सिन्धुलीगढीमा घुमेर हेर्न अब युद्ध सङ्ग्रहालय « Khabarhub
Logo
१२ आश्विन २०७८, मंगलबार

सिन्धुलीगढीमा घुमेर हेर्न अब युद्ध सङ्ग्रहालय



काठमाडौँ ।
सिँधुली गढी घुमेर हेर्दा सुन्तली मइँ
कति पो राम्रो दरबार
मार्‍यो नि मायाले मार्‍यो…

२०३६ सालमा कृष्णविक्रम थापाले गाएको यो गीत रेडियो नेपालमा खुब लोकप्रिय थियो । अब सिन्धुलीगढीमा घुमेर हेर्नका लागि ‘कतिमा राम्रो दरबार’ मात्रै होइन एउटा सङ्ग्रहालय पनि थपिएको छ ।

उक्त गीतमा भनिएको दरबारबाट करिब एक किलोमिटर पर नेपाली सेनाले युद्ध सङ्ग्रहालय बनाएको छ । यससँगै सुन्धिलीगढी युद्ध इतिहास अध्ययनको ठाउँ पनि भएको छ ।

नेपाली सेनाले साढे ६ करोड रुपैयाँको लागतमा ६ हजार २८१ वर्ग फिटको ६ कोठे सङ्ग्रहालय भवन बनाएको छ । यससँगै गढीको सौन्दर्य पनि फेरिएको छ ।

सङ्ग्रहालयको भवनको भित्तामा टाढैबाट देखिने गरी गढीको महत्व र पृष्ठभूमि समेटिएको ‘थिएटर’ राखिएको छ । भवन प्रवेशद्वारमा चार वीरहरू काजी वंशराज पाण्डे, खञ्जाची वीरभद्र उपाध्याय, शिकारी सरदार वंशु गुरुङ र श्रीहर्ष पन्थको नाम ठूला अक्षरमा लेखिएको छ ।

सङ्ग्रहालय प्रवेशसँगै तत्कालीन गोर्खाली सेना र अङ्ग्रेज फौजबीच सिन्धुलीगढीमा भएको युद्धको झल्को दिने सामग्रीहरू राखिएका छन् । त्यसबेलाको सेनाले प्रयोग गरेका घरेलु हातहतियार, युद्धकालमा घरेलु सेना र अङ्ग्रेज सेनाले लगाएको पोसाक लगायत सामग्रीहरूको सङ्ग्रह गरिएको छ ।

त्यसैगरी सङ्ग्रहालयमा मिथिला चित्र, सुगौली सन्धिअघिको नेपाल, युद्धकालीन अवस्थाका पत्र, सिन्धुलीगढी युद्धको टाइमलाइन र डकुमेन्ट्री समेत राखिएका छन् ।

गङ्ग्रहालयमा युद्धका समयको चित्र, नेपाली तथा ब्रिटिस योद्धा तस्बिर, युद्धकालीन शिलालेख, इतिहासमा रुचि भएका व्यक्तिहरूका लागि पुस्तकालय पनि राखिएको छ । काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्याय, श्रीहर्ष पन्त, शिकारी सरदार वंश गुरुङ लगायत ६ जनाको चित्र पनि टाँगिएका छन् ।

सङ्ग्रहालयबाट केही पर गढी दरबारको पुनर्निर्माण, प्रशासनिक भवन, जेलघर, अदालतको भग्नावशेष पनि संरक्षण गरिएको छ । सङ्ग्रहालयबाहिर वीरगति प्राप्त गरेका चार जनाको शालिक देख्न सकिन्छ । १८२५ साल असोजमा फिरिङ्गी शत्रुलाई परास्त गर्ने वंशराज, वीरभद्र, श्रीहर्ष र वंश गुरुङको नाम उल्लेख गरिएको छ ।

शालिकबाट नजिकैबाट सिँढी चढेर केही माथि गएपछि पृथ्वीनारायण शाहको शालिक भेटिन्छ । युद्धका समयमा भएका गतिविधि झल्काउने यो सङ्ग्रहालय र आसपासमा राखिएका शालिकहरू अनुसन्धानकर्ता, विद्यार्थी र नयाँ पुस्ताका हुनेछन् ।

यो युद्ध सङ्ग्रहालय नेपालकै पहिलो सङ्ग्रहालय मानिएको छ । सङ्ग्रहालय नेपाली सेनाले कमलामाई नगरपालिकासगको सहकार्यमा साढे ६ करोड रुपैयाँ लागतमा निर्माण गरेको हो ।

२०७६ साल कात्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले ‘सिन्धुलीगढी युद्व सङ्ग्रहालय’ शिलान्यास गरेका थिए । कोरोना माहामारीका बीच निर्माण शुरू गरिएको करिब डेढ साउन १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भयो ।

इतिहासविदको कुरा

इतिहासविद् सागरकुमार ढकालले गढीको इतिहास खबरहबलाई संक्षेपमा यसरी बताए–

खासगरी मकवानपुर राज्यको सिन्धुलीगढीमा ठूलो भन्सार चौकी थियो । जुन अहिले जस्ताको त्यस्तै छ । त्यो भन्सार चौकीबाट वार्षिक राम्रै आम्दानी हुन्थ्यो ।

काठमाडौँले पटकपटक आक्रमण गरेर भन्सार चौकी आफ्नो बनाउन खोज्यो । यताबाट पनि प्रत्याक्रमण खोस्ने काम निरन्तर भइरह्यो । खासगरी दुई सय वर्षसम्म यो मकवानपुर राज्यअन्तर्गत पर्‍यो । त्यसपछि पृथ्वीनारायण शाहले गोरखाको विस्तृतीकरण गर्न थाले ।

मकवनपुर पनि आफ्नो भइदिए हुन्थ्यो भन्ने भएपछि राजा हेमकर्ण सिंहकी छोरी (इन्द्रकुमारी) बिहेका लागि मागे । त्यतिबेला तराईको संस्कृतिअनुसार छोरी बिहे गर्ने स्वयम्वर गर्ने तर छोरी नपठाउने चलन थियो । छोरी नदिएपछि जन्ती खाली फर्किए । बेइज्जतको बदला तरबारले काटेर भए पनि छोरी लान्छु भन्दै शत्रुता बढाए ।

१८१८ सालमा राजा मरे । उनका जेठान राजा भए । त्यही बेला पृथ्वीनारायण शाहले मकवानपुर आक्रमण गरे ।
१८१९ सलामा सिन्धुलीगढी मकवनपुर राज्यबाट गोरखा राज्यमा आइपुग्यो । त्यसपछि घेराउ गर्दै जाने क्रममा काठमाडौँमा रहेका राजा जयप्रकाश मल्लले असुरक्षा भएको ठाने ।

जयप्रकाशले कम्पनी सरकारसँग सहयोग मागे । कम्पनी सरकारलाई पनि जसरी नि काठमाडौँ, काठमाडौँपछि तिब्बत जानुपर्ने थियो । त्यतिबेला उनीहरूले बङ्गललाई समेत आफ्नो बनाइसकेको थिए ।

सहयोग गर्ने बाहनामा जितेर नेपाललाई आफ्नो बनाउने कम्पनी सरकारको उद्देश्य थियो । यता पृथ्वीनारायण शाहले ‘इष्ट इन्डिया कम्पनी’ सँग हामी लड्न सक्दैनौँ भनेर त्यहीअनुसार रणनीति बनाए ।

उनले स्थानीय केही मगरहरूलाई उठाएर काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्याय, श्रीहर्ष पन्त, शिकारी सरदार वंश गुरुङलाइ सेनापति बनाएर राखे ।

‘जाइ कटक नगर्नु, झिकी कटक गर्नु’ भन्ने सिद्धान्त लिएका गोरखाली सेनाले सिन्धुलीगढीको युद्धमा वैरीमाथि अद्वितीय सफलता हासिल गर्‍यो ।

उताबाट २४ सय फौजी आए । रणनीतिक किसिमले लडाइँ गरे । परिणाम स्वरूप १६ सय कम्पनी सैनिकहरू त्यस युद्धामा मारिए । पराजित कप्तान किनलक आफ्ना करिब ८ सय सैनिकसहित भागे ।

अङ्ग्रेजसँग दोस्रो पटक लडाइ भयो । पृथ्वीनारायणशाहले सिन्धुलीगढीलाई दह्रो किल्लाका रूपमा राखे, सुरक्षा दिए । रणबहादुर शाहको समयमा झन दह्रो बनाए । राणकालमा यसलाई सदरमुकाम नै बनाए ।

राणाकाल सकिएसँगै यहाँका कार्यालय तलतिर सर्न थाले । त्यसपछि गढी क्षेत्र निर्जन बन्न थाल्यो । करिब ६० वर्षजति यो ठाउँ एकान्त भयो । बोट बिरुवा उम्रिएर झाडी बन्यो ।

२०७४ सालमा स्थानीय सरकार बन्यो । त्यसपछि सिन्धुलीगढीलाई ऐतिहासिक सम्पदाका रूपमा विकास गर्न कमलामाई नगरपालिकाले पहल गर्‍यो ।

पर्यटक बढ्ने अपेक्षा

इतिहासमै पहिलो पटक ब्रिटिसहरू हारेको ठाउँ हो सिन्धुलीगढी । अंग्रेजहरू कसरी हारे, कहाँ हारे भनेर हेर्न आउनेहरू धेरै रहेको इतिहासविद् ढकाल बताउँछन् । उनकाअनुसार सिन्धुलीगढी धेरैजसो भारतीय नागरिक आउने गर्छन् ।

‘इन्डियाको सीतामढी बजारबाट गढी आइपुग्न मोटरसाइकलमा साढे दुई घण्टा र गाडीमा ३ घण्टा लाग्छ’ उनी भन्छन्, ‘उनीहरू ५० हजार तिरेर भए पनि यहाँ दिनभर बस्न रुचाउँछन् उनीहरूका लागि यो ठाउँ अनुकूल छ कल्पनाभन्दा बाहिरको छ ।’

कसरी युद्ध भएको थियो, कस्ता कस्ता हतियारहरू प्रयोग भएका थिए भन्ने बारेमा अध्ययन गर्ने आन्तरिक र बाह्य पर्यटकहरूका लागि यो ठाउँ उपयोगी हुने उनको बुझाइ छ ।

हाल दैनिक चार सयको हाराहारीमा गढी अवलोकन गर्न आन्तरिक र बाह्य पर्यटकहरू आउने गरेको कमलामाई नगरका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार आन्तरिक पर्यटककासँग ५० रुपैयाँ र बाह्यसँग २ सय रुपैयाँ शुल्क लिने गरिएको छ ।
विद्यार्थीलाई ५० प्रतिशत छुट छ । ज्येष्ठ नागरिकले शुल्क तिर्नु पर्दैन ।

सङ्ग्रहालय सुरक्षाको चिन्ता

नेपाली सेनाले सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

यससँगै सङ्ग्रहालयको सुरक्षा गढीका बारेमा बुझ्नेहरू, इतिहासविद् र स्थानीयको चिन्ताको विषय बनेको छ । नगरप्रमुख प्रमुख खड्गी नगपालिकाले आवश्यक कर्मचारी खटाउने बताउँछन् ।

उनले पुर्खाहरूले स्थानीयरूपमा युद्धमा प्रयोग गरेका सामग्री खोजी गर्ने पनि उनले बताए खड्गीका अनुसार नगरपालिकाले राज्यमा रहेका नौला पुराना हातहतियारको नम्बर खोजी गर्नेछ ।

उनका अनुसार अहिले थोरै सामग्री भए पनि सङ्ग्रहालयलाई पूर्ण बनाउन नगरले नगरपालिकाले पहल गर्नेछ ।

(सिन्धुलीगढीबाट फर्केपछि सविना कार्कीको आलेख)


भर्खर

0