हामी जलवायु परिवर्तन र वातावरणीय समस्या कम गर्न संघर्षरत छौँ « Khabarhub
Logo
८ आश्विन २०७८, शुक्रबार

हामी जलवायु परिवर्तन र वातावरणीय समस्या कम गर्न संघर्षरत छौँ



डा. अब्दुल्ला रसिद अहमद गणतान्त्रिक माल्दिभ्सको स्टेट अफ एजुकेसन मन्त्री हुन् । शिक्षा क्षेत्रमा ३० वर्षको अनुभव भएका उनी प्रतिष्ठित शिक्षाविद् हुन् । उनले सरकारी विद्यालयमा १८ वर्ष प्रधानाध्यापकको रूपमा सेवा गरे । अहिले उनी नेसनल इन्स्टिच्युट अफ एजुकेसनका प्रमुख छन् । डा. अहमद प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत भएका छन् । उनी अन्तर्राष्ट्रिय शिक्षा सल्लाहकार परिषद्का ग्लोबल गुडविल एम्बसडेसर पनि हुन् । खबरहबका स्ट्राटेजिक अफेयर्स एडिटर डा. प्रमोद जायसवालले र डा. अब्दुल्लासँग जलवायु परिवर्तन र माभ्दिभ्सको अवस्थाका सन्दर्भमा गरेको संवाद प्रस्तुत गरिएको छ ।

अहिले टापुमा रहेका देशहरूले अनिश्चित भविष्य वा विना भविष्यको अवस्था सामना गरिरहेका छन् । किरिबाटी, टुभालु र माल्दिभ्सजस्ता देशको भविष्य तुलनात्मक रूपमा उदासलाग्दो देखिएको छ । समुद्र सतहको उचाइ बढ्दै गएको अवस्थामा यससम्बन्धी कार्यक्रममार्फत यी देशका सरकारहरूले कसरी आफ्नो प्रयासलाई दोब्बर गर्न सक्छन् ?

तपाईंले उल्लेख गर्नुभएअनुसार जलवायु परिवर्तन विश्वव्यापी विषय हो । माल्दिभ्सको तर्फबाट भन्नुपर्दा, हाम्रा राष्ट्रपति कम कार्बनयुक्त भविष्यका लागि सम्पूर्ण कदम चाल्ने कुरामा कटिबद्ध हुनुहुन्छ । सरकारले एक पटक प्रयोग गरेका प्लास्टिक फेरि प्रयोग नगर्न र जलवायु परिवर्तनको नकारात्मक असर कम गर्न ग्रीन इनर्जीलाई बढवा दिन योजना बनाएको छ ।

जलवायु संकटको सामना गर्ने क्रममा विश्वव्यापी व्यवस्था निर्णय हुने कुरामा तपाईंको के भनाइ छ ?

छोटकरीमा भन्नुपर्दा, म यो भन्न सक्छु कि वातावरण प्रबद्र्धनलाई बढवा दिँदै र वातावरणीय क्षेत्रमा हुने क्षति कम गर्दै जलवायु परिवर्तन विरुद्धको लडाइँलाई माल्दिभ्स सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

तपाईंले आफ्ना पुराना प्रस्तुतिहरूमा जलवायु परिवर्तनको विरुद्धमा प्रभावकारी पहुँचको रूपमा विश्वव्यापी लक्ष्य र राष्ट्रिय राजनीतिको महत्व व्यक्त गर्नुभएको थियो । तपाईंको विचारमा यस्तो लक्ष्य र नीति कस्तो हुनु पर्छ ?

मेरो दृष्टिकोण यो हो कि माल्दिभ्समा बस्ने हरेक व्यक्ति वातावरणबारे साक्षर हुनुपर्छ, जो विश्वव्यापी मापदण्डअनुसार नै वातावरणीय विषयमा सचेत होओस् । यसो भएपछि हामी राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा काम गर्न सक्छौँ । तात्पर्य यो हो कि हामी सबैले विश्वव्यापी र राष्ट्रियरूपमा सोच्ने छौँ । मेरो दृष्टिकोण यो छ ।

तपाईं माल्दिभ्स सरकारले सञ्चालन गरेको ग्रीन स्कुल इन्भारमेन्टभनेर चिनिन्ने फेइ मधुरसाबारे आफ्नो अनुभव भन्न सक्नुहुन्छ ? यसका उद्देश्य के हुन् र लक्षित लाभार्थीहरू को को हुन् ?

‘फेइ मधुरसा’ या ‘ग्रीन स्कुल’ मा चार खम्बा छन्– समुद्र, जमिन, फोहोर व्यवस्थापन र नवीनता । ग्रीन स्कुलको यो ‘फेइ मधुरसा’ को उद्देश्यमा वातावरणीय असर न्यूनीकरण गर्ने कुरा समावेश गरिएको छ । त्यो भनेको ऊर्जा, पानी र फोहोर सम्मिलित वातावरणीय प्रभाव कम गर्ने हो । यसका लागि माल्दिभ्स सरकारको योजनासँग अघि बढ्दै प्लास्टिक एक पटकमात्र प्रयोग गर्ने हो ।

अर्को उद्देश्य सबै विद्यालयमा विद्यालय कमिटीमार्फत वातावरण साक्षरता बढाउने हो । यसका लागि सबै विद्यालय कमिटीका सदस्यले माल्दिभ्सको अद्वितीय भूगोलमा महासागर व्यवस्थापनलाई विशिष्टीकरण गर्दै वातावरणीय र दिगो साक्षरताको प्रदर्शन गर्न सकिन्छ ।

‘फेइ मधुरसा’ परियोजनाको तेस्रो उद्देश्य जलवायुको समृद्धि अभिवृद्धि गर्ने हो । यसको मतलब विद्यार्थीलाई कम कार्बनयुक्त भविष्यका लागि तयार गर्ने हो । त्यसले आर्थिक समृद्धि पनि प्रदान गर्छ । पोषणयुक्त अभिनव पुस्ताका लागि केन्द्रित हुने योजना हो । यसका लाभार्थीहरू विद्यार्थी, कर्मचारी र अझ अभिभावक हुन् । यो बढ्दै गएर समुदायसम्म पुग्छ ।

वातावरणीय साक्षरता भनेको के हो ? जलवायु परिवर्तनका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारका लागि आवश्यक कुराहरू शिक्षामा समेट्न तपाईंका सुझाबहरू के के छन् ?

वातावरण साक्षरता भनेको पृथ्वीमा सम्भव भएका जीवनको प्राकृतिक व्यवस्था बुझ्ने क्षमता हुनु हो । यसका लागि जलवायुको गतिविधिबारे जानकारी हुन आवश्यक पर्छ ।

ग्रीनहाउस ग्यास उत्सर्जन कम गर्न, लचिलोपन बलियो बनाउन र जलवायु प्रेरित प्रभावमा अनुकूलन बनाउने क्षमता बढाउन जलवायु गतिविधि बुझ्न आवश्यक छ ।

हाम्रा जनतालाई वातावरण साक्षर बनाउने क्रममा धेरै उपाय छन् त्यो औपचारिक पाठ्यक्रम मार्फत । पृथ्वीमा जीवन सम्भव बनाउन जलवायुको गतिविधि बुझ्न आवश्यक छ । अनौपचारिक पाठ्यक्रममा अझ बढी एकीकृत वातावरण साक्षरताको अवस्थामा छ ।

त्यसो भए प्रश्न उठ्छ, सामान्य व्यक्तिका बारे कसरी र अभिभावकका बारे कसरी भन्ने ? यसकारण हामीले विभिन्न जनचेतना कार्यक्रममार्फत हरेकलाई वातावरण साक्षर बनाउन प्रयास गर्न आवश्यक छ । टीभी कार्यक्रम, सञ्चार र अझ राम्रो उदाहरण नेपाली जनताका लागि जे गरिरहनुभएको छ समावेश हुनसक्छ । अझ अन्तर्राष्ट्रिय दर्शक लगायत माध्यमबाट यो प्रयास गर्न सकिन्छ ।

जलवायु परिवर्तनले पर्यटनजस्ता उच्च जलवायु संवेदनशीलता भएका आर्थिक क्षेत्रमा कस्तो असर गर्छ ? जलवायु परिवर्तनको सन्दर्भमा माल्दिभ्सको पर्यटन क्षेत्रमा कस्ता चुनौती देखिएका छन् ?

माल्दिभ्स बनाउने साना कोरल टापुका लागि जलवायु परिवर्तन जोगी नै मुस्किल हुने चुनौती हुन् । तपाईंलाई थाहा छ, संसारको ८० प्रतिशतभन्दा बढी भूमि समुद्री सतहसँग एक मिटरभन्दा कम उचाइमा रहेको छ । यसकारण पानी एक प्रतिशत माथि उठ्दा पनि पूरै माल्दिभ्सको जमिनको ठूलो हिस्सामा क्षति पुग्नेछ ।

यस्तो अवस्था पर्यटन व्यवसायका लागि साँच्चै त्रास हो किनभने गेस्ट हाउस र पर्यटनसम्बन्धी लगानी गरेर पर्यटकीय टापुमा माल्दिभ्समा अरबौँ या खरबौँ डलर खर्चिएका छन् । अन्य असरहरू पनि हामी देख्न सक्छौँ ।

अनुसन्धानअनुसार दुई पटक १९९८ र २०१६ मा माल्दिभ्समा ब्लिचिङ भएको थियो । १९९८ को यो इभेन्ट पछि ९० प्रतिशत कठिन कोरल मरे ।

यसलाई फेरि पहिलेको अवस्थामा ल्याउन १६ वर्ष लाग्यो । हामी ज्वारभाटा र भूक्षय पनि देख्न सक्छौँ ।

मानिसहरू समुद्री जीवनको मस्ती लिन या पानीमुनिको सुन्दरतामा रमाउन माल्दिभ्स आउँछन्, यो धेरै लोकप्रिय छ । धेरै जमानिस माल्दिभ्समा यी सुन्दर कोरल लगायत अन्य समुद्री जीवन हेर्न आउँछन् ।

जलवायु परिवर्तनका कारण कोरलहरूलाई समस्या भइरहेको छ । त्यहाँ कोरलको जीवन संकटामा छ । यो एउटा गम्भीर विषय हो ।

जब पर्यटनका कारण उच्च तहमा ग्रीन हाउस ग्यासउत्सर्जन हुन थाल्यो, खास गरेर जीवाश्मा इन्धन र पर्यटनका लागि यातायातको सुविधा लगायतले ऊर्जा खपत हुन थाल्यो । पर्यटनकै कारण वातावरणमा परेको प्रभाव कम गर्न माल्दिभ्स र नेपालजस्ता पर्यटकको गन्तव्य देशका लागि कस्तो संयन्त्र अपनाउन सुझाब दिनुहुन्छ ?

धेरै पर्यटक रिसोर्टहरू अहिले नै वातावरणमैत्री छन् तर तपाईंले भनेजस्तै थुप्रै रिसोर्टले अहिले ग्रीनहाउस ग्यास न्यूनीकरण गर्नुपर्ने छ । उदाहरणका लागि : माल्दिभ्सका धेरै ऊर्जा जीवाश्मा इन्धन बलेरै उत्पादन हुन्छ । त्यसकारण उनीहरूले के मान्नुपर्छ भने योभन्दा ग्रीन ऊर्जा उत्पादन गर्नुपर्छ, जस्तै : वायु ऊर्जा, सौर्य ऊर्जा र समुद्री छालहरू प्रयोग गरेर ।

माल्दिभ्समा हामीले प्रत्येक दिन ११/१२ घण्टा सूर्यको प्रकाश पाउँछौँ । यसकारण सौर्य ऊर्जाको सम्भावना एकदमै धेरै छ । हामी केही टापुमा हेर्न सक्छौँ । विद्युत् वितरक सरकारी निकायसमेत सौर्य ऊर्जाको प्रयोग गरिरहेका छन् ।

यसकारण यो प्रश्न उठ्छ कि सबै रिसोर्टहरू किन ग्रीन इनर्जीतर्फ लम्कँदैनन् ? सौर्य ऊर्जा, वायु ऊर्जा या छालमा मात्र निर्भर नभई ग्रीन इनर्जीको विभिन्न मोडलमा पनि जान सकिन्छ ।

यी खालको लगानीहरू प्रत्येकका लागि फाइदाजनक छ किनभने टुरिस्ट रिसोर्ट या पर्यटन उद्योगसँग सम्बन्धित छ । यसकारण हामीले धेरै काम गर्नुपर्ने छ ।

तपाईं दिगो पर्यटन व्यवसायलाई कसरी परिभाषित गर्नुहुन्छ ? दिगो पर्यटन व्यवसायका लागि माल्दिभ्स सरकारले कस्ता कदम चाल्नुपर्छ ?

दिगो पर्यटन त्यस खालको हो जसले वर्तमान र भविष्यको सम्पूर्ण आर्थिक र वातावरणीय कुराको हिसाब राख्छ । यसले उद्योगमा आगन्तुकको आवश्यकता सम्बोधन गर्छ । साथै समुदायको वातावरण र मूल्य पनि सम्बोधन गर्छ ।

हामीले वर्तमान पुस्ताको फाइदामात्र पनि सोच्नु हुँदैन किनभने यो संसार या पृथ्वी हाम्रो मात्र होइन ।

यो हामीले आउँदो पुस्तालाई छाडेर जानुपर्ने हुन्छ । यसकारण हामी लोभी हुनु हुँदैन । हाम्रो आवश्यकता परुा गर्दा हामी गैरजिम्मेवार हुनु हुँदैन ।

हामीले भविष्यको बारे पनि राम्रोसँग सोच्नुपर्छ । त्यसकारण, दिगो पर्यटनको लक्ष्यको लाभ वृद्धि गर्ने र गन्तव्यहरूमा पर्यटनका कारण भएका नकारात्मक प्रभाव कम गर्नुपर्छ ।

पर्यटकीय गतिविधिको व्यवस्थापन र विकास गर्दा प्राकृतिक वातावरण, समुद्री जीवन र प्राकृतिक स्रोतको संरक्षण गरेर हामीले लक्ष्य हासिल गर्न सक्छौँ ।

यस्तो फ्रेमवर्क किन आवश्यक छ र यसबाट नेपालजस्ता देशले के सिक्न र लागु गर्न सक्छन् ?

यस्ता फ्रेमवर्क धेरै महत्त्वपूर्ण हुन्छन् किनभने जब फ्रेमवर्क तयार हुन्छ तब हामी वर्तमान विषय र त्यसका क्षेत्रका साथै हामीले के गर्नुपर्छ भनेर थाहा पाउन सक्छौँ । हामीले धेरै देशका उत्कृष्ट अभ्यास हेर्न सक्छौँ ।

भिन्न देशका भिन्न नीति, भिन्न सिद्धान्त र भिन्न फ्रेमवर्क हुन सक्छन् । यो कुनै देशको उत्कृष्ट प्रयोग हो भने नेपालले त्यसबाट लाभ लिन सक्छ । किनभने यो रणनीति र अभ्यासले राम्रो काम गरिरहेको छ भन्ने प्रमाणित भइसकेको हुनेछ ।

देशले कुनै कुरा लागु गर्न र स्थानीय आवश्यकताअनुसार त्यसलाई समायोजन गर्न अर्को देशको उत्कृष्ट मोडल हेरेर चल्न सक्छौँ। यसो गर्नु धेरै सहयोगी हुनेछ ।

 


भर्खर

0