देउवाको ‘गढ’मा रामचन्द्रको टक्कर | Khabarhub Khabarhub

देउवाको ‘गढ’मा रामचन्द्रको टक्कर


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा दार्चुला बाहेकका जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेलको अवस्था कमजोर बन्यो । दार्चुलाबाहेकका आठवटा जिल्लामा देउवा निकट महाधिवेशन प्रतिनिधि विजयी भएका थिए । आठवटै जिल्ला सभापति पनि देउवा निकट थिए ।

तर, १४औँ महाधिवेशनमा भने समीकरण केही बदलिएको छ । अहिले रामचन्द्र पौडेल खेमाबाट सुदूरपश्चिमका तीनवटा जिल्लामा सभापति विजयी भएका छन् । देउवा खेमाको राम्रो पकड रहेको भनिएका बाजुरा र बझाङमा पौडेल खेमाबाट सभापतिका उम्मेदवार बनेका व्यक्ति विजयी भएका छन् भने दार्चुलामा पौडेलको स्थिति यथावत् छ ।

बाजुरामा पौडेल खेमाका रामसिंह रावल सभापतिमा विजयी भएका छन् । बाजुराबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिमा पनि पौडेल खेमा हाबी देखिएको छ । बाजुरा क्षेत्र नम्बर ‘क’बाट १७ जना प्रदेश प्रतिनिधि चयन भएकामा नौ जना पौडेल खेमाका छन् । यसैगरी क्षेत्र नम्बर ‘ख’बाट विजयी १७ जनामध्ये १३ जना पौडेल खेमाका रहेका छन् । बाजुराबाट ३४ जना प्रदेश प्रतिनिधिमध्ये २२ जना पौडेल खेमाबाट र १२ जना देउवा खेमाबाट विजयी भएका छन् ।

वरिष्ठ नेता पौडेलले यस पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पनि राम्रो उपस्थिति जनाएका छन् । डडेल्धुरामा देउवाको एकलौटी पकड थियो । तर, यस पटक भने डडेल्धुराका सभापति कर्ण मल्लसहित आधा कांग्रेसका कार्यकर्ता देउवाविरुद्ध उभिएका छन् । यसका कारण कांग्रेस सभापति देउवाले डडेल्धुरामा क्रियाशील सदस्यता वितरणमा प्रत्यक्ष हस्तक्षेप मात्र गरेनन्, एक पक्षीय रूपमा वडा र पालिका अधिवेशनसमेत गरेका छन् ।

सामान्य स्थितिमा देउवाले गृह जिल्लामा यति ठूलो हस्तक्षेप गर्ने अवस्था आउँदैन । यसले पनि सुदूरपश्चिममा कांग्रेस नेता पौडेलले आफ्नो पकड बलियो बनाएको भनेर बुझ्न जोकोहीलाई सहज भएको छ ।

बैतडीमा पनि देउवा र पौडेलको प्रतिस्पर्धा देखिन्छ । वडा तहबाट एक हजार ४५० प्रतिनिधि चयन भएकामा देउवा र पौडेल खेमाले आआफ्नो बहुमत रहेको दाबी गरिरहेका छन् । देउवा खेमाले ७० प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरिरहँदा पौडेल खेमाले ६० प्रतिशतको दाबी गरिरहेको छ । बैतडीका १० वटामध्ये छवटा स्थानीय तहमा देउवा र चारवटा स्थानीय तहमा पौडेल खेमाका उम्मेदवार विजयी भएका छन् ।

जिल्ला अधिवेशनमा पनि बैतडीमा देउवा र पौडेल खेमाबीच प्रतिस्पर्धा कडा हुने देखिन्छ । देउवा खेमाबाट सभापतिका उम्मेदवार बनेका शिवराज भट्ट कांग्रेस प्रजातान्त्रिक हुँदै नेपाली कांग्रेसका सभापति भइसेका व्यक्ति हुन् । यसैगरी पौडेल खेमाहबाट चतुरबहादुर चन्दले सभापतिमा उम्मेदवारी दिएका छन् । क्रिकेट संघका अध्यक्षसमेत रहेका उनी युवामाझ बढी घुलमिल भएका व्यक्ति हुन् ।

नेपाली कांग्रेसका सभापति देउवाको राम्रो पकड रहेको कंचनपुरमा पनि पौडेल खेमाले यस पटक स्थिति सुधारेको छ । कांग्रेसको वडा अधिवेशनमा कंचनपुरमा निर्वाचित हुने प्रतिनिधिको संख्याले पनि जिल्लामा देउवा र पौडेल खेमाबीच टक्कर हुने देखिन्छ ।

आफ्नो सम्बन्ध सुधार गर्नकै लागि कांग्रेस वरिष्ठ नेता पौडेल शनिबार कैलाली र कंचनपुर आएका थिए । पौडेल कैलाली र कंचनपुर आउनु एक दिनअघि मात्र सभापति देउवा सुदूरपश्चिमबाट काठमाडौं फर्किएका थिए । यद्यपि, देउवा देशको प्रधानमन्त्रीको हैसियतसहित सुदूरपश्चिममा बाढी–पहिरोले गरेको क्षतिका बारेमा बुझ्न सुदूरपश्चिम आएका थिए । सो क्रममा देउवाले सुदूरपश्चिमस्थित कांग्रेसका नेता तथा कार्यकर्तालाई भेटेका थिए ।

शनिबार आएका वरिष्ठ नेता पौडेलले पनि सुदूरपश्चिममा बाढी(पहिरोबाट भएको क्षति र प्रभावित समुदायको अवस्था बुझ्न कैलाली र कंचनपुर आएको बताएका थिए । तर, बाढी(पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लामा बढी क्षति पुर्‍याएको छ । पौडेल पहाडी क्षेत्रमा भने गएनन् ।

कैलालीमा क्रियाशील विवादका कारण नेपाली कांग्रेसको वडा अधिवेशनसमेत हुन सकेको छैन । तर, कैलाली क्षेत्र नम्बर ५ का प्रभावशाली नेता संविधानसभा सदस्य पुष्करनाथ ओझामाथि गरिएको कारबाहीका कारण देउवा खेमालाई केही असहज हुने देखिन्छ । ओझाको कारबाही फुकुवाको माग गर्दै लविङ गरेका वरिष्ठ नेता पौडेलले त्यसको फाइदा कैलालीमा लिन सक्नेछन् ।

सुदूरपश्चिममा देउवाको अवस्था बिग्रनुका पछाडि देउवापत्नी आरजू राणा देउवाको भूमिका कारण मानिँदै आएको छ । आरजूले कांग्रेसको तल्लो निकायसम्म नै नेता, कार्यकर्तालाई चिढ्याउने गरी काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । आफूलाई मनपरेका नेता, कार्यकर्तालाई काखी च्यापेर अरूलाई बेवास्ता गर्ने आरजूको शैलीप्रति कांग्रेसका धेरै नेता, कार्यकर्ता रुष्ट बनेका छन् । न्यूजकारखाना

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : ५१ बजे

प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ–  आज प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ

सुनको मूल्य बढ्यो,कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

महेन्द्रनगर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या धेरै

महोत्तरी– महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघरको समस्याबाट पीडित भएको

मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ

काठमाडौँ– विभिन्न आपराधिक गतिविधिमा संलग्न दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले