जो प्रशिक्षकका लागि योग्य छन् « Khabarhub
Logo
४ कार्तिक २०७८, बिहीबार

जो प्रशिक्षकका लागि योग्य छन्



काठमाडौँ— काठमाडौँमा भइरहेको थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले कुनै गोल गर्न सकेन । सामाजिक सञ्जालमा प्रशिक्षक बालगोपाल महर्जनको आलोचना भएको छ ।

त्यसो त नेपाली राष्ट्रिय टोलीमा यताका केही वर्ष राजुकाजी शाक्य र बाल गोपाल महर्जनले धेरै अवसर पाए ।

यहाँ यी दुईको आलोचना गर्न खोजिएको होइन । परिवर्तन प्राकृतिक नियम हो । साँच्चै राष्ट्रिय टोलीको बागडोर सम्हाल्न एउटा पुस्ता तयार भए फुटबल नेतृत्वले यसबारे सोच्ने कि भन्नेमात्र हो ।

समयको गतिसँगै पछिल्लो पुस्ताले आफूलाई नेपाली फुटबलको बागडोर सम्हाल्न सक्ने बनाएको छ । थुप्रै सफलता पनि दिलाएको छ । हाल प्रशिक्षक करियरमा सक्रिय केही युवाको चर्चा गरौँ ।

आसन्न नेपाली सकर लिग (एनएसल) मा पनि यी युवा आबद्ध छन् । थुप्रै स्टार खेलाडी सम्मिलित पोखरा थन्डर्समा आबद्ध भएका नवीन न्यौपाने पछिल्लो पुस्ताका लागि हेर्न लायक प्रशिक्षक हुन् ।

नेपाली फुटबलमा नवीनप्रति धेरैको चासो सन् २००० देखिकै हो । सोही वर्ष काठमाडौँमा भएको एएफसी यु–१७ छनोट खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

एसियाली स्तरको प्रतियोगितामा छनोट भएर कीर्तिमानी यात्रा तय गरेको नेपाली टोलीका धेरै खेलाडी अहिले पनि फुटबलको दुनियाँमा सक्रिय छन् ।

मैदानमा चुस्त खेल र सही नेतृत्वका कारण सबैका प्रिय बनेका सोही टोलीका कप्तान दुई दशकपछि भिन्न भूमिकामा छाएका छन् । नेपाल आर्मी क्लबलाई एकपछि अर्को उपाधि दिलाएका नवीन अहिले पोखरा एफसीका प्रशिक्षक छन् । तिनै प्रशिक्षक नवीनको योजनामा पोखराले बनाएको टोली सन्तुलित मात्र होइन, उपाधि दाबेदारको रूपमा धेरैको आँखामा परेको छ ।

नवीनले खेलाडीको रूपमा वि. सं. २०५४ कै लिगदेखि पाइला टेकेका थिए । उनी त्यही नक्साल युवा मण्डलका खेलाडी थिए, जुन टोलीसँगको हारका कारण २०५४ सालमा मनाङ मर्स्याङ्दी क्लब (एएमसी)को उपाधि यात्रामा पछाडि धकेलिएको थियो । त्यसै मनाङ मर्स्याङ्दी नवीन सन् २००० देखि आबद्ध भए ।

नवीनका लागि एमएमसीको सुरुवाती यात्रामा कम चुनौती थिएन । दीपक लामा, कुमार थापा, राजेश शाही र वसन्त गौचनसहितको मध्यपङ्क्ति भएको टोलीमा उनको स्थान नै कठिन मानिन्थ्यो । उनको मिहिनेत र केही संयोगका कारण नवीन टोलीका महत्त्वपूर्ण खेलाडीमात्र भएनन्, छोटो समयमा नेपाली राष्ट्रिय टोलीमा पुगे ।

त्यसो त केही समयपछि एमएमसीको रक्षापक्तिमा ठुलो खाडल परेपछि यसलाई पुर्ने काममा पनि नवीनको उपयोग गरियो । यो नयाँ जिम्मेवारी पूरा गर्दै दायाँ रक्षक बनेको नवीन राष्ट्रिय टोलीमा समेत दुवै भूमिकाका लागि उपयुक्त खेलाडीको रूपमा देखिएका थिए ।

सन् २००२ को ओलम्पिक छनोट खेल खेलेका नवीन सन् २००३ मा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा अटाए । सन् २००५ मा यसको अर्को संस्करण हुनु अगावै सन् २००४ मा उनले पाकिस्तानमा भएको साग खेलमा नेपाली टोलीको नेतृत्व गरे ।

सन् २००३ मा नेपाल, ओमन र कोरियामा भएको एसियाली च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीमा पनि उनी समावेश थिए ।

सन् २०१० मै नेपाल र ओमानमा भएको विश्वकप छनोट खेल खेलेका नवीनले क्लब फुटबलमा सफलता पाएपछि सन् २००३ मा मलेसिया र सन् २००८ मा बङ्गलादेशमा भएको प्रेसिडेन्ट कपमा पनि सहभागी भए । सन् २०१३ मा मङ्गोलिया र श्रीलङ्कामा भएको प्रेसिडेन्ट कप पनि उनले खेलेका थिए ।

खेलाडीको रूपमा गरेको योगदानको कदर स्वरूप वि. सं. २०६५ मा ‘रूपक स्मृति मस्ट भ्यालुएबल प्लेयर अवार्ड’ पाउन सफल भए ।

एएफसी ए लाइसेन्स प्रशिक्षक नवीन २०७३ सालदेखि नेपाल आर्मी क्लबमा आबद्ध छन् । उनले यस क्लबलाई थुप्रै सफलता दिलाएका छन् । उनको लक्ष्य राष्ट्रिय टोली हेर्ने नै हो ।

संयोग मान्नुपर्छ सन् २००० मै सोही एएफसी यु–१७ टोलीमा रहेका प्रवेश कटुवाल र नवीनको जम्का भेट नेपालमा पछिल्लो वर्ष भएको ए डिभिजन लिगको दौरान भएको थियो । प्रवेशको टोली नवीनको टोलीलाई बजाएर च्याम्पियन भएको थियो । नवीन नेपाल आर्मी क्लबको प्रशिक्षक थिए । सोही प्रतियोगिताको उपाधि प्रवेशको प्रशिक्षणमा रहेका मच्छिन्द्र क्लबले जितेको थियो ।

प्रवेशको खेलाडी जीवनदेखिको उदय पनि नवीनको जस्तै हो । झापाका यी युवाले सन् २००० को एएफसी उमेर समूहको छनोट खेलमा सफलता पाएपछि भियतनाममा भएको प्रतियोगिताको अन्तिम चरणमा सफलता पाएका थिए ।

यसपछि थ्री स्टार क्लबमा आबद्ध प्रवेशलाई फुटबलमा अन्डररेटेड खेलाडीको रूपमा भने बारम्बार हेर्ने गरिएको छ ।

कतिसम्म भने २०५८ सालमा पाकिस्तानमा निर्धारित नवौँ दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै नेपालमा राष्ट्रिय फुटबल भएको थियो । पूर्वाञ्चलले उपाधि जितेको थियो भने प्रवेश त्यस प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

लगत्तै घोषित राष्ट्रिय टोलीमा भने प्रवेश अटाएनन् । भलै त्यस वर्ष ट्वीन टावर आक्रमणका कारण साग खेल हुन पाएन । यसपछि प्रवेशले उमेर समूहको राष्ट्रिय टोलीमा अवसर पाए । राष्ट्रिय जर्सीमा उनको यात्रा बेन्चमै धेरै बितेको थियो ।

प्रवेश रहेको थ्री स्टार क्लबले शहीद स्मारक लिग २०५७ मा तेस्रो स्थान पाएको थियो । वि. सं. २०६० मा उपाधि जितेको थियो । संयोग नै हो कि यसपछि भएको प्रेसिडेन्ट कप र ए डिभिजन लिगमा प्रवेश बेन्चमै धेरै रहे । यसपछि आरसीटी र मच्छिन्द्र क्लबमा खेलाडीको रूपमा बिताए । उनी नेपालका थुप्रै घरेलु प्रतियोगितामा नाइट चेस क्लब तथा झापा ११ नाममा पनि सहभागी भए ।

मैदानको मध्य भागमा छाउने यी होल्डिङ मिडफिल्डर मच्छिन्द्र क्लबलाई उपाधि दिलाइसकेपछि राष्ट्रिय टोलीका लागि पनि दाबेदारको रूपमा रहेका छन् ।

आसन्न एनएसलएलमा चितवन एफसीमार्फत प्रशिक्षण जीवनमा फर्किएका मेघराज केसी अर्का हस्ती बनेका छन् । वि.सं. ५० को दशकमा मिड टेबलमा रहने जावलाखेलका जर्सी भिर्दै उपाधि यात्रामा रहेका क्लबका लागि टाउको दुखाइ बनेका मेघराजको जीवन ७० को दशकको अन्त्यमा आइपुग्दा फरक मोडमा पुगेको छ ।

मेघराज प्रशिक्षक भएपछि उनले जित्न नपाएको कुनै घरेलु प्रतियोगिता नै बाँकी छैन होला । उनले एउटै प्रतियोगिता पटकपटक जितेका छन् । तीनपटक आयोजना भएको ब्रिटिस गोर्खा कप फुटबल प्रतियोगिता दुई पटक जितेर एकपटक उप विजेता हुनुले उनको उत्कृष्टता प्रमाणित गरेको छ ।

सन् १९९९ देखि एन्फा एकेडेमीमा आबद्ध मेघराज सन् २००९ देखि क्लब फुटबलमा छाए । उनी सुरुवातमा मच्छिन्द्र क्लबमा आबद्ध थिए । यसपछि थ्री स्टार क्लब पुगेका मेघराज सन् २००९ देखि २०१२ सम्म त्यहाँ रहे ।

नेपालको लिग च्याम्पियन हुँदै पहिले प्रेसिडेन्ट कप खेलेको थ्री स्टार त्यसपछि खस्किएको थियो । त्यसै थ्री स्टारको पुनरागमनको युगका नायक बनेर मेघराज उदाएका थिए ।

सन् २०१० र २०११ मा मेघराज राष्ट्रिय टोलीमा सहायक प्रशिक्षक थिए । सन् २०१२ मा हिमालयन शेर्पा क्लब पुगेका उनी अर्को सत्र फ्रेन्ड्स क्लब पुगे ।

यसपछि तीन संस्करण नेपाल आर्मी क्लब सम्हालेका मेघराजले आर्मी क्लबलाई पनि नयाँ स्वरूप दिए । यी नै मेघराज सन् २०१६ मा थ्री स्टारमा आबद्ध हुँदै यस क्लबलाई नेपालको सफल क्लबमा फेरि स्थापित गराए ।

मेघराज नै जाउलाखेलका प्रशिक्षक हुँदा सोही टोलीका खेलाडी रहेका सनोज श्रेष्ठको प्रशिक्षणमा सातदोबाटो यूथ क्लबले ए डिभिजनको यात्रा तय गरेको छ ।

सातदोबाटो ए डिभिजन प्रवेशसँगै उनी माथि चुनौती पनि थपिएको छ । यसअघि ब्रिगेड ब्वाइज क्लब तथा ललितपुरको बुद्धि विकास मण्डलमा आबद्ध यिनले थुप्रै खेलाडीलाई बाल्यकालदेखि नै प्रशिक्षण दिने गरेका छन् ।

यस वर्ष सनोजको टोलीले ए डिभिजनमा प्रवेश पाउन सोही पुस्ताका अर्का प्रशिक्षक राजेश शाहीको प्रशिक्षणमा रहेको खुमलटार यूथ क्लबसँग प्रतिस्पर्धा गरेको थियो । राजेश शाही तीनै खेलाडी हुन्, जसको तेज गति ५० को दशकमा नेपाली फुटबल हेर्नेहरू सबैलाई याद छ ।

सुरुमा आरसीटी, फ्रेन्ड्स क्लब हुँदै मनाङ मस्र्याङ्दी पुगेका राजेशले त्यहाँ लामो बिताएका थिए । त्यसपछि उनी थ्री स्टार क्लबमा आबद्ध भएका थिए । राष्ट्रिय टोलीमा लामो समय रहेका उनी रूपक स्मृति पुरस्कारबाट सम्मानित खेलाडी हुन् ।

प्रशिक्षकको रूपमा पोखरा थन्डर्सका सहायक प्रशिक्षक रहेका उनको अबको यात्रा धेरैका लागि चासोको विषय बनेको छ । यसै पुस्ताका राजेन्द्र तामाङ र किरण श्रेष्ठले क्लब फुटबलमा प्रभाव छाडेको धेरै लामो समय भइसकेको छ ।

यो भन्दा पछिल्ला पुस्ताका चेतन घिमिरे नेपाल पुलिस क्लबमा आबद्ध छन् । कुनै समयका क्लिनिकल फिनिसर चेतनले चोटका कारण राष्ट्रिय टोलीमा लामो समय बिताउन पाएनन् । प्रशिक्षक जीवनमा उनको उपस्थिति कुन रूपमा हुनेछ । धेरैका लागि चासोको विषय बनेको छ ।

एन्फा एकेडेमीकै उत्पादन नुरराज काफ्ले भने अहिले गृह जिल्ला रौतहटमा सक्रिय छन् । उनकै प्रशिक्षणका कारण धेरै महिला खेलाडीको उदय भएको छ ।

एन्फा एकेडेमीको दोस्रो ब्याजका जुझारु रक्षक नुरराजले खेलाडी जीवनमा लामो समय राष्ट्रिय टोलीको ढोका ढकढक्याए । २०७० सालमा जाउलाखेल यूथ क्लबको तर्फबाट अन्तिम पटक ए डिभिजन लिग खेलेका नुरराज त्यसपछि प्रशिक्षणको बाटोमा लागको हुन् । २०७१ मा उनी प्रशिक्षक हुन कस्सिएका थिए ।

सन् २०१६ मा एएफसी सी लाइसेन्स कोर्स गरेका उनले त्यसको दुई वर्षपछि बी लाइसेन्स कोर्स पनि गरे । रौतहट जिल्ला फुटबल सङ्घ हुँदै अहिले प्रदेश २ मा महिला फुटबलको प्रशिक्षणको मुख्य जिम्मेवारी पाएका छन् ।

यसपछि उनले आफू नेपालको राम्रो प्रशिक्षक भएको केही कुरामा पुष्टि गरेका छन् । उनी काठमाडौँको व्यवसायी फुटबल जीवन छाडेर गृह जिल्ला पुगेपछि रौतहट जिल्ला फुटबल सङ्घमा आबद्ध भए ।

अब राष्ट्रिय फुटबल टोलीमा प्रशिक्षकको साँघुरो घेरा तोड्ने बेला भएको छ । नयाँ अवसर खोज्नुपर्छ । नवीन, प्रवेश, मेघराज, सनोज, चेतन, नुरराज, रमेश, प्रज्ज्वलप्रताप सबैले आ-आफ्ना ठाउँमा फूटबल प्रशिक्षणमा कमाल गरेका छन् ।

रौतहटमा तीन समूहमा प्रशिक्षण हुने गर्छ । पहिलो समूह सिकारु, दोस्रो समय सामान्य ज्ञान भएका, तेस्रो समूहमा म्याच खेलाडी । उनले नै सिकाएका तीन खेलाडी अञ्जना राना मगर, मञ्जली योञ्जन र अनिता केसी राष्ट्रिय टोलीमा रहेका छन् ।

यसो त पछिल्लो पटक नेपालको यु–१९ टोलीमा उनकै शिष्य १५ जना रहे । त्यसो त नुरराज प्रशिक्षकको रूपमा सक्रिय हुनुभन्दा अघि नै रौतहटको महिला फुटबलमा एउटा सान थियो । रौतहटमा पाँच जना राष्ट्रिय टोलीमा रहनु पनि चानचुने थिएन । यो गर्व र शानलाई निरन्तरता दिन नुरराजका लागि चुनौती थियो । चुनौतीलाई पार गर्दै उनले त्यो साख र गर्वलाई अझ उचाइमा लगे ।

नुरराजको अहिले पनि एउटा चाहना छ ए लाइसेन्स कोर्स गर्ने । प्रशिक्षकको रूपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने उनको चाहना छ । खेलाडी उत्पादनका आधारमा हेर्ने हो भने उनी यसका हकदार पनि हुन् ।

फ्रेन्ड्सकै खेलाडीको रूपमा रहेका रमेश महर्जन सोही टोलीमा तथा सङ्कटामा लामो समय बिताएका सल्यान खड्गी अहिले सङ्कटामा प्रशिक्षक छन् ।

विदेशी भूमिमा समेत गएर फुटबल प्रशिक्षणका अध्ययन गरेर प्रज्लवल प्रताप क्षेत्री भने अझ अध्ययन गरेर क्लब सम्हाल्ने सोचमा छन् । उनले चलाएको फुटबल एकेडेमीले व्यापकता पाउँदै छ ।

धेरै व्यक्तिमा आगामी प्रतिस्पर्धा कस्तो होला भन्ने चासो छ । राष्ट्रिय टोलीको जिम्मेवारी सीमित प्रशिक्षकलाई नै दिनुपर्छ भन्ने सोचबाट समय भइसकेको छ ।


भर्खर

0