कोभिडले अमेरिका–चीन सम्बन्ध कसरी अधोगतिमा लग्यो ? « Khabarhub
Logo
५ असार २०७८, शनिबार

कोभिडले अमेरिका–चीन सम्बन्ध कसरी अधोगतिमा लग्यो ?



भाग-१

चीनमा फैलिएको अनौठो प्रकारको संक्रमणका विषयमा अमेरिकामा पहिलो पटक छलफल गर्न गत वर्षको जनवरी १४ मा राष्ट्रिय सुरक्षा परिषद्को बैठक भएको थियो ।

उक्त बैठक राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र बेइजिङबीचको व्यापार सम्झौतमा ‘फेज वान’ लागु गर्नु ठीक एक दिन पहिला भएको थियो । छलफलको मुख्य उद्देश्य केही आधारभूत विषयमा जानकारी हासिल गर्नु थियो ।

हामीलाई यस विषयमा के जानकारी छ ? के हामी घटना मिहिनरूपमा अध्ययन गर्छौं ? राम्रो सूचना कहाँबाट आउँछ ? चिनियाँहरूले यस विषयमा के भनिरहेका छन् ?

यस विषयमा जति पनि सूचना बाहिर आए, स्वास्थ्य अधिकारीहरूका अनुसार, ती सूचनाहरू दुर्लभ किसिमका थिए । अमेरिकी सरकार चीनको वुहानमा संक्रामक रोग नियन्त्रण तथा रोकथाम विभागका अधिकारीलाई पठाउन अनुमतिको प्रतिक्षामा थियो । वुहान त्यही ठाउँ हो जहाँबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो ।

अमेरिकाले आफ्ना स्वास्थ्य अधिकारीलाई चीन पठाउन एक हप्ता प्रयास गर्दा पनि त्यो सफल हुन सकेन । विश्व स्वास्थ्य सङ्गठनले पनि संक्रमण फैलिएको विषयमा बोलिरहेको थियो तर उसलाई पनि वुहान भ्रमण गर्ने अवसर मिलेको थिएन ।

त्यसको अर्को दिन अमेरिका र चीनबीच व्यापार सम्झौताका विषयमा हस्ताक्षर गर्ने कार्यक्रम तय थियो । कार्यक्रमका मुख्य आकर्षक ट्रम्पले खर्बपति, कानून व्यवसायी, सरकारका वरिष्ठ अधिकारी, परिवारका सदस्य र साथीहरूलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेका थिए ।

उक्त सम्झौतालाई दुवै पक्षले ‘विन–विन’ भनेका थिए तर दुवै पक्षले सम्झौताको सीमितता र असरका विषयलाई बढाएर दाबी गरेका थिए । कार्यक्रमका दौरान चिनियाँ अधिकारीहरूले कोरोना भाइरसका विषयमा एक शब्द पनि केही बोलेनन् । कार्यक्रम आयोजना गरेका अमेरिकी अधिकारीहरूले पनि चिनियाँ अधिकारीसँग यस विषयमा प्रश्न गर्न जरुरी सम्झेनन् ।

राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख मैथ्यु पोटिङ्गर भने यस मामिलामा अपवाद थिए । वाल स्ट्रिट जर्नलका पूर्व संवाददाताले सन् २००२–०३ को श्वास प्रणालीसँग सम्बन्धित सार्स रोगका विषयमा रिपोर्टिङ गरेका थिए ।

यो रोग पनि चीनबाटै फैलिएको थियो । त्यसैले उनी चीनमा रहेका डाक्टर लगायतका आफ्ना पूर्व स्रोतसँग सम्पर्कमा थिए । उनकी श्रीमती, यन, एक प्रशिक्षित संक्रामण रोग विशेषज्ञ हुन् । उनका भाइ पल वासिङ्टन स्कूल अफ मेडिसिनका संक्रामक रोग सम्बन्धी प्राध्यापक हुन् ।

ह्वाइट हाउसमा रहेका अन्य व्यक्तिले भन्दा पहिला मैथ्युले संक्रामक रोग फैलिँदै गरेको आभास पाएका थिए । ट्रम्प प्रशासनका अधिकारीहरूले शुरूवाती चरणमा यो विषयमा विश्वास गरेनन् । अथवा भनौँ, उनीहरू यो विषयमा खास बोल्न चाहेनन् ।

जनवरी २७, सोमबारका दिन मैथ्युले प्रमुख राष्ट्रिय सुरक्षा सल्लाकार रोर्बट सी. ओब्रायनको अनुमतिमा मन्त्रिस्तरीय बैठक आह्वान गरे र त्यसको अध्यक्षता पनि गरे । उक्त बैठकमा अमेरिकी सरकारका प्रथम र द्वितीय स्तरका अधिकारीहरू तथा अन्य सम्बन्धित संस्थाका अधिकारीहरू सहभागी थिए ।

‘हेर्नुहोस्, चीनसँगको सबै प्रकारको आवागमन हामीले तत्काल किन बन्द गर्नु हुँदैन भन्ने विषयमा तपाईंहरू सबैले मलाई आश्वस्त पार्नुहोस्’, मैथ्युले बैठकमा सहभागी सबैलाई भने, ‘हाम्रो पहिलो प्राथमिकता सबै प्रकारका आवागमन बन्द गर्ने हुनुपर्छ ।’

यसमा कोही पनि सहमत भएनन् । उनीहरू सबैले मैथ्युको आग्रहलाई हलुका हिसाबमा लिए । त्यसको अर्को दिन मैथ्युले चीनमा रहेका केही वरिष्ठ डाक्टरहरूसँग छलफल गरे ।

त्यसमध्येका एक डाक्टरले चीनका धेरै प्रान्तका स्वास्थ्य कर्मचारीसँग संक्रमणका विषयमा छलफल गरेका थिए, यसमा वुहान प्रान्त पनि एक थियो । मैथ्यु आफ्नो अत्यन्तै विश्वासिलो स्रोतसँग कुराकानी गर्दै थिए जसलाई चीनको धरातलीय यथार्थका विषयमा पूरा जानकारी थियो ।

सम्झौतालाई दुवै पक्षले ‘विन–विन’ भनेका थिए र बढाएर दाबी गरेका थिए । कार्यक्रममा चिनियाँ अधिकारीहरूले कोरोना भाइरसका विषयमा एक शब्द पनि बोलेनन् । अमेरिकी अधिकारीहरूले चिनियाँ अधिकारीलाई प्रश्न गर्न जरुरी सम्झेनन् ।

उनले डाक्टरसँग सोधे, ‘के यो २००३ को सार्सभन्दा पनि भयावह हुँदैछ ?’ ती डाक्टरको नाम उनको सुरक्षा अवस्थालाई दृष्टिगत गरेर गोप्य राख्नुपर्छ, बाहिर ल्याउनु उपयुक्त हुँदैन ।

‘सार्स भाइरसलाई बिर्सिदिनुहोस्’, ती डाक्टरको प्रतिक्रिया थियो, ‘यो १९१८ को महामारी जस्तै हुनेछ ।’ त्यो यस्तो महामारी थियो जसले विश्वभर करिब ५० मिलियन मानिसको ज्यान लिएको थियो । ती डाक्टरले यसो भनेर बीसौँ शताब्दीको सबैभन्दा भयावह महामारीलाई इङ्गित गर्दै थिए ।

डाक्टरले मैथ्युलाई भने, ‘बिरामी भएका आधाभन्दा बढीलाई मानिसबाट मानिसमा सरेको संक्रमण भएको छ ।’ चीनका धेरै प्रान्तमा यस्तो लक्षण देखिएको उनले मैथ्युलाई बताए । रोर्बट सी ओब्रायन र मैथ्युले यस विषयमा राष्ट्रिपति ट्रम्पलाई जनवरी २८ का दिन ओवल अफिसमा जानकारी गराएका थिए ।

‘तपाईंको राष्ट्रपतीय कार्यकालमा घटित यो सबैभन्दा ठूलो राष्ट्रिय संकटको अवस्था हो, यो अवस्था बढ्दै जानसक्नेछ’, ओब्रायनले राष्ट्रपति ट्रम्पसामु भने, ‘यो १९१८ को अवस्था जस्तै हुनेछ ।’

यति कुरा सुनेपछि राष्ट्रपति ट्रम्पले जुन प्रकारको अभद्र जवाफ दिए त्यो प्रकाशन योग्य छैन ।

ओब्रायन र मैथ्युले राष्ट्रपति ट्रम्पसँग चीनबाट हुने सबै प्रकारको आवागमन तत्काल रोक्न आग्रह गरेका थिए । ट्रम्प प्रशासनका धेरै अधिकारीले यो कुरा अस्वीकार गरे । यहाँसम्म पनि अमेरिकाका केही स्वास्थ्य विशेषज्ञले समेत यो प्रस्ताव अस्वीकार गरेका थिए ।

जब जनवरी ३०, मङ्गलबारका दिन अमेरिकामा पहिलो कोरोना भाइरस संक्रमण पत्ता लाग्यो तब मात्र अमेरिकाका स्वास्थ्य अधिकारीहरूले आफ्नो पूर्वविचारमा परिवर्तन गरे । अमेरिकामा देखिएको पहिलो कोरोना भाइरसको संक्रमण मानिसबाट मानिसमा सरेको थियो ।

ह्वाइट हाउसका कार्यावाहक चिफ अफ स्टाफ मिक मुलवेनी र वित्तीयमन्त्री स्टिभन मेनुचिनले राष्ट्रपति ट्रम्प समक्ष दृढरूपमा यदि अवस्थामा बदलाव आयो भने यसले अमेरिकाको बजार र हवाई उद्योगलाई ठूलो असर गर्नेछ भन्दै चेतावनी दिए ।

यद्यपि, राष्ट्रपति ट्रम्प आफ्ना सुरक्षा सल्लकारद्वय ओब्रायन र मैथ्युको पक्षमा उभिए । उनले जनवरी ३१ बाट लागू हुने गरी चीनबाट अमेरिका आवतजावतमा रोक लगाउने घोषणा गरे ।

‘यो कुनै आम सहमतिमा गरिएको निर्णय थिएन, आम सहमति हुने विषय न त कल्पनाकै विषय थियो,’ मैथ्युले केही दिनपछि भनेका थिए, ‘ट्रम्पले आफ्नो मनको कुरा सुने र आवतजावतमा रोक लगाए ।’

अर्थतन्त्रमा प्रभाव पर्न सक्ने आकलनसहित प्रशासनले युरोपसँग भने मार्चको मध्यसम्म कुनै प्रकारको आवागमनमा रोक लगाएन । करिब ६ हप्तापछि भने युरोपसँग पनि आवागमन रोक लगाउने निर्णय लियो । यसका बाबजुद ह्वाइट हाउसका अधिकारीले राष्ट्रपति ट्रम्प समक्ष राष्ट्रिय सुरक्षा सल्लाकारले परिस्थिति बढाएर व्याख्या गरेको आरोप लगाएका थिए ।

मुलवेनीले ओब्रायनसँग भनेका थिए, ‘तपाईंले मैथ्युलाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ । मैथ्यु अझै युवा छन् र राष्ट्रिय सुरक्षाका विषयमा सल्लाह दिने उनको उमेर भएको छैन ।’ मुलवेनी ह्वाइट हाउसका केही अधिकारीमध्येका थिए जसलाई भाइरसको चुनौती साँचो हो भन्ने कुरामा विश्वास नै थिएन ।

फेब्रुअरीको अन्त्यमा जब भाइरसका कारण बजारमा असर देखिन थाल्यो तब उनले सञ्चार माध्यमले ट्रम्प प्रशासनलाई असफल बनाउन भाइरसको अफवाह अनावश्यक हिसाबमा फैलाएको आरोप समेत लगाएका थिए ।

ह्वाइट हाउसमा आफ्नो पहिलो बजेट बनाउँदै गर्दा उनले महामारीको संकटसँग जुध्न जम्मा ८०० मिलियन अमेरिकी डलर बजेट छुट्याएका थिए । मार्चको शुरूवाती दिनमा नै उनलाई ट्रम्प प्रशासनबाट हटाइएको थियो ।

ट्रम्प प्रशासनका एक अर्का अधिकारी पिटर नवारोले पनि शुरूवाती चरणबाट संक्रमणको खतरा पहिल्याएका थिए । उनी ट्रम्पका व्यापार सल्लाहकार थिए र चीनको कट्टर विरोधी थिए । उनले ट्रम्पलाई जनवरी २९ बाटै कारोना १९१८ को महामारी जस्तै हुन सक्ने भन्दै यसको रोकथाममा काम गर्नुपर्ने सुझाव दिइराखेका थिए ।

यदि अमेरिकाले भाइरस नियन्त्रण र रोकथामका लागि उपयुक्त कदम चालेन भने यसले करिब सय मिलियन अमेरिकीलाई संक्रमण गर्न सक्नेछ जसमा १ देखि २ मिलियन अमेरिकी ज्यान जानसक्छ भन्ने आकलन नवारोले गरेका थिए । उनले भाइरसका कारण अमेरिकाले ३ दशमलव ८ ट्रिलियन बराबरको नोक्सानी व्यहोर्नु पर्ने पनि आकलन गरेका थिए ।

कोरोना भाइसर महामारी त्योभन्दा बढी महँगो हुने देखिन्छ । यद्यपि, नवारोको आकलन अन्यको भन्दा सही सावित हुने देखिन्छ ।

(जोश रोगिन वासिङ्टन पोस्टमा विदेश नीति र राष्ट्रिय सुरक्षामा लेख्छन् । ४ मार्च २०२१ मा द वासिङ्टन पोस्टमा प्रकशित यो लेख उनको पुस्तक क्याओस् अन्डर ह्यावेनः ट्रम्प, सी एन्ड द ब्याटल अफ ट्वान्टी फस्ट सेन्चुरीबाट साभार गरिएको हो । खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0