प्रतिनिधिसभाको अवमुल्यन किमार्थ स्वीकार्य हुँदैन : सभामुख सापकोटा « Khabarhub
Logo
२१ श्रावण २०७८, बिहीबार

प्रतिनिधिसभाको अवमुल्यन किमार्थ स्वीकार्य हुँदैन : सभामुख सापकोटा



काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग समसामयिक विषयमा छलफल गरेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा आज भएको छलफलको सुरुवातमा धारण राख्दै सभामुख सापकोटाले जनताको सर्वोच्च जनप्रतिनिधि संस्थाको अधिकार पटक पटक हनन् भएकोमा चिन्ता व्यक्त गर्दै प्रतिनिधिसभाको अवमुल्यन किमार्थ स्वीकार्य नहुने बताए ।

राज्यका तीन अंगबीचको सन्तुलन नराम्रोसँग बिग्रिएको बताउँदै उनले राजनीति र प्रशासनिक सन्तुलन पनि बिग्रिएको बताए ।

बेलायतको संसदमा नेपालको कोभिड संकटका बारेमा छलफल भएको तर प्रतिनिधि सभामा यो छलफल हुन नपाएको भन्दै सभामुख सापकोटाले देशमा कानुनको सर्बोच्चता नमान्ने अवस्थाको सृजना हुनु दुखद भएको बताए ।

हाल देशमा बहुआयामिक संकट आइपरेको बताउँदै सभामुख सापकोटाले यस्तो बेला जनतालाई राज्यका तीन अंगले कसरी काम गरिरहेको छ भनेर जानकारी दिनुपर्ने धारणा राखेका थिए । उनले संघीय संसदको नेतृत्वको हिसाबले संविधानको परिधिभित्र रहेर खेल्ने भूमिका के हुन सक्छ, भन्दै खुलेर सुझाव सल्लाह दिन सम्पादकहरुसँग आग्रह गरेका थिए ।

सभासामुख सापकोटाले आफूले राष्ट्रिय हित, संविधान र लोकतन्त्रको रक्षार्थ प्रभावकारी हस्तक्षेपका लागि बल गरिरहेको बताए ।

संघीय संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा प्रिन्ट र इलेक्ट्रोनिक मिडिया आवद्ध (अनलाइन र टेलिभिजन) का सम्पादकहरुको सहभागिता रहेको थियो ।

छलफलमा कान्तिपुर दैनिककका सुधीर शर्माले केही वर्षयता राज्यका तीन अंगकाबीचमा सन्तुलन बिग्रिएको चर्चा गर्दै गत फागुन ११ गते पुनर्स्थापना भएपछि संसद आफैं सक्रिय हुन नसकेको टिप्पणी गरेका थिए । उनले  संवैधानिक नियुक्तिका सन्दर्भमा सभामुखको धारणा बारे जिज्ञासा राखेका थिए ।

यसैगरी युवराज घिमिरेले वि सं २०१७ साल देखिको संसद विघटनको कारण विश्लेषण गर्नुपर्ने, गुमेको अधिकार सन्दर्भमा खुला बहस हुनुपर्ने र अध्यादेश, संबैधानिक नियुक्ति र राजदूत नियुक्तिका सन्दर्भमा सदनको अधिकार सन्दर्भमा कडा रूपमा प्रस्तुत हुन सुझाव दिएका थिए ।

छलफलमा अर्का सम्पादक हरिबहादुर थापाले पुनर्स्थापित संसदले प्रधानमन्त्रीको गलत कदमको सन्दर्भमा संकल्प प्रस्ताव ल्याउनु पर्नेमा त्यो हुन नसकेको धारणा राखे । सम्पादक अरुण बरालले सभामुखले लिनसक्ने सम्भावित निर्णयका सन्दर्भमा जिज्ञासा राखेका थिए।

नेपाल समाचारपत्र दैनिकका कपिल काफ्लेले शक्ति पृथकीकरणकको सिद्धान्त अनुसार व्यवस्थापिकाले सशक्त भूमिका निभाउनुपर्ने धारणा राख्दै विघटित सांसदहरुसंग भेला र छलफल चलाउनु उपयुक्त हुने बताए ।

यसैगरी नागरिक दैनिकका गुणराज लुइंटेलले सर्वोच्च अदालतले प्रधानमन्त्रीको पहिलोपल्ट गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको चर्चा गर्दै असंवैधानिक काम गर्दा जनता दण्डित हुनुपर्ने तर प्रधानमन्त्रीलाई किन केही नहुने भनि प्रश्न गरेका थिए ।

नयाँ पत्रिका दैनिकका कृष्णज्वाला देवकोटाले अहिलेको खेल झेला गरेर जित्न खोजेको नभई खेल मैदान नै भत्काउने खालको भएको टिप्पणी गरेका थिए ।

यसैगरी शिव गाउँलेले सभा विघटन भएपनि संस्था जिवितै रहेकोले सभाले गर्ने भनेको बाहेक सबै कामकारबाही गर्न संविधानले सभामुखलाई छुट दिएकोले सोही अनुसार भूमिका निभाउन सुझाव दिए । उनले संसद तथा प्रेस एक ठाउँमा उभिएर गलत कामको प्रतिकार गर्नुपर्ने बताए ।

अन्नपूर्ण पोस्ट दैनिकका अखण्ड भण्डारीले दोश्रो पछी तेश्रो पनि विघटन भएमा सभामुखको तयारी के छ भनेर जिज्ञासा राखेका थिए । राजधानी दैनिकका सागर पण्डितले सहकार्य, सह अस्तित्व र समन्वयमा साझा भूमिकामा सभामुख सहभागी हुन र सरकारले एजेन्डा नदिए पनि आफै एजेन्डा तय गरी सदन प्रभावकारी ढंगले संचालन गर्न सुझाव दिए ।

यसैगरी प्रतीक प्रधानले खोप, बाढी, नीति तथा कार्यक्रम, बजेट अध्यादेश लगायतका जनताका समस्यामा सभामुखले प्रश्न उठाउने र सरकारलाई खबरदारी गर्नुपर्ने बताए ।

प्राइम टिभिका ऋषि धमलाले जनताले सभामुखबाट सशक्त भूमिकाको अपेक्षा गरेको, संसद पुनर्स्थापना हुँदा सभामा प्रधानमन्त्रीलाई रुलिंग गर्नुपर्ने बताए ।

सभामुखले विगत र हालको संसद विघटनको अवस्थामा आफूले खेलेको भूमिकाको जानकारी गराउँदै राज्यका चौथो अंगको रूपमा रहेको संचार जगतको साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

सभामुख सापकोटाले यसअघि गत जेठ ११ गते पूर्व सभामुखहरूसँग, १३ गते संविधान एवं कानुनविदहरूसँग र २८ गते प्रतिनिधिमा प्रतिनिधित्व गर्ने दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका थिए ।


भर्खर

0