बढ्दै छ किताबको अनलाइन व्यापार | Khabarhub Khabarhub

बढ्दै छ किताबको अनलाइन व्यापार


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको भोटाहिटी पुस्तक व्यापारको लागि सुपरिचित ठाउँ हो । त्यहाँ विद्यालयस्तरदेखि उच्च शिक्षासम्मका पुस्तक पाइन्छन् । लोक सेवा आयोगको परीक्षा तयारी गर्नेहरू आफूलाई चाहिने सामग्री खोज्दै त्यहीँ पुग्छन् । नाम नचलेका वरिष्ठ र गुमनाम लेखकहरूका पनि पुस्तक भोटाहिटीमै पाइन्छन् ।

कोभिड–१९ महामारीअघि किताब बेच्न भ्याईनभ्याई हुने त्यहाँका किताब व्यापारीहरू अहिले भने व्यापार घटेको भन्दै चिन्ता प्रकट गर्न थालेका छन् ।

जननी बुक्स स्टेशनरी सञ्चालक पृथ्वीचन्द्र सुवेदीका अनुसार कोरोना महामारीले पुस्तक व्यापारमा निकै असर पुर्‍याएको छ । उनी भन्छन्, ‘पछिल्लो समय किताबको व्यापार पहिलेका वर्षहरूभन्दा धेरै घटेको छ ।’

कोरोना भाइरसका कारण आर्थिक अवस्था कमजोर भएकाले पनि पुस्तक किन्ने पाठकको संख्या घटेको हुन सक्ने उनले बताए । समयमै विद्यालय नखुल्दा पनि व्यपारमा असर परेको उनको निष्कर्ष छ ।

पछिल्लो समय अनलाइनबाट किताबको व्यापार गर्नेहरूको संख्या बढेकाले पनि आफ्नो व्यापारमा असर परेको उनको भनाइ छ । भोटाहीटिमै लामो समयदेखि पुस्तक पसल गर्दै आएकी भागवती पराजुली पनि व्यापार पहिलेको भन्दा निकै कम भएको बताउँछिन् ।

यो वर्ष कोरोना महामारीका कारण लामो समय पसल बन्द गर्नुपरेको र सबै विद्यार्थीहरूको अनलाइनबाट पढाइ भएकाले पनि व्यापार घटेको उनको भनाइ छ । उनले भनिन्, ‘सरकारले असारमा नयाँ शैक्षिक सत्र सुरु गर्ने भनेको छ । अब त्यति बेला व्यापार हुन्छ कि भन्ने आशा छ ।’

आफ्नो पसलमा विद्यालयका किताबमात्र पाइने भएकाले पनि अरूको भन्दा आफ्नो व्यापार कम भएको उनले बताइन् । पछिल्लो समय किताबको व्यापार शुन्यजस्तै रहेको बुकहील पब्लिकेशनका सञ्चालक भूपेन्द्र खड्काको भनाइ छ ।

उनले भने, ‘नेपालमा मानिसहरूले अन्य कुराको लागि पैसा खर्च गर्ने गरे पनि किताबमा पैसा खर्च गर्नेको संख्या ज्यादै न्युन छ ।’ मानिसहरूमा किताब पढ्नुपर्छ भन्ने चेतना अझै राम्रोसँग विकास हुन नसकेकोले पनि किताब व्यापार सन्तोषजनक हुन नसकेको खड्का बताउँछन् ।

अनलाइनमा बढ्दो

कोभिड अनलाइनमार्फत किताब बिक्री गर्नेहरूको लागि अवसर बनेको छ । महामारी आउनुअघि मुश्किलले दैनिक २० वटा किताब बेच्ने अनलाइन बिक्रेताले अहिले दैनिक ७० वटासम्म बेच्ने गरेका छन् ।

कोरोना महामारीपछि अनलाइनबाट किताबको माग गर्ने पाठकहरूको संख्या बढेको अन्डर बुक्स नेपालका सञ्चालक सुवेक आचार्यको भनाइ छ । उनी भन्छन्, ‘हामीले पाठकहरूको चाहनालाई ध्यानमा राखेर किताब बेचिरहेका छौँ । त्यसैले पनि पछिल्लो समय हाम्रो अनलाइनमार्फत बुक किन्ने पाठकहरूको संख्या बढेको छ ।’

अनलाइनमार्फत ४० देखि ५५ वर्षको उमेर समूहका पाठकहरूले सबैभन्दा धेरै बुक किन्ने गरेको उनले बताए । उक्त समूहले अर्थशास्त्र र राजनीतिका किताबहरू धेरै मगाउने गर्छन ।

३० वर्ष माथिको समूहले मदन पुरस्कार प्राप्त उपन्यासहरू बढी मगाउने गरेको आचार्यको भनाइ छ । त्यस्तै १८ देखि २८ वर्षका युवा समूहमा अंग्रेजी किताबको माग धेरै रहेको उनले बताए ।

लकडाउन हुनुअघि मुश्किलले दैनिक २५ वटा किताबको अर्डर आउने गरेकोमा लकडाउनपछि भने दैनिक ७० वटाभन्दा बढीको अर्डर आउने गरेको आचार्यले बताए ।

उनले भने, ‘सामान्य अवस्थामा पनि दैनिक ७० वटाभन्दा बढी किताबहरू बिक्री हुन्छन् । नाम चलेका लेखकको नयाँ पुस्तक सार्वजनिक हुँदा अझ धेरै अर्डर आउँछ ।’ कोभिडपछि अनलाइनबाट किताब किन्ने पाठकहरूको संख्या ह्वात्तै बढेको उनको भनाइ छ ।

लकडाउन पहिले मानिसलाई अनलाइनबाट सामान खरिद गर्ने बानी नभएकाले पनि माग कम थियो । लकडाउनले अनलाइन कारोबार गर्न बाध्यता जस्तो बनाइदिएको आचार्यको भनाइ छ ।

पसलमा पाइने मूल्यमा घरमै किताब आउने भएपछि पनि अनलाइनबाट किताब किन्ने पाठकहरू बढेको उनले बताए । अनलाइनबाट राम्रो सेवा पाएकोले पछिल्लो समय पाठकहरू अनलाइनबाट किताब किन्न थालेको उनको ठहर छ ।

अर्का अनलाइन बिक्रेता दीपेश आचार्यका अनुसार तुलनात्मकरूपमा यो वर्ष अनलाइनबाट किताब मगाउने पाठकहरूको संख्या बढेको छ । मानिसहरू विस्तारै आधुनिक प्रविधिमा रमाउन थालेकाले पनि अनलाइनमार्फत कारोबार गर्नेको संख्या बढ्दै गएको उनको निष्कर्ष छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ०५ बजे

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको