अब कांग्रेस पार्टीमा मधेशको नेतृत्व म गर्छु | Khabarhub Khabarhub

अब कांग्रेस पार्टीमा मधेशको नेतृत्व म गर्छु



पार्टीले आन्तरिक जीवन नपाएको तथा मधेशमा उपसभापति विमलेन्द्र निधिको एकाधिकार कायम रहेको भन्दै कांग्रेस सांसद डा. अमरेशकुमार सिंहले बुझाएको राजीनामा यो बेला चर्चामा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने अडान राख्दै राजनीनामा बुझाएका एमाले उपाध्यक्ष भीम रावलले फिर्ता लिए । कांग्रेस नेता सिंह भने आफ्नो अडानमा दृढ देखिन्छन् । फरक यति हो उपाध्यक्ष रावलले सभामुख समक्ष राजीनामा बुझाएका थिए भने नेता सिंहले पार्टी सभापतिलाई ।

पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण र समायोजनमा नेता सिंहको गम्भीर असहमति छ । निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना तथा युवा साथीहरूलाई समेट्न नखोजेको, क्रियाशील सदस्यता वितरणमा मनोमानी गरेको लगायत आरोप उपसभापति निधिप्रति नेता सिंहको छ । महाधिवेशन नजिकिँदै गर्दा आएको सिंहको राजीनामालाई बार्गेनिङका रूपमा बुझ्नेहरू पनि प्रसस्तै छन् ।

सर्लाही क्षेत्र नम्बर चारबाट प्रत्यक्ष निर्वाचित नेता सिंहसँग तेजेन्द्र काफ्लेले गरेको कुराकानीको सम्पादित अंश हामीले यहाँ प्रस्तुत गरेका छौँ

सांसद पदको राजीनामा त सभामुखलाई बुझाउनु पर्ने, राजीनामा पार्टी सभापतिलाई बुझाउनुभयो, किन ?

कुनै अर्को समस्या वा कारणले मैले राजीनामा दिएको होइन । त्यसकारणले मैले सभामुखलाई नदिएकै हो । म पार्टीको एउटा अनुशासित कार्यकर्ता हुँ । पार्टीको उम्मेदवारका रूपमा मैले सांसद पद जितेको हो । पार्टीको आन्तरिक किचलो तथा समायोजनका क्रममा क्रियाशील सदस्यताको वितरण र नवीकरणका नाममा पार्टीलाई केही गलत तत्वले एकलौटी कब्जा गर्न खोजेका छन्, त्यसको विरुद्धमा मेरो राजीनामा हो ।

यसकारण मैले पार्टी सभापतिलाई राजीनामा दिएको हो । संसदसँग मेरो केही समस्या छैन । पार्टीबाट म पलायन हुन खोजेको होइन । पार्टीमा संघर्ष गर्न खोजेको हो र पार्टीमा भएको गलत क्रियाकलापलाई बहसमा ल्याउन खोजेको हो ।

त्यसो भए, कांग्रेसको आन्तरिक संरचनामा असन्तुष्टि हो तपाईंको ?

कांग्रेसको आन्तरिक संरचनामा जुनरूपमा सैद्धान्तिक स्खलन भइरहेको छ, जुन सैद्धान्तिक विचलन भइरहेको छ, पार्टीको जुन नीति र नेतृत्व गलत दिशामा जाने खतरा पैदा भइरहेको छ, त्यसलाई सही दिशा र नेतृत्वका लागि महाधिवेशनको मुखैमा मैले राजीनामा दिएकै हो ।

पार्टीमा आएको विचलनको दोषी को हो त ?

पार्टीमा विचलन आउनुमा दोषी धेरै छन् तर मेरो मुद्दा भने मधेशसँग जोडिएको छ । मधेशविना कांग्रेस बलियो हुन सक्दैन । त्यसैले मधेशमा बढी प्रभाव हुनु पर्छ । राष्ट्रपति भएर रामवरण यादव सक्रिय राजनीतिबाट टाढा भएपछि र महन्थ ठाकुरले पार्टी छाडेपछि ०६४ सालपछि नेपाली कांग्रेसको होलसेल नेता एकमात्र उपसभापति विमलेन्द्र निधि हुनुहुन्थ्यो । तर कस्तो भइदियो भने उहाँको पद बढ्दै गयो तर मधेशमा कांग्रेस हराउँदै गयो, प्रभाव हट्दै गयो ।

यसको कारण खोजी गर्ने बेला आएको छ । मधेशमा वा समग्र देशमा कांग्रेस आजको दिनमा व्यापारी, तस्कर जस्ता तत्वहरूले, जसलाई देश र जनताप्रति माया छैन, पार्टी कब्जा गरेर पद लिने र राज्यको दोहन गर्ने काम गरिरहेका छन् । निष्ठा र जनताप्रति कुनै जिम्मेवारी र माया छैन । त्यसकारणले यसको सैद्धान्तिक बहस हुनुपर्छ कि अब पार्टीको सही नीति बनाउन सक्ने र निर्देशन गर्न सक्नेले मात्र नेतृत्व लिनु पर्छ ।

पार्टीमा निष्ठावान र स्वच्छ छविको मान्छेले नै नेतृत्व लिनु पर्छ । ठीक छ, व्यापारिक पृष्ठभूमिको सहयोग चाहिन्छ तर पार्टी व्यापारीलाई बुझाउन सकिन्न । पार्टी भनेको व्यापार होइन । पार्टीमा काम गर्ने राजनीति भनेको समाज सेवा हो, देश सेवा हो, जनता र देशप्रति समपर्ण हो । अहिले के भइरहेको छ भने दुर्भाग्यपूर्णरूपमा गलत तरिकाले विभिन्न क्षेत्रका व्यापारीबाट कब्जा गर्ने काम भइरहेको छ । राजनीतिको भ्रष्टीकरण भएको छ । त्यसैले पार्टीमा मेरो अभियान शुद्धीकरण हुनु पर्‍यो भन्ने हो । पार्टीको शुद्धीकरणविना पार्टी सुदृढीकरण हुँदैन ।

भनेपछि तपाईंको राजीनामा महाधिवेशनमा बार्गेनिङ प्वाइन्ट हो ?

होइन, होइन ! बार्गेनिङ प्वाइन्ट होइन । महाधिवेशनअगाडि पार्टीका तमाम कार्यकर्तालाई सैद्धान्तिक, राजनीतिक र आर्थिक छलफलमा लैजानका लागि हो । हाम्रो पार्टीको आगामी नीति कस्तो हुनुपर्‍यो, आगामी दिनमा दिशा के हुनुपर्छ, नीतिअनुसारको नेतृत्व हुनुपर्‍यो । त्यसकारणले अहिले पार्टीमा मूल्याङ्कन गर्ने बेला आएको छ र छलफल गर्ने बेला आएको छ ।

पार्टीको आत्मा नै छलफल हो, सैद्धान्तिक बहस हो । आज हाम्रो परराष्ट्र नीति कस्तो हुनुपर्‍यो, हाम्रो आर्थिक सामाजिक रूपान्तरणको परिस्थिति कस्तो हुनुपर्‍यो, त्यो परिस्थिति निर्माण नभईकन देशमा लगानीमैत्री वातावरण हुँदैन । हाम्रो पार्टी युवामैत्री हुनुपर्‍यो । समावेशीमैत्री हुनुपर्‍यो । विविधता झल्कने किसिमको पार्टीको अनुहार हुनुपर्‍यो ।

त्यसो भए तपाईंले पार्टीभित्र मधेशमा निधिको विकल्प खोजी रहनुभएको हो ?

मैले चुनाव जितेको र उहाँले हारेको कारणले मात्रै भनेको होइन तर मलाई विश्वास छ कि म मधेश र कांग्रेसलाई जोड्ने काम गर्छु । किन कि मधेशको जुन आवाज छ त्यो कांग्रेसले प्रतिनिधित्व गर्नुपर्छ र मधेशको भलाइका लागि पनि एउटा लोकतान्त्रिक पार्टी बलियो हुनै पर्छ ।

लोकतान्त्रिक पार्टी बलियो नभईकन मधेशको अधिकार सुरक्षित हुन सुरक्षित र पूरा हुन सक्दैन । त्यसकारणले लोकतान्त्रिक पार्टीले नै मधेशको अधिकार, समावेशीकरणको मुद्दा, नागरिकताको मुद्दा, आर्थिक विकासको मुद्दा सम्बोधन गर्न सक्छ ।

त्यसका लागि मधेशमा सही नेतृत्व आउनु पर्‍यो । मलाई विश्वास छ कि मधेशलाई मैले राम्रोसँग बुझेको छु । अध्ययन गरेको छु । भोगाइले पनि तीन पटक चुनाव जितेको छु । त्यसकारणले त्यहाँको जुन विविधता छ, जुन संरचना छ, कहाँ के बनाउनु पर्ने हो, त्यो अभियान मलाई थाहा छ ।

हामी बलियो कांग्रेस खोज्दैछौँ र बलियो कांग्रेसमा देशको भविष्य जोडिएको छ, नेपाली जनताको भविष्य जोडिएको छ । नेपाल र नेपाली जनतासँग हाम्रो भविष्य पनि गाँसिएको छ । त्यसकारणले यो बेलामा कमजोर कांग्रेसको परिकल्पना गरेर देश बलियो हुन सक्दैन । देशको लोकतन्त्र बलियो हुन सक्दैन, मधेश बलियो हुन सक्दैन । मधेशका अधिकार सुरक्षित रहँन सक्दैनन् । जनताको समावेशीकरणको मुद्दा सम्बोधन हुन सक्दैन ।

यो जुन गणतन्त्र, समावेशिता, नागरिकता जो मुद्दाहरू छन्, कांग्रेसले नै समाधान गर्छ । त्यसैले मैले हिमाल–पहाड–तराई, मेचीदेखि महाकाली जनजनको कांग्रेस बनाउन खोजेको हो ।

स्पष्ट रूपमा भन्दा मधेशमा निधिको विकल्पमा म छु भनेर भन्न नै खोज्नुभएको हो नि, होइन त ?

त्यो कुरा कार्यकर्ताले तय गर्छन् । जनताले तय गरेर निर्वाचनमा नै बताइसकेको छ । कार्यकर्ताको कोर्टमा बल छ, उनीहरूले नै तय गर्छन् ।

केन्द्रीय महाधिवेशनको मिति आउन एक महिना पनि बाँकी छैन अब । यो बीचमा राजीनामा बुझाउँदै गर्दा सभापतिले माग पूरा गर्छु भनेर आश्वासन पनि दिनुभएको छ । कसरी सम्बोधन होस् भन्ने तपाईंको माग हो ?

मेरो माग त राजीनामा पत्रमै छ, क्रियाशील सदस्यताको छिनोफानो पार्टीको विधिविधान, निर्देशिका, परिपत्रको आधारमा हुनुपर्‍यो । कसैले हुकुमी शासनको भरमा कब्जा गरेजस्तो नहोस् । कानूनी राज्यको मान्यता र कानूनी राज्य मान्ने हामी पार्टीमा पनि प्रजातान्त्रिक पद्धति हुनुपर्‍यो । पार्टीमा पनि रुल अफ ल स्थापित हुनुपर्‍यो । कसैले आफ्नो प्रभावको दुरुपयोग गरेर पार्टी कब्जा गर्न पाउँदैन ।

मलाई विश्वास छ कि यो पार्टीको हितमा छ र पार्टीको हितका लागि सभापतिले चाँडै निर्णय लिनुहुन्छ । नभएर फेरि म सभापतिसँग भेटेर कुरा गर्छु ।

राजीनामा पत्रमा एउटा वाक्य प्रयोग गर्नु भएको छ– स्वस्थ आन्तरिक जीवनसहितको गतिशील पार्टीले मात्र समस्या समाधान गर्छ । यो के भन्न खोज्नु भएको ? पार्टी अहिले निष्क्रिय छ ?

सही कुरा हो । मैले कुनै भावुकतामा, कुनै आवेशमा, कुनै कुण्ठामा राजीनामा दिएको होइन । कांग्रेसमा आगामी नेतृत्व कस्तो हुनुपर्‍यो, पार्टीको जिम्मा कस्ता व्यक्तिलाई दिन जरुरी छ, पार्टीमा पारदर्शिता कति आवश्यक छ, पार्टीको नीति कति जरुरी छ, यी विषयमा बहस हुनुपर्‍यो ।

पार्टी अहिले हुइमको भरमा चलिरहेको छ, दैनिक कार्यतालिकामा चलिरहेको छ । पार्टीले त दीर्घकालीन २५ वर्षमा, ५० वर्षमा कस्तो नेपाल बनाउने हो, त्यसको योजना पो बनाउनु पर्छ त ! देश र जनतालाई कहाँ पुर्‍याउन खोज्दैछौं ? देशको विकास र समृद्धि कहाँ पुर्‍याउन खोज्दैछौं ? यो यात्राको गन्तव्य देखाउन सक्नु पर्‍यो ।

पार्टी त एउटा माध्यम मात्र हो त्यो गन्तव्यमा पुग्नलाई । जनतालाई विश्वास र भरोसा दिलाउन सक्नुपर्‍यो । कांग्रेस नै हो, देशको लोकतान्त्रिकीकरण गर्ने, समावेशीकरण गर्ने, आर्थिक सामाजिक रूपान्तरण गर्ने र विभिन्न किसिमको विभेदको अन्त्य गर्ने भनेर भन्न सक्नुपर्छ ।

त्यो विश्वास दिन सक्ने नेतृत्व को त सिङ्गो कांग्रेसमा अब ?

अबको नेतृत्व त अहिले नै भन्दा छिटो हुन्छ । अहिले नै नाम कसैको नभनौँ । यो बहसको आधारमा जो उपयुक्त हुन्छ, त्यह अबको नेतृत्व । पार्टीको सैद्धान्तिक र राजनीतिक आधार तथा स्वच्छ र सक्षम छवि भएको व्यक्ति नेतृत्वमा आउनु पर्छ ।

तपाईंको कुराले त अहिलेको नेतृत्व असक्षम पुष्टि गर्दैछ । उसो भए अबको महाधिवेशनमा सभापति देउवाको विकल्प खोज्ने हो ?

होइन, त्यो त कार्यकर्ताले तय गर्छन् । मैले त कार्यकर्ताको बीचमा सैद्धान्तिक कुरा राखेको मात्र हो । कार्यकर्ताको आँखा खोल्ने काम गरेको मात्रै हो ।

सभापति देउवा, वरिष्ठ नेता पौडेलसहित अन्य ३–४ जना नेताहरू सभापातिको दौडमा हुनुहुन्छ । ती नेतालाई तपाईंको साथ रहन्छ कि अहिलेकै नेतृत्वको निरन्तरताका लागि सहयोग हुन्छ ?

एउटा कुरा के हो भने पार्टी नेतृत्वमा अब विस्तारै उमेर हद लगाउनुपर्छ । गतिशील र ऊर्जाशील समूहलाई बाहिर राखेर पार्टी बलियो र गतिशील बनाउन सकिन्न । म स्वस्थ र गतिशील पार्टी बनाउन चाहन्छु ।

राजनीति भनेकै डाइनामिक हो, स्ट्याटिक होइन । त्यसकारणले नेपाली कांग्रेसमा नयाँ बिपीको जन्म आवश्यक छ । सिद्धान्त र निष्ठामा बहस आवश्यक छ । अहिले हामीले नेपाली जनतालाई धेरै कुरा देखाउँन बाँकी छ । राजनीतिक परिर्वतनमात्र भयो सामाजिक र आर्थिक परिवर्तन हुन बाँकी छ । युवाहरूको भरोषाको केन्द्र त हुन सकेको छैन नि !

यो त दीर्घकालीन योजना भयो । महाधिवेशन आउनै लागेको छ, त्यसका लागि तपाईंको योजना के छ नि ?

एउटा कुरा के हो भने घोषित समयमा महाधिवेशन हुँदैन । किन कि समयले नै पुग्दैन ।

त्यसो भयो भने त पार्टी नै नरहने अवस्था पो आउने भयो त ?

त्यसको कुनै उपायको खोजी भइरहेको छ । पार्टीभित्र छलफल चलिरहेको छ, एउटा न एउटा उपाय निस्कन्छ । अधिवेशन शुरू भएपछि सकिन ५३ दिन चाहिन्छ ।

क्रियाशील सदस्यताको अन्तिम सूची बुझाएपछि १२ दिनपछि मात्र प्रक्रिया शुरू गर्न मिल्छ । क्रियाशील सदस्यताको निर्णय गर्न अझै ५–७ दिन लाग्छ । केन्द्रीय कार्यालयमा कार्यकर्ताहरू अनशनमा बसिरहेका छन् । त्यसैले निर्धारित समयमा नै महाधिवेशन हुनेमा शंका छ ।

एमाले उपाध्यक्ष भीम रावल र तपाईंले सांसद पदबाट राजीनामा दिनुभएको थियो । उहाँले त फिर्ता लिनुभयो, तपाईं पनि फिर्ता लिनुहुन्छ कि ?

एउटा कुरा भीम रावल र मेरो प्रक्रिया नै फरक छ । उहाँले त्यो दिन भोटिङबाट बच्नलाई राजीनामा दिनुभएको हो । एकातिर नैतिक दायित्व थियो, अदालतमा हस्ताक्षर गर्नुभएको छ भोट हाल्नलाई, अर्कोतिर एमाले पार्टीमै बस्नलाई भोट नदिनुपर्ने छ । यो बीचको अवस्था पार लगाउन उहाँले राजीनामा दिनुभएको हो ।

मेरो जुन राजीनामा छ त्यो संसदमा छैन, पार्टीभित्र छ । यो अहिलेको विकृति समाप्त गर्न तथा चुस्तदुरुस्त सैद्धान्तिक र साङ्गठनिक रूपले पार्टी बलियो बनाउनलाई हो । दुवैको पृष्ठभूमि र विषयबस्तु नै फरकफरक छ ।

सरकारको नेतृत्व पनि कांग्रेसले गर्नु तपाईले राजीनामा पनि बुझाउनुले कतै सरकारप्रति तपाईंको असहयोग त होइन ?

होइन, सरकारलाई त पूर्ण सहयोग गर्छु । विगतको सरकारको जुन कमीकमजोरी छ, त्यसलाई सच्याउँदै जनतालाई सुशासनको प्रत्याभूति दिलाउँदै दैनिक जीवनयापन सहज बनाउने जिम्मेवारी वर्तमान सरकारको छ । जनतालाई खोप चाहिएको छ । विकास चाहिएको छ । युवालाई रोजगारी चाहिएको छ । कोरोनाका कारण थिलोथिलो भएको अर्थतन्त्र उकास्नु छ । त्यसैले पार्टी र सरकार जोडिएका बिषय हुन् ।

पार्टी र सरकारलाई असहयोग गर्ने भएको भए, भोटिङभन्दा अघि राजीनामा दिन्थे नि ! यो पार्टी लाखौँ मान्छेको त्याग, तपस्या र बलिदानबाट बनेको हो । त्यसकारण यो पार्टीलाई कुनै किसिमले आघात पुग्न दिनु हुँदैन । कमजोर हुन दिनु हुँदैन । त्यो चिन्ताले मैले राजीनामा दिएको हुँ ।

पार्टी बलियो भएपछि सरकार आफैँ बलियो हुन्छ, पार्टीले सरकार बनाउने हो । पार्टीले सरकारलाई दिशा निर्देश गर्ने हो र अनुगमन गर्ने हो । संयोगले सभापति नै प्रधानमन्त्री हुनुहुन्छ, त्यसैले उहाँलाई दुवै दायित्व पूरा गर्न हाम्रो पूर्ण सहयोग रहन्छ ।

कांग्रेसमा इतिहास हेर्ने हो भने यसरी माग राख्ने नेताहरू पद पाएर पछि हटेका उदाहरण छन् । तपाईंमा त्यो अवस्था आउँछ कि आउँदैन ?

होइन, पदसँग जोडिएको विषय नै होइन । मैले पार्टीलाई सुदृढ बनाउन यो विषयलाई सैद्धान्तिक छलफलमा ल्याएको हुँ । कार्यकर्ता र जनतालाई आश्वस्त पारेको छु कि उनीहरूकै सुन्दर भविष्यका लागि मैले यो कदम चालेको छु । स्वच्छ र सक्षम नेतृत्व आएन भने जनताको भविष्य झन अन्धकार हुनेछ । त्यसैले उज्यालो भविष्यको सपना बोकेर मेरो यो कदम अगाडि बढेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : ४३ बजे

सिपीको आक्षेप- भारतको दाल, डुकू खाएर माओवादीले एक दशक हतियार चलायो

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा १९ दिन

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

नैरोबी– उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५०

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै

लगानी बोर्डको ५८ औं बैठक : ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

काठमाडौं – मंगलबार बसेको लगानी बोर्डको ५८ औं बैठकले ६

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दोधारा चाँदनी– महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको