चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी | Khabarhub Khabarhub

चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो ।

गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । आयोजनास्थलमै पुग्न सकिने अवस्था नभएकाले यकिन क्षति हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनले भने भने, “अहिले हेडवर्क १०/१५ मिटरसम्म पुरिएको अवस्थामा रहेकाले क्षति यति नै भयो भन्न सकिने अवस्था छैन ।”

चैतमा काठमाडौँमा पानी ल्याउने लक्ष्य लिइएकामा थोरै तलमाथि भए पनि धेरै नहुने समितिले जनाएको छ । हेडवर्कमा कति क्षति भएको छ त्यसका आधारमा कति समय लाग्ने भन्ने हुन्छ ।

अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताए । ‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ ।

त्यहाँ हटाउँदा आएका सामग्री कता लैजाने भनी अन्योल रहेको सूचना अधिकारी पन्तले बताए । उनले भने, “साँघुरो ठाउँमा एकैपटक धेरै उपकरण लैजान नसक्ने अवस्था छ, त्यसले समय लाग्नसक्ने देखिएको छ ।”

हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो । त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको समितिले जनाएको छ ।

पछिल्लो बाढीले गर्दा यहाँ रहेका सडक बगाएको छ भने अरु संरचनामा कति क्षति पुग्यो भन्ने थाहा नभएको सूचना अधिकारी पन्तले बताउनुभयो । उनले भने, “पहिलो बाढीपछि नै परामर्शदाता कम्पनीले त्यहाँ पुगेको क्षति र मर्मतका बारेमा अध्ययन गरिरहेको छ ।”

बाढीका कारण सबैभन्दा बढी असर अम्बाथानसम्म पुग्ने सडक र ‘हेडवर्क’ मा पुगेको अनुमान गरिएको छ । अहिले सडक रहेकै स्थानमा पुनःनिर्माण गर्ने कि नयाँ रेखाङ्कनमा गर्ने भनी छलफल भइरहेको सूचना अधिकारी पन्तले बताए ।

सडक र पुलको विज्ञ जनशक्ति सडक विभागसँग भएकाले ऊसँगको सहकार्यमा यसमा निर्णय लिइने सूचना अधिकारी पन्तले बताए ।

अहिले भएको सडकको विकल्पमा अर्काे ठाउँबाट वैकल्पिक सडक खुलाउने काम दीर्घकालीनरूपमा गरिनुपर्ने भए पनि तत्कालका लागि भइरहेको सडकमा स्तरोन्नति अघि बढाइएको उनले बताए ।

अहिले डोजरमात्रै लैजान सकिने बाटो बनाउने प्रयास भइरहेको छ । “यहाँका सडकको स्तरोन्नति र मोड फराकिलो बनाइरहेको छ”, उनले भने, “हेलम्बु गाउँपालिकाले सडक खुलाउने काम गरिरहेको छ ।”

सडकमा कति क्षति पुग्यो र मर्मतका लागि कति समय लाग्छ भनी विस्तृतरूपमा मूल्याङ्कन गरिनेछ । सडक पहिलेको रेखाङ्कनभन्दा माथिबाट लैजाँदा सुरक्षित हुनसक्ने उनले बताए ।

“भविष्यमा पुग्न सक्ने क्षतिको आकलन गरेर पुलहरू नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ”, उनले भने, “त्यसले गर्दा पहिले भएको क्षतिभन्दा पुनःनिर्माणका लागि लागत बढी लाग्ने देखिएको छ ।”

आयोजनाले हालसम्म रु दुई अर्ब क्षति भएको अनुमान गरिएको छ । मर्मत र पुनःनिर्माण गर्दा त्यो रकम बढ्नसक्ने सूचना अधिकारी पन्तले बताए ।

हेडवर्कमा भएको क्षति त्यहाँ रहेको लेदो सफा गरेर नहेरेसम्म थाहा नहुने उहाँको भनाइ छ । निर्माणस्थलमा रहेका संरचना पुनःनिर्माणमा समय र लागत दुबै बढी लाग्ने देखिएको छ । साउन महिनाको बाढीले सडकमा थप क्षति पुगेपछि आयोजनास्थलमा रहेका संरचनामा भने पहिलो बाढीले गराएको क्षति जति हो त्योभन्दा बढी भएको नपाइएको सूचना अधिकारी पन्तले बताए ।

अहिले तत्काल सडकको ‘एलाइमेन्ट’ परिवर्तन गर्न नसकिने भए पनि दीर्घकालीनरूपमा परिवर्तन गरेर निर्माण गर्नुपर्ने देखिएको छ ।

दीर्घकालीनरूपमा सडकका लागि पुनः डिजाइन गर्नुपर्ने समितिले जनाएको छ । झण्डै दुई दशक पहिले निर्माण सुरु भएको आयोजना गत फागुनमा सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी आउन थालेको थियो ।

आयोजनाको मुख्य संरचनाका रूपमा रहेको सुरुङको निर्माण सकिएपछि अस्थायी बाँधबाट पानी ल्याउन थालिएको थियो । आयोजनाको ‘हेडवर्क’ निर्माणको अन्तिम काम भइरहँदा आएको बाढीले धेरै क्षति पुर्‍याएको छ ।

राष्ट्रिय गौरवको सो आयोजना काठमाडौँ उपत्यकामा रहको खानेपानीको समस्या समाधानको दीर्घकालीन उपायका रूपमा रहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १० : ५९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका