कोरोनाको ओमिक्रोन भेरियन्ट : शोधकर्ताहरु अध्ययन गर्दै, विश्व फेरि यात्रा प्रतिबन्धको चपेटामा | Khabarhub Khabarhub

कोरोनाको ओमिक्रोन भेरियन्ट : शोधकर्ताहरु अध्ययन गर्दै, विश्व फेरि यात्रा प्रतिबन्धको चपेटामा


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को कारण संसारलाई फेरि चिन्तामा पारेको छ । बढी सङ्क्रामक ठहरिएको यो भेरियन्टका कारण महामारीबाट पार पाउने प्रयास गरिरहेको मानव समुदायलाई नै फेरि पुरानो साइकलतर्फ नै लैजाने त होइन ? भन्ने आशङ्का थपिएको छ ।

भ्याक्सिनले काम गर्ने या नगर्ने भन्ने चिन्ता त छदै छ । साथमा पहिला सङ्क्रमण भई सकेकाहरूमा नयाँ सङ्क्रमण समेत हुन सक्ने सम्भावनाका कारण संसार आत्तिएको हो ।

यसै कारण, सुरक्षाका लागि नयाँ मापदण्ड अपनाउन सुरु गरिएको छ । यसबाट बच्न बेलायतले फेस मास्क अनिवार्य गर्ने, कुनै पनि देशबाट त्यहाँ पुग्नेको प?सीआर टेस्ट अनिवार्य गर्ने तथा भ्याक्सिनेसनलाई अनिवार्य गर्ने नीति लिई सकेको छ ।

स्पेनले पनि भ्याक्सिन पासपोर्टलाई अनिवार्य गरिसकेको छ । स्वीजरल्यान्डले अझ कडाइ गर्दै १० दिन क्वारेन्टिनको नीति लिँदै पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने तथा भ्याक्सिन लगाएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने नियम लगाएको छ । बेलायतले यस भेरियन्ट बारे सल्लाह गर्न जी सेभेन राष्ट्रको बैठक अनिवार्य भएको ठहर गरेको छ ।

यो भेरियन्ट सबैभन्दा पहिले भेटिएको दक्षिण अफ्रिकाबाट संसारका धेरै देशमा आवागमन बन्द गरिएको छ । यसरी दक्षिण अफ्रिकालाई यात्रा प्रतिबन्ध लगाउने देशमा युरोपेली युनियन, जापान, अस्ट्रेलिया, क्यानडा, र रुवान्डा लगायत छन् । यात्रा प्रतिबन्ध लगाइएका दक्षिण अफ्रिका बाहेकका देशमा बोत्सवना, जिम्बाबे, नामिबिया, लेसोथो, एस्वाथी, मोजाम्बिक र मलावी छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसरी अन्धाधुन्ध यात्रा प्रतिबन्ध गर्नु उपयुक्त नभएको ठहर गरेको छ । डब्लुएचओले बैज्ञानिक रूपले जोखिमको आङ्कलन गर्दै यात्रा प्रतिबन्ध गर्नुपर्ने सुझाव दिएको छ । अहिले धेरै अफ्रिकी देश यात्रा प्रतिबन्धको सिकार बनेका छन् ।

डब्लुएचओका अफ्रिकी निर्देशक मात्सीदीसो मोइदीले ‘ओमिक्रोन’ संसारका धेरै देशमा पुगिसकेकाले अफ्रिका लक्षित यो प्रतिबन्धले विश्वव्यापी एकबद्धतामा आघात पुग्ने प्रतिक्रिया दिएका छन् ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरियल साम्पोसाले यो यात्रा प्रतिबन्धले भेदभावको सङ्केत गरेको प्रतिक्रिया दिएका छन् । उनले यो प्रतिबन्धले आफ्नो देश र अन्य दक्षिण अफ्रिकी देशमाथि भेदभाव जन्य ब्यहोरा भएको भन्दै आइतबार आफ्नो धारणा सार्वजनिक गरेका हुन् । राष्ट्रपति साम्पोसले महामारीबाट मुक्त हुँदै उठ्दै गरेको अर्थतन्त्रलाई यस प्रतिबन्धले थप क्षत विक्षत बनाउने प्रतिक्रिया दिएका छन् ।

दक्षिण अफ्रिकाले आफ्नो देशको टेस्टिङ प्रविधि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएका कारण सबै मापदण्ड लागु गर्न आफूहरू सक्षम भएको दाबी गर्दै विश्व समुदायले भेदभावरहित ढङ्गले यसको समाधान गर्नका लागि एकतावद्ध हुनुपर्ने आवश्यक रहेको जनाएको छ ।

यसै यात्रा प्रतिबन्धसँगै मलावीका राष्ट्रपति लाजारुस चावेराले पनि सबै निर्णय विज्ञानसम्मत हुनुपर्ने बताउँदै यात्रा प्रतिबन्धको आलोचना गरेका छन् । उनले आफ्नो फेसबुक स्ट्याटसमा यआलोचना गरेका हुन् ।

डब्लुएचओका हेड अफ इमर्जेन्सी डा माइकल रेनलेसमेत सीमा खुला राखेर नै समस्यामा समाधान खोज्न सकिने प्रतिक्रिया दिएका छन् । युनिभर्सिटी अफ साउथ हाप्टनका रिसर्च फेलो माइकल हेडले पनि दक्षिण अफ्रिकाको क्षमता यस भेरियन्ट बारे धेरै कुरा पत्ता लगाउन सक्ने भएका कारण धेरै आत्तिनु पर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् । उनले यात्रा प्रतिबन्धलाई सही ढङ्गले उपयोग भए नियन्त्रणमा सहयोग गर्न सक्ने बताएका छन् ।

अहिले ‘ओमिक्रोन’ बेलायत, अमेरिका, नेदरल्यान्ड,अस्ट्रेलिया र इजरायल समेत गरी संसारमा धेरै देशमा पुगेको ठहर भइसकेको छ । आइतबार मात्र दक्षिण अफ्रिकाबाट नेदरल्यान्ड आइपुगेका १३ जनामा ‘ ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण देखा परेको थियो । डच प्रहरीले होटेल क्वारेन्टिनबाट भाग्ने दुई जनालाई गिरफ्तार समेत गरेको छ । इजरायलले आइतबार मध्य रातदेखि १४ दिनसम्म कुनै पनि देशबाट आउने व्यक्तिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यसैबीच युरोपेली कमिसनका प्रमुख उरुस्ला भन डेर लियोनले यस भेरियन्ट बारे सम्पूर्ण कुरा थाह पाउन अझै एक साता कुर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको ‘ ओमिक्रोन’ एकदमै छिटो म्युटेसन हुने गरेको छ । यसपछि कम्तिमा एक दर्जन नयाँ स्ट्रेनको केस देखा परेको थियो ।

बोत्सवना, बेल्जियम, क्यानडा अस्ट्रेलिया, नेदरल्यान्ड, डेनमार्क, बेलायत, जर्मनी, इटाली, इजरायल, चेक गणतन्त्र र हङकङ लगायत देशमा यसको सङ्क्रमण देखा परिसकेको छ ।

यस भेरियन्ट बारे धेरै तथ्य यसै साता पत्ता लाग्ने बताए पनि अहिले नै आत्तिई हाल्नुपर्ने अवस्था नरहेको धेरै वैज्ञानिकको मत छ । नेदरल्यान्डका बायो स्ट्याटिसियन प्राध्यापक सेइला वर्ड अहिले सङ्क्रमित भएका १३ जनालाई उमेर समूहको आधारमा भिन्न भिन्नै समूहमा राखेर मात्र धरै कुराको अध्ययन गर्न सकिने बताउँछन् । दक्षिण अफ्रिकी चिकित्सकहरूकै मत अनुसार भने यो सङ्क्रामक भए पनि घातक भने पाइएको छैन ।

नाइजेरियाबाट पुगेका दुई व्यक्तिमा यो भेरियन्ट देखा परेपछि क्यानडाको स्वास्थ्य मन्त्रालयले पनि थप सतर्कता अपनाएको छ । त्यहाँका स्वास्थ्य तथा उपप्रधानमन्त्री क्रिस्चियन इलियट तथा प्रमुख स्वास्थ्य अधिकारी डा कियनमोरेले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कुनै पनि देशबाट क्यानडा आउनेमाथि निगरानी राख्नुपर्ने र सबै जना सतर्क हुनेपर्नेमा जोड दिएका छन् ।

डब्लुएचओले बी.१.१.५२९ को संज्ञा दिएको यो भेरियन्ट चासोको विषय मान्दै आएको छ । शुक्रवार दक्षिण अफ्रिकामा यो भेरिअन्ट देखा परेसँगै पुनः सङ्क्रमणको जोखिम औँल्याउँदै यसमा चासो दिएको हो । परन्तु यसको सङ्क्रमणको मात्रा, यसको असर र यो कत्ति घातक भनेर पत्ता लगाउन केही समय कुर्नपर्नेमा डब्लुएचओका अधिकारी पनि सहमत छन् ।

कोभिड १९ को अध्ययनमा प्राविधिक रूपले नेतृत्व गरिरहेकी मारिया भान कर्कहोभले थुप्रै कुराहरू अध्ययनको क्रममै रहेकाले डब्लुएओचले नयाँ केही पत्ता लाग्ने बित्तिकै यसका साझेदारहरूलाई जानकारी गराउने बताएकी छन् ।

डर्बान लबेरोटरीमा जिन स्क्यानीङ गर्दा नयाँ भेरियन्ट देखा परेसँगै प्राध्यापक डी ओलिभियरा यसमा लागिपरेका छन् । दक्षिण अफ्रिकाका पूर्व कोभिड सल्लाहकार कमिटीका प्रमुख प्राध्यापक सलिम करिम पनि ओलिभियराको टोलीले सबै काम गरिरहेको र केही दिनमा नै नयाँ तथ्य बाहिर आउने बताएका छन् । तीव्र गतिमा सङ्क्रमण फैलिएका कारण यो विगतकोभन्दा बढी सङ्क्रामक भएकोमा उनको सहमति रहेको हो ।

ओलिभियरा केही कुराले आफूलाई आश्चर्यमा पारेको बताउँछिन् । अहिलेसम्म कोरोना भाइरसमा ५० म्युटेसन भएको छ । यस मध्ये ३० स्पाइक प्रोटिनमा म्युटेसन भएको हो । यसअघि संसारलाई तहसनहस पारेको डेल्टा भेरियन्टको दुई म्युटेसन देखा परेको थियो भने ‘ओमिक्रोन’को १० म्युटेसन देखा परेको छ ।

यसका बाबजुद यसका केही सकारात्मक पाटा छन् । दक्षिण अफ्रिकामा यसबाट सङ्क्रमित हुनेहरूमा धेरै कडा लक्षण देखिएको छैन । जिउ दुख्ने र अल्छी लाग्ने धेरैमा रहेको छ । खकार आउने तथा स्वाद र गन्ध हराउने लक्षण कमैमा रहेको छ ।

परन्तु यसकै आधारमा हौसिनुपर्ने भने छैन किनकि यो सङ्क्रमणले धेरै युवा सङ्क्रमित भएका छन् । वयोवृद्ध र दीर्घ रोगीको हकमा के हुने भन्ने थाहा पाउन पनि यो साता कुर्नै पर्ने वैज्ञानिकहरू बताउँछन् ।

धेरै वैज्ञानिकले भ्याक्सिनप्रतिको हिचकिचाहटका कारण यो म्युटेसन देखा परेको बताएका छन् । दक्षिण अफ्रिकामा पर्याप्त भ्याक्सिन भए पनि यसका बारे धेरै अफवाह फैलिएका छन् । ४२ प्रतिशतले कम्तिमा एक डोज भ्याक्सिन लगाएका छन् । भ्याक्सिन लगाएका मध्ये धेरै ६० वर्षभन्दा बढी उमेरका छन् । अहिले संसारका स्वास्थ्य अधिकारीको चिन्ता दक्षिण अफ्रिकामा मात्र नभई अफ्रिकाका अन्य देशमा पनि हो, जहाँ मुस्किलले तीन प्रतिशतले मात्र भ्याक्सिन लगाएका छन् ।

यसबाट बच्नका लागि पहिले अनुमान गरिए भन्दा कम समयको अन्तरालमा बुस्टर डोज दिने नीति लिइएको छ । बेलायतले तीव्र रूपमा बुस्टर डोजको नीति लिएको छ । अहिले १७ मिलियनले तेस्रो डोज लिइसकेका छन् ।

अहिले दोस्रो र तेस्रो डोज बिचको अन्तर ६ महिना या ५ महिना भए त्यो उपयुक्त हुने ठहर गरिएको छ । फर्माट्युकल्स कम्पनीले भ्याक्सिन अपडेट गर्दै ‘ओमिक्रोन’को अनुकूल बनाउन १०० दिन भित्रमा नै सम्भव हुने जनाएका छन् ।

अहिले संसारमा कोभिड महामारीले आक्रान्त पारिरहेको समयमा यस भेरियन्टबारे निष्कर्ष के हो भने धेरै म्युटेसन भएका कारण सतर्क हुन जरुरी छ । दक्षिण अफ्रिकामा उपचारमा संलग्न हुनेहरूकै आधारमा यो घातक भने देखिएको छैन । तथापि पूर्ण निष्कर्षका लागि यो साता कुर्नैपर्ने हुन्छ ।

-एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : २४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय