जर्मनीमा मर्केल युगको गौरवमय समापन | Khabarhub Khabarhub

जर्मनीमा मर्केल युगको गौरवमय समापन


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सम्भवतः यस शताब्दीकै सबैभन्दा सफल महिला राजनीतिज्ञ मानिनेछिन् युरोपेली युनियनमा सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीकी चान्सलर एन्जेला मर्केल । तिनै मर्केलको युग सकिएर जर्मनीमा नयाँ युग सुरु भएको छ । मर्केलको चौथो कार्यकाल आइतबार सकिएको हो । यस पटकको निर्वाचनका लागि मर्केलको दलले आर्मिन लास्केटलाई उम्मेदवार बनायो ।

सन् २००५ मा पहिलो पटक चान्सलरमा निर्वाचित भएपछि जर्मन राजनीतिक इतिहासमा पहिलो महिला चान्सलरको रूपमा उनले कीर्तिमान बनाइन् । सन् २०१८ मा मर्केलले क्रिस्चियन डेमोक्रेटिक युनियनको नेतृत्व गरे पनि २०२१ को निर्वाचनमा उम्मेदवार नहुने समेत घोषणा गरिन् ।

मर्केलको कार्यकाल धेरै कारणले अर्थपूर्ण रह्यो । उनकै कार्यकालमा आर्थिक मन्दीको समस्या देखापरेको थियो । नेतृत्वमा रहेको जर्मनीले यसलाई सम्हाल्दै आफूलाई शक्तिको रूपमा कायम नै राख्यो ।

पछिल्लो समय सिङ्गो संसार कट्टर राष्ट्रवाद या मानवीय संवेदना भन्ने बहसमा अल्झी रहेको थियो । आप्रवासीलाई गर्ने व्यवहारका सवालमा संसारका धेरै शक्ति राष्ट्रका नीति फरक रहे । यसमा उनीहरूको मत विभाजित भयो । यसबीचमा मर्केल पनि फरक रहिन् । मार्केलले लाखौँको मात्रामा सिरियाली शरणार्थीलाई शरण दिने निर्णय गरेकी थिइन् जसको अहिले पनि चर्चा हुन्छ ।

नाइजेरिया र मालीको भ्रमणमा गएर त्यहाँका नागरिकलाई देखाएको सद्भाव र गरेको सहयोग मर्केल कार्यकालको अर्को प्रमुख घटनाको रूपमा रह्यो । सन् २०२० को अक्टोबरमा भएको एक सर्वेक्षण अनुसार मर्केललाई ७५ प्रतिशत युरोपेलीले सबैभन्दा भरपर्दो नेताको रूपमा मानेका थिए ।

उनको कार्यकाल धेरै अर्थमा महत्वपूर्ण रह्यो र अनुकरणीय पनि रहे । उनले थप सैन्य भर्ना नगर्ने, आणविक हतियारमा खर्च नगर्ने र जीवाश्म इन्धन प्रयोग निरुत्साहित गर्ने कुरामा अग्रसर रहिन् । मार्केलकै कार्यकालमा समलिङ्गी विवाहले कानुनी मान्यता पायो, मजदुरको न्यूनतम ज्याला दर निर्धारण भयो । मार्केल कार्यकालले हरेक बाबुलाई सन्तानको हेरचार गर्न प्रेरित गरियो ।

मर्केल कार्यकालको पहिलो परीक्षण २००८ मा भयो । जर्मनी ठूलो आर्थिक सङ्कटमा परेको थियो तर बचत भने थियो । त्यसको एक वर्षपछि नै जर्मनी सङ्कटबाट उम्कन सफल भएको थियो ।

सन् २०१५ मा सिरियाबाट बसाइँसराइ गर्नेहरूलाई हरियो झन्डा देखाएपछि मर्केल चर्चामा रहिन् । लाखौँ सिरियाली भित्रन थालेपछि उनले जसरी पनि व्यवस्थापन गर्ने दृढता देखाएकी थिइन् । यस विषयमा समयमा सत्तारूढ दलभित्रै पनि मिश्रित मत थियो । मार्केल कार्यकालमै कोभिड–१९ को महामारी फैलियो । महामारीबाट जर्मनी अन्य धेरै युरोपेली मुलुकभन्दा कम प्रभावित भयो ।

फ्रान्कफर्टको एक सञ्चारमाध्यममा काम गर्ने राल्फ बोल्म्यानले मर्केलको बायोग्राफी लेखेका थिए । मार्केलको सफलता भनेकै संसार सङ्कटमा परेको समयमा जर्मनी स्थिर रहनु हो राल्फको निष्कर्ष छ ।

मर्केल २००५ मा चान्सलर निर्वाचित हुनुअघि उनलाई जिताउने अभियानमा सरिक थिए राल्फ । उनले मार्केलको कार्यकालमा आर्थिक सुधार हुने, सामाजिक सद्भाव फैलने र संसारले उदार जर्मनीको रूपमा चिन्ने दाबी गरेका थिए ।

जर्मनी एकीकरण अभियानका नायक भनेर चिनिने हेल्मट कोल सन् १९८२ देखि ९८ सम्म शासनमा थिए । हेल्मटलाई पनि लामो समय शासनमा रहने अवसर पाएकी मर्केल आफैँ सत्ता मोह त्यागेर टाढा भएकी हुन् ।

त्यसो त दोस्रो विश्व युद्धपछि संसारसामु जर्मनीको छवि प्रजातन्त्रको सवालमा कमजोर रहेको भन्ने थियो । यो छवि सुधार गर्न हेल्मट सफल भए र मर्केल झन् बढी सफल भइन् ।

मर्केल अहिले जर्मनीमा अत्यधिक लोकप्रिय हुनुका थप कारण पनि छन् । २००५ मा ५० लाखको बेरोजगार समस्या रहेको जर्मनीमा यो घटेर अहिले २६ लाख भएको छ।

जलवायु परिवर्तन अहिले संसारको चिन्ताको विषय हो । यस सवालमा पनि मार्केल अग्रणी रहिन् । नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने मर्केलको नीतिअनुसार जर्मनीले २०४५ सम्ममा कार्बन उत्सर्जनमा ‘नेट जिरो’ को लक्ष्य राखेको छ । नवीकरणीय ऊर्जामा चालेको कदमकै कारण उनी ‘जलवायु चान्सलर’ पनि भनिइन् ।

भविष्यको निम्ति आर्थिक स्रोत जुटाउने उनको नीतिका कारण जर्मनी अनेक सङ्कटबाट मुक्त भएको थियो । यस विषयमा उनी उनी आफ्नो कार्यकालको अन्त्यसम्म पनि अडिग भइन् ।

संसारकै सफल महिला राजनीतिज्ञ मानिए पनि उनीमाथि महिला हकहितका बारे थप आवाज नउठाएको भन्ने आरोप पनि लाग्ने गरेको छ । कोटा प्रणालीलाई त्यति महत्व नदिने मर्केलले गत वर्ष भने सत्तारूढ साझेदार सेन्टर लेफ्ट सोसियल डेमोक्रेटसँग मिलेर व्यवस्थापन बोर्डमा महिलाका लागि कोटा छुट्याएकी थिइन् ।

यी ऐतिहासिक महिलाको जन्म १९५४ मा जुलाई १७ मा भएको हो । क्रिस्चियन डेमोक्रेटिक युनियनकी नेतृ मर्केल २००२ देखि २००५ सम्म प्रमुख प्रतिपक्ष दलकी नेता थिइन् । पश्चिम जर्मनीकी ह्यामबर्गमा जन्मिएकी उनी आफ्नो बाबुसँग पूर्वीजर्मनी गएकी थिइन् ।

क्वान्टम केमेस्ट्री पढेकी उनी १९८९ सम्म वैज्ञानिक अध्ययन र अन्वेषणमा नै सक्रिय थिइन् । यसपछि राजनीतिमा सक्रिय मार्केल छोटो लोथर डी माइजारेको नेतृत्वमा रहेको पूर्वीजर्मनीको पहिलो प्रजातान्त्रिक सरकारको सहप्रवक्ता भइन् ।

सन् १९९० मा जर्मन एकीकरण भएपछि त्यहाँको संसद् बुन्न पुगेकी उनी १९९१ मा कोल सरकारको युवा महिलामन्त्री नियुक्त भइन् । यसपछि उनले सन् १९९४ सम्ममा वातावरण, प्राकृतिक सम्पदा र आणविक सुरक्षाको जिम्मेवारी पूरा गरिन् । सन् १९९८ मा उनको दल पराजित भएपछि उनी दलको महासचिव भइन् । त्यसको केही वर्षमा विपक्षी दलको नेता भइन् ।

न् २००५ मा क्रिस्चियन डेमोक्रेटिक युनियन र सोसल डेमोक्रेटिक पार्टीको गठबन्धनले सरकार बनाउँदा मर्केल जर्मनीको चान्सलर बनिन् । नाटो र युरोपेली युनियनसँगको सहकार्यमा अघि बढेकी मर्केलले युरोपेली काउन्सिलको पनि नेतृत्व गरिन् । लिस्बन सन्धि र बर्लिन घोषणामा उनको भूमिकाका कारण उनी संसारका उत्कृष्ट राजनीतिज्ञहरूको कोटीमा राखिएकी छन् । साथमा आर्थिक सङ्कटमा परेको जर्मनीलाई उकासेपछि त उनको लोकप्रियता झन् चुलियो ।

स्वास्थ्य क्षेत्रमा गरेको सुधार मर्केल कार्यकालको अर्को महत्वपूर्ण पाटो हो । लामो समय युरोपेली युनियनको नेतृत्व गरेकी उनले सन् २०१८ मा दलको नेतृत्व गरे पनि पाँचौँ पटक चान्सलर नबन्ने घोषणा गरिन् ।

आप्रवासीप्रति सद्भाव राख्ने मार्केलको पारिवारिक पृष्ठभूमि पनि आप्रवासी परिवारसँग सम्बन्धित थियो । उनका हजुरबुबा लुडविक कास्नर पोल्यान्डबाट जर्मनी आएका थिए । जर्मनीमा प्रहरीमा आबद्ध उनका हजुरबा बीसौँ शताब्दीको पोल्यान्डको स्वतन्त्रता सङ्ग्राममा सरिक थिए । उनले जर्मनीमा विवाह गरे अनि त्यही बसे ।

पश्चिम जर्मनीमा जन्मिएकी मर्केल पूर्वीजर्मनीमा धार्मिक कारणले पुगेकी थिइन् । रोमन क्याथोलिक उनको परिवारले लुथरन मान्यता अङ्गीकार गरेपछि उनका बाबु लथुरन पास्चरको रूपमा चर्चमा काम गर्न गर्न थाले ।

सन् १९६८ मा मार्केलले माक्र्सवादी पार्टीको युवक सङ्गठनको सदस्यता लिइन् । सो समयमा पार्टीको सदस्यता नलिनेलाई विश्वविद्यालयमा पढ्न कठिन हुन्थ्यो । पूर्वीजर्मनीमा माक्र्सवादी अध्ययन अनिवार्य विषय थियो ।

कार्ल मार्क्स विश्वविद्यालयमा अध्ययन गरेकी उनी एक इन्जिनियरिङ स्कुलमा सहायक प्राध्यापक भइन् । राजनीतिकरूपमा सन् १९९० मा इस्ट जर्मन क्रिस्चियन डेमोक्रेटिक युनियनले पश्चिमको शक्तिसँग गठबन्धन गरेको थियो । यो गठबन्धनमा उनको भूमिका अग्रणी थियो ।

सेप्टेम्बर १६, जर्मनीमा एउटा युगको अन्त्य भएर अर्को युग सुरु भएको दिन हो, अर्थात जर्मन नेत्री एन्जेला मर्केलको भूमिका फेरिने दिन । उनी अहिले आफ्नो दलको नृतत्वमा सीमित छिन् ।

बितेको १६ वर्षमा जर्मनीले आर्थिक सङ्कटबाट पाएको मुक्ति, नवीकरणीय ऊर्जा प्रयोगको व्यापकता, स्वास्थ्य क्षेत्रमा गरेको सुधार तथा सिरियाली आप्रवासीलाई दिइएको शरणका कारण पनि ७६ वर्षीया मर्केललाई संसारले सधैँ सफल नेत्रीका रूपमा मानिरहनेमा शंका छैन । एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १२ : ३० बजे

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल