अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न | Khabarhub Khabarhub

अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – अनेकतामा एकताको विशिष्ट उदाहरणका रूपमा रहेको मिथिला परिक्रमाअन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् ।

पन्ध्रदिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रबिन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा स्थितका तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भनिन्छ ।

मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ ।

यस प्रकारको धार्मिक आस्थाका कारण नेपालका कुनाकाप्चा र भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सामेल हुन्छ । ‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालु श्री मिथिला विहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ ।

सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारैदिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो । हिन्दूधर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको छ । परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ । प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ । यसलाई षड्शोपचार पूजाको अङ्ग मानिएको छ । वैदिककालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्रस्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको छ ।

यज्ञ, मन्दिर, नदी तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुने गरेको आस्थाअनुरूप मिथिला परिक्रमाअन्तर्गत १३० किलोमिटरका क्षेत्रमा पदयात्रा गरिन्छ । यो परिक्रमा मेलामा सामेल भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ ।

यस अवसरमा नेपाल र भारतका मिथिला क्षेत्र उत्सवमय हुन्छ । लाखौँ श्रद्धालुको सहभागिता रहने गरेको सो परिक्रमामा हरेक, धर्म, जातजाति, छरछिमेकका गाउँवासी, इष्टमित्र, घरपरिवारका नातेदारलगायत कर कुटुम्बका लागिसमेत उत्सव आस्थाको केन्द्र रहेको छ ।

इतिहासकारहरूका अनुसार यो परिक्रमा विसं १८१० मा प्रारम्भ भएको हो । पहिले यस मार्गमा जङ्गल थियो भने हाल बस्ती रहेको छ । अचारी बाबाको सत्प्रयासले परिक्रममा पथ हाल सहज भएको बताइन्छ । अचारी बाबापछि उहाँका शिष्य लाडली शरण सो जिम्मेवारी सम्हाले । उहाँ कचुरी पठका महन्त थिए । त्यसैबेला खेअि परिक्रमाको मूल डोला कचुरी मठबाट शुरू हुने परम्पराको थालनी भएको हो ।

दशमी तिथिमा सतोखर भन्ने ठाउँमा तीर्थालु बास बस्छन् । यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण ख्याति कमाएको छ । त्यसपछि औरही, करूणा हुँदै पुनःकल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गरिन्छ । यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजापाठ गरिन्छ । चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गरी भोलिपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मेला सम्पन्न हुने परम्परा रहेको छ । परिक्रमा सम्पन्न भएको भोलिपल्ट यस क्षेत्रमा होली मनाइने परम्परा रहेको छ । – रासस

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १२ : ५९ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले