चाडपर्वको मुखमा दर्जन सडक अवरुद्ध | Khabarhub Khabarhub

चाडपर्वको मुखमा दर्जन सडक अवरुद्ध



काठमाडौँ – सरकारले सोमबार दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । तर लाखौँ मानिसहरू यात्रा गर्ने देशका विभिन्न रार्जमार्गको अवस्था भने नाजुक छ ।

मनसुनका कारण देशभरका साना–ठूला गरी दर्जनभन्दा बढी सडकखण्ड अवरुद्ध छन् । त्यस्तै अहिले कतिपय सडकहरू एकतर्फी सञ्चालन भइरहेका छन् ।

दशैंमा मात्र १५ लाखभन्दा बढीले उपत्यकाबाट बाहिरन्छिन् । जसकारण यात्रुसँगै सवारीको चाप पनि बढ्छ ।

मनसुन अझैं सक्रिय छ । वर्षाले बाढी पहिरो जाँदा धेरैजसो ग्रामीण क्षेत्रका सडकहरूमा अझै पनि आवतजावत गर्न मुस्किल छ । त्यसैगरी एकतर्फी सञ्चालमा रहेका राजमार्गमा सवारी साधनको चाप बढ्नुका साथै जाम हुन्छ ।

देशभरका विभिन्न राजमार्गका झण्डै १२ स्थानका सडक पूर्णरुपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

अवरुद्ध रहेका सडक सञ्चालन गर्न विभागले सम्बन्धित राजमार्गहरूलाई निर्देशन दिई काम गरिरहेको जनाएको छ ।

पूर्णरुपमा अवरुद्ध भएका सडकलाई दशैं अघि खुलाउने तयारीका साथ काम भएको र एकतर्फी भए पनि सञ्चालन ल्याउने विभागका महानिर्देशक अर्जुनजंग थापाले खबरहबलाई जानकारी दिए ।

‘त्यसैका लागि हामी केही दिनदेखि उपत्यकाबाहिर (फिल्ड) मै छौं’, उनले भने, ‘यात्रुलाइ सहज बनाउनका लागि काम भइरहेको छ अबको अवरुद्ध रहेका सडक १० दिनभित्र सुचारु हुनेछन् ।’

देशभरका एक सय २५ वटा सडक एकतर्फी चालु रहेको र ८७ वटा सडक दवैतर्फ सुचारु रहेको उनले जानकारी दिए ।

यी हुन् अवरुद्ध रहेका राजमार्गहरू

विभागका अनुसार बाजुराको साँफेबगर–मार्तडी–कोल्टीको बल्दे अम्कोट सडक अवरुद्ध भएको छ ।

मनाङ जिल्लाको डुम्रे–बेँशीसहर–चामे राजमार्गको तिमाङ छहरा खण्ड अवरुद्ध भएको छ । त्यस्तै, पाल्पाको पीपलडाँडाको सडक अवरुद्ध भएको छ ।

त्यस्तै अमेलिया–तुल्सिपुर–शीतलपाटी–थारमारे–मुसीकोट सडकखण्ड अन्तर्गतको शंखमुलको सडक अवरुद्ध भएको छ।

काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकखण्ड अन्तर्गतको गौडे पुल अवरुद्ध भएको छ ।

डुम्रे–बेँशीसहर–चामेको तिमाङ खोला, सोही सडक खण्डको धारापानी, बगरछाप, रामबजार, अर्खलेलगायतका सडक खण्ड अवरुद्ध भएका छन् ।

त्यस्तै, डोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशुली–वेत्रावती, मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी अन्तर्गतको त्रिशुली खोला, सानो भार्खु खोला गाँजाबारी सडक खण्ड अवरुद्ध छ ।

त्यस्तै, काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक अन्तर्गतको जुरे सडक खण्ड अवरुद्ध भएको छ ।

खाड्पे–चैनपुर अन्तर्गतको चैनपुर सडक खण्ड पनि अवरुद्ध भएको छ ।

विभागका महानिर्देशक थापाले दिएको जानकारी अनुसार सिद्धार्थ राजमार्ग अन्र्तगतको बेलहिया–भैरहवा–बुटवल–वर्तङ–स्याङजा–पोखरा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

सडक मर्मत गर्न व्यवसायीको माग

यसअघि यातायात व्यवसायीले सरकारलाई मनसुनका कारण अवरुद्ध भएका सडकको मर्मत गरी सञ्चालन गर्न अनुरोध गरेका थिए ।

बाढी पहिरोले भत्किएका विशेषगरी ग्रामीण सडक तत्काल मर्मत गरी दशैँमा उपत्यका बाहिरिनेको यात्रा सहज बनाउन सुझाव दिएका थिए ।
नेपाल यातयाात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्राका लागि विश्वासिलो वातावरण सिर्जना गराउन सरकारलाई पटकपटक अनुरोध गरिरहेको बताए ।

‘अहिले भइरहेको सडकमा दशैँका लागि यात्रु बोकेर सवारीसाधनलाइ आवतजावत गर्न समस्या छ’ सिटौलाले भने, ‘वर्षातका कारण ग्रामीण सडक जीर्ण छ कतिपय राजमार्गहरू एकतर्फी सञ्चालनमा छन् कति अवरुद्ध छन् कसरी यात्रा गर्ने ?’

कम्तीमा सडक मर्मतको विश्वासिलो वातावरण बन्नुपर्ने उनको भनाइ छ ।

नागढुंगादेखि नौबिसेसम्मको सडक खण्डको सुरुङ मार्ग निर्माणस्थल नजिकैको पहिरोका कारण दैनिक सडक अवरुद्ध भइरहेको छ ।
त्यस्तै पृथ्वीनारायण राजमार्गका मुग्लिन, नारायणगढ लगायतका सडकखण्ड एकतर्फी सञ्चालन भइरहेको बताउँदै सिटौला भन्छन्, ‘सडकलाई दुईतर्फी सञ्चालन गर्न यवसायीहरूले सरकारलाई ध्यानाकर्षण गराएका छौँ ।’

यातायात व्यवसायीले सरकारले जीर्ण सडक तत्काल मर्मत नगरे दशैँका लागि अग्रिम टिकटको बुकिङ खोल्ने अवस्था नभएको समेत बताउँदै आएका थिए ।

यद्यपी सरकार, ट्राफिक प्रहरी, जिल्ला प्रशासन र यातायात व्यवसायीबीचको छलफलले सोमबारबाट टिकटको अग्रिम बुकिङ खोल्ने निर्णय भने भइसकेको छ ।

त्यस्तै प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले पनि अवरुद्ध राजमार्गहरू सुचारु गर्न निर्देशन दिएको छ ।

मुलुकका बिभिन्न राजमार्गहरूमा सहज रुपमा सवारीसाधान सञ्चालन व्यवस्था मिलाउन आइतवार सरकारलाई निर्देशन दिएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : ३१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका