ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो « Khabarhub
Logo
१६ मंसिर २०७८, बिहीबार

ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो



ताप्लेजुङ– ताप्लेजुङमा यतिखेर अलैंची कृषकहरू घरमा भेटिन छाडेका छन् । अलैंची टिपेर भित्र्याउनका लागि किसानहरू बगानमै बस्न थालेपछि गाउँघर सुनसान जस्तै बनेका छन् । उता अलैंची बगानमा भने मानिसहरूको भिडभाड देखिन्छ ।

सिरिजंगा गाउँपालिका—६ का अलैंची कृषक हर्क माबो घर छेडेर अलैंची बगानमा बसेको करिब महिना हुन लाग्यो । उनले यस वर्षको दशैँ पनि बगानमै अलैंची टिप्दै मनाए । आउँदै गरेको तिहार पनि अलैंची बगानमै बित्ने उनी बताउँछन् । उनी बिहानदेखि बेलुकीसम्म पाकेको अलैंची टिप्ने गर्छ । दिनभर टिपेको अलैंची बेलुकीदेखि राति ११ बजेसम्म सम्मा गर्छन् ।

मेरिङदेन गाउँपालिका—७ नाल्बुका अलैंची कृषक विमाना लिम्बुलाई जतिसक्यो चाँडो अलैंची टिपी सक्नु छ । चाँडो बगानमा अलैंची टिपी सकेर उनी लोकसेवाको तयारी गर्ने सोचमा छिन् । त्यसैले उनले दैनिक दश जनाभन्दा बढी खेताला लगाउँदै आएकी छन् । गत दशैँमा पनि एक दिनमात्र घरमा बसेको उनको भनाइ छ । उनी तिहारसम्ममा आफ्नो बगानको अलैंची टिपिसक्ने योजनामा छिन् ।

फक्ताङलुङ गाउँपालिका—६ लेलेपका अलैंची कृषक समीर फेम्बु अहिले अलैंची बगानमा खेतालासहित अलैंची टिप्दै छन् । गत साता बेमौसमी वर्षा भयो । उनले वर्षामा भिजेरै अलैंची टिपे । उनी वडा कार्यालयका कर्मचारीसमेत हुन । उनले छिट्टै अलैंची भित्र्याएर कार्यालय पनि धाउनु छ ।

अलैंची कृषक दशैँ अगाडी नै घर छोडेर बगानमा बसेका छन् । ताप्लेजुङमा बेसी क्षेत्रमा असोजको पहिलो सातादेखि लेकाली क्षेत्रमा मंसिर १५ सम्म अलैंची टिप्ने चटारो हुन्छ । अहिले मध्ये क्षेत्रमा अलैंची टिप्ने समय भएको छ । बेसीदेखि अलैंची टिपाई लेकाली क्षेत्रमा क्रमशः सर्दै जाने गर्छ । मंसिर अन्तिम सातासम्ममा किसानले घरघरमा नयाँ अलैंची भित्र्याई सक्छन् ।

अलैंची टिप्ने मजदुर पाउनै गाह्रो

विगतका वर्षमा गाउँघरमा अलैंची टिप्नका लागि छरछिमेकीबीच अर्मोपर्मो गरिन्थ्यो । एक छिमेकीको बगानमा टिपाई सकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ ।

अलैंची खेती हुने क्षेत्रमा प्राय सबै गाउँलेको अलैंची बगान छ । आफ्नो बगानमा आफैंले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जंगली जनवाले पाकेको फल खाइदिने गर्छन् । त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ । तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका—५ का अलैंची किसान कुमार राईले बताए ।

उनले भने, ‘आजभोलि खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोके खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याई नभ्याई हुन्छ ।’

गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका—४ कृषक अनिता लिम्बुले बताइन् ।

अलैंची बगान विस्तार

केही वर्ष अगाडि सीमित क्षेत्रमा मात्र अलैंची खेती गरिन्थ्यो । तर, सात वर्ष पहिला अलैंचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुग्यो । राम्रो बजार मूल्य पाएको वर्षदेखि अलैंची बगान विस्तार हुन थाल्यो । केही वर्ष अगाडि सहायक खेतीका रूपमा अलैंची खेती गरिन्थ्यो । अलैंचीले राम्रो बजार मूल्य आएसँगै पुर्खौली खेतीपातीको रूपमा गर्दै आएको धान, मकै, कादो जस्ता प्रमुख अन्न खेती हुने जमिनमा पनि किसानहरूले अलैंची खेती विस्तार गरेका छन् ।

अलैंचीको राम्रो बजार मूल्य पाएसँगै वैदेशिक रोजगारीमा जान तम्सिएका युवाहरू खेती गर्न आकर्षित भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैंची खेती गर्न थालेका छन् ।

बिस्तारै जिल्लामा अलैंची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र पाँचथर सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ । अहिले ताप्लेजुङमा करिब चार हजार तीन सय हेक्टर क्षेत्रफलमा अलैंची खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाँचथर सम्पर्क कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख विनय महर्जनले बताए ।

सात वर्ष अगाडि एक मन (४० केजी) को एक लाख २० हजार रुपैयाँमा बजारमा खरिद बिक्री हुने गर्थ्यो । त्यस समयमा अलैंचीले कालो सुनको उपनाम पाएको थियो । तर, त्यस यताका वर्षमा अलैंचीको बजार मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । केही वर्ष अगाडि एक मन अलैंची एक लाख २० हजारमा बिक्री गरेका फक्ताङलुङ गाउँपालिका—६ का अलैंची कृषक मेघवीर लिम्बुले गत वर्ष प्रतिमन २२ हजार रुपैयाँमा बिक्री गरे । निरन्तर अलैंचीको बजार मूल्य ओरालो लागेपछि किसान निरास बन्न पुगेका छन् ।

तर, अहिलेको बजार मूल्यले भने किसान उत्साहित भएका छन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा मंगलबार प्रतिमन ४१ हजारदेखि ४२ हजारसम्ममा खरिद बिक्री भइरहेको उद्योग वाणिज्य संघ ताप्लेजुङका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले बताए । अहिलेको बजार मूल्य पाँच वर्ष यताकै राम्रो भएको उनले बताए ।

गत वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिकटन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टका अनुसार ताप्लेजुङमा अघिल्लो वर्षहरू भन्दा गत वर्ष १० देखि १५ प्रतिशतले उत्पादन वृद्धि भएको हो ।

जिल्लामा अलैंची खेती गरिएको कूल चार हजार ३०२ हेक्टर क्षेत्रफलमध्ये चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट नियमित उत्पादन भइरहेको विष्टले जानकारी दिए । जिल्लाको नौ स्थानीय तहका ६१ वडा मध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबै वडामा अलैंची खेती गर्ने गरिएको छ ।


भर्खर

0