा पुगेर अनुसन्धान गर्न नसक्दा तस्करी नियन्त्रणमा आउन सकेको छैन। साढे ३३ किलो सुनको सेटिङ भत्किएसँगै सुन तस्करी अनुसन्धानका लागि गठन भएको सहसचिव ईश्वरराज पौडेलको समितिले राजधानीकै थुप्रै नाम चलेका सुन व्यापारी तथा उच्च घरानियाँले तस्करीको र्‍याकेट चलाउने गरेको ठहर गर्दै छानबिन गर्न सुझाव दिएको थियो । छानविन भने भएको छैन ।

यस्तो छ तस्करीको रुट

सुन तस्करीसम्बन्धी अनुसन्धानमा संलग्न एक प्रहरी अनुसन्धान अधिकारीका अनुसार छिमेकी मुलुक चीनसँगको सीमाना रसुवागढी–केरुङ र तातोपानी–खासाबाट तस्करीमार्फत सुन भित्र्याउन एउटा गिरोह संलग्न छ। यसबाहेक सबैभन्दा ठूलो सुन तस्करीको रुट भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो।

विशेषगरी दुबई, थाइल्यान्ड र हङकङमा बसेर तस्करले सेटिङमा सुन नेपाल पठाउने गरेको अनुसन्धानबाट थाहा हुने गरेको छ। सुनसँगै पक्राउ परेका भरियाले पनि यस्तै बयान दिने गरेका छन् ।

प्रहरी अनुसन्धान अधिकारीहरूका अनुसार नेपालमा सुन तस्करी मुख्य गरी तीन तहबाट हुने गरेको छ । पहिलो तहका कारोबारी दुबई, हङ्कङ र चीनमा बसेर आफ्नो क्षेत्र कटाइदिने जिम्मेवारी लिन्छन् । दोस्रो तहकाहरू नेपाल बसेर सहयोगीमार्फत भन्सार कटाउन सक्रिय हुन्छन् । तेस्रो तहका कारोबारी भने नेपाल–भारत सीमामा बस्छन् । काठमाडौँमा स्टोर भएको सुन स्थलमार्ग हुँदै भारतीय कारोबारीसम्म पुर्‍याउने जिम्मा उनीहरूको हुन्छ ।

यस्ता कारोबारी बढी वीरगन्ज क्षेत्रमा सक्रिय छन् । तस्करीको सुनको पहिलो प्राथमिकता भारतीय बजार नै हो । त्यहाँ लैजान अप्ठ्यारो हुँदा मात्रै स्थानीय बजार खोजिन्छ ।

५ देखि १० प्रतिशत नेपालमा खपत

पूर्वडीआईजी मल्लका अनुसार सुन तस्करीको जालो विदेशदेखि नेपालसम्म नै सक्रिय छ। मल्ल भन्छन्, ‘तस्करदेखि भरियासम्मले नेपाललाई ट्रान्जिट बनाएर सुन भारतसम्म पुर्‍याउने गरेका छन् । तस्करीको केही प्रतिशत सुन भने नेपालमा नै खपत हुन्छ ।’ प्रहरी अनुसन्धानअनुसार तस्करीबाट भित्रिएको सुनमध्ये ५ देखि १० प्रतिशतमात्रै नेपाली बजारमा खपत हुने गरेको छ । बाँकी सबै भारत पुग्ने गरेको देखिएको छ ।

पूर्वडीआईजी मल्लका अनुसार प्रहरीको मात्रै पहल र सक्रियताले सुन तस्करी नियन्त्रणमा आउन सक्दैन । सीमा सुरक्षा, भन्सार, राजस्व र सम्पत्ति शुद्धीकरणजस्ता निकाय बढी प्रभावकारी हुन आवश्यक छ । मल्ल भन्छन्, ‘सुन तस्करी रोक्न प्रहरी सक्रियता त छँदैछ यसबाहेक अन्य नियामक र यससम्बन्धी अपराध नियन्त्रण गर्न खटिएका निकाय बढी जिम्मेवार हुनुपर्ने देखिन्छ ।’

तस्करी नियन्त्रणका लागि सूचना आवश्यक हुन्छ । त्यसैले, सुराकीलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ । ‘तस्करीको सुन धमाधम बरामद हुनुको पछि सुराकीको मुख्य हात रहन्छ तर सरकार नै सुराकीको रकम कटौती गर्न केन्द्रित भयो’ मल्ल भन्छन्, ‘कमिसनको रकम घटाइएपछि तस्करलाई नै मलजल भएको छ ।’

प्रहरी अनुसन्धानअनुसार सुन तस्करको संलग्नता हुन्डीदेखि विदेशी मुद्रा तस्करीसम्म रहेको पाइएको छ । यसको नियन्त्रणका लागि जिम्मेवार निकाय सचेत बन्नुपर्छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १२ : १९ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्