स्वस्थानी, शालीनदी र बज्रयोगिनी महिमा « Khabarhub
Logo
३ कार्तिक २०७८, बुधबार

स्वस्थानी, शालीनदी र बज्रयोगिनी महिमा



कोरानाका कारण यसपालिको शालीनदी माधवनारायण मेला नलाग्ने भयो । साँखुबजारबाट एकडेढ किलोमिटर पूर्वतर्फ शालीनदी क्षेत्र रहेको छ । शालीनदी श्रीस्वस्थानीदेवीको अति पावनपीठ हो । पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म यहाँ श्रीस्वस्थानीदेवीको व्रत उपासना गरिन्छ ।

स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दु धर्मावलम्बीका घरमा श्रीस्वस्थानीदेवीको व्रतउपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने चलन छ । स्वस्थानी व्रत कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँन यो व्रत गरेकी थिइन् ।

माघस्नान गर्ने क्रममा शालीनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजाआराधना र स्वस्थानीदेवीको पूजा गरेमा इच्छित फल प्राप्त हुन्छ भन्ने विश्वास छ । शालीनदीको जल अर्चन गर्दैमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने विश्वास गरिन्छ । अघि यहीँ व्रतउपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी थिइन् भन्ने कथा छ ।

शालीनदीमा स्नान गरेर चन्द्रावतीले गुमेका आफ्ना पति नवराजलाई पाएकी थिइन् । शरीरमा नवकान्ति प्राप्त गरेर नजिकै रहेको लावण्यदेशकी रानी भएकी थिइन् । गोमा नामकी ब्राह्मणीले हराएको आफ्नो पुत्र नवराज प्राप्त गरेकी थिइन् । विछोड भएका नागनागिनीको पुनर्मिलन भएको थियो ।

धनधान्य र आफ्नो अटल सौभाग्य अनि वैभव प्राप्त गर्न चाहनेहरू शालीनदी क्षेत्रमा बसेर श्रीस्वस्थानीको उपासना गर्ने गर्छन् । वर्षेनी हजारौँ व्रतालुहरू शालीनदीमा स्नान गर्ने गर्छन् । तिनीहरू ब्रतकै क्रममा चाँगुनारायण, पनौती र पशुपति क्षेत्रसम्म पुग्छन् । व्रतप्रतिष्ठा गर्दै माघशुक्ल पूर्णिमामा श्रीस्वस्थानीदेवीको व्रत साङ्गे गरी विशेष यज्ञ समेत गर्छन् ।

साँखु पहिले लावण्यदेश भनिन्थ्यो । नवराज राजाले राज्य गरेको क्षेत्र अहिले पनि सुन्दर छ । कुनै बेला यहाँ शंखदेवनामक राजाले राज्य गरेका थिए भनिन्छ । यसअर्थमा यहाँको नाम शंखपुर र पछि शंखरापुर भनियो । शंखरापुर पछि अपभ्रंश हुँदै साँखु नामले चिनिन पुग्यो ।

शालीनदी क्षेत्रमा प्रसिद्ध माधवनारायणको मूर्ति, ठूलाठूला पाटी र सत्तलहरू छन् । यहाँ सधैँजसो कथाप्रवचन भइरहन्छ । चार सय मिटर जति दक्षिण समथर क्षेत्रमा चन्द्रावतीको शिला छ ।

स्वस्थानी कथाअनुसार यहाँ चन्द्रावतीलाई डोलीमा बोकेर ल्याउँदा हावाहुरीमा परी लडेका डोलेका शिलाहरू पनि छन् । चन्द्रावती बस्ने कुटी पनि छ । स्वर्गबाट अप्सराहरू आएर यहाँ माघस्नान र श्रीस्वस्थानीदेवीको पूजाउपासना गरेकाले यो क्षेत्र पुण्यक्षेत्र भएको मानिएको हो ।

यसै क्षेत्रमा बसेर चन्द्रावतीले स्वस्थानीदेवीको उपासना गरेकी हुन् । सुवर्ण, त्रिनेत्रधारी, प्रसन्नमुद्रामा रहेकी, कमलनयनी, सिंहासनमा बसेकी, चार हात भएकी देवीले सम्पूर्ण भक्तहरूको मनोकांक्षा पूरा गर्छिन् भन्ने जनविश्वास रहेको छ ।

एक हातमा नीलकमल, अर्कोमा शंख, अर्कोमा ढाल र अर्को हातमा वरदमुद्रा लिएकी देवीले आमभक्तहरूको सदिच्छा साकार पार्छिन् । स्वस्थानीको अर्थ हुन्छ– आआफ्नो स्थानमा बसेर आआफ्नो भूमिका र कर्तव्य निर्वाह गर्नु, पथभ्रष्ट नहुनु, कर्तव्यच्युत नहुनु, सम्पूर्ण क्षेत्रबाट सबैले आआफ्नो पदीयआचरण र मर्यादाअनुकूल विधिव्यवहार गर्नु । यसो गर्दा सबैको कल्याण हुन्छ ।

स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मनशुद्धि हुन्छ । गाई, भूमि, तिल, वस्त्र, सुन, धान्यादि वस्तुहरूको दानले तन, मन, धन सबै पवित्र बन्छ । वैशाखमा जल र अन्नदानको महत्व बढी छ भने कार्तिकमा तप र पूजाको । माघमा यी सबै पुण्य स्नानले मात्रै प्राप्त हुन्छ ।

साँखु अर्थात शंखरापुर बजारको उत्तरढोका बाहिरपट्टि प्रसिद्ध ६४ ज्योतिर्लिङ्गमध्येको पावन ज्योतिर्लिङ्गेश्वर मन्दिर छ । परम्परागत शैलीमा निर्मित यो मन्दिरमा सुनको जलप लगाइएको गजुर छ । इँटाको गाह्रो र झिँगटीको छानो भएको दुईतले कलात्मक मन्दिर ज्योतिर्लिङ्गेश्वर मन्दिरको नामले चिनिन्छ । उत्तरपट्टि कैलाश क्षेत्र छ ।

गणेश, शिव, देवीहरूका मन्दिर पनि रहेको यो क्षेत्रमा शालीनदी स्नान गरी विशेष पूजा गर्नेहरूको भीड लाग्छ । शिव र शक्तिको संयुक्त उपासना गर्ने नेपाली परम्पराअनुसार शिवजी विराजमान रहेको यो क्षेत्रमा दर्शनार्थीहरूको घुइँचो लाग्छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन यस मन्दिर परिसरमा विशेष पर्वपूजा हुन्छ । स्कन्दपुराण, हिमवत् खण्ड, नेपाल माहात्म्य अध्याय १२२ अनुसार सनातनकुमारले विशेष व्रतउपासना गरेपछि शिवजी खुसी भएर वरदान माग्न भन्नुभयो । सनातनकुमारलाई चिरञ्जीवी हुने वरदान पनि दिनुभयो ।

सुरुमा ब्रह्माजीबाट सृष्टि भएका छ कुमारमध्येका सनातनकुमारले शिला स्थापना गरी यहाँ बसेर शिवजीको तप गर्नुभएको थियो । शिव प्रकट भई वरदान दिएपछि सनातनकुमारले स्थापना गरेका शिलाको नाम ज्योर्तिर्लिङ्गेश्वर भएको हो ।

एकपटक कर्तव्यच्यूत भएर कुसङ्गतका कारण दुराचारी भएका एक ब्राह्मण मृत्युपछि चराको मुख लिएर अशुचियोनिमा जन्म लिन पुगेछन् । के कारणले चराको जस्तो मुख भएको अशुचियोनिमा जन्म भएको होला भन्ने खोज गर्ने क्रममा उनले एक त्रिकालदर्शी ब्राह्मणलाई भेटेछन् । पूर्वजन्ममा आफूले गम्यागम्य, भक्षाभक्ष, पापपुण्यको कुनै परवाह नगरेका कारण यस्तो भएको कुरो ज्ञात भएपछि त्रिकालदर्शी ब्राह्मणको उपदेशअनुसार यसै ज्योतिर्लिङ्गेश्वरको उपासना गरेर आफू शुद्ध भएछन् । त्यसैबेलादेखि यस शिवलिङ्गको उपासना गर्न थालिएछ । आफ्नो शरीर शुद्ध र मन पवित्र राख्न चाहनेहरू यहाँ दर्शन, पूजाआरती, रुद्रीपाठ गर्न जान्छन् ।

स्वस्थानीको अर्थ हुन्छ– आआफ्नो स्थानमा बसेर आआफ्नो भूमिका र कर्तव्य निर्वाह गर्नु, पथभ्रष्ट नहुनु, कर्तव्यच्युत नहुनु, सम्पूर्ण क्षेत्रबाट सबैले आआफ्नो पदीयआचरण र मर्यादाअनुकूल विधिव्यवहार गर्नु । यसो गर्दा सबैको कल्याण हुन्छ ।

यस वर्षको स्वस्थानी आरम्भ यही माघ १५ गते भएको छ । एक महिना भनिने स्वस्थानी कथा सत्ययुगीन इतिहास हो । कलियुगमा सदा यज्ञ, हवनादि कार्य सम्भव हुँदैन । पर्वविशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रहरूले पुष्टि गरेका छन् ।

स्वस्थानी श्रवण र विभिन्न क्षेत्रहरूमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्वापर आदि युगविशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुन्छ । मानवजीवनको उषाकाल सत्य युग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो । ज्ञानको प्रयोगको समय द्वापरयुग हो । कलियुग धर्म र कर्म दुवैको समय हो ।

स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मनशुद्धि हुन्छ । गाई, भूमि, तिल, वस्त्र, सुन, धान्यादि वस्तुहरूको दानले तन, मन, धन सबै पवित्र बन्छ । वैशाखमा जल र अन्नदानको महत्व बढी छ भने कार्तिकमा तप र पूजाको । माघमा यी सबै पुण्य स्नानले मात्रै प्राप्त हुन्छ । सकाम भावले स्नान गरे मनोरथ पूरा भई जीवनमा परमगति प्राप्त हुन्छ । माघस्नानबाट सदाको लागि दिव्यधाम प्राप्त हुने कुरा शास्त्रहरूले भनेका छन् ।

सृष्टिको उषाकालमा विष्णुका पसिनाबाट उदय भएका मधुकैटभ सृष्टिकर्ता ब्रह्माप्रति जाइलागे । ब्रह्माजी डराएर योगनिद्रामा रहेका विष्णु जागा भएपछि त्रिदेव ब्रह्मा–विष्णु–शिवले संयुक्तरूपमा स्तुति गरेकाले देवीको नाम योगिनी रह्यो । यिनै योगिनीदेवीको कृपाबाट मोह र क्रोधरूपी मधुकैटभको बध भयो ।

यी देवीको निवास स्थानलाई योगकुट पर्वत भनिन्छ । तान्त्रिक विधिबाट वज्रयोगिनीको नित्य पूजा हुने गर्छ । काठमाडौँ खाल्डोबाट चोभारको डाँडो काटी पानी बाहिर पठाउन र स्वयम्भू स्तूपको निर्माण गर्न मञ्जुश्रीलाई प्रेरणा दिने देवी यिनै हुन् भन्ने विश्वास गरिन्छ । वज्रयोगिनीदेवी एक प्रसिद्ध शक्तिपीठ हुन् ।

काठमाडौँ उपत्यकाको उत्तरपूर्व मणिचूड डाँडोमा वज्रयोगिनी मन्दिर रहेको छ । काठमाडौँ शहरबाट करिब २२ किमि पूर्वमा साँखु बजार छ । साँखु बजारबाट उत्तर उकालो चढ्दै गएपछि वज्रयोगिनी मन्दिर पुग्न सकिन्छ ।

यो मन्दिर अलि एकान्त स्थलमा छ । वरिपरि घनाजङ्गल छ । शहरलाई आठ देवीहरूले रक्षा गरेका छन् भन्ने जनश्रुति रहेको छ । अष्टमातृका, आठ देवताहरूद्वारा रक्षित साँखु शहर सफासुग्घर छ । लिच्छवीकालको अभिलेखले साँखु शहर बौद्धतीर्थ हो भन्ने पनि जनाउँछ ।

वज्रयोगिनीको अर्को नाम डाकिनी पनि हो । हिन्दुहरूले ६४ ज्योतिर्लिङ्गलाई शिवलिङ्गका रूपमा मनाएझैँ ६४ योगिनीका रूपमा भगवतीलाई मनाउँछन् । यिनमा योगिनीमा नैरात्मायोगिनी, खड्गयोगिनी, विद्यायोगिनी आदि प्रमुख हुन् । देवमाला वंशावलीका अनुसार वज्रयोगिनीको मन्दिर सन् ८२४ मा निर्माण भएको हो ।

नेपालमा रहेका विभिन्न पीठहरूको अध्ययन गर्दा हालसम्म अन्यत्र क्षेत्रमा योगिनीदेवीको मन्दिर भेटिएको छैन । स्कन्दपुराण, हिमवत् खण्ड नेपाल माहात्म्यमा ‘ने’ नामका मुनिले योगिनीदेवीको विशेष उपासना गरी देवीको वरदकृपाबाट नेपालको स्थापना गरेका हुन् भन्ने उल्लेख भएको पाइन्छ । यसअनुसार ने मुनिले नेपालको स्थापना गर्न यिनै देवीको कृपाप्रसाद प्राप्त गरेको अनुमान गर्न सकिन्छ ।

धर्ममुद्रामा रहेकी वज्रयोगिनीदेवीले कमल र कलश धारण गरेकी छिन् । साँखुमा बस्नेहरू यी देवीलाई आफ्नो कुलदेवीका रूपमा हेर्छन् र नित्य उपासना गर्छन् । अघि मणिचूड पर्वतबाट यिनको उदय भएको मान्दछन् । वज्रयोगिनी मन्दिर परिसरमा प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमामा ठूलो मेला लाग्छ । यो मेला एक हप्तासम्म चल्छ । योगिनीका दुई दिदीबहिनी छन् ।

माथिल्लो सत्तलमा रहेकी देवी खटमा राखेर साँखु बजारमा ल्याइन्छिन् । यस साँखु बजारमा समयमा सात दिनसम्म चहलपहल हुन्छ । वरिपरिका असंख्य श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउँछन् । विशेष गरी स्थानीय नेवार समुदायमा यो एउटा विशेष पर्व नै हुन्छ ।

देवीलाई बजार ल्याउँदा सिँहिनी, व्याघ्रिणी र बुद्धस्तूप पनि खटमा राखेर ल्याइन्छन् । वज्रयोगिनी मन्दिरसँगै रहेको चैत्य गुँ विहारको चैत्य मानिन्छ । अघि लिच्छवीकालमा वज्रयोगिनी रहेको स्थान गुँ विहार भनिन्थ्यो । प्राचीन समयदेखि आम नेपालीहरू हिन्दु र बुद्धधर्म आत्मासात गर्थे भन्ने यसबाट बुझिन्छ ।

वज्रयोगिनीदेवी मन्दिर नजिकै रहेकी सरस्वतीदेवीको पनि पूजाउपासना गरिन्छ । खासगरी वसन्तपञ्चमीमा त्यहाँ केटाकेटीहरू देवीको पूजा गर्न जान्छन् ।

वज्रयोगिनी मन्दिर परिसरमा पूर्वतर्फ ६४ ज्योतिर्लिङ्गमध्येको योगेश्वरशिवलिङ्ग छ । मन्दिर भव्य, आकर्षक, सुनको गजुर र तामाको पाताको छानो भएको छ । ढोका पश्चिमपट्टि छ ।

मन्दिरभित्र रहेको योगेश्वर शिवतीर्थलाई तामाको मुकुटमा बुद्धमार्गी बुट्टाहरूले सिँगारिएको छ । शिवलिङ्ग प्रत्यक्ष रूपमा बाहिरबाट देख्न सकिँदैन । योगेश्वर मन्दिर पूर्वपट्टि खुला कैलाशको क्षेत्र, दक्षिणमा पूजापाठ, कीर्तन गर्ने धर्मशाला र पश्चिमपट्टि सिंहवाहिनीदेवी वज्रयोगिनीको विशाल मन्दिर छ ।

केही माथिपट्टि वायव्य कोणमा विक्रमादित्य राजाका पालामा तेल पाक्ने ठूलो खड्कौलो, नजिकै राजाको शिर र सत्ययुगदेखि निरन्तर रहेको आगोको धुनी छ । अलिक माथि गणेशमन्दिर छ । उत्तरपट्टि ठूला धर्मशालाहरू छन् । ज्ञानधारा, अन्य देवदेवीका शिला मूर्तिहरू पनि छन् ।

दुर्गापक्षमा विशेष चहलपहल हुने यस क्षेत्रमा सोह्रश्राद्धको नवमी तिथिमा पनि विशेष पर्व मनाइन्छ । वज्रयोगिनी मन्दिर पूर्वपट्टि एउटा गुफा छ जो धर्मद्वारका रूपमा चिनिन्छ । यो द्वारबाट मानिसहरू सजिलै छिर्न सक्छन् । हाल यसक्षेत्र नजिकसम्म मोटर पुगेको छ । साँखुबजारबाट उकालो चढेर आनन्द लिनेहरू पनि कम हुँदैनन् । मूल मन्दिरमा जान १११ सिँढी सुरु हुनुअघि गणेश र भैरवका मूर्ति छन् ।

मणिचूड पर्वतमा नेपालका ६४ ज्योतिर्लिङ्गहरूमध्ये मणिचूडेश्वर ज्योतिर्लिङ्ग पनि रहेको छ । यो शिवलिङ्गमा हालसम्म मन्दिर बनेको छैन । शिवलिङ्गको पश्चिम क्षेत्रमा शिलाको नन्दी, पूर्वदक्षिणतिर धर्मशाला र उत्तरतिर मानव निर्मित शिवलिङ्गहरू छन् । जङ्गलबीच मणिचूडेश्वर शिवलिङ्ग रहेको क्षेत्रमा फराकिलो कैलाश पर्वत रहेको छ । वज्रयोगिनीको मन्दिरमा झैँ यहाँ पनि चैत्र शुक्ल पूर्णिमाका दिन विशेष पूजा हुन्छ ।

स्कन्दपुराण, हिमवत् खण्ड नेपाल माहात्म्य अध्याय ११९ अनुसार प्राचीनकालमा चोरीशिकार गर्ने एउटा पापीले एउटा घरबाट सुन चोरेछ । सुन चोरेको कारण अर्को जन्ममा ऊ रोगी भएर जन्मेछ । आफ्नो रोग निवारण गर्ने क्रममा सारा पृथ्वीतलमा घुम्दा यही मडिचूडेश्वर शिवलिङ्ग नजिकै आइपुगेछ र मणिचूड पर्वतमा रहेको पोखरीमा पौडी खेल्न लागेछ । पौडीको अभ्यास नभएकाले डुबेर मरेछ ।

अकाल मृत्यु भए पनि मणिचूडेश्वर पर्वतमा भएकाले ऊ फेरि मत्र्यलोकमा जन्मनु परेनछ । उसले शिवकृपा पाएर मुक्ति पाएछ । शिवपुरि क्षेत्रले स्पर्श गरेको मणिचूड पर्वत क्षेत्रमा प्रवेश गर्ने जो कोही मानिस पनि साधन सम्पन्न हुन सक्छ । इहलौकिक सुखको साथै पारलौकिक आनन्द पनि प्राप्त गर्न सक्छन् भन्ने भनाइ छ ।


भर्खर

0