हाम्रा लागि त भगवान नै आयौ ! « Khabarhub
Logo
८ असार २०७८, मंगलबार

हाम्रा लागि त भगवान नै आयौ !



काठमाडौँ– रातको पौने २ बजे मोबाइल फोनमा घण्टी बज्यो । शरीर झसङ्ग भयो । मस्त निद्राका आँखा खुले । उनले फोन उठाए– हेलो… !

‘हेलो… एम्बुलेन्स ! यहाँ र्कीतिपुरमा महिलालाई सुत्केरी बेथा लागेको छ, प्रसूतिगृहसम्म लैजान पर्‍यो आइदिनुस् न ।’

गोबर्द्धन सापकोटा अर्थात गणेशले एम्बुलेन्स पुग्नुपर्ने घरठेगाना सोधे । फोन राखेर आँखा मिच्दै पीपीई सेट लगाए अनि एम्बुलेन्स लिएर हुइँकिए ।

राष्ट्रिय सभागृहबाट साइरान बजाउँदै सुनसान सडकमा एम्बुलेन्स हुइँक्याएर १० गणेश मिनेटमै कीर्तिपुर पुगे । बिरामी लिएर फेरि १० मिनेटमा थापाथलीस्थित प्रसूतिगृह आइपुगे । बिरामीलाई घर लैजाने बेलामा सम्पर्क गर्नुहोला है भन्दै फर्किए ।

एम्बुलेन्स चालकले रात, साँझबिहान केही भन्न पाउँदैन । यसो भन्ने मान्छे एम्बुलेन्स चालक हुँदैन । यसरी काम गर्नुमै एम्बुलेन्स चालक हुनुको महत्व छ । यसरी खटेर बिरामीलाई अस्पताल पुर्‍याँदा गणेश आफ्नो पेसाको संवेदनशीलता बोध गर्छन् ।

गत वैशाख १६ गते लकडाउन भएयता गणेश धेरै व्यस्त भएका छन् । उनी कोभिडका बाहेक अन्य बिरामी बोक्छन् । सार्वजनिक सवारीसाधन बन्द भएपछि उनको व्यस्तता बढेको हो । उनी दिनमा १५ जनाभन्दा बढी बिरामी बोक्दैछन् ।

कहिलेकाहीँ त उनी बिरामीलाई अस्पताल र घर पुर्‍याउँदा पुर्‍याउँदै खाना खाने समय पनि पाउँदैनन् । कहिले खान ठिक पर्दै गर्दा दौडिनु पर्छ । कामको धमाधमले बेलामा खान नपाउनु गणेशका लागि सामान्य घटना हो । बिरामीको ज्यान बचाउने संवेदनाले उनलाई ऊर्जा दिन्छ । त्यही ऊर्जाले थकान पनि छेउ पर्न दिँदैन । उनका लागि बिरामीको ज्यान प्राथमिकता हो ।

‘कहिलेकाहीँ ज्यादै व्यस्त भइन्छ, खाने समय नै हुँदैन’ गणेश भन्छन्, ‘आफ्नो भोकभन्दा बिरामीको ज्यान मुख्य कुरा हो भन्ने सोचेर काम गर्छु ।’

सामान्यतः गणेश बिहान ५ बजे उठ्छन् । श्रीमतीले उनका लागि खाना तयार गर्छिन् । घरबाट हिँडेपछि खानाको टुङ्गो हुँदैन । बन्दाबन्दीमा जताततै खानेकुरा पाइँदैन । जो रुचेको घरमै खाएर निस्केपछि ढुक्क हुन्छ ।

अहिले उनले विशेष गरी डाइलासिस र केमो थेरापी गराउनुपर्ने क्यान्सरका बिरामी, सुत्केरी गराउन लैजानुपर्ने गर्भवती, हृदयघातका लगायत तुरुन्तै अस्पताल जानुपर्ने बिरामीहरूका लागि उनी सेवा दिइरहेका छन् ।

‘अक्सिजनको अभाव भएपछि मानिसहरू यसरी छटपटिए कि एम्बुलेन्स चालकहरूले फोन उठाएर भ्याएनन्’ गणेश भन्छन्, ‘अहिले पनि फोन धेरै आउँछ ,भ्याउन्जेल गरिरहेको छु ।’

संयुक्त एम्बुलेन्स चालक संघ, काठमाडौँका जिल्ला अध्यक्ष पनि हुन् गणेश । काठमाडौँ महानगरपालिका र संघको सहकार्यमा गत वर्ष पनि कोरोना संक्रमणमा १० वटा एम्बुलेन्सले निःशुल्क सेवा दिएका थिए ।

‘गत वर्ष वैशाख, जेठ र असार तीन महिना निःशुल्क सेवा दिएका थियौँ,’ गणेशले भने, ‘महानगरभित्रका जुनसुकै बिरामीले जस्तोसुकै अवस्थामा फोन गरे पनि हामी निःशुल्क सेवा दिन्छौँ । अस्पताल पुर्‍याउँछौँ, घर पनि पुर्‍याउँछौँ ।’

परिवारबाट अलग

गणेशको घर जोरपाटीमा छ, गोकर्णेश्वर नगरपालिका । घरमा ८४ वर्षका बुबाआमा छन् । श्रीमती र छोराछोरी छन् । उनलाई आफ्नो ज्यानको भन्दा बढी परिवारको चिन्ता छ । उनी परिवारबाट अलगिएर बसेका छन् ।

‘घरको भुइँ तलामा एउटा कोठामा एक्लै बसेको छु, श्रीमतीले खाना त्यहीँ ल्याइदिन्छिन्’ उनले खबरहबसँग भने, ‘परिवारसँग बोलचाल पनि हुँदैन ।’

गत वर्ष काममा रहेकै अवस्थामा गणेशलाई कोरोना संक्रमण भयो । थाहै नपाई उनीबाट परिवारका सबै जनामा पुग्यो । करिब दुई सातामा सबै जना निको भए । त्यसपछि उनी सतर्क छन् ।

‘बुबाआमाले बाहिर नजाऊ, ज्यानभन्दा ठूलो केही हुँदैन, पहिला आफू सुरक्षित हुनुपर्छ भन्नुहुन्छ,’ गणेश भन्छन्, ‘म सुरक्षित रहेर गरेको सहयोगले अर्कोको ज्यान जोगिन्छ भने किन नगर्ने भनेर लागेको हुँ ।’

कोरोनाको दोस्रो लहरसँगै मानिसहरू त्रस्त छन् । यस्तो समयमा एम्बुलेन्स लिएर पुग्दा बिरामी र तिनका आफन्तका आगडि आफूलाई कस्तो छ अनुभव हुन्छ ?

गणेश भन्छन्, ‘कतिपय अवस्थामा बिरामीका आफन्तले श्वासप्रश्पासमा समस्या छ भन्छन्, कोरोनाको लक्षण सुनाउँछन्, बिरामी छोडेर हिँड्ने कुरा भएन, आत्मविश्वासका साथ मनोबल उच्च बनाएर काम गर्छु ।’

यस्तो अवस्थामा बिरामी र तिनका आफन्तहरूले चाहिँ कस्तो ठान्छन् ?

उनी भन्छन्, ‘यस्तो महामारीमा निःशुल्क सेवाको एम्बुलेन्स पुग्दा उनीहरूले त भगवान नै आइपुगेको जस्तो ठान्छन्, हामीले भगवान भेट्यौँ भन्छन् ।’

गणेशले एम्बुलेन्स चलाउन थालेको पन्ध्र वर्ष भयो । उनको अनुभवमा अहिले जस्तो व्यस्तता कहिल्यै भएको थिएन र उनमा सेवाभाव यति उच्च बनाएको पनि कोरोना महामारीले नै हो ।


भर्खर

0