बाँकी दुई वर्ष ओली नै प्रधानमन्त्री रहून् ! « Khabarhub
Logo
३० चैत्र २०७७, सोमबार

बाँकी दुई वर्ष ओली नै प्रधानमन्त्री रहून् !



प्रधानमन्त्री केपी शर्मा ओलीले यही ११ गते पार्टीकै एक कार्यक्रममा ‘प्रतिनिधिसभा पुनर्स्थापना भए पनि प्रचण्ड र माधव प्रधानमन्त्री खोज्दै मैकहाँ आउने हुन्’ भने । यसो भनेको करिब दुई घण्टापछि सर्वोच्च अदालतबाट पुनर्स्थापनाको आदेश आयो ।

अर्को दिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले घोषणा गरे— प्रधानमन्त्रीमा केपी ओलीको विकल्प छैन ।

त्यसको भोलिपल्ट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकमा लेखे— पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व) मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजेजस्तै हो, कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔँ !

ओली निकटका अन्य केही व्यक्तिको पनि यही आशयको अभिव्यक्ति आएको छ ।

सर्वोच्च अदालतको आदेश आएको भोलिपल्ट बसेको सत्तारूढ नेकपा ओली समूहको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले ‘मुलुकलाई अन्योलमा छाडेर प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने’ बताए । उनका अनुसार सबैसँग छलफल गरेर ओलीले ‘उचित’ निर्णय लिनेछन् ।

यी अभिव्यक्तिहरूको निष्कर्ष हो— प्रतिनिधिसभाले नहटाएसम्म प्रधानमन्त्री ओलीले पदत्याग गर्ने छैनन् । अर्थात, प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय अदालतबाट बदर भएकोमा उनले आफूमाथि कुनै नैतिक संकट बोध गरेका छैनन् । र, फेरि पनि ओली नै प्रधानमन्त्री रहनेछन् ।

राजनीति र रणनीतिका चतुर खेलाडी ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक हो भन्ने भनेर थाहा नपाउने कुरै थिएन ।

रात रहेपछि अग्राख पलाउँछ भनेर बुढापाकाले त्यसै भनेका होइनन् ।
यहाँ पद प्रधान कुरा रहेछ, ‘राजनीतिक निर्णय’ का नाममा संविधानमाथि जस्तोसुकै घात गर्न पाइने ! म नरहे केही पनि रहँदैन, सबै बर्बाद हुन्छ भनेर अहङ्कार प्रकट गर्न पाइने ।

राजनीति; अर्थनीति; धर्म, दर्शन र अध्यात्म; समाजशास्त्र; साहित्य; विश्वइतिहास र भूगोल; आयुर्वेद र आधुनिक चिकित्सा; विज्ञान इत्यादि सबैजसो क्षेत्रमा आफूलाई अब्बल जानकार ठान्ने ओलीले आफ्नो देशको संविधानको अक्षर र मर्म नबुझेका होइनन् । उनी संविधानसभामा निर्णायक हैसियतको पार्टी नेकपा एमालेका अध्यक्ष र सभाका एक सक्रिय सदस्य जो थिए ।

प्रतिनिधिसभामा एकै साथ राष्ट्रपतिविरुद्ध महाभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि प्रधानमन्त्री ओलीले खेलको नियमविपरीत एउटा पासा फ्याँकिदिए प्रतिनिधिसभा विघटनको । महाभियोग र अविश्वास प्रस्तावको तत्कालीन खड्गो टर्‍यो । सूर्य थापाले भनेझैँ सर्वोच्च अदालतबाट गोरु ब्याए उत्तम भइहाल्थ्यो, नभए पनि रात रहेपछि आखिर अग्राख त पलायो । दुई महिना एकलौटी गर्ने मौका मिल्यो ।

आखिर संविधानमाथि यति घात गरेर प्रतिनिधिसभा दुई महिना अवरुद्ध गर्नुको एउटै उद्देश्य पद जोगाउनु नै रहेछ ! फेरि पनि महाभियोग र अविश्वास प्रस्ताव सामना गर्नुपर्ने हुनसक्छ तर के थाहा पासा पल्टेर फेरि ओलीलाई नै दाउ पर्छ कि ! के थाहा, सूर्य थापाले भनेको गोरुको बिगौती ओली र उनका भण्डाराधिकारीहरूले नै खान पाउँछन् कि ! रात रहेपछि अग्राख पलाउँछ भनेर बुढापाकाले त्यसै भनेका होइनन् ।
यहाँ पद प्रधान कुरा रहेछ, ‘राजनीतिक निर्णय’ का नाममा संविधानमाथि जस्तोसुकै घात गर्न पाइने ! म नरहे केही पनि रहँदैन, सबै बर्बाद हुन्छ भनेर अहङ्कार प्रकट गर्न पाइने ।

ओली र ओलीका मान्छेहरू भन्दैछन्— ओली प्रधानमन्त्री नरहे सबैभन्दा पहिला चुच्चे नक्सा बुच्चे हुनेछ ! जनकपुरमा त्रिपालको घुम्टो ओढेको रेल जयनगरतिरै फिर्ता जानेछ ! नागढुङ्गाको सुरुङ पहिरोले पुर्नेछ, मेलम्चीको सुरुङमा भुइँचालो जानेछ ! रक्सौल र जोगवनीमा ढाट लाग्नेछ ! इत्यादि निकै लामो सूची पेश हुन थालेको छ ।

ओली देशका सबै समस्याका अचुक समाधान हुन् ! मुलुकले उनीजत्तिको राष्ट्रवादी प्रधानमन्त्री कहिल्यै पाएको थिएन ! ओलीको चमकदार अनुहार र वाचाल जिभ्रोमा नेपाली जनताको समृद्धि र सुखको जादु छ ! राजनीतिक स्थायित्व र स्थिरता हुनु भनेको ओली प्रधानमन्त्री भइरहनु हो ! ओली प्रधानमन्त्री नरहे अस्थिरताको आकाश खस्नेछ ! इत्यादि अर्को लामो सूची तयार छ ।

देशको विकास र समृद्धिका सन्दर्भमा म धेरै हदसम्म ओलीको विचार, दृष्टि र प्रतिबद्धताप्रति सहमत छु । यति दूरदृष्टियुक्त प्रधानमन्त्री मुलुकले विरलै पाएको हो । विकास र समृद्धिको दूरदृष्टि सामान्य कुरा होइन । कुनै दिन श्रीकृष्ण अनिरुद्ध गौतमले ‘स्वप्नदर्शी प्रधानमन्त्री’ लेखेका थिए ।

बितेका तीन वर्षमा मुलुकको प्रधानमन्त्रीका रूपमा ओलीले आमनागरिकमा आत्मविश्वासको एउटा बलियो जग हालेका हुन् । देशको हितमा दुवै छिमेकीसँग डटेर प्रस्तुत भएका हुन् ।

यस अर्थमा म प्रधानमन्त्री ओलीको समर्थक हुँ । ओलीले पाँच वर्ष एकल बहुमतका साथ देशको कार्यकारी नेतृत्व गरून् भन्ने शुभकामना दिने र अपेक्षा राख्ने नागरिक हुँ । म ओलीलाई कम्तीमा एक पूर्ण कार्यकाल देशको सफल प्रधानमन्त्रीका रूपमा देख्न चाहने व्यक्ति हुँ ।

ओलीले जानीजानी संविधान र कानूनमाथि गरेको घात र त्यही जगमा लिएका निर्णयबाहेक म ओलीको निर्धक्क समर्थक हुँ । बितेका तीन वर्षमा प्रधानमन्त्रीका रूपमा ओलीले हालेको देश विकासको र आत्मविश्वासको जगका आधारमा ओली मेरालागि आजसम्मकै उत्कृष्ट प्रधानमन्त्री हुन् । यति भन्न मलाई कुनै शङ्कोच छैन ।

ओलीले म र मजस्ता धेरैको विश्वासमा तुसारापात गरिदिए । तीन वर्षका केही प्रगति र विकासको जग देखाएर संविधानमाथि घात गरे ।

संविधान मिचेर निर्वाचन घोषणा गरे अनि त्यसको विरोध गर्नेलाई निर्वाचन नचाहने प्रतिगामी भने । जुन बेलाको भए पनि ‘निर्वाचन’ नामको अस्त्र ‘अग्रगामी’ नै हो भन्दै दुनियाँमा भ्रम छरे, अलाप्नुसम्म राग अलापे । संसद विघटन गर्नै पाइँदैन भनेर संविधानमा कहीँ लेखेको छैन, विघटन प्रधानमन्त्रीमा ‘अन्तरनिहित अधिकार’ हो भनेर आफ्नो वाचाल जिभ्रोको दुरुपयोग गर्दै भ्रम फिजाउने प्रयास गरे ।

हो, मैले ओलीको यही कूटिलताको समर्थन गर्न सकिनँ । संविधानमा अनेक कमजोरीहरू होलान् । संविधानका केही प्रावधानहरूमा मेरा पनि केही असहमतिहरू छन् । अनुभवहरूका आधारमा तिनलाई सच्याउँदै जाने ठाउँ पनि संविधानले नै दिएको छ ।

ओलीले संसदीय प्रक्रियाहरूको अपमान गरे । विधेयक पास गर्न प्रक्रियाले लिने समय र छलफललाई सरकार असफल बनाउने षड्यन्त्र ठाने । प्रथम अध्यक्षका रूपमा आफ्नो दलका शीर्ष नेताहरूसँग सहमति बनाउन नसक्ने आफ्नो अक्षमतालाई असहयोग भन्दै प्रचार गरे ।

असहयोग भएको नाममा आफूलाई सजिलो हुने गरी अध्यादेश जारी गराए । प्रतिनिधिसभा विघटन गरेर संसदीय सुनुवाइ नहुने अवस्था सिर्जना गरी धमाधम नियुक्तिहरू गरे । अनि, सार्वजनिक मन्चबाट भाषण गरे— देख्नुभयो त ! केही व्यक्ति पार्टी छाडेर हिँडेपछि संवैधानिक आयोगहरूमा फटाफट नियुक्ति भयो, धमाधम काम भयो ।

यो त सोझै निरङ्कुशताको बाटो हो । मैले जानेअनुसार संविधान र कानूनमाथि घात गरेर अनि सत्ताशक्तिको दुरुपयोग गरेर धुत्र्याइँले सबैलाई पाखा लगाउँदै एकलौटी गर्नु निरङ्कुशता हो । मैले बुझेको सर्वसत्तावाद यही हो ।

निरङ्कुश शासकले संविधान, कानून र आफूसरहका सहयात्रीहरूलाई बाधक देख्छ । जनताको प्रतिनिधि विधिको बाटोमा हिँड्छ । शासक सकेसम्म आफ्नो सजिलो हुनेगरी विधि बिथोल्छ, बिथोल्न सकेन भने घात गर्छ र सूर्य थापाले भनेझैँ गोरु ब्याउने अपेक्षा गर्छ । ओली यही बाटोमा अघि बढेका हुन् ।

म यो पनि निर्धक्क भन्न सक्छु, ओलीले भनेका ‘केही व्यक्तिहरू’ पनि दुधले नुहाएका होइनन् । पानीमाथिका ओभाना पनि होइनन् । र, ओलीले बितेका दुई महिनामा जति दुत्कारे त्यति निकृष्ट पनि होइनन् ।

शासक हुने ओलीको चाहनामा म सहमत हुन सकिनँ । निरङ्कुश शासक हुने चाहनामा त झन् सहमत हुने कुरै भएन । तैपनि, म अपेक्षा गर्दछु, संविधानमाथिको घात बन्द गरेर आगामी दुई वर्ष ओली नै प्रधानमन्त्री रहून् । प्रतिनिधिसभा विघटनको घटनाबाट उनले शिक्षा लिए होलान् भन्ने अपेक्षा गरेको छु ।

प्रचण्ड र माधव प्रधानमन्त्री खोज्दै मैकहाँ आउने हुन्, प्रधानमन्त्रीमा ओलीको विकल्प छैन, प्रचण्ड र माधवले प्रधानमन्त्री पद पाउनु त गोरुको बिगौती खानु हो भन्ने अभिव्यक्तिहरू फेरि पनि घोर अहङ्कारका प्रतीक हुन् । मेरो विरोध र असहमति ओलीको विकास दृष्टिकोणमा होइन, उनको अडान र काम गर्ने प्रतिबद्धतामा पनि होइन, आफूलाई निर्विकल्प ठान्ने उनको अहङ्कारमा हो ।

म मेरो प्रधानमन्त्रीको अनुहारमा कति मात्राको कान्ति टल्केको छ भन्ने कुरामा भन्दा कति मात्रामा गम्भीरता झल्केको छ भन्नेमा ध्यान दिन्छु, उनको जन्मोत्सव समारोहमा पनि होइन ।

याद गर्न जरुरी छ, संसारमा निर्विकल्प केही हुँदैन । राजा मरेर राजगद्दी खाली हुँदैन भन्ने उखान यस्तै निर्विकल्पताको अस्वीकृतिमा बनेको हो । ओलीले संविधानमाथि जति नै घात गरेर पनि आखिर उनै प्रधानमन्त्री रहनु उनको सम्पूर्ण योग्यताको प्रमाण होइन । सत्ताको दाउपेचको परिणाममा ओली नै प्रधानमन्त्री रहनु ओली र उनका सहयोगीहरूको सम्पूर्ण सफलता पनि होइन । तर, आज उनीहरू यस्तै प्रचार गर्दैछन् । भ्रम छर्न तल्लीन् छन् ।

पाँच दशकदेखि राजनीतिमा लाग्नु र चौध वर्ष जेल बस्नु अनि गोलघरको यातना सहनु पनि देशको प्रधानमन्त्री हुन ओलीको सम्पूर्ण योग्यता होइन, लोकतन्त्रप्रति उनको पूर्ण आस्थाको प्रमाण त झन् हुँदै होइन । उनको धारा प्रवाह भाषण, उखान, व्यङ्ग्य, कटाक्ष र क्यारिकेचर पनि प्रधानमन्त्री हुने योग्यता होइन ।

अबको केही वर्षपछि कहिल्यै पनि जेल नबसेको, गोलघर देख्दै नदेखेको, २५ वर्ष उमेरको हाराहारीमा वा अझ ढिलो राजनीतिमा प्रवेश गरेको नागरिक प्रधानमन्त्री हुनेछ, राष्ट्रपति हुनेछ ।

देशको कार्यकारी प्रधानमन्त्रीका रूपमा ओलीले गरेका दीर्घकालीन महत्त्वका काम र विधि पालनामा इमानदारीको मापदण्डमा मात्रै उनको योग्यताको परीक्षण हुन सक्छ । उनी आफ्नो भाषणबाट एकै पटकमा लाखौँ मान्छे हँसाऊन् वा तिनको ताली खाऊन्, प्रधानमन्त्री हुन चाहिने अनिवार्य योग्यता त्यो पनि होइन, हुँदै होइन ।

म प्रधानमन्त्री ओलीको भाषणका प्रत्येक शब्द, वाक्य र हावभाव प्रधानमन्त्रीको पदको गरिमाको कसीमा घोट्छु । यसो गर्दा म अक्सर निराश हुन्छु, कहिलेकाहीँ घोर निराश । म मेरो प्रधानमन्त्रीको अनुहारमा कति मात्राको कान्ति टल्केको छ भन्ने कुरामा भन्दा कति मात्रामा गम्भीरता झल्केको छ भन्नेमा ध्यान दिन्छु, उनको जन्मोत्सव समारोहमा पनि होइन ।

मलाई थाहा छ देशको प्रधानमन्त्रीका आँखामा तीन करोड नागरिकमध्ये म एक जना हुँ । मेरा लागि म शतप्रतिशत हुँ तर मुलुकको प्रधानमन्त्रीका लागि म नगन्य प्रतिशत हुँ । गणितको भाषामा यो ‘नेग्लिजिवल’ हुन्छ ।

म चाहन्छु, प्रधानमन्त्रीले पनि मलाई शतप्रतिशत गनून् । नेग्लिजिवल नठानून् । म माने देशको एक नागरिक । जनता यस्तै नागरिकहरूको संयुक्त रूप हो ।


भर्खर

0