जसपाको वामपन्थीकरण | Khabarhub Khabarhub

जसपाको वामपन्थीकरण


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निर्वाचन आयोगले साउन ११ गते जनता समाजावदी पार्टी (जसपा) को विवादमा फैसला दिँदै अध्यक्ष उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएको छ । केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सदस्यमध्ये ३४ जनाले उपेन्द्र यादवलाई र १६ सदस्यले अध्यक्ष महन्त ठाकुरलाई समर्थन गरे । एकजना तटस्थ बसे ।

भोलिपल्ट बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुरसहित उनको पक्षलाई समितिबाट हटाउने निर्णय ग¥यो । अहिले जसपा संयुक्त अध्यक्षीय प्रणालीबाट एकलमा पुगेको छ जसको अध्यक्षमा उपेन्द्र यादव छन् । यसलाई उपेन्द्रको रणनीतिक सफलता मान्नुपर्छ ।

उपेन्द्र यादवको राजनीतिक जीवनमा यो सातौँ पार्टी हो । एमालेबाट राजनीतिक यात्रा प्रारम्भ गरेका यादवलाई २०४६ पछिको प्रथम आमनिर्वाचनमा एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने अवसर प्राप्त भएको थियो जसमा उनी पराजित भए । त्यसपछि माओवादी, गजेन्द्र नारायण सिंहको सद्भावना पार्टी, गैरसरकारी संस्था मधेसी जनअधिकार फोरम, संघीय समाजवादी इत्यादि हुँदै अहिलेजसपामा छन् ।

राजनीतिका चतुर खेलाडी उपेन्द्र अध्ययनशील नेता मानिन्छन् । वामपन्थी पृष्ठभूमिबाट आएका कारणले पनि अध्ययन गर्ने बानी बसेको मानिन्छ । राजनीतिक यात्राको क्रममा उपेन्द्रले धेरैलाई जोडे, धेरैलाई छोडे । व्यक्तिलाई उपयोग गर्नसक्ने क्षमता र गणितीय खेलमा महारथ उनका लागि ठूलो अस्त्र भएको देखिन्छ ।

एमालेबाट माओवादीमा सरेर उनी सुरेश आलेमगरजस्ता स्थापित नेतालाई आफ्नो बनाउन सफल भएका थिए तर पछि आलेमगर आफ्नै पुरानो पार्टीमा फर्किए । उपेन्द्र त्यहाँबाट सद्भावना पार्टीमा पुगे तर धेरै टिकेनन् । महानन्द ठाकुर, रामसहाय प्रसाद यादव लगायतका नेताहरूलाई सँगै लिएर निस्के । रामसहाय यादव आज पनि उनका निकटतम मानिन्छन् ।

गजेन्द्र नारायण सिंहको अवसानपछि मधेस राजनीतिमा उत्पन्न रिक्तता र सद्भावना पार्टीको अन्तर्कलहबाट लाभ लिँदै उपेन्द्र ‘मधेसी जनअधिकार फोरम’ नामको गैरसरकारी संस्थाबाट राजनीतिक नेतृत्व लिन सफल भए । त्यस क्रममा नेपाली कांग्रेसका स्थापित मधेसी नेताहरू विजयकुमार गच्छदार र जयप्रकाश गुप्तालाई आफ्नो सङ्गठनमा भित्र्याउन सक्नु उनको लागि महत्वपूर्ण उपलब्धि बन्यो ।

पहिलो संविधानसभाको निर्वाचनपछि सरकार गठनमा निर्णायक बनेका यादवलाई समकक्षी नेताहरू रुचिकर नहुनु स्वाभाविक थियो । यसको पहिलो छनक उनले राष्ट्रपतिको निर्वाचनमा पार्टी अध्यक्ष हुँदाहुँदै पनि आफ्नै दलको घोषित उम्मेदवार विरुद्ध स्वजातीय रामवरण यादवलाई भोट दिन फ्लोरक्रस गराए ।

यसमार्फत उनले आफ्नो स्वजातीय समुदायलाई आफू जातीय राजनीतिक समीकरणअनुसार अगाडि बढ्न चाहेको सन्देश दिएका थिए जसको निरन्तरता अहिलेसम्म छ ।

उपेन्द्र मधेसी जनअधिकार फोरमको विराटनगर महाधिवेशनबाट माओवादी सहयोगमा अध्यक्ष बन्न सफल भए । दोस्रो महाधिवेशनबाट आफ्नै समकक्षी अध्ययनशील सहयात्री अमर यादवलाई बहिर्गमन गराई सामुदायिक हिसाबले दलभित्रको सम्भावित स्वजातीय प्रतिस्पर्धा समाप्त पारे ।

माओवादीको सहयोगबाट नेतृत्व प्राप्त गर्न सफल यादवको आमसभा स्थल रौतहटको गौरमा माओवादीलाई नै निर्ममतापूर्वक संहार गर्ने घटना भयो ।

यसैगरी क्रमिक रूपमा विजयकुमार गच्छदार र जयप्रकाश गुप्तालाई पनि अलग्याउन उनी बुद्धिचातुर्यबाट एकछत्र राज गर्न अग्रसर भए । महत्वपूर्ण कार्यकर्तालाई आफ्नो पक्षमा लोभ्याई स्थापित नेताहरूलाई दलबाट बहिर्गमन गराउनु उपेन्द्र यादवको रणनीतिक कला हो ।

वामपन्थी प्रशिक्षण लिएका उपेन्द्रले पार्टीबाट प्रजातान्त्रिक चरित्र भएका नेताहरूलाई बहिर्गमन गराई आफ्नो नेतृत्व चुनौतिविहीन बनाए । यसपछि फेरि मूल राजनीतिक चिन्तन वामपन्थीकरणतर्फ फर्काउने यात्रा शुरू गरे । यसका लागि एमालेबाट बहिर्गमित अशोक राई र राजेन्द्र श्रेष्ठ उपयुक्त पात्र थिए ।

एमालेबाट निस्केपछि उनीहरूलाई पनि जनाधारको अभाव भएर थोरै लगानीमा महत्वपूर्ण भूमिकाको खोजी थियो । अतः दुवैको रणनीतिक चाहना एकैसाथ पूरा हुने अवस्था बन्यो । उपेन्द्रले महाधिवेशन विनै अध्यक्ष पदको निरन्तरता पाए, राई र श्रेष्ठ राष्ट्रिय पार्टीमा भूमिका पाए ।

संविधान जारी भएपछिको पहिलो निर्वाचनमा आममधेसी जनभावना विपरीत उपेन्द्र यादवले सहभागिता जनाए तर अशोक राई र राजेन्द्र श्रेष्ठको सहयोगमा जनजातिबाट ठूलो आशा गरेकोमा अपेक्षित परिणाम आउने सम्भावना देखेनन् । यसपछि उपेन्द्रले तत्कालीन राजपासँग गठबन्धन गरेर प्रदेश दुईको निर्वाचनमा राम्रो परिणाम ल्याए ।

यो गठबन्धन पूर्णतः रणनीतिक उपयोगको थियो । प्रादेशिक स्तरमा दुवै दलको संयुक्त सरकार गठन गर्न बाध्य भए पनि संघीय सरकारमा दुई बुँदे सहमति गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा तेह्रौँ नम्बरको स्वास्थ्य मन्त्री बन्न मञ्जुर गरे ।

यसभन्दा पूर्वमन्त्रिपरिषदमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीको रूपमा तेस्रो तहमा रहेको नेता आफ्नै मर्यादा महत्वहिन बनाउँदै तेह्रौँ तहमा बस्न स्वीकार गर्नु अनौठो थियो । मन्त्री पद पाएको तीन महिनापछि माओवादी अध्यक्ष प्रचण्डको सल्लाहमा उनी उपप्रधानमन्त्री पदमा बढुवा गरिएका थिए । यसका लागि आफ्नै पार्टी नेतृत्वको प्रादेशिक सरकार विघटन गरी तत्कालीन नेकपालाई मुख्यमन्त्री दिने अघोषित सम्झौता भएको भन्ने गाइँगुइँ पनि चलेको थियो ।

योजनाअनुसार परिणाम दिन नसक्दा उपेन्द्र यादवलाई तत्कालीन प्रधानमन्त्री ओलीले घटुवा गर्दै कानुन मन्त्रालयमा थन्काए । यसबाट आक्रोशित भएका उपेन्द्रले क्याबिनेट बैठकमा मधेस मुद्दा उचालेर पदत्याग गरे जसको तुष अझैपनि देखिन्छ ।

यससँगै वामपन्थीकरणको उनको यात्रा निरन्तर जारी रह्यो । आमनिर्वाचनमा जनजातिबाट उत्साहजनक परिणाम आउन नसकेपछि उनको लागि दलभित्र आबद्धता थपिनुपर्ने आवश्यकता भयो ।

यसअनुसार नयाँ शक्ति पार्टी बनाएर पनि हैसियत प्राप्त गर्न नसकेका डा. बाबुराम भट्टराई सुरक्षित लक्ष्य ठानिए । तत्कालीन राजपासँग एकीकरण वार्ता टुङ्गो लाग्ने अवस्थामा पुगिसकेको भए पनि उपेन्द्रले हतारिएर बाबुराम भट्टराईसँग एकीकरण गरे । यसबाट उनको दललाई संसदमा सिट थपिनुका साथै प्रोटोकलमा श्रेष्ठतासमेत प्राप्त भयो ।

जनवादी केन्द्रीयताको सैद्धान्तिक राजनीतिबाट प्रशिक्षित उपेन्द्रका लागि पार्टीभित्र प्रजातान्त्रिक चरित्र देखाउनका लागि मात्रै हो । सैद्धान्तिक प्रशिक्षण नबुझ्नेहरूका लागि उनको व्यवहार अहङ्कारयुक्त देखिन सक्छ र सोही कारणले उपेन्द्र नेतृत्वको तत्कालीन समाजवादी पार्टी फुटको संघारमा पुगिसकेको थियो ।

मोहम्मद इस्तियाक राईन, रेणु यादव लगायतका सांसदहरूले कानून बमोजिम संख्या पुर्‍याई दल दर्ता प्रक्रिया अघि बढाएका थिए । जसले जति बुझपचाइ गरे पनि सत्यतथ्य यही थियो र त्यसलाई पूर्णता दिन ओलीले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गराए । त्यही अध्यादेश उपेन्द्रका लागि सञ्जीवनी बन्यो । तत्कालीन राजपासँग उनले निःशर्त एकीकरण प्रस्ताव गरे । कुनै सैद्धान्तिक प्रष्टता विना मध्यरातमा जसपा जन्मियो । राजनीतिक यात्राको क्रममा यो उनको सातौँ पार्टी थियो ।

आफ्नो राजनीतिक स्वभाव र रणनीतिक योजनाअनुसार उपेन्द्रको अर्को लक्ष्य जसपा कब्जा गर्दै पार्टीको वामपन्थीकरण गर्नु थियो । यसका लागि दलभित्र रहेका प्रजातान्त्रिक शीर्ष नेताहरूको बहिर्गमन अनिवार्य थियो । आफ्नो उद्देश्य प्राप्त गर्न उपेन्द्रले विगतमा अवलम्बन गर्दै आएका नीतिहरू फेरि दोहोर्‍याए ।

उपेन्द्र यादव वाम पृष्ठभूमिका नेता हुन्, वामपन्थबाटै दीक्षित हुन् । उनी पार्टीमा जनावादी केन्द्रीयताझैँ आफ्नो वर्चश्व चाहन्छन् । आजसम्मका दल गठन, एकीकरण र बहिर्गमन उनको रणनीतिअन्तर्गत नै हो । निर्वाचन आयोगबाट पनि उनैले सहयोग पाए ।

विवाद उठान गर्न उपेन्द्रले पार्टी विधानमा शासकीय स्वरूपबारे वामपन्थीहरूले उठाउदै आएका प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था समावेश गराए । त्यसपछि भागबण्डाको नाममा कार्यकारिणी समितिमा वामपक्षीय नेताहरूद्वारा सदस्य मनोनयन गराई आफूलाई बहुमतमा पारे । अब उनको पर्खाइ निहुँ खोज्नु थियो । त्यो मौका ओलीले गरेको संसद विघटनले जुराई दियो ।

संसद विघटनभन्दा पहिले नै प्रचण्ड, देउवा र उपेन्द्र यादवबीच ओलीलाई अविश्वास प्रस्तावमार्फत हटाएर सत्ता कब्जा गर्ने रणनीति तय भइसकेको थियो । यसका लागि तीनै पक्षले वर्षमान पुन, बालकृष्ण खाँण र इस्तियाक राईनलाई प्रतिनिधित्व दिँदै आवश्यक मार्गचित्र तयार पार्न जिम्मेवारी दिइसकेका थिए ।

यी प्रतिनिधिहरूले बुटवलमा बसेर कार्ययोजना समेत बनाएका थिए । यसलाई सफल बनाउन आवश्यक अन्तर्राष्ट्रिय सहयोगका लागि एमसीसी परियोजना पारित गराउने शर्तमा अमेरिका आफ्ना पक्षमा तयार पारियो । यसबारे थप राजनीतिक परिणाम भविष्यमा देखिनेछ ।

ओलीले गरेको संसद विघटनलाई निहुँ बनाएका उपेन्द्रको लक्ष्य महन्त ठाकुर र राजेन्द्र महतोलाई जसरी पनि पार्टीबाट बहिर्गमन गराउनु थियो । विगतमा अस्त्रझैँ प्रयोग भएका वामपन्थी नेताहरू अशोक राई र राजेन्द्र श्रेष्ठ जस्तै यसपटक बाबुराम भट्टराईलाई उपयोग गर्ने रणनीति अख्तियार गरे । डम्बर खतिवडा, प्रकाश अधिकारी समेत पहाडे मूलका केन्द्रीय कार्यकारिणी सदस्य सहयोगी भए ।

यादव समुदायलाई पहिलेदेखि आफ्नो स्वजातीय घेराभित्र पार्दै आएका उपेन्द्रले मुस्लिम समुदायलाई सहमत गराउन लालबाबु राउतलाई मुख्यमन्त्रीको रूपमा निरन्तरता दिए । तत्कालका लागि माओवादीलाई सन्तुष्ट पार्न प्रदेश सरकारमा मन्त्री रहेका ज्ञानेन्द्र यादवलाई पदत्याग गराए । फेरि पनि ज्ञानेन्द्रको पुनर्नियुक्ति अवश्यम्भावी छ ।

निर्वाचन आयोगमा सनाखत हुँदा यादवको पक्षमा आएका ३४ जनामध्ये १७ पहाडे, १० यादव, २ मुस्लिम र अन्य ५ जना छन् । उपेन्द्रलाई जसपाको केन्द्रीय कार्यकारिणी र संसदीय दलका सबै यादवहरूले समर्थन गरेका छन् ।

यसबाट मधेसमा जातीय ध्रुवीकरण अझ बढ्ने निश्चित छ । यसरी महन्त ठाकुर र राजेन्द्र महतोजस्ता स्थापित प्रजातान्त्रिक नेताहरूलाई बहिर्गमन गराई उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादवहरूले रणनीतिक योजनाअनुसार जसपा अब पूर्णतः वामपन्थीकरण गरिएको छ ।

 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ८ : ४६ बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा