देवानन्द–जोसँग ‘फिदा’ थिए महिलाहरुको तीन पुस्ता « Khabarhub
Logo
८ कार्तिक २०७८, सोमबार

देवानन्द–जोसँग ‘फिदा’ थिए महिलाहरुको तीन पुस्ता



देवानन्द

मुम्बई(बीबीसी)– हिन्दी फिल्ममा यदि कुनै एक व्यक्तिका लागि ‘स्टाइल आइकन’ शब्दको प्रयोग हुन्थ्यो भने ती व्यक्ति केवल देवानन्द नै थिए । विशेष शैलीमा बोल्नु, टाउको झुकाएर लहराउदै हिँड्नु, गलामा स्कार्फ, टाउको बेगी क्याप र तपाईंको आँखामा हेरिरहेका आँखा–यी थिए सदावहार देवानन्द, ८८ वर्षका नवजवान ।

उनले एकपटक फिल्मका लागि आफू उमेरभर जवान नै रहने बताएका थिए । जसलाई उनले प्रमाणित गरेर देखाए । सन् १९२३ मा गुरदासपूरमा जन्मिएका देवानन्दले जुलाई, १९४३ मा आफ्नो गोजीमा ३० रुपैंयाँ राखेर प्रन्टियर मेलबाट लाहोरदेखि बम्बईको यात्रा सुरुवात गरेका थिए । बम्बई आएको चार वर्ष भारत विभाजन हुन्छ भन्ने कुरा उनले सपनामा पनि सोचेका थिएनन् । त्यसपछि पुनः लाहोर जानलाई उनले ५६ वर्ष पर्खनुपर्यो ।

‘मैले लाहोर सरकारी कलेजबाट अंग्रेजीमा बीए अनर्स गरेको थिएँ । म मास्टर्स गर्न चाहन्थें । तर मेरो पिता माली भएका कारण अवस्था ठिक थिएन । उहाँ म बैंकमा काम गरोस् भन्ने चाहनुहुन्थ्यो । मैले फ्रन्टियर मेलको थर्ड क्लासको टिकट किनें र बम्बई पुगें । मैले दुई वर्ष संघर्ष गरें । १९४५ मा मैले पहिलो फिल्म साइन गरें, जसको नाम थियो ‘हम एक हैं’ । म पूर्ण रुपमा नयाँ थिए । तर मसँग दिमाग थियो, कलेजको पढाई थियो । म निकै राम्रो बोल्थें । मानिसहरु मलाई भेटेर निकै खुशी हुन्थे । म हाँस्दा मान्छेहरु पागल हुन्थे । जब मलाई ब्रेक मिल्यो, त्यसपछि मैले पछाडि फर्किएर हेर्नुपरेन’, उनले बीबीसीलाई भनेका थिए ।

गुरु दत्तसँग गरेको वाचा
आफ्नो सरकारी कलेजका दिनमा देवानन्द हफीज जलंधरीको गजल ‘अभी तो मैं जवान हुँ’ धेरै गुनगुनाउथे । देवानन्दका निकट सहयोगी रहेका मोहन चूडीवाला यो कुरा स्वीकार्छन् । ‘जब उनले १९६१ मा फिल्म ‘हम दोनों’ बनाए । त्यही बेला उनले गीतकार साहिर लुधियानवीसँग उनले ‘अभी तो मैं जवान हूँ’मा आधारित रहेर एक गीत लेख्न आग्रह गरे । साहिरले त्यही शैलीमा गीत लेखे ‘अभी न जाओं छोड कर कि दिल अभी भरा नहीं’, जुन निकै लोकप्रिय भयो’, मोहन सम्झन्छन् ।

चूडीवालाका अनुसार फिल्म जगतमा देवानन्दको सबैभन्दा सुरुवाती र नजिकको साथी गुरुदत्त थिए । एकदिन गुरुले देवसँग यदि आफू निर्देशक बनेमा देवानन्द पहिलो हिरो हुने वचनावद्धता व्यक्त गरेका थिए । त्यही बेला देवानन्दले पनि आफूले कुनै दिन फिल्म निर्माण गरेमा त्यसको निर्देशनको जिम्मा गुरुलाई नै दिने प्रतिबद्धता जनाए । देवानन्दलाई आफ्नो प्रतिबद्धता सम्झना थियो । त्यहीकारण नवकेतन फिल्मसले ‘बाजी’ बनाउने निर्णय लिएपछि यसको निर्देशनको जिम्मेवारी गुरुदत्तलाई नै दिइयो ।

सुरैयासँग प्रेम
देवानन्द र सुरैयाको प्रेम बलिउडको सबैभन्दा सानदार प्रेमकथामध्येमा पर्दछ । ‘पहिलो दिनदेखि नै हामी एक अर्कालाई मनपराउन थालेका थियौं । उनी निकै ठूलो स्टार थिइन् । उनीसँग ठूला ठूला गाडी थिए । केडलक थियो । लिंकन थियो र म पैदल जान्थें । म युवा थिएँ, धेरै प्रस्तुत थिएँ र ममाथि धेरै आत्मविश्वास थियो । हाम्रो सम्बन्ध बढ्दै गयो’, देवानन्दले बीबीसीसँग भनेका थिए ।

तर उनीहरुको सम्बन्ध विवाहको विन्दुसम्म पुगेन । देवानन्दले मुम्बईको जवेरी बजारबाट सुरैयाका लागि हीराको औठी किने । तर सुरैयाको हजुरआमा बादशाह बेगमलाई उनीहरुको सम्बन्ध मनपरेन ।

प्रख्यात फिल्म इतिहासकार राजू भारतनले आफ्नो किताब ‘अ जर्नी डाउन मेलोडी लेन’मा ‘सुरैयाले मलाई मरीन ड्राइवमा आफ्नो घर कृष्ण महलको बालकोनीमा लगिन् र मलाई उनकी हजुरआमाले कसरी देवानन्दले दिएको औठी मेरी ड्राइवको समुन्द्रमा फ्याकिन भन्ने कुरा बताएकी थिइन्’ भनेर लेखेका छन् ।

तर देवानन्दले आफ्नो आत्मकथा ‘रोमान्सिङ विद लाइफ’मा यसको केही दोस्रो विवरण दिँदै ‘सुरैया मैले पठाएको औठी समुन्द्रको अगाडि लगिन् । उनले अन्तिमपटक प्रेमले हेरिन र उसले निकै टाढाको समुन्द्रको लहरमा फ्यालिदिइन्’ भनी उल्लेख गरेका छन् ।

समयभन्दा धेरै अगाडि थियो गाइड
देवानन्दको करियरको चुचुरोमा थियो फिल्म ‘गाइड’ । आरके नारायणको उपन्यासमा आधारित यो फिल्मलाई सारा विश्वबाट सकारात्मक समीक्षा प्राप्त भएको थियो र फिल्मलाई ‘अस्कर पुरस्कार’का लागि भारतबाट प्रतिनिधित्व गर्दै पठाइएको थियो ।

देव साहब भन्दा आपत्ति
अभिनेत्री वहीदा रहमानले आफ्नो पहिलो फिल्म ‘सीआईडी’मा देवानन्दका साथ काम गरेकी थिइन् । दुवैले कुल सात फिल्ममा काम गरे । वहीदालाई देवानन्दले ‘तिमीले मलाई देव मात्र भन्नु’ भनेका थिए । तर वहीदाले ‘यो कसरी हुनसक्छ ?’ भनी प्रश्न गर्थिन् ।

‘तपाईं म भन्दा ठूलो हुनुहुन्छ । यति ठूलो स्टार हुनुहुन्छ । उनले ‘मलाई साहब, मिस्टर आनन्द’ भनेर बोलाउने हो भने लिडिङ लेडिजसँग काम गर्न सक्दिनँ भनेर भनेका थिए । तर मेरो बानी के थियो भने जब म सेटमा पुग्थें, उनलाई ‘गुड मर्निङ मिस्टर आनन्द’ भनेर बोलाउथें । उनी यताउती हेर्थे र मलाई ‘तिमी को हौ?’ भनेर सोध्थे । मैले ‘तपाईंसँग कुरा गरिरहेको छु’ भन्दा उनले ‘म त देव हुँ’ भन्थे । केही दिनपछि मैले पनि उनलाई देव भनेर बोलाउन थालें’ वहीदाले सम्झिएकी छन् ।

अनेक प्रतिभाको खोजी
देवानन्दले भारतीय फिल्म उद्योगलाई प्रतिभावाना कलाकार दिए । शत्रुघ्न सिन्हा, जैकी श्राफ, टीना मुनीम, तब्बू र जीनत अमानजस्ता कलाकारलाई बलिउडमा देवानन्दले नै भित्र्याएका थिए ।

ललितमोहन जोशीका अनुसार देवानन्द लागुऔषधको विषयमा ‘हरे रामा हरे कृष्णा’ बनाउन चाहन्थे । त्यसका लागि उनी कहिले लण्डन त कहिले नेपाल अनि कहिले नयाँदिल्ली पुग्थे । पहिलोपटक उनले कुनै पाटीमा जीनतलाई देख्दा जीनत चुरोट सेवन गरिरहेका थिइन् । देवानन्द जीनतको नजिक पुगेर ‘हेल्लो’ भन्दा जीनतले उनलाई चुरोटको प्रस्ताव गरेकी थिइन् । जीनतलाई पहिलोपटक देख्दा नै देवानन्दलाई आफ्नो फिल्मका लागि उनी उपयुक्र्त छिन् भन्ने लागिसकेको थियो ।

जीनतसँग प्रेम
देवानन्दको जीनतसँग पनि प्रेम बस्यो । उनले आफ्नो कथा ‘रोमान्सिङ विद लाइफ’मा ‘एकदिन मैले महशुस गरें कि मेरो जीनतसँग प्रेम बस्यो । मैले उनलाई यो कुरा भन्नका लागि ताज होटलको ‘रेनडावू’ रेष्टुरेन्टमा एक टेबल बुक गराएँ । त्योभन्दा अघि हामी सँगै एक पार्टीमा जानु थियो । त्यहाँ जीनतलाई सबैभन्दा पहिला मदिराले मातेका राज कपूरले स्वागत गरेका थिए । जीनतले झुकेर राजको खुट्टा छुने कोशिस गरिन् । तर मलाई उनीहरुबीच बढी नै नजिकपन छ भन्ने लाग्यो । राजले मेरै अगाडि जीनतलाई ‘तिमीले जहिल्यै सफा कपडा लगाउने आफ्नो बाचालाई निभाउन सकेनौं’ भन्दै हप्काए । त्यसपछि मेरा लागि जीनत पहिलोको जस्तो जीनत बनिन् । मैले जीनतलाई ‘तिमी रमाइलो गर्नु । म निस्किदैछु’ भनें । जीनतले ‘हामीलाई कुनै अर्को ठाउँ जानु थियो’ भनिरहँदा मैले ‘केही कुरा छैन’ भनें र त्यहाँबाट उठेर बाहिर निस्किएँ’ भनी लेखेका छन् । त्यसपछि देवानन्दले जीनततिर फर्किएर कहिल्यै हेरेनन् ।

देवानन्द ४७११ बासना मनपराउथे
भारतका प्रख्यात शेयर मार्केट विशेषज्ञ मोहन चूडीवाला देवानन्दको निकै नजिक थिए । ‘मैले आफ्नो शयनकक्षमा देवानन्दको एक ठूलो तस्वीर राखेको थिएँ । म यसको अगाडि टाउको निहुराएर आफ्नो काममा निस्कन्छु । मेरो शयनकक्षमा राखिएको तौलियामा पनि देवानन्दको तस्वीर छ । देवानन्तको देहान्तको केही दिन अघि मैले उनका लागि उनको मनपर्ने पफ्र्युम ४७११ किनेको थिएँ । त्यसको बासना उनलाई खुबै मनपथ्र्यो’, मोहनले भनेका छन् ।

नवाज शरीफसँग दोस्ती
देवानन्द नेपालका राजा महेन्द्र, भारतका पूर्व रक्षामन्त्री कृष्ण मेनन र पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफका नजिकका साथी थिए । नवाजसँग उनको भेट अटल बिहारी वाजपेयीले देवानन्दलाई आफ्नो बसमा बसाएर लाहौर लैजादा भएको थियो ।

बस यात्रा सुरु गर्नुअघि बाजपेयीले नवाजलाई ‘आफूसँग भारतको के कुरा ल्याउँ ?’ भनेर सोधेका थिए । जवाफमा नवाजले ‘केवल देवानन्दलाई आफ्नो साथ ल्याउनु’ भनेका थिए । देवानन्द जब लण्डन जान्थे, उनलाई भेट्न नवाज त्यहाँ पुग्थे ।

महिलामाझ लोकप्रिय
देवानन्द भित्रको हृदयले उनलाई कहिल्यै बुढो हुन दिएन । ललितमोहनका अनुसार दिलीप कुमार, राज कपूर र देवानन्दमा आफ्नै किसिमको विशेषता थियो । दिलीप अभिनयमा गम्भीरता देखाउथे । दिलीप एक समयमा एउटै मात्र फिल्ममा काम गर्थे । राज कपूरले पहिलोपटक भारतीय फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याए । तर घर–घरमा जो व्यक्ति लोकप्रिय थिए, ती थिए देवानन्द ।

‘मेरो फूपु मेरो आमाको उमेर समानको हुनुहुन्थ्यो । उहाँले देवानन्दको कल्पना गरेको स्वीकार्नु भएको थियो । हाम्रो उमेरका युवतीहरु देवानन्दको प्रशंसक थिए र उनीहरु पछिको पिढीमा पनि उनको कम प्रशंसक थिएनन् । दिलीप र राज कपूरमा नभएको तादाम्यता देवानन्दमा थियो । यी दुई महान कलाकार थिए तर देवानन्दको परिचय एक सर्वसाधारण व्यक्ति जस्तो थियो । उनका लागि विशेषत महिलाहरु पागलपनको हद पार गरेर मनपराउथे’, ललितले भनेका छन् ।

देवानन्दको फिल्मको कथाबस्तु शहरी विषयमा आधारित थियो । जस्तो कि ‘काला बजार’ ब्ल्याम मार्केटिङमा थियो । ‘तेरे मेरे सपने’ डाक्टरी पेशामा आधारित थियो । डाक्टरहरु गाउँमा किन जाँदैनन् भन्ने कथा यसमा थियो । ‘देश परदेस’ प्रवासी भारतीयको समस्यामा आधारित थियो ।


भर्खर

0