‘केटू’ हिमालका कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत (फोटोफिचर) | Khabarhub Khabarhub

‘केटू’ हिमालका कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत (फोटोफिचर)



काठमाडौँ- विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् ।

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् ।

उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् ।

आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।

उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।

विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्‍यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच सम्मान गरिनेछ ।

विमानस्थल उत्रिएको आरोही टोलीलाई र्‍यालीसहित ठमेलतर्फ लगिएको सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार ठमेल परिक्रमा गराएर बोर्डको कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा हुने विशेष कार्यक्रममा आरोही टोलीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

 

नेपाली आरोही समूह यही माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

प्रतिकूल मौसमका कारण आरोहण समय तालिका ढिलाइ भएको थियो । दोस्रो क्याम्पमा आरोहीको त्रिपाल र आरोहणका लागि आवश्यक उपकरण हावाले उडाएपछि आरोहणमा केही चुनौती  थपिएको थियो । विभिन्न कठिनाइबीच आरोहीले शिखरयात्रा पार गरी नेपालीको शानलाई विश्वभर पुर्‍याउन सफल भए ।

विश्व आरोहणको क्षेत्रमा नेपाली टोलीबाट अर्को नयाँ इतिहास रच्न सफल भएको छ । विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथापछि विश्वकै अग्लो केटू  आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो । जाडोयाममा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका थिएनन् ।

जाडोयाममा माइनस ८० डिग्रीको तापक्रम र १०० माइल प्रतिघण्टाको वायु गतिजस्ता प्रतिकूल अवस्थामा समेत आरोहण रच्ने नेपाली आरोहीको सफलताले विश्वभर चर्चा पाएको छ ।

विश्वभरका पर्वतारोहीले केटु हिमाललाई किलर हिमालको रूपमा समेत चर्चा गर्ने गरेका छन् । केटू हिमालमा अहिलेसम्म जम्मा ३६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यानसमेत गुमाइसकेको जनाइन्छ ।

निर्मलको यो दोस्रो कीर्तिमान हो । उनले सन् २०१९ मा छ महिनाभित्रै विश्वका आठ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाए ।

बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रूपमा कार्यरत रहँदा पुर्जाले ब्रिटिश सेनाको रोजाइमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन् ।

पुर्जालाई गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषितको घोषणासमेत गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १२ : ०६ बजे

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ