कोभिडले अमेरिका–चीन सम्बन्ध कसरी अधोगतिमा लग्यो ? « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

कोभिडले अमेरिका–चीन सम्बन्ध कसरी अधोगतिमा लग्यो ?



भाग- ३

कोरोना संकट शुरू भएको पहिलो हप्ता अमेरिकाको विदेश मन्त्रालयले चीनको आफ्नो समकक्षी मन्त्रालयसँग यस विषयमा रचनात्मक संवाद जारी राख्यो ।

फोगी बटमलाई चीनको वुहानमा रहेका अमेरिकी कूटनीतिज्ञहरूका परिवारको अवस्थाका विषयमा बुझ्ने जिम्मा दिइएको थियो । केही समयपछि अमेरिकी कूटनीतिज्ञ र उनीहरूको परिवारलाई वुहानबाट उद्धार गर्न विमान पठाइयो । यसरी वुहान गएका विमानले त्यहाँका अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री लिएर गएको थियो ।

चीन आफैँले पनि सहयोगका लागि आक्रामक तरिका अपनायो । मार्च महिनाको अन्त्यसम्ममा चीनले करिब १२० देशमा ‘मास्क कूटनीति’ को प्रभाव विस्तार गरिसकेको थियो ।

शुरूवाती अवस्थामा चीनबाट आएको यस प्रकारको सहयोगको सबैले स्वागत गरे तर समयक्रमसँगै ‘मास्क कूटनीति’ लाई कोरोना भाइरस फैलाएको भन्दै अन्य देशले चीनको आलोचना गर्न सक्ने सम्भावना कम गर्न उसले अपनाएको उपायका रूपमा पनि व्याख्या हुन थाल्यो ।

यस प्रकारको सहकार्य ट्रम्प प्रशासनले चीन यात्रामा बन्देज लगाएको घोषणा गरेसँगै अन्त्य भयो । कोरोना भाइरस सम्बन्धी वासिङ्टनको अफवाह नपत्याउन भन्दै बेइजिङले विश्वव्यापी अभियान नै चलायो ।

चीनका विदेशमन्त्री वाङ यीले आफ्ना भारतीय समकक्षीसँग फेबु्रअरी १ मा भने, ‘हाम्रो सम्बन्धमा नकारात्मकता उत्पन्न गर्ने प्रयासका केही देशका प्रतिक्रिया नकार्नुहोस् ।’ चीनबाट हुने जति पनि लामो दूरीको यात्रा निर्बाधरूपमा सञ्चालन हुँदै थियो, त्यति नै मात्रामा कोरोना महामारी पनि फैलिँदै थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो देशमा भाइरसको खास जोखिम नभएको बताउँदै थिए । मैथ्यु र नवारोले ट्रम्पलाई महामारीको प्रभाव गम्भीरतपूर्वक लिन आग्रह गर्दै थिए । शायद उनीहरूको आवाजले ट्रम्पलाई केही असर गर्ने थियो तर उनी चिनियाँ राष्ट्रपति सि जिनपिङसँग पनि संवादमा थिए ।

फेबु्रओरी ६, मङ्गलबारको साँझ ट्रम्प र सिबीच फोनमा लामो कुराकानी भयो जसमा उनीहरूले चीनले सामना गर्नुपरेको स्वास्थ्य संकटका विषयमा कुराकानी गरेका थिए । कुराकानीपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपति ट्रम्पले चीन कोरोना भाइरस महामारीको चुनौतीबाट बाहिर आउने विश्वास व्यक्त गरिएको छ ।’

फोन संवादका समयमा ट्रम्पसँग रहेका उनका प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार भाइरसको चुनौतीका सन्र्दभमा उनी एउटा निचोडमा पुगिसकेका थिए ।

ती अधिकारीका अनुसार फोन संवादमा सिले ट्रम्पलाई अमेरिकाले चीनसँग हवाई र सबै प्रकारको सीमा बन्द गर्न गरेको निर्णयको स्वागत नगर्ने बताएका थिए ।

अर्कोतर्फ ट्रम्पले सिसँग अमेरिकाका सीडीसी अधिकारीलाई वुहान प्रवेशको अनुमति दिन आग्रह गरेक थिए । त्यसबखत वुहान पूर्णरूपमा लकडाउनको अवस्थामा थियो । सिले ट्रम्पको प्रस्ताव तत्काल अस्वीकार गर्दै भविष्यमा दुई पक्षीय सम्बन्ध बिग्रिन सक्ने हिसाबले कुनै कदम नचाल्न आग्रह गरे ।

यस्तै, सिले चीनबाट फैलिएको महामारी नियन्त्रणमा लिन सकिने बताएका थिए । उनले राष्ट्रपति ट्रम्पसँग भाइरसले कुनै असर नपार्ने समेत बताएका थिए । भाइरसको संवेदनशीलता पृथ्वीको तापक्रम बढेसँग कम हुने उनको दाबी थियो ।

यी कुनै पनि दाबी सत्य थिएनन्, यद्यपि ट्रम्पले सिको कुरामा विश्वास गरे अथवा उनले विश्वास गर्न चाहे । ‘त्यो एक सन्तोषजनक फोन वार्ता थियो,’ सिको सन्देश संक्षेपीकरण गर्दै एक अमेरिकी अधिकारीले भने, ‘यहाँ हेर्नुपर्ने कुरा केही छैन, हामीले अवस्था समालिसकेका छौँ, अतिरञ्जित नगर्नू ।’

यही सन्देश अमेरिकीहरूले आफ्ना राष्ट्रपतिको मुखबाट सिधा सुन्नेवाला थिए ।

‘अहिले जुन भाइरसको कुरा हामी गर्दैछौँ, त्यो अप्रिलमा गर्मी बढेसँग आफैँ निस्तेज भएर जान्छ’, फेबु्रओरी १० मा ह्वाइट हाउसमा आयोजित गर्भनरहरूको बैठकमा ट्रम्पले दाबी गरेका थिए । त्यस क्रममा उनले ‘धेरै मानिस’ भन्ने शब्द प्रयोग गरेको भए पनि त्यो चिनियाँ राष्ट्रपतितर्फ इङ्गित थियो ।

जब अमेरिकाका कोभिड संक्रमण बढ्न थाल्यो, ट्रम्प प्रशासनले आफूहरू झुक्याइएको आभास गरेर चीनमाथि औँला उठाउन थालेका थिए । भाइसरको उत्पति कहाँबाट भयो भन्ने पत्ता लगाउनु महत्वपूर्ण हुन्छ भन्ने उनीहरूको तर्क थियो । यो अवस्थामा अमेरिकाको विदेश मन्त्रालय यसको सम्पूर्ण दोष चीनलाई लगाउने मनसायमा थियो ।

केही हिच्किचाहटपछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले कोरोना भाइरसलाई ‘वुहान भाइरस’ को सज्ञा दिए । यो कडा शब्द थियो, यद्यपि भड्काउने प्रवृत्तिको थिएन ।

उता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता, जो कडा स्वभावका चिनियाँ कूटनीतिज्ञ मानिन्छन्, झाओ लिजिआनले मार्च १२ मा ट्वीट्स मार्फत अमेरिकी सेनाले भाइरस वुहानमा ल्याएको हुन सक्ने आरोप लगाए ।

मार्च १८ को पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना प्रशासनका अधिकारीको सुझावका बाबजुद कोभिड–१९ लाई ‘चिनियाँ भाइरस’ भने । उनले कोभिड–१९ लाई एक दर्जनभन्दा बढी ‘चिनियाँ भाइरस’ भनेका थिए । यसरी प्रोपगान्डा युद्ध शुरू भयो जसका कारण दुवै देशका अधिकारीहरू सार्वजनिक र निजी तवरमै एकअर्काप्रति अपमानको स्तरमा पुगे ।

निजी तवरमा तर स्पष्टरूपमा चिनियाँ कूटनीतिज्ञहरूले अमेरिका आफ्नो वाक्युद्धमा सचेत नभएको अवस्थामा वासिङ्टनका लागि निर्यात गर्दै आएको स्वास्थ्य सामग्री कटौति गर्ने चेतावनी दिए । बेइजिङ भाइरसका विषयमा हुने जुनसुकै प्रकारको पनि छलफल छल्ने प्रयासमा थियो । भाइरसको बारेमा कुनै पनि जानकारी बाहिरी विश्वलाई नदिएको भन्दै गरिने चीनको आन्तरिक नीति पनि उनीहरू नकार्न चाहन्थे ।

यसैबीच अमेरिकी अधिकारीहरूले बेइजिङको दण्डात्मक गतिविधि नजिकबाट नियाल्ने अवसर पाए । बेइजिङले चीनमा रहेको अमेरिकी कम्पनी थ्री एमले उत्पादन गरेको मास्क अमेरिका निर्यातमा रोक लगायो ।

यसले गर्दा पिटर नवारोलाई फक्स न्युजमा बेइजिङले चीनमा रहेका आफ्ना कम्पनीलाई प्रभावकारी रूपमा राष्ट्रियकरण गर्न लागेको आरोप लगाउने स्थिति उत्पन्न गरायो ।

बेइजिङ भाइरसका विषयमा हुने जुनसुकै प्रकारको पनि छलफल छल्ने प्रयासमा थियो । भाइरसको बारेमा कुनै पनि जानकारी बाहिरी विश्वलाई नदिएको भन्दै गरिने चीनको आन्तरिक नीति पनि उनीहरू नकार्न चाहन्थे ।

यसबीच ट्रम्प र सीबीच मार्च २६ का दिन अर्को फोन संवाद भयो । यस संवादमा सीले ट्रम्पलाई चीनमा बिरामीको संख्या घटेको र संक्रमण दर पनि कम हुँदै गएको बताए । उनले चीनमा जति पनि नयाँ संक्रमित छन्, ती अन्य देशबाट आएका हुन् भने ।

सीले ट्रम्पलाई सिधा केही नभने पनि यदि अमेरिकाले चीनको आलोचना जारी राखेको अवस्थामा पीपीई लगायतका सामग्री आपूर्ति नगर्ने चेतावनी दिए ।

सीले चीनविरुद्धको अमेरिकी अवाजले चीन–अमेरिका सहकार्यमा असर पर्ने बताउँदै त्यस्तो चेतावनी दिएका थिए । यसै अवसरमा सीले भाइरससँग लड्न आयुर्वेदिक औषधि प्रभावकारी हुने दाबीसमेत गरेका थिए ।

फोन संवादमा दुवै नेताहरू आफ्ना कर्मचारीहरूलाई आरोपको खेल बन्द गर्दै भाइरसविरुद्ध लड्ने सहकार्यमा जोड दिन आग्रह गर्ने कुरामा सहमत भए । यसबीचको अर्को तथ्य के थियो भने चीनको चेतावनीपछि अमेरिका केही हच्किएको थियो । आपतकालीन स्वास्थ्य सामग्री आपूर्तिमा चीनसँग भर पर्नुपर्ने कारणले पनि अमेरिका पछि सर्नुपर्ने अवस्था आएको थियो ।

‘जबसम्म विमान चीनबाट अमेरिका आइपुग्दैन हामी चुप लाग्नुको विकल्प थिएन’, अमेरिकाका एक वरिष्ठ अधिकारीले त्यस बखत भनेका थिए, ‘तर म के कुरा आश्वस्त पार्न चाहन्छु भने कसैसँग भर पर्नुपर्ने अवस्था अब अमेरिकालाई कहिल्यै आउने छैन ।’

२०२० मा अमेरिकामा राष्ट्रपतीय निर्वाचन थियो । आफूलाई राष्ट्रपतिमा पुनः निर्वाचित गराउने अभियानमा रहेका ट्रम्पले जब आफू निर्वाचन हार्दैछु भन्ने थाहा पाए तब उनले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूलाई चीनविरुद्ध लिनुपर्ने आवश्यक कदमका लागि स्वीकृति प्रदान गरे ।

अमेरिकाको न्याय विभागले अमेरिकामा रहेका चिनियाँ वैज्ञानिकहरूलाई पक्राउ गर्ने क्रम जारी राख्यो । यसरी पक्राउ पर्ने वैज्ञानिकहरूमध्ये धेरैले कि त आफ्नो विगतका विषयमा झुट बोलेका थिए अथवा शोध कार्य चोरेका थिए ।

यसबीच अमेरिकी नौसेनाले चीनले दाबी गर्दै आएको दक्षिण चीन सागर र ताइवानमा आफ्नो मिसन शुरू गर्‍यो । मेमा अमेरिकी विदेश मन्त्रालयले चिनियाँ सञ्चार माध्यमका व्यक्तिहरूलाई ९० दिनको मात्रै भिसा दिने नीति लियो, यसअघि उनीहरू जति पनि बस्न पाउने व्यवस्था थियो । चीनले गरेको मानव अधिकार हननका कारण अमेरिकाको वाणिज्य मन्त्रालयले चीनका कम्पनीलाई आफ्नो देशमा बन्देज लगाउने काम गर्‍यो ।

यस्तै, अमेरिकाको वित्तीय मन्त्रालयले पनि साँचो अर्थमा आफूसँग रहेको निषेध अधिकार चीनविरुद्ध प्रयोग गर्‍यो । यस क्रममा उसले ग्लोबल ‘मैग्रिट्स्की एक्ट’ को सहारा लिएको थियो । यो यस्तो एक्ट हो जुन मानवअधिकार हनन गरेको आरोपमा जुनै देशविरुद्ध प्रयोग हुन सक्छ ।

ट्रम्प प्रशासनका अन्य वरिष्ठ अधिकारीहरूले पनि चीन विरुद्ध कडा भाषण दिएका थिए । विदेशमन्त्री पोम्पियो, महान्यायाधिवक्ता विलियम पी.बार, एफबीआई निर्देशक किस्टोफर ए. रे लगायत ओब्रायनले उक्त समारोहलाई सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्ने सबै वक्ताहरूले चीनलाई निर्दयी करार गर्दै अमेरिकी लगायत अन्य प्रजातान्त्रिक देशलाई चीनविरुद्ध उभिन आग्रह गरेका थिए ।

जुलाईको शुरूवातमा म ट्रम्प प्रशासनका राष्ट्रिय सुरक्षा सल्लाकार ओब्रायनसँग एरिजोना राज्यको भ्रमणमा थिएँ । यो राज्य राष्ट्रपतीय निर्वाचनका हिसाबले अत्यन्तै प्रतिस्पर्धामक राज्य हो । म त्यहाँ ओब्रायनले चिनियाँ कम्युनिस्ट पार्टी र उसको वैश्विक उद्देश्यका र प्रभावका विषयमा दिने प्रवचन सुन्न गएको थिएँ । ओब्रायनले सामाजिक दूरी कायम गरेर एउटा कोठामा उपस्थित करिब तीन दर्जन मानिसबीच भनेका थिए, ‘राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका चीनको चुनौतीबाट आउन सक्ने खतराबाट व्युँझिएको छ ।’

विमानबाट स्वदेश फर्किने क्रममा मैले महामारीका कारण चीनसँगको समग्र सम्बन्धमा कस्तो प्रभाव परेको छ भनेर सोधेको थिएँ । ‘हामीले चीनको व्यवहार परिवर्तन हुने अपेक्षा गरेका थियौँ, त्यो केही परिष्कृत हुने हाम्रो सोच थियो’, राष्ट्रिय सुरक्षा सल्लाहकारले भने, ‘वुहान भाइरससँग अमेरिकी जनतालाई यो स्पष्ट भयो कि चीन कुनै पनि हालतमा परिवर्तन हुने वाला छैन । चिनियाँहरूले कोभिडलाई हतियारको रूपमा प्रयोग गरेका छन् । उनीहरू यो संकटबाट अमेरिकालाई विश्व व्यवस्थाबाट हटाउँदै आफ्नो नेतृत्व स्थापना गर्ने दाउमा छन् ।’

त्यसको दुई हप्तापछि ओब्रायनलाई कोभिड–१९ पोजिटिभ देखियो ।

(जोश रोगिन वासिङ्टन पोस्टमा विदेश नीति र राष्ट्रिय सुरक्षामा लेख्छन् । ४ मार्च २०२१ मा द वासिङ्टन पोस्टमा प्रकाशित यो लेख उनको पुस्तक क्याओस् अन्डर ह्यावेनः ट्रम्प, सी एन्ड द ब्याटल अफ ट्वान्टी फस्ट सेन्चुरीबाट साभार गरिएको हो । खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

 


भर्खर

0