सुन्दर देशभित्र व्याप्त कुरूप राजनीतिको चित्र « Khabarhub
Logo
१९ मंसिर २०७८, आइतबार

सुन्दर देशभित्र व्याप्त कुरूप राजनीतिको चित्र



भौगोलिक मानचित्रमात्रै देश होइन । राष्ट्रिय गीत मात्रै पनि देश होइन । माटो, वनङ्गल, पानी र जनता मात्रै पनि देश होइन । उपरोक्त सबै तत्वसहित नागरिकहरूको ओजस्वी प्रेममा समेटिएको हुन्छ देश । भावना र प्रेमले ओतप्रोत आमनागरिकद्वारा रक्षित हुन्छ देश ।

आफ्नो मातृभूमिमा मातृवात्सल्य अनुभव हुन्छ स्वाधीन नागरिकहरूमा । मूर्त र भौतिक सीमाबद्ध साझा आश्रयस्थल धर्तीप्रति नागरिकहरूको अमूर्त, स्वावलम्बी, स्वाधीन र अटुट श्रद्धा तथा समर्पणको साझा भावनात्मक एकता हो देश ।

संसारको एउटा कुनामा चारैतर्फ ठूला भौगोलिक र आर्थिक शक्तियुक्त देशले घेरिएको सानो मुलुक भए पनि अपार सम्पदायुक्त हाम्रो देश नेपाल प्राकृतिक, सांस्कृतिक तथा सामाजिक मौलिकताले ओतप्रोत छ ।

विविध भौगोलिक परिवेश, सांस्कृतिक विविधता, रहनसहन तथा भाषाभाषिक अनेकताभित्रको एकताले देशको स्वाधीनता र अखण्डता कायम राखेको छ । सामाजिक गतिशीलता शान्तिप्रिय छ ।

लोभलाग्दा हिमाली तथा पर्वतीय शृङ्खलाहरू र दक्षिणतर्फका समथर मैदानहरूले देशलाई प्राकृति सम्पन्नता दिएको छ । अविरल बग्ने नदीनाला र विविध भौगोलिक प्रणालीले भूगोलमा सानै भए पनि जैविक विविधतामा अग्रणी छ ।

भौगोलिक विविधतामात्र होइन हरेक ग्रामीण इकाइहरूमा भाषा, रहनसहन, संस्कृति, कलाकौशल, धर्म इत्यादिको विविधता छ र आपसरी सद्भाव छ । संसारका ठूला भनिएका देशहरूमा पनि हाम्रो जति विचित्रता र विविधता कमै होला ।

संसारको जोसुकै व्यक्तिलाई आफ्नो देशप्रति प्रेम हुन्छ । शरणार्थी होस् वा व्यक्तिगत सुखका लागि देश त्याग्ने व्यक्ति नै किन नहोस्, तिनलाई समेत मातृभूमिको मायाले छाड्दैन ।

फोहोर थुप्रिएपछि किरा उत्पन्न हुनु र राजनीति फोहर भएपछि अवसरवाद जन्मिनु एउटै कुरा हो । नेपालको राजनीति अवसरवादीहरूको तमासामा चलेको छ । कुनै पनि राजनीतिक दल र तिनका नेताले मुलुकको हितमा काम गर्न सकेनन् ।

रोजगारी, अवसर, अध्ययन वा अन्य पारिवारिक कारण वा काम विशेषले धरै नेपालीहरू विदेशमा छन् । यस्ता व्यक्तिहरूले विदेशी भूमिबाटै मातृभूमिका लागि सानोतिनो योगदान गरेकै हुन्छन् । नेपालीहरूले विदेशबाट आर्थिक र प्राविधिक क्षेत्रमा टेवा पु¥याएका छन् ।

थोरै अपवादबाहेक संसारका अधिकांश देशमा नागरिक शासन छ । कैयौँ मुलुक स्वाधीनताका लागि वर्षौंसम्म आन्तरिक तथा वाह्य युद्धमा समेत होमिनु परेको छ । आर्थिक विपन्नताले कैयौँ मुलुकले आंशिक पराधीनता स्वीकार गर्नु परेको छ, प्राकृतिक सम्पदा गुमाउनु परेको छ ।
राजनीतिक द्वन्द्व, जातीय राजनीति, तानाशाही शासन आदिका कारणले अघि बढ्न नसकेका देशहरू पनि अझै छन् । हालसम्म हामी यस्तो पराधीनतामा पर्नुपरेका छैन ।

मुलुकका लागि शासन गर्ने र जनताका आवश्यकता पूरा गर्दै समयानुकुल विकासको प्रवाह अघि बढाउने काम राजनीतिक पद्धतिले गरेको हुन्छ । विश्वमा थरीथरीका शासन पद्धतिहरू तथा राजनीतिका व्यवस्थाहरू छन् ।

आर्थिक दृष्टिले नेपालभन्दा धेरै कमजोर र द्वन्दग्रस्त मुलुकहरू पनि छन् । केही देशहरू द्वन्द्वबाट उठेर आर्थिक उन्नतितर्फ अघि बढेका पनि छन् ।

मुलुकको सर्वाङ्गीण विकास तथा जनताको जीवनस्तर उकास्ने काममा हाम्रो देश नेपालको राजनीति तथा राज्यसंयन्त्रहरू करिब असफलताको बिन्दुमा पुग्न लाग्दैछन् । विश्वको आर्थिक गतिविधि तथा प्रविधिको विकास विस्तारसँगै बलपूर्वक गर्नुपर्ने बाध्यकारी कामका अतिरिक्त राजनीतिक सुझबुझबाट विकासमा योजनाबद्ध काम भएको छैन ।

राज्यका तर्फबाट हुनुपर्ने सेवासुविधाहरू नगण्य छन्, भएको पनि सर्वसुलभ छैन । सर्वतमा चिनी घोलिएजस्तै भ्रष्टाचार, अकर्मण्यता र गैरजिम्मेवारी सर्वत्र व्याप्त छ ।

मुलुकको राजनीति दिशाहीन र गैरजिम्मेवार भएपछि राज्यसंयन्त्रमा विचलन र बेथिति बढेको छ । स्वतन्त्र रहने भनिएका संयन्त्रहरूमा चरम राजनीतीकरण छ । अन्ततः राज्य असफलतातर्फ जाँदैछ । यस्तो परिस्थिति उत्पन्न हुनुका केही कारणहरू छन् ।

धन कमाउने ध्यान
यहाँ धन कमाएर प्रतिष्ठित हुनेहरूको बोलावाला चलेको छ । गरिब र निमुखालाई धनले जति छिटो आकर्षित गर्न सकिन्छ, त्यति सामाजिक उत्थान र स्वावलम्बनको चिन्तनबाट गर्न सकिदैन ।

राजनीतिक दलका तल्लो तहका कार्यकर्तादेखि राष्ट्रियस्तरका नेताहरू सबैको सामाजिक पृष्ठभूमि एउटै हो । राजनीति र समाजमा आफ्नो प्रभुत्व कायम राख्न राष्ट्रिय चिन्तन तथा जनताको सेवाभन्दा धन आवश्यक परेको छ ।

उनीहरूको ध्यान धन कमाउनमा छ र बेथितिका रूपमा विकसित हुँदैछ ।

बदलिँदो प्रविधिले दिएका उपभोगका विलासी सामग्रीहरूप्रति आकर्षण बढ्नु स्वाभाविक प्रक्रिया हो । यसले गर्दा आयातित वस्तुको माग बढ्दैछ ।

न्युन आय हुनेहरूलाई दैनिक उपभोगका सामान प्राप्त गर्न पनि कठिन हुने अवस्थामा विलासी सामान झन टाढाको हुन जान्छ । नेताहरूलाई झैँ आममानिसलाई पनि बढी धन आवश्यक परेको छ ।

भेटेसम्म र सकेसम्म अवाञ्छित क्रियाकलापबाट सकेसम्म छिटो धन कमाउने होडबाजीमा हरेक व्यक्ति, वर्ग, संस्थाहरू लागिपरेको देखिन्छ । यसले भ्रष्टाचार बढाएको छ । यस्तो अवस्थामा भ्रष्टाचार नियन्त्रण पाखुराको बलमा पहाड उचाल्नुजस्तै भएको छ ।

ब्यापारमूलक राजनीति

विगतका शासन व्यवस्थादेखि नै जरो हालेको व्यापारमूलक राजनीति अहिले विशाल वृक्ष भएको छ । राजनीति नै व्यापारिक कम्पनीको रूपमा खडा भएको छ, सेवामूलक चरित्रको झिल्को समेत छैन ।

चुनावमा ठूलो धनराशि खर्च गर्नुपर्ने भएको छ । समाजमा प्रतिष्ठा कमाउन पनि धन नै चाहिने भएकाले राजनीतिको आदर्श व्यापारीकरण भएको हो । यस्तो अवस्था रहँदासम्म मुलुकले सही दिशा समाउन सक्तैन । राजनीतिलाई व्यापारबाट सेवातर्फ लैजान समाजको सोच नै परिवर्तन हुनु आवश्यक छ ।

न पुरस्कार, न दण्डसजाय

स्थानीय तहदेखि राष्ट्रिय तहसम्म विकासका कार्यक्रमहरू लेखिँदै आएका छन् । तिनीको कार्यसम्पादन, उपलब्धि, गुणस्तर र पारदर्शितामाथि सधैँ प्रश्न उठ्ने गरेको छ । समाजमा असल चरित्र तथा सेवा उपेक्षित छ । निष्ठाले काम गर्नेहरूलाई प्रोत्साहन छैन, पुरस्कार छैन ।
व्यापारिक, सार्वजनिक सेवा वा राजनीतिक क्षेत्रबाट हुने गरकानूनी क्रियाकलाप वा अख्तियारको दुरुपयोगमा दण्ड सजाय कमजोर छ । यसले गर्दा राज्यका संयन्त्र कमजोर हुन पुगेका छन् ।

न आत्मआलोचना, न आत्मसमीक्षा, न ग्लानीबोध, न दिशाबोध, न सामूहिक उत्तरदायित्व ! केही पनि छैन । एकछत्र आत्मकेन्द्रित तथा मनोगतभावले राजनीतिका नामम चरम बेइमानी चलेको छ ।

कलुषित नेताको बोलवाला

अधिकांश नेपाली मतदाताहरूले राजनीतिक दल र तिनका नेतालाई आस्थाको केन्द्रका रूपमा लिएका हुँदैनन् । विकल्प दिनसक्ने अर्को नेता र दल पनि आउन सकेको छैन ।

वर्तमान राजनीति दल तथा तिनका नेताले यही परिस्थितिको दुरुपयोग गरेका छन् । त्याग र समर्पण लोप भइसकेको छ । दलबल, पैसा र पाखुराको बोलवाला छ ।

जनताको गरिबी र पछौटेपनको फाइदा उठाएर जनताको अभिमत खुलमखुला लिलामी हुने गरेको छ । कलुषित नेताहरूले नै निर्विकल्प जनप्रतिनिधिको रूपमा निर्वाचित हुन पाएका छन् ।

बलियो श्रमजीवी जनशक्ति, बौद्धिक एवं मेधावी युवाहरू उज्ज्वल र सुरक्षित भविष्यको खोजीमा अविरल गतिले विदेशिने क्रम जारी छ । स्वदेशमा रहेको युवावर्गमा राज्यप्रति भरोसा छैन ।

२००७ सालदेखि हालसम्म भएका क्रान्ति वा आन्दोलनहरूले जनताको आवश्यकता सम्बोधन गर्न सकेको छैन । आन्दोलन केका लागि र कसका लागि भन्ने कुरा आन्दोलन गर्ने शक्तिहरूले नै थाहा पाएनन् ।

यिनै कारणले अक्षम, भ्रष्ट तथा गैरजिम्मेवार दल तथा नेताहरू राजनीतिमा हाबी छन् ।

जातीय–क्षेत्रीय राजनीतिको दशा

गणतान्त्रिक नेपालको सबैभन्दा ठूलो अभिशाप जातीय तथा क्षेत्रीय राजनीति नै हो । राज्य सञ्चालनमा सबै वर्ग र समुदायको प्रतिनिधित्व गराउने भनेर संविधानमा केही व्यवस्था भए पनि व्यवहारतः त्यसको मर्म विपरित काम भएको छ ।

मुलुकले जातीय एकता गुमाउँदै गएको छ । जुन संविधानको आडमा शासन सत्तामा बसेका हुन्, त्यही संविधान विपरीत काम गर्ने र संविधानको धज्जी उडाउने काम भएको छ ।

उत्पीडनबाट मुक्तिका नाममा गठित दलका नेताहरूले आफ्नै घरमा आगो लगाएर खरानी घस्न थालेका छन् । प्रायः हाम्रा सबै नेताहरू जातीय तथा क्षेत्रीय राजनीतिको हुलबाट विजेता भई राज्य चलाउने कुर्सीमा विराजमान छन् ।

यस्तो पृष्ठभूमिबाट आएका अगुवाबाट सदाचार, त्याग, नैतिकता, इमानदारी र जनताको सेवाको अपेक्षा गर्नु अर्थहीन छ ।

मापदण्ड बिनाका नेता

विश्वका कतिपय देशहरूको राष्ट्रिय राजनीतिमा उम्मेदवारको औपचारिक शिक्षाको तह प्राथमिकतापूर्वक हेरिन्छ । उसको इमानदारी, देशप्रति त्यागको भावना, समर्पण तथा सेवाप्रति निष्ठा आदि कुराहरू अघोषित मापदण्डका रूपमा लिइएका हुन्छन् ।

हाम्रोमा सामान्य ठानिने सामाजिक कसुरमा समेत विकासोन्मुख देशका राष्ट्रियस्तरका नेताहरूले समेत पदबाट हात धुनु परेका घटनाहरू छन् ।

यस्तो राजनीतिक वृत्तबाट नेपालको राजनीति नियाल्ने हो भने ठिक विपरीत देखिन्छ । समाजमा बद्नाम व्यक्तिहरू, जालीफटाहा भनेर चिनिएकाहरू, भ्रष्टाचारीहरू, हत्याका अभियुक्तहरू, तस्करहरू कुनै न कुनै दलमा आबद्ध छन् ।

यस्ता व्यक्तिहरूले दलको संरक्षण पाएका छन् । यस्ता कतिपयले त राज्यबाट मानसम्मान पनि पाएका छन्, राजनीतिबाट भरपूर लाभ लिएका छन् । तिनको नायकत्व समेत स्वीकृत छ ।

कुनै रोकतोकबिना अपराधीलाई समेतलाई शरण दिने नेपाली राजनीति सङ्लो हुने सम्भावना छैन ।

षड्यन्त्रकारी मगज

सामान्यरूपले हेर्ने हो भने नेपालको राजनीतिमा अध्ययनशील केही नेताहरू छन् । दर्शन, प्रविधि, राजनीति लगायत अन्य विधामा अध्ययन गर्ने गरेको देखिए पनि विवेकले स्थान पाउन सकेको छैन ।

अध्ययनले सेवाभाव र समर्पण विकसित गर्न सकेको छैन । अध्ययनशील नेताहरू पछाडि पारिएका छन्, षड्यन्त्रकारीको बोलवाला छ । विपक्षी आवाजको त कुरै छाडौँ जनबोली समेत कुतर्कको बलमा कुल्चिने चलन छ । वैचारिक वहस तथा सत्यतथ्यको महत्वप्रति सबै उदासीन छन् ।

यस्ता दलहरू तथा तिनका नेताहरूले दोस्रोतेस्रो पुस्ता जति जन्माए पनि वैचारिकरूपले टाट उल्टेको मगजमात्रै प्रकट हुने हो ।

तजबिजी मूल्याङ्कन

दलहरूमा केन्द्रदेखि वडा तहसम्म राजनीतिक वृत्तबाट भएगरेका काम, जनसेवा, व्यक्तिगत चरित्र, आर्थिक अनुशासन, कार्य सम्पादन आदि सूचकको आधारमा मूल्याङ्कन गर्ने परिपाटी शून्य छ ।

मूल्याङ्कनको आधार नेतागणको सेवा, पार्टीलाई चन्दा, चुनावको समयमा बल प्रयोग आदि भएको छ । जेहनदार र इमानदार मूल्यांकनको दायरामा पर्न सम्भव छैन ।

यसकारण नेपाली राजनीतिमा कुशल र असलको सर्वथा अभाव छ । यसमा सराकात्मक परिवर्तन हुने अपेक्षा गर्ने ठाउँ नै देखिँदैन ।

अवसरवादी चरित्र

उयुक्त नौ वटा चरित्र जम्मा भएपछि दशौँ चरित्र अवसरवादी हुन्छ । फोहोर थुप्रिएपछि किरा उत्पन्न हुनु र राजनीति फोहर भएपछि अवसरवादले जन्म लिनु एउटै कुरा हो । नेपालको राजनीति अवसरवादीहरूको तमासामा चलेको छ । कुनै पनि दल र नेताले मुलुकको हितमा काम गर्न सकेका छैनन् ।

सत्ताको लागि जोसँग जस्तोसुकै सम्झौता गर्ने, व्यक्तिगत लाभका लागि दलबदल गर्ने, सत्ता प्राप्तिका लागि दल फुटाउने र जोड्ने काम नेताहरूका लागि सामान्य भएको छ ।

व्यक्तिगत मोलमोलाई हुनेगरेको छ । नेतागणका व्यक्तिगत र अवसरवादी चरित्रहरू छर्लङ्ग छन् ।

सत्ता प्राप्तिका लागि छिमेकी देशसँग सहयोगको याचना गर्ने, सत्ता टिकाउन पद र राष्ट्रिय सम्पत्तिको चरम दुरुपयोग गर्ने, आफ्नो सत्ताको हजारौँ अवगुण पनि नदेख्ने र अर्काको गुण नसहने प्रवृत्ति हाबी छ ।

आफू सत्तामा रहँदा गरेका काम, प्रतिबद्धता तथा सम्झौताहरूमा सत्ताच्यूत भएपछि जिम्मेवारी नलिने, सकेसम्म भ्रष्टाचार गर्ने र पैसाको वलमा दल चलाउने प्रवृत्तिले हाम्रो राजनीतिक कुरूप भएको छ ।

उपसंहार

उपरोक्त बुँदाहरूभित्र हाम्रो सुन्दर देशको कुरूप राजनीतिको अवस्था समेटिएको छ । कारण र परिणामको पारस्परिक सम्बन्ध हुन्छ । देशका अग्रगण्य सचेत नागरिकहरू समेत अचेत तथा निकम्मा अवस्थामा देखिएका छन् ।

व्याप्त विकृतिबाट नेताहरू बाहिर निस्कने अवस्था देखिँदैन ।

देश र समाज विकासका लागि हुनुपर्ने क्रान्ति अधुरो छ । क्रान्तिको लक्ष्य निर्धारण गरेर आमूल परिवर्तन ल्याउन सक्ने युवाशक्ति विदेशी भूमिमा श्रम बेचिरहेको छ । बचेखुचेकामा सामाजिक क्रान्ति गर्ने उत्साह छैन ।

समग्रमा हाम्रो देशको राजनीति कुरूपताको चित्र यही हो । यसले हाम्रो देशको सुन्दरता नष्ट गरिदिएको छ ।


भर्खर

0