अनलाइन कक्षा : कतै इन्टरनेटको दुरुपयोग, कतै बिजुली नभएर दुःख | Khabarhub Khabarhub

अनलाइन कक्षा : कतै इन्टरनेटको दुरुपयोग, कतै बिजुली नभएर दुःख


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणको सकारात्मक सहउत्पादनका रूपमा विकास भएको शिक्षण सिकाइका वैकल्पिक माध्यममध्ये अनलाइन कक्षामा शिक्षकका आफ्नै गुनासाहरू छन् ।

अनलाइनमा पढाउने क्रममा शिक्षकका अनेक अनुभवहरू छन् । काठमाडौँ त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयकी शिक्षिका उर्मिला मानन्धरलाई एक दिन एक जना अभिभावकको फोन आयो । ती अभिभावकले शिक्षिकाले नपढाएको भन्ने गुनासो गरे ।

उर्मिला अचम्ममा परिन् । कुरा बुझ्दै जाँदा विद्यार्थीले मिसले आज नपढाउने भन्नुभएको छ भनेको रहेछ । उसले अभिभावकलाई पटक पटक यसो भनेर ढाँटेको रहेछ ।

उनै शिक्षिकाले अनलाइन कक्षामा पढाउने क्रममा धेरै बेर म्युट बसेका र बोलाउँदा नबोलेका छात्रहरूका बारे सोधपुछ गर्दै जाँदा समूहमा मिलेर गेम खेल्दै गरेको थाहा भयो । ती छात्रहरू घरमा ल्यापटप र मोबाइल फोन जस्ता एकभन्दा बढी उपकरणको पहुँचमा रहेका पाइए ।

शिक्षिका उर्मिलाले खबरहबसँग भनिन्, ‘पढाइमा राम्रै मानिएका विद्यार्थी पनि अनलाइन कक्षामा सहभागिता देखाएर अनलाइन गेम खेल्न रहेछन् ।’ कक्षाका उत्कृष्ट मध्येका एक विद्यार्थीले आफूहरूले अनलाइन कक्षामा सहभागिता देखाएर गेम खेल्ने गरेको स्वीकार गरेको पनि उनले बताइन् ।

उनका अनुसार अभिभावकलाई जानकारी भएपछि म्युट गरेर गेम खेल्ने प्रवृत्ति बन्द भएको छ । घरमा अभिभावकले छोराछोरीको अनलाइन कक्षाबारे चासो नदिँदा वा चासो दिने समय नपाउँदा विद्यार्थीहरूले पढाइमा ध्यान नदिने र ढाँट्ने गर्दा रहेछन् ।

अभिभावकले विद्यार्थीको क्रियाकलापमा ध्यान नदिँदा यस्ता समस्या बढ्दै गएको उनले बताइन् ।
काठमाडौँकै बालुवाटारस्थित पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक विनिता रञ्जितले पनि कतिपय विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी भएको देखाएर अन्यन्त्र व्यस्त हुने गरेको बताइन् ।

उनले पनि घरमा अनलाइनमा बस्न मिल्ने एकभन्दा बढी उपकरणमा पहुँच भएका विद्यार्थीहरू एउटाबाट कक्षामा देखिने र अर्कोबाट गेम खेल्ने गरेको फेला परेको बताइन् । आर्थिकरूपले सम्पन्न र बुबाआमा दुवै जना काममा जाने परिवारका बालबालिकामा यस्ता खालका समस्या बढी देखिने गरेको उनको भनाइ छ ।

उनका अनुसार काठमाडौँमा कतिपय विद्यार्थी घरेलु कामदार छन् । त्यस्ता केही विद्यार्थी अनलाइन कक्षामा त देखिन्छन् तर पढाइमा ध्यान दिन पाउँदैनन् । अनलाइन पढाइ छात्रको तुलनामा छात्राहरूमा बढी प्रभावकारी देखिएको शिक्षकहरूको अनुभव छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षकले बताएअनुसार धेरैजसो विद्यार्थीहरू सहभागी देखिन्छन् तर पूरै समय म्युट गरेर बस्छन्, भिडियो खोल्ने कुरै भएन । भिडियो खोल्न भन्दा इन्टरनेटले काम गर्दैन भन्छन् । अनुपस्थितिबारे जानकारी लिँदा कतिपय विद्यार्थीले बिजुली भएको, मोबाइल फोनमा चार्ज नभएको, इन्टरनेटले काम नगरेको, डाटा सकिएको जस्ता कारणहरू बताउँछन् ।

भौतिक उपस्थितिमा हुने शिक्षणमा पनि सबै विद्यार्थीले बराबर ध्यान दिँदैनन्, बराबर सिक्दैन् । शिक्षकको प्रत्यक्ष निगरानी नहुने अनलाइन कक्षा पढाइप्रति रुचि भएको र सिक्न चाहने विद्यार्थीका लागि मात्रै उपयोगी हुने ती शिक्षक बताउँछन् ।

बिजुली नै छैन, इन्टरनेटको के कुरा !

सुविधा भएको ठाउँमा इन्टरनेट र उपकरणको दुरुपयोग भएको छ भने धेरै विद्यालय बिजुली र इन्टरनेटको पहुँचबाट बाहिर छन् ।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १ देखि १२ सम्मका करिब ८० लाख विद्यार्थीमध्ये कम्तीमा २२ लाख विद्यार्थी रेडियो, टेलिभिजन, इन्टरनेट आदि सञ्चार सेवाको पहुँचबाट बाहिर छन् ।

विद्यार्थीले चलाउन सक्ने गरी कम्प्युटर भएका विद्यालयको संख्या निकै थोरै रहेको केन्द्रका प्रवक्ता माधवप्रसाद दाहालको भनाइ छ । उनका अनुसार देशभरका २० प्रतिशत विद्यालयमा मात्र विद्यार्थीले चलाउन सक्ने गरी कम्प्युटर पुगेका छन् । कार्यालय प्रयोजनका लागि पनि देशभरका सबै विद्यालयमा कम्युटर पुगेको छैन ।

सहरी क्षेत्रका सामुदायिक विद्यालयमा कम्प्युटर र इन्टरनेटको सुविधा पुगे पनि दुर्गम ठाउँहरूमा अझै त्यस्तो सुविधा छैन । यस्तो अवस्थामा वैकल्पिक शिक्षा प्रभावकारी हुन नसकेको शिक्षकहरू बताउँछन् ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ मा कुल १२ प्रतिशत सामुदायिक विद्यालयमा मात्र कम्प्युटर पुगेको उल्लेख गरिएको छ । हालसम्म १३ प्रतिशत विद्यालयमा मात्र इन्टरनेट सुविधा पुगेको छ, ३५ प्रतिशत विद्यालयमा मात्र बिजुली छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ३६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०