कार्बन उत्सर्जन घटाउने निर्णयमा विरोधाभास « Khabarhub
Logo
२९ चैत्र २०७७, आइतबार

कार्बन उत्सर्जन घटाउने निर्णयमा विरोधाभास



जलवायु परिवर्तनको बहसमा दुई परस्पर फरक सन्देश छन् । एउटा सन्देश हो कार्बन उत्सर्जन औद्योगिकीकरण युगअघिको अवस्थामा पुर्‍याउँदै ग्लोवल वार्मिङ कम गर्ने । यसो गर्न असम्भव छ । अर्को हो, अहिलेको अवस्थामा जलवायु परिवर्तनका कारण जे भइरहेको छ त्यसलाई ध्यानमा राखेर कार्बन उत्सर्जन तीव्ररूपमा कम गर्ने ।

विरोधाभास नै भए पनि सम्भवतः दुवै तर्क सही छन् । अहिलेकै प्रविधि प्रयोग गरेर सन् २०५० सम्म नेट जिरो कार्बन उत्सर्जन प्राप्त गर्न प्राविधिक र आर्थिक हिसाबले सम्भव छ । त्यसो गर्न हाम्रो बानी व्यवहारमा तीव्र गतिमा सुधार गर्नु पर्ने हुन्छ । नीति नियममा पनि व्यापक हस्तक्षेप गर्नुपर्ने हुन्छ । जटिल भए पनि अन्तर्राष्ट्रिय सहकार्यका लागि पहल गर्न आवश्यक हुन्छ ।

तीव्र गतिमा प्रगति हुँदै गरेको प्रविधिले सामाजिक र राजनीतिक हिसाबमा जलवायु परिवर्तनसँग जुध्दा आउन सक्ने अड्चन समाधान गर्न सहयोग गर्न सक्छ । यद्यपि, यस्ता प्रविधिको प्रगतिले मात्रै कार्बन उत्सर्जन नेट जिरो बनाउने यात्रामा सहयोग गर्न सक्ने छैन ।

यो काम सिद्ध गर्न निकै चुनौतीपूर्ण छ । संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी कार्यदलका अनुसार कार्बन उत्सर्जन सन् २०३० सम्ममा १ दशमलव ५ प्रतिशतमा पुर्‍याउन सन् २०१० मा उत्सर्जन भएको कार्वनको मात्रा प्रत्येक वर्ष ४५ प्रतिशतका हिसाबमा घटाउँदै जानुपर्छ ।यसरी घटाउन सकेमात्रै सन् २०५० सम्म नेट जिरोको अवस्थामा पुग्न सकिन्छ । यो लक्ष्यमा पुग्न दैनिक ऊर्जाको प्रयोगमा आजैदेखि व्यापक कटौती गर्नु आवश्यक हुन्छ ।

कार्बन उत्सर्जन घटाउनु वर्तमान चुनौतीसँग जुध्ने एउटा पाटोमात्रै हो । यसका अन्य पाटाहरू पनि छन् । विश्वमा दैनिकरूपमा हुने वातावरण प्रदूषण पनि घटाउनुपर्छ । मिथेन रसायनको प्रयोग कम गर्नुपर्छ ।

करिब एक सय देशले यो शताब्दीको आधासम्ममा आफूलाई कार्बन तटस्थ बनाउने वाचा गरेका छन् । यसो गर्न उत्सर्जन घटिसक्नुपर्ने थियो, त्यस्तो भएको छैन । कोरोना महामारीका कारण कार्बन उत्सर्जन केही घटेको जस्तो देखिए पनि खासमा यो बढ्दै गएको छ ।

महामारीपूर्वको अवस्था हेर्दा कार्बन उत्सर्जन कम गर्न छुट्याइएको बजेट विश्वले सन् २०३५ सम्ममै सक्ने अवस्था थियो ।

वैज्ञानिकहरूको निरन्तरको आह्वानका बाबजुद कार्बन उत्सर्जनको चुनौती सामना गर्न पर्याप्त तयारी भएको पाइँदैन । यसले गर्दा मानव समाज कार्बन उत्सर्जनको चुनौती समाना गर्न असफल हुने पो हो कि भन्ने नकारात्मक भावना पनि उत्पन्न भएको छ ।

प्रविधिका कारणले बढेको सकारात्मकता र पर्याप्त काम हुन नसक्दाको नकारात्मकताबीच सहअस्तित्व कसरी कायम गर्ने ? धेरै क्षेत्रमा कार्बन उत्सर्जनमा नेट जिरोको अवस्थामा पुग्न प्रविधिका कारणले सहज र सस्तो छ । पुनः प्रयोग गर्न मिल्ने सोलार र वायु ऊर्जा विश्वका सबै देशमा कम मूल्यमा नै प्रयोग गर्न मिल्ने बनाउन सकिन्छ । यस्तो ऊर्जाको प्रयोग जति बढ्यो यसको लागत त्यति नै कम हुँदै जान्छ ।

निश्चिय पनि यस्तो ऊर्जाको प्रयोग केही समय त्यसको उतार—चढाव रोक्न ब्याट्रीको प्रयोग गर्नुपर्छ । खुसीको कुरा के भने ब्याट्री सर्वसुलभ हुनुका साथै सस्तो हुँदै गएको छ । पछिल्लो अवस्थामा विद्युतीय सामग्रीको प्रयोग बढ्नुका साथै यातायातमा पनि विद्युतको प्रयोग बढेको छ ।

हालसम्म पनि जलवायु परिवर्तनका क्षेत्रमा प्रभावकारी कदम चाल्न नसक्नुका केही कारण छन् । कार्बन उत्सर्जन कम गर्दै जिरो कार्बनको अवस्थामा पुग्न हाल सञ्चालनमा रहेका यातायातका साधनलाई विद्युतीय साधनले प्रतिस्थापन गर्न सकिन्थ्यो । तर, सञ्चालन भइरहेको साधानको सट्टामा अर्को प्रयोग गर्दा लाग्ने खर्चका कारण यस्तो कदम चाल्न नसकिएको हो ।

कार्बन उत्सर्जन कम गर्दा दीर्घकालमा मात्रै फाइदा पुग्छ, तत्काल फाइदा हुँदैन । यद्यपि सोलार लगायतका सामग्री तत्काल प्रयोग गर्दा पनि फाइदा नै छ । हाल प्रयोग गरिरहेको सेवा त्योभन्दा कम मूल्यमा सोलारको प्रयोगबाट लिन सकिने हुँदा यसको फाइदा तत्काल प्रयोगमा पनि छ ।

करिब एक सय देशले यो शताब्दीको आधासम्ममा आफूलाई कार्बन तटस्थ बनाउने वाचा गरेका छन् । त्यसअनुसार उत्सर्जन घट्नुपर्ने थियो । कोरोना महामारीले केही घटेको जस्तो देखिए पनि खासमा बढ्दै छ ।

जलवायु सम्बन्धी कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गर्न नसक्नुको अर्को कारण पनि छ । त्यो हो, हाल प्रयोग गरिरहेका साधनबाट अर्कोमा प्रवेश गर्दा त्यसले घरेलुका साथै अन्तर्राष्ट्रिय प्रभाव पनि सिर्जना गर्छ । साधन प्रयोगमा बदलाव ल्याउँदा आन्तरिकरूपमा केही रोजगारी सिर्जना भए पनि लाखौँ रोजगारी घुम्ने खतरा पनि हुन्छ ।

मानिलिऔँ, यसले रोजगारी गुम्नेभन्दा रोजगारी बढी सिर्जना गर्ने अवस्था आयो तर पुरानो काममा अभ्यस्त रहेका मानिस जो नयाँ काममा जान सक्दैनन्, त्यस्ताको रोजगारी सधैँका लागि खोसिने सम्भावना पनि उत्तिकै रहन्छ ।

परिवर्तनपछि आउने तरलता विकसशील देशको सबैभन्दा ठूलो समस्या हो । हरित प्रविधिको विकाससँगै यसमा केही परिवर्तन आउन सक्ने भए पनि यस्ता प्रविधिको छनोट गर्दा उत्पन्न हुने आर्थिक समस्या कसरी निरूपण गर्ने भन्ने विषय प्रमुख हुन्छ । विकसित देशमा एउटा अवस्थाबाट अर्को अवस्थामा प्रवेश गर्न जति सजिलो हुन्छ, विकासशील देशमा परिवर्तन आत्मसात गर्न त्यति नै अप्ठेरो हुन्छ ।

त्यसैले, जलवायु परिवर्तन सम्बन्धी लक्ष्य भेट्न प्राविधिक प्रगतिको महत्त्वपूर्ण भूमिका भए पनि समयमै लक्ष्य भेट्न यति मात्रै पर्याप्त हुने छैन । यस दृष्टिकोणबाट समस्या विश्लेषण गर्दा नकारात्मकतावादीहरू सही लाग्न सक्छन् ।

सन् २०१५ को पेरिस जलवायु सम्झौतामा गरेको प्रतिबद्धता अनुरूप देशहरूले आवश्यक काम गरेका छैनन् । यसले गर्दा यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान ३ डिग्री सेल्सियसभन्दा कम राख्ने योजना सफल नहुन पनि सक्छ । अझ त्यस अगावै हामीले जलवायु परिवर्तनको भायावह अवस्था समाना गर्नुपर्ने पनि हुनसक्छ ।

जलवायु परिवर्तन सम्बन्धमा हाल देखिएको विरोधाभास नीति निर्माताले समाधान गर्न सक्छन् । त्यसो गर्न धेरै क्षेत्रमा तीव्रगतिमा निर्णायक कदम चाल्नुपर्छ । निराशावाद परास्त गर्न पनि बृहत्तररूपमा जलवायु समस्यामा देखिएको तरलता सम्बोधन गर्नुपर्छ । यसका लागि घरेलु तथा अन्तर्राष्ट्रिय राजनीतिज्ञहरूले अतुलनीय प्रतिबद्धतासहित काम गरेर देखाउनुपर्छ । त्यसो हुँदामात्रै असम्भव ठानिएको काम सम्भाव बनाउन सकिन्छ ।

(कमाल टर्कीका पूर्वअर्थमन्त्री हुन् जो हाल बु्रक्लिन इन्स्टिच्युटसँग आबद्ध छन् । सवास्टियन ब्रुक्लिन इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता हुन् । १७ फेबु्रअरी २०२१ मा द प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन्)


भर्खर

0