शहीद श्रेष्ठ र चन्दप्रति श्रद्धाञ्जलि | Khabarhub Khabarhub

शहीद श्रेष्ठ र चन्दप्रति श्रद्धाञ्जलि


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद सप्ताह कार्यक्रमअन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिकमा माल्यार्पण गरी उनीहरूप्रति श्रद्धाञ्जलि दिइएको छ ।

काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा  उनीहरूलाई प्राणदण्ड दिइएको स्थान शोभाभगवती विष्णुमती नदी किनारामा कामपाले गत वर्ष निर्माण सम्पन्न गरेको पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो ।

सभामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले  हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने शहीदको योगदान कसैसँग तुलना हुन नसक्ने बताए ।

कामपा वडा नं १५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नुपर्ने खाँचो औँल्याए ।

हुकुमी शासनविरुद्ध काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएका आरोपमा १९९७  साल माघ १५ गते  श्रेष्ठ र चन्दलाई शोभाभगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।

बैतडीमा जन्मिएका चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए । त्यस्तै रामेछापको भँगेरीमा जन्मिनुभएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणाशासन विरोधी आन्दोलनमा लागेका थिए ।

विगत वर्ष झैँ यस वर्ष पनि कामपाले यही माघ १० देखि  १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाइरहेको छ ।

राणाशासनको विरोध गरेको आरोपमा १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशम्शेरसहितको इजलासले श्रेष्ठ, चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र  पूर्णनारायण प्रधान गरी पाँचजनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।

पछि पूर्णनारायणको सजायलाई आजीवन कैदमा परिवर्तन गरियो । कारागार सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु पचलीस्थित खरीबोट र माथेमालाई सिफल उकालो बकाइनाका रूपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्बीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीदोद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुनेछ ।

सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । विसं २०१२ देखि कामपाको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाउँदै आएको छ ।

प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा काठमाडौँका विभिन्न स्थानमा शहादत प्राप्त गर्नुभएका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ ।

यसैबीच सरकारले लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा जीवनोत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को यही माघ ११ गते बसेको बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका संयोजकत्वमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फे सदस्य रहेको समिति गठन गरेको हो ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १२ : ३० बजे

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई