सामाजिक सुरक्षा कोषमा आबद्ध हुन छैन उत्साह | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन छैन उत्साह


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सरकारले श्रमिकका लागि ‘नयाँ युगको शुरूवात’ भनेको सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको सहभागिता अझै निराशाजनक छ ।

सरकारले देशभर सञ्चालित सबै व्यावसायिक तथा सेवाप्रदायक संस्थाहरूलाई कोषमा आबद्ध हुन आह्वान गर्दै आएको छ । कोषमा आबद्ध हुनेको संस्था र श्रमिकको संख्या भने उत्साहजनक छैन ।

कोषका सूचना अधिकारी डा. रोशन कोजुका अनुसार ‘हरेक संघ संस्था नवीकरण गर्दा कोषमा आबद्ध हुनै पर्ने नीति भएमात्रै रोजगारीदाताहरूको संख्या बढ्नेछ ।

कोषले सम्बन्धित निकायसँग यस विषयमा छलफल समेत चलाएको छ । कोषमा हालसम्म १३ हजार ६१६ रोजगारीदाता र १ लाख ९४ हजार श्रमिक आबद्ध भएका छन् ।

यस्तो छ क्षेत्रगत आबद्धता

यही चैत १२ गतेसम्मको कोषको तथ्यांकअनुसार सबैभन्दा धेरै आबद्ध हुनेमा शैक्षिक संस्था रहेका  छन् । हालसम्म २ हजार ७८२ शैक्षिक संस्था कोषमा आबद्ध छन् ।

त्यस्तै आवास तथा भोजन सेवातर्फ ४७८, कृषि, वन तथा माछापालनतर्फ ४२८, प्रशासनिक तथा सहयोगी सेवातर्फ १ हजार २८८, औद्योगिक उत्पादनतर्फ १ हजार ७२१, विद्युत, ग्यास, तथा वातानुकूलित सेवातर्फ २१३, पानी आपूर्ति ढल निकास, फोहोर व्यवस्थापन र उपचरात्मकतर्फ १६, खानी तथा उत्खनन्तर्फ ३५ र सूचना तथा सञ्चारतर्फका ५०९ संस्था कोषमा आबद्ध छन् ।

त्यसैगरी, वित्तीय तथा बीमातर्फ १ हजार ४३१, कला, मनोरञ्जनतर्फ ७, मानव स्वास्थ्य तथा सामजिक कार्यतर्फ ७४० र अन्य सेवातर्फ १ हजार २८४ संस्था आबद्ध छन् ।

पेशागत वैज्ञानिक तथा प्राविधिकतर्फ २१३, घरजग्गा कारोबारतर्फ १३९, पूर्ण र रिटेल व्यापारतर्फ १ हजार ४३३, आवास र खाद्य सेवाका ४७८, घरेलु संस्थाका ५१ रोजगारदाता लगायत अन्य विभिन्न सेवा प्रदायक रोजगारीदाताहरू कोषमा आबद्ध छन् ।

सामाजिक सुरक्षा कोषमा हालसम्म ४ अर्ब ७६ करोड ९९ हजार रुपैयाँ रहेको सूचना अधिकारी कोजुले बताए । हालसम्म ४ करोड ६५ लाख ३३ हजार रुपैयाँको दाबी भुक्तानी भएको छ ।

कोषमा आबद्ध श्रमिकलाई हुने लाभ

कोजुका अनुसार कोषमा आबद्ध हुनेलाई पहिलो प्राथामिकतामा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा रहेको छ ।

श्रमिकले कुनै रोगको उपचार गराउँदा वार्षिक १ लाख रुपैयाँसम्म पाउनेछन् । उपचार भएको प्रमाण कोषमा दिएपछि रकम सिधै अस्पतालको खातामा जम्मा हुनेछ ।

दोस्रो, दुर्घटना तथा अशक्तता सुरक्षा रहेको छ । यो स्किममा श्रमिकले कार्यक्षेत्रमै र कार्यक्षेत्रबाहिर भएको दुर्घटनामा फरकफरक सुविधा पाउँछ । कार्यक्षेत्रमा दुर्घटना हुँदा सबै उपचार खर्च कोषले व्यहोर्नेछ ।

बाहिर भएको दुर्घटनाको उपचारका लागि बढीमा ७ लाख रुपैयाँसम्म खर्च कोषले दिनेछ । काम गदागर्दै शारीरिक रूपमा अपाङ्गता वा अशक्तता भएमा अवस्था हेरेर क्षतिपूर्ति स्वरूप निवृत्तिभरण दिने व्यवस्था छ ।

अर्को स्किम अन्तर्गत श्रमिकले ६० वर्ष उमेर पूरा भएपछि निवृत्तिभरण पाउन थाल्नेछन् । यसरी निवृत्तिभरण पाउन कोषमा १५ वर्ष योगदान गरेको हुनुपर्छ ।

कोषमा आबद्ध भएर योगदान गरेको श्रमिकले एकमुष्ठ रकम निकाल्न वा मासिक निवृत्तिभरण लिन सक्नेछन् । भवितव्य परेर बितेको खण्डमा श्रमिकका आश्रितले जीवित रहेसम्म ६० प्रतिशतका दरले निवृत्तिभरण पाउनेछ ।

त्यसमा न्यूनतम तलबको ४० प्रतिशतका दरले श्रमिकका २ जनासम्म छोराछोरीले २१ वर्ष उमेर नपुगुन्जेल शैक्षिक वृत्ति पाउनेछन् ।

प्रदेशअनुसार आबद्धता

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने रोजगारीदाता र श्रमिकको संख्या सबैभन्दा धेरै बाग्मती प्रदेशमा छ ।

बाग्मती प्रदेशमा ९ हजार ९९ रोजगारीदाता र १ लाख ४५ हजार २ सय जना श्रमिक आबद्ध छन् । कर्णाली प्रदेशबाट सबैभन्दा कम आबद्धता छ । यही चैत ११ गतेसम्ममा कर्णाली प्रदेशका १४३ रोजगारीदाता र ४७० जना श्रमिक आबद्ध भएको कोषले जनाएको छ ।

प्रदेश १ मा १ हजार ८६० रोजगारीदाता र २० हजार श्रमिक, प्रदेश नम्बर २ मा ५५० रोजगारदाता र १३ हजार ७९४ श्रमिक आबद्ध छन् ।

गण्डकी प्रदेशमा ६१७ रोजगारीदाता र ७ हजार १५४ श्रमिक, लुम्बिनी प्रदेशमा १ हजार १७३ रोजगारीदाता र ६ हजार ८०८ श्रमिक तथा सुदूरपश्चि प्रदेशमा १६५ रोजगारीदाता र ७६५ श्रमिक आबद्ध छन् ।

वैदेशिक रोजगारीमा रहेकालाई आबद्ध गर्ने योजना

कोषको प्रथम रणनीतिक योजना (आर्थिक वर्ष २०७७/७८—२०८१/८२) मा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जानेलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गरिने छ ।

नेपालको पन्धौँ योजनाले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउने नीति लिएको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ०१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६