नथिरामले घुस खायो | Khabarhub Khabarhub

नथिरामले घुस खायो


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नथिराम पक्राउ परे । नथिराम पुनरावेदन अदालतका कर्मचारी हुन् । आज उनी १५ सय रुपियाँ घुससहित रङ्गेहात पक्राउ परेका छन् ।अदालत वरपर ठूलै त्रासदि छ, नथिरामको परिवारपछि सबैभन्दा धेरै चिन्ता त नथिरामले चिया पिउने र पान खाने पसलमा छ ।

उनी उधारोमा चिया पिउँथे, उधारोमै पान खान्थे र हप्ता वा महिनामा एकमुष्ठ पैसो बुझाउँथे । अब कहिले नथिराम फर्कने हुन् ! पानपसले र चियापसलेलाई विस्मात छ ।

नथिरामको घुसकाण्डको लामो फेहरिस्त छ । नथिराम दुई दशकअघि सरकारी सेवामा प्रवेश गरेका हुन् । सुरुदेखि नै उनी अदालतमा छन् । नथिराम बिहानै फोनिक्स साइकल चढेर कार्यालय पुग्छन् । झगडियाका फाइल यो कोठामा र ऊ कोठामा ओसारपसार गर्छन् । कुनै फाइललाई फाइल अघि वा पछि गरिदिएबापत केही रुपैयाँ लिइदिन्छन् ।

साँझमा हजार र सयका नोटहरू नथिरामले तलदेखि माथिसम्म भाग लगाएर टुङ्गोमा पुर्‍याइदिन्छन् । थोरै रुपैयाँ उनको भागमा पनि पर्छ । अब आफ्नो बयानमा उनले यो सबै फेहरिस्त दिन्छन् कि दिँदैनन्, पछि नै थाहा हुनेछ ।

भ्रष्टाचार गरेको आरोपमा नथिरामलाई प्रहरीले समातेर लैजाँदै गर्दा उनको खल्तीमा साइकलको साँचो थियो । त्यो साँचो पालेलाई दिएका छन् । नथिरामलाई केही दिनदेखि लोदर लागेको थियो, आज पुलिसले समात्यो ।

बिहे गरेर दिएकी छोरी माइत आएकी छिन् । छोरीको ससुरालतर्फ दाइजोमा केही कुरा चित्त बुझेको छैन । छोरी फर्कंदा ट्याक्टरको डालामा पराल ओछ्याएर सनेशहरू पठाउनुपर्ने थियो । नथिराम यस्तै केही कुराको जोहोमा थिए ।

सञ्चय कोष त छोरालाई विदेश पठाउने बेलामै निकालेका हुन् । त्यो पनि कति नै हुन्थ्यो ! छोरो मलेसिया गएर चार महिना बसेर फक्र्यो । चिनेजानेकै मानिसले छोरो उता पठाइदिएका थिए । छोरो त जसोतसो फक्र्यो तर कामको कुरा ढाँटेर पठाइदिनेले पैसा फिर्ता दिएनन् । नथिरामले सञ्चयकोषबाट निकालेको त्यो पैसो माया मारिदिए ।

एकफेर त्यो ठगलाई कारबाही गराउन उजुरबाजुरका लागि प्रहरी कार्यालय पनि गएका हुन् तर प्रहरीले यो र ऊ प्रमाण ल्याऊ भन्यो, उजुरी दर्ता भएन ।

पन्ध्र सय रुपियाँ उसले समातेकै हो । उसको भागमा कति पथ्र्यो र ! पाँच भागको एक भाग जति न हो । भ्रष्टाचार चाहिँ उसको भागमा सिङ्गै परेको छ । अब भारी एक्लै बोक्ला कि, कसकसलाई पोल्ला !

छोरालाई मलेसिया पठाइदिनेका घरमा गत वर्ष दशैँको अष्टमीका दिन केही प्रहरी भोजमा रमाइरहेको देखे । उनले आफ्नो उजुरी दर्ता नहुने मेसो पाए । प्रहरीलाई भोज खुवाउनेका घरअगाडि साइकलको घण्टी बजाउन पनि छाडे बरु आफैँ साइकल तर्काएर जान थाले ।

छोराले कमाउन नसकेपछि नहरपारीको आधा कठ्ठा खेत बेचेर छोरीको बिहे गरेका हुन् । उताकाले दाइजोमा चित्त नबुझाएपछि छोरी माइतै बसेकी छन् ।

आजदेखि अब नथिराम कारागारमा हुनेछन् । उनका हातमा नोटको रङ लागेको छ । रङ पोतिएको नोट लिएर अड्डाबाट मान्छेहरू आए, कसले हो कुन्नि, पोल हालेको रहेछ ।

ती मान्छेले नथिरामलाई आज फाइलको काम गरिदिनु हामी चियाखर्च दिउँला भनेछन् । नथिरामले चियाखर्च लिएकै हुन् । यसबापत ग श्रेणीको सिदा खाने गरी उनी कारागार पु¥याइएका छन् ।

जागिरको आशा भनेको पेन्सनको थियो, बुढेसकालको सहारा । अब त पेन्सन पनि नहुने पक्का भयो ।

केही अनलाइन पत्रिका अनि रेडियोले आज हेडलाइन पाए । नथिरामलाई १५ सय रुपैयाँ बडो भारी भयो । उनको फुसको घर यो हिँउदमा पनि नछाइने भयो, छाइयोस् पनि कसरी ! सञ्चयकोष दलालले खाइदियो, आफू जेल परे ।

नथिराम एकफेर हवाईजहाज चढेका छन् । पाँच वर्षअघि हिँउदमा राजविराजबाट काठमाण्डु गएका हुन् । हवाईजहाज चढ्न साइकल चढेर हवाईअड््डा पुगेका थिए । हवाईअड्डाबाट साइकलमै घर फर्के । पु¥याउन र लिन छोरो आएको थियो ।

आज पनि आफ्नो टाउकोमाथि हवाईजहाज उड्दा नथिरामले उत्सुकताले आकाशतिर हेरे । हवाईजहाज किन्दा ठूलो भ्रष्टाचार भयो भन्ने समाचार नथिरामले पढेका थिए । एक अर्ब रुपैयाँभन्दा धेरै भ्रष्टाचार भयो तर कसैलाई कारबाही भएन भनेर पत्रिकाले लेखेको थियो ।

नथिरामले फाइल चाँडो अघि बढाइदिन १५ सय रुपैयाँ लिएकै हुन् तर उनले मागेका होइनन् । फाइलवालाहरूले आफैँ दिएका हुन् ।
नथिराम पक्राउ परेको समाचार जिल्लाभरि आगोको लप्कोसरह फैलिएको छ । रेडियोमा फुकिएको छ । अनलाइनहरूमा विशेष समाचार बनेको छ । समाचारको लिङ्क फेसबुकमा अत्यधिक शेयर भएको छ ।

रेडियोमा नथिरामको हेडलाइन समाचारपछि एक जना समाजसेवीले रिबन काटेर पुलको शिलान्यास गरेको समाचार पनि छ । तिनै समाजसेवी रोजगारीका लागि विदेश जानेहरूलाई सयकडा ३६ का दरले ऋण दिने गरेका छन् ।

नथिरामलाई सञ्चय कोषबाट पैसा निकाल्न लगाएर उसको छोरालाई विदेश पठाएर अलपत्र पार्ने मान्छे समाजसेवीमा दरिएका छन् । उनी आउँदो चुनावमा पार्टीको उम्मेदवार हुने कुरा सुनिएको छ ।

नथिराम तल्लो तहको सरकारी जागिरे हुन् । परिवार पाल्न जेनतेन पुगेकै थियो । फाइल ओसार्न लगाउनेले दिएको पैसाको लोभमा पर्दा आज जेल पुगे ।

नथिराम प्रहरीलाई घरमा बोलाएर भोज गर्न सक्दैनन् । उनी विदेश जानेलाई ऋण दिने समाजसेवी पनि होइनन् । उनले सीडीओ नै चिनेको छैन, मन्त्री चिन्ने कुरै भएन ।

चियापसले र पानपसले मुखामुख गर्दैछन् । आखिर नथिरामले नखाएको भए पनि कसैले त खाइहाल्थ्यो । यहाँ कसले खाँदैन र पैसा ! चियापसलेका पुराना गिलासहरूलाई थाहा छ, चिया खाएर अनि खुवाएर हरेक सरकारी टेबलमा के के बेचिएको छ भन्ने कुरा !

जुन प्रहरीले नथिरामको कठालो समातेर उसलाई भ्यानमा राखेको थियो त्यसैले अस्ति मुसहरी गाउँमा झगडा मिलाइदिन्छु भनेर १० हजार रुपियाँ लिएको थियो । त्यही प्रहरीले उजुर गर्न नजाने गरी मिलाइदियो भन्थे ।

त्यसरी पुलिसले मिलाउन पाइँदैन भनेका पनि केही गाँउलेले तर उनीहरूको केही सिप चलेन । उजुर गर्छु भन्नेलाई नै पो पुलिसले थानामा लगेको थियो । उजुर गर्छु भनेर जिद्दी गर्दा निलडाम परेको छ, अझै निको भएको छैन ।

गाउँमा ती समाजसेवीको विरोध गर्ने हिम्मत कसैको छैन । उनी सबै सरकारी मान्छेका विश्वासका मान्छे हुन् ।

गाउँलेलाई आज नथिरामको दुःखको केही अर्थ छैन । ऊ भ्रष्टाचारीमा दरिएको छ । पन्ध्र सय रुपियाँ उसले समातेकै हो । उसको भागमा कति रुपियाँ पथ्र्यो र ! पाँच भागको एक भाग जति न हो भ्रष्टाचार चाहिँ उसको भागमा सिङ्गै परेको छ ।

नथिरामलाई समात्ने अड्डाका हाकिमहरू मार्केटिङ कम्पनीका मार्केटिङ अफिसरझैँ भएका छन् । नथिराम घुस लिँदालिँदै पक्राउ प¥यो भनेर उसलाई पत्रकारका सामुन्ने उभ्याए । घुस खायो भन्ने हल्ला चलाए ।

नथिरामलाई सञ्चय कोषबाट पैसा निकाल्न लगाएर उसको छोरालाई विदेश पठाएर अलपत्र पार्ने मान्छे समाजसेवीमा दरिएका छन् । उनी आउँदो चुनावमा पार्टीको उम्मेदवार हुने कुरा सुनिएको छ ।

भ्रष्टाचार गरेको भनेर नथिरामको नाक काटिएको दिन समाजसेवी पुलको रिबन काटे । यता नथिरामले प्रहरीमा बयान दिँदै गर्दा समाजसेवी पुलमा भाषण दिँदै थिए ।

गाउँलेलाई नथिरामको बयानमा दिलचस्पी छ । नथिरामले के भन्ला, कसकसलाई पोल्ला वा भारी एक्लै बोक्ला भन्ने चासो छ । अड्डाले चाहिँ अब अदालतमा भ्रष्टाचार सधैँका लागि सकिएझैँ प्रचार गरेको छ ।

यसरी नथिरामले घुस खायो ।

 

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : १५ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको