खेलाडी प्रोत्साहनमा चुक्यो क्यान | Khabarhub Khabarhub

खेलाडी प्रोत्साहनमा चुक्यो क्यान



काठमाडौँ– काठमाडौँमा १० दिनसम्म चलेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता त्रिभुवन आर्मी क्लब च्याम्पियन बन्दै सम्पन्न भएको छ ।

शनिबार भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै यो संस्करणको प्रधानमन्त्री कप सकिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यक्रममार्फत् नेपाल क्रिकेट संघ (क्यान)ले यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता आयोजना र व्यवस्थापनमा केही विवाद र संशयसँगै यो समापन भएको छ ।

मुलपानीको माथिल्लो क्रिकेट मैदान र कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा गरि प्रतियोगिता सम्पन्न भयो । नेपालले मार्चमा आईसीसी विश्वकप लिग २ अन्तर्गतको दोस्रो सिरिज ओमानमा खेल्दैछ ।

त्यसैको तयारी स्वरुप यो प्रतियोगिता आयोजना गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । उनले यस प्रतियोगितालाई राष्ट्रिय टोलीमा खेलाडी छनोटका रुपमा हेर्न समय–समयमा आग्रह पनि गर्दै आएका छन् ।

यसै प्रतियोगितामा राम्रो गरेका आधारमा क्यानले शुक्रबार बेलुका मात्रै कतारमा हुने बाइल्याट्रल सिरिजका लागि जाने राष्ट्रिय टोलीको घोषणा गरेको छ । जसमा अनुभवी खेलाडीहरू छैनन् ।

कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, लेग स्पिनर सन्दीप लामिछाने, शरद भेषावकर लगायतका अनुभवी खेलाडीबिनै नेपालले उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा कतारमा खेल्नेछ ।

दिपेन्द्रले नेतृत्व गरेको टोलीमा क्याम्पमा प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका विवेक यादवदेखि उदयीमान खेलाडी बनेका साहब आलमसम्म छन् ।

घरेलु क्रिकेटमा यस्ता प्रतियोगिता हुँदा खेलाडी उत्पादनमा सहज हुने नेपालका अनुभवी विकेटकिपर तथा च्याम्पियन टोली आर्मीका कप्तान विनोद भण्डारी बताउँछन् ।

‘प्रतियोगिता हुनु भनेकै खेलाडी आउनु हो । हरेक खेलाडीले आफ्नो ठाउँमा मेहनत गरिरहेकै हुन्छन् । तर, त्यो प्रतिभा देखाउने ठाउँ पाएका हुँदैनन्,’ उनले भने, ‘जब यस्ता प्रतियोगिता हुन्छन् त्यसमा आफूलाई एक्सपोज गर्छन् ।

प्रतियोगिता खेलाडीका हकमा सफल रह्यो । जसमा केही नयाँ खेलाडीले आफूलाई प्रमाणित गरे भने कतिले लय समात्ने अवसर पनि पाए । उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्म पुगेका पृथु बाँस्कोटाले यो संस्करणको प्रधानमन्त्री कपमा राम्रो पुनरागमन गरेका छन् ।

उनी यो प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ५ खेलमा २१५ रन बनाउँदै राम्रो कमब्याग गरे । यस्तै, ब्याटिङतर्फ राजेश पुलामी मगरले पनि सम्भावना देखाएका छन् । उनले प्रतियोगितामा २०६ रन बनाउँदै टिमलाई च्याम्पियन बनाउन मद्दत गरे ।

युवा ब्याट्सम्यानहरमा आसिफ शेख र सौरभ खनाल, सन्दिप जोरा र विवेक यादवले राम्रो सम्भावना देखाएका छन् । जसमा ४ खेल खेलेका सौभरले १८२ रन बनाएका छन् भने सन्दीपले ६ खेलबाट १८१ रन,  विवेकले ४ खेलमा १६७ रन बनाए ।

राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूमा भने विनोद भण्डारीले गण्डकीविरुद्धको शतकपछि खासै लय समात्न सकेनन् । उनले गण्डकीविरुद्ध १११ रन बनाएका थिए भने बाँकी खेलभर जम्मा १७४ रन बनाए । मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐेरीले आफूलाई स्थिर राख्ने प्रयास गरेका छन् । जसमा उनले ५ खेलबाट १५६ रन बनाए ।

नेपाली क्रिकेटका ठूला नाम कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सुवास खकुरेल, रोहित कुमार पौडेल लगायत खेलाडीहरूले भने राम्रो लय समात्न सकेनन् ।

‘यो प्रतियोगितामा मेरो फर्म नै थिएन । म आफै असन्तुष्ट छु । आउने दिनमा सुधार गर्नुपर्नेछ । टोलीमा फर्किँदा बलियो कमब्याग गर्छु,’ एपीएफका कप्तान शरदले खेलबारे भने ।

प्रतियोगितामा बलिङतर्फ अभिनाष बोहराले आफूलाई प्रमाणित गर्दै शीर्ष स्थानमा राख्न सफल भए । उनले ५ खेलबाट १४ विकेट लिए । उनले ४८ ओभर बलिङ गर्दा ११ मेडन ओभर राख्दै १ सय ४० रन खर्चेर १४ विकेट लिएका थिए ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर घोषित भएका साहब आलमले ५ खेलबाट १२ विकेट लिए । उनले ४५.४ ओभर बलिङ गर्दै ८ मेडन ओभर राख्दै १४२ रन खर्चेर १२ विकेट लिए ।

बागमती प्रदेशबाट खेलेका गौतम केसीले ११ विकेट लिए उनले ३ खेलमा ११ विकेट लिएमा हुन् । यस्तै, प्रतियोगिताको प्लेयर अफ दि सिरिज घोषित भएका कमलसिंह ऐरीले १० विकेट लिए ।

उनले ६ खेलमा ५३ ओभर बलिङ गर्दै ५ मेडन राख्दै १८१ रन खर्चेर १० विकेट लिए । बलिङतर्फ उनीभन्दा राम्रो फिगर भएका खेलाडी भए पनि उनले म्यान अफ दि सिरिज पुरस्कार पाए । उनी दुई खेलमा म्यान अफ दि म्याच भएका कारण प्लेयर अफ दि सिरिज घोषित भएका हुन् ।

प्रतियोगिता गर्नु राम्रो पक्ष

प्रतियोगिता आयोजनाका क्रममा धेरै विवादका विषय पनि उठे । क्यानले प्रायोजक खोज्न नसकेको देखि मुलपानी क्रिकेट मैदानको व्यवस्थापनसम्मका कुराहरू विवादमा रहे ।

पहिलो कुरा त प्रतियोगिताको पुरस्कार विनै क्यानले प्रधानमन्त्री कप सुरु गर्‍यो । सेमिफाइनलका खेल सुरु हुनु अगाडि उसले प्रतियोगिताको पुरस्कार राशी घोषणा गर्‍यो । जसमा क्यानले यसअघिको भन्दा आधा घटाएको थियो । विजेताले यसअघि २० लाख पाउँदै आएकामा यो पटकमात्रै १० लाख पायो भने उपविजेताले १० लाख पाउँदै आएकामा यो पटक ५ लाख  मात्र पायो ।

प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीले पनि राम्रो प्याकेज पाएनन् । प्लेयर अफ दि सिरिजले ५० हजार पाउँदा उदयीमान खेलाडी, उत्कृष्ट बलर–ब्याट्सम्यानले समान २५ हजार प्राप्त गरे ।

क्यान निलम्बनमा हुँदा निजी क्षेत्रबाट संचालित फ्रेन्चाईज लिगहरुमा खेलाडीका लागि बाइकहरु पुरस्कार स्वरुप पाउँथे । तर, क्यानले त्यसको व्यवस्थाप भने गर्न सकेन । समग्र प्रतियोगिताकै पुरस्कार राशी घटाएको क्यानले खेलाडीलाई प्रोत्साहन गर्न पनि चुकेको छ ।

तर, पनि खेलाडीहरु खुसी छन् । प्रतियोगिता नै नहुनु भन्दा भएको जाती भन्दै खेलाडी सन्तुष्ट देखिएका छन् ।

‘कोभिड १९ का कारण हामीले लामो समय खेल्न पाएका थिएनौं । अहिले क्यानले यो प्रतियोगिता आयोजना गर्यो त्यसका लागि क्यानलाई धन्यवाद । प्रतियागितामा केही नयाँ खेलाडी पनि देखिएका छन्,’ राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान शरदले भने, ‘प्रतियोगिता भएपछि नयाँ खेलाडी आउँछन् । जुन सिनियर टिमका लागि पनि खुसीको कुरा हो । प्रतिस्पर्धा बढेपछि हामीलाई पनि मेहनत गर्न दबाब बढ्छ ।’

क्यान नहुँदा त खेलाडी आए, अब झन राम्रो हुनेछ

नेपाल झण्डै ४ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनमा पर्‍यो । अहिले पनि सशर्त फुकुवा भएको छ । त्यो समयमा पनि खेलाडीहरु राम्रो राम्रो आएका शरदको भनाइ छ ।

ती खेलाडीलाई आगामी दिनमा राम्रो बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

‘क्यान नहुँदा पनि नयाँ खेलाडी देख्न पाइन्छ । नेपालमा वाई नेचर क्षमता भएका खेलाडी प्रशस्तै छन् । अब उनीहरुलाई तिर्खानु पर्छ,’ शरदले थपे, ‘ अहिले डेभ वाटमोर जस्तो अनुभवी कोच आउनु भएको छ । उहाँले भन्या जस्तै ती खेलाडीलाई पोलिसिङ र फिनिसिङ गर्न सक्यो भने नेपालका लागि राम्रो खेल्न सक्ने खेलाडी देखिन सक्छन् ।’

विनोद आफूले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइ राख्न आफूलाई तयार पारिरहेको बताएका छन् । उनले अहिलेका लागि आफ्नो फोकस टी–२० भन्दा पनि ओमानमा हुने सिरिजका लागि रहेको बताएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : २५ बजे

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,