सात समुद्रपारि जागृत कोमल कवि | Khabarhub Khabarhub

सात समुद्रपारि जागृत कोमल कवि



खोइ ! कुन धुनले हो कोमलसरले एक दिन आनायासै अमेरिकाको डीभी भरे । यतिन्जलेसम्ममा प्राथमिकदेखि माध्यमिक तहसम्म झन्डै पैँतीस वर्ष पढाएका थिए, अठ्ठाइस वर्ष त प्रधानाध्यापक रहे ।

डीभीको नतिजा आयो भन्ने हल्ला चल्यो । कोमलसरको मनमा खुल्दुली भयो । टुङ्गामा पुगेर हेर्छन् त सूचीमा ‘कोमलप्रसाद भट्ट’ देखे । उनमा खुसी र बिस्मात एकसाथ उत्पन्न भयो ।

चिठ्ठा त पर्‍यो तर उमेर पचास वर्ष नाघिसक्यो । ठिक र बेठिक भनेर राय प्रकट गर्ने साथीभाइ र आफन्तहरू हुने नै भए । एकबारको जुनीमा जे त पर्ला ! कोमलसरले आँट गरे, प्रक्रिया अघि बढाए । झन्झट पूरा भयो, भिसा प्राप्त भयो ।

शिक्षण पेसा, माध्यमिक विद्यालयको प्रधानाध्यापक पद, काठमाडौँको ग्रामीण भित्तातिर सानोतिनो घरबारी, तीन मिनेट हिँडेर पुगिने स्कुल ! मस्ती त केही पनि थिएन तर जीवन चलेकै थियो । आफ्नो दायराअनुसार सामाजिक प्रतिष्ठा राम्रै थियो ।

उता पनि कसो जीवन नचल्ला त ! आफूसँग जान पाउने छोराछोरीले संसारकै समृद्ध मुलुकको शिक्षा लिन पाउँनेछन् । मैले यहाँबाट खर्च गरेर अमेरिकामा छोराछोरी पढाउन सक्ने होइन क्यारे ! कोमलसरले यस्तै सोचे ।

आखिर प्रधानाध्यापक पदबाट राजीनामा गरे । आज, भोलि भन्दाभन्दै मातृभूमि छाड्ने दिन आयो । एक दिन कोमलसर श्रीमती र अठार वर्षमुनिका दुई छोराछोरी साथमा लिएर अमेरिका उडे ।

अमेरिका बसेको सत्र वर्ष हुनै लागेको छ । नेपालमा आफ्नो घरमा र प्रधानाध्यापकको कुर्सीमा बसेर सोचेजस्तो त किन हुन्थ्यो र ! तै पनि जीवन चलेकै छ । अमेरिकामा जोतिएर काम नगरे खान पाइने होइन ! कोमलसरले पनि त्यसै गरे तर उनले दिनको साढे सात घण्टाभन्दा बढी काम गरेनन्, गर्न सकेनन् ।

नेपालमा आफू विद्यार्थी भएर पढ्दा र शिक्षक भएर पढाउँदा कोमलसरलाई छन्दमा खुब रुचि थियो । प्रशिद्ध कविहरूका छन्दकविता लय हालेर पढ्थे । छन्दको कच्चा ज्ञान पनि थियो । बिस्तारै उनले ज्ञान बढाए, कविता लेख्ने अभ्यास गरे तर कवि भएनन् ।

निःसन्देह, अमेरिकामा आममानिसको दिनचर्या अति कसिलो हुन्छ, जति बढी काम गर्न सक्यो उति बढी डलर फल्छ । नेपालमा सोचे जसरी फल्ने होइन, घोटिनुपर्छ, जोतिनुपर्छ । अमेरिकीहरू आफैँ पनि अठार/बीस घण्टा काम गर्छन्, प्रवासीको त के कुरा भयो र !

कोमलसरको मामला अलिक फरक भयो । साढे सात घण्टा काम गरेपछिको बाँकी समयमा फुर्सदिला भए । समय कसरी कटाउनु ! बाहिर घुम्न जान आफ्नै गाडी चाहिन्छ, आफैँले चलाउनुपर्छ । खर्च चाहिन्छ । गाडी चलाउन जानेको छैन, खर्च पनि छैन । छरछिमेकसँग केही गफ हुने होइन । चिया खाँदै गफ चुट्ने पसल र चोक छैन । न्युरोड र रञ्जना पनि छुटिगए ।

कोमलसरले नेपालमा छँदा आफूले छन्द कविता लय हालेर पढेको, कण्ठस्थ गरेको र लेख्न अभ्यास गरेको सम्झे । फुर्सद उपयोग गर्ने उपायका रूपमा छन्द कविता र गजल लेख्न थाले । कम्प्युटरमा लेख्ने, सच्याउने र आफूलाई चित्त बुझ्ने भएपछि फेसबुकमा पोस्ट गर्ने, उनले यसैलाई निरन्तरता दिन थाले ।

आखिर ढल्कँदो उमेरमा कोमलसर विद्युतीय सञ्जालका माध्यमले खासगरी विदेशमा रहेका नेपाली कविहरूमाझ र नेपालमा पनि कविका रूपमा चिनिन थाले, कवि कोमलप्रसाद भट्ट भनेर सम्बोधित हुन थाले । उनको आत्मविश्वास बढ्दै गयो । लेखाइ परिस्कृत हुँदै गयो । आफैँलाई आफ्नो कवि व्यक्तित्व बोध हुन थाल्यो ।

अक्सर कवितामा आफ्नै मातृभूमिको माटो प्रतिविम्बित हुन्छ । लेख्न बस्यो कि आफ्नै माटोको सुवास आउँछ, आफ्नै समाज आँखामा छल्किन्छ ।

न्यु योर्कको गञ्जागोल र व्यस्ततामा पनि आफ्नै डाँडाकाँडाहरूको चित्र चम्किन आउँछ । आफू जन्मेहुर्केको गाउँबाट उत्तरपश्चिम फर्किंदा सधैँ आँखामा उदाउने त्यो चन्द्रागिरि कोमलसरले कसरी बिर्सिन सक्थे र ! न्यू योर्कको एउटा कोठामा ‘चम्किन्छ चन्द्रागिरि’ शीर्षकमा यसरी कविता शुरू भयो–

चित्रा चित्रप्रदा चतुर्मुख चला चन्द्रांशु चौगिर्दका

चित्राधार चिरायुका चिरिबिरी चित्रावली चित्रका

चौघेरा चल चन्द्रकान्त चुचुरा चौतर्फ चिन्तामणि

चोखा चिन्मयका चुडामणि चुनी चातुर्यका चन्दनी ।

हालै भानुजयन्तीका अवसरमा ‘नेपाली साहित्यकार विश्व सञ्जाल’ ले ‘विश्वव्यापी कविता प्रतियोगिता, २०७८’ आयोजना गर्‍यो । कोमलसरले कविता लेखे तर प्रतियोगिता हो, भाग लिनु कि नलिनु भयो एक मनमा । अर्को मनले मैजस्ता कविका लागि त हो भन्यो । भाग लिए । कविता यसरी शुरू भयो–

भाषाका भरिला भरोस भवका भावार्थका भावक

भाषातात्विक भानुभक्त भरका भद्राक्ष भट्टारक

रम्घाका रमणीय राम रसका राजर्षिका रोशन

रच्ने रामकथा रसज्ञ रसिला रोजेर रामायण ।

कविताले त दोस्रो पुरस्कार पो पायो ! ठिकै गरेछु भन्ने लाग्यो ।

कोमलसरलाई छन्दमै लेख्न मन पर्छ । गद्य कवितालाई माया गर्छन्, उनलाई गद्य कविता लेख्नभन्दा बढी सुन्न मन पर्छ । उनले शार्दूलविक्रिडित, मालिनी, शालिनी, सुन्दरी स्राग्विणी, शिखरिणी, तोटक, अनुष्टुप, भुजङ्गप्रयात, मेघाविस्फुर्जिता, पञ्चचामर, चक्रपद, प्रियम्वदा, दिक्पाल, वसन्ततिलका छन्दमा बढी लेखेका छन् । कोमलसरले ‘पुष्प पुष्पाञ्जलि’ शीर्षकमा यसरी शुरू गरेर ७० वटाभन्दा बढी छन्दका नामहरूको माला उनेका छन्–

छन्द हो साधना छन्द आराधना

छन्द हो लोकमा स्नेह सद्भावना

छन्द नै काव्य हो सार संसार हो

छन्द सौन्दर्य हो प्राण आधार हो ।

कविता लेख्न थालेपछि अलमलिने बाटो भयो । कविता सोच्यो, भावनाहरू एकत्रित गर्‍यो, छन्द रोज्यो, शब्दहरू खोज्यो; समय बितेको पत्तै हुँदैन । कोमलसरको अनुभवअनुसार भावनाले कविता जन्मिँदो रहेछ; कवितामा केही दर्दका भावनाहरू, जीवन र जगतका अनुभवहरू छाल बनेर उर्लिंदा रहेछन् ।

अमेरिका अति सम्पन्न देश हो, व्यवस्थित प्रणालीमा चलेको छ । नागरिकहरूमा अनुशासन छ, नीति छ, नैतिकता छ । ‘गर या मर’ मूल सिद्धान्त छ । कामबाहेकको फाल्तु कुरा हुँदैन । प्रत्येक व्यक्ति देश सोचेर काम गर्छ । खोजीखोजी कर तिर्छ । आफू जे हो त्यही भन्छ । कामको माया गर्छ, जे मिल्यो त्यही काम गर्छ । ‘वर्क इज वर्सिप’ भन्छ ।

अमेरिका पुगेपछि कामका बारे कोमलसरको गज्जबको अनुभव भयो । अमेरिकी कामको तुलनामा नेपालमा उनले पैतीस वर्ष गरेको काम त एक वर्षजति मात्रै पो हो रहेछ !

अनि पो अमेरिका विश्वशक्ति भयो, समृद्ध भयो र दुनियाँका लागि सपनाको संसार भयो ।

साढे सात घण्टा काम, बाँकी समय फुर्सद ! घुम्न जान आफ्नो गाडी छैन, खर्च चाहियो । छिमेकसँग गफ हुने होइन । चिया खाँदै गफ चुट्ने पसल छैन । न्यु रोड र रञ्जना पनि छुटिगए ।

नेपालमा मानिस अनुत्पादक कुरामा धेरै समय खर्च गर्छ । निजी भलाइ हेर्छ । कर छल्छ । काम र पेसा ढाँट्छ, काम छल्छ । कागजमा लेखिएको योग्यता हेरेर काम खोज्छ, बरु बेरोजगार बस्छ ।

र त नेपाल सधैँ उस्तै रह्यो । विकास र समृद्धि सपनामा सीमित भयो ।

तै पनि नेपालको वैशिष्ट्य साँच्चै अनुपम छ । यहाँको प्रकृति र प्राकृतिक सौन्दर्यले कहिल्यै कोही पनि अघाउँदैन । सामाजिक सद्भाव र सहिष्णुता, आपसी सहयोग, रीतिरिवाज र चाडपर्वहरू अतुलनीय छन्, अनुपम छन् । नेपाली पहिरन, नेपाली खाना, नेपाली राष्ट्रियता, नेपाली राष्ट्रिय गान, नेपाली झण्डा, नेपाली स्वतन्त्रता, नेपाली भाषा र नेपालका यस्तै पहिचानहरू बिर्सिनसक्नुका छन् । अनि कोमलसरको कम्प्युटरमा कविता बन्छ–

प्यारो हुन्छ स्वतन्त्रता मुलुकको सम्मानको शानको

आफ्नो गौरवको ध्वजा धवलको गाथा तथा गानको

रोजा राष्ट्रियता महत्व मुटुको फेरेर फेरिन्छ र ?

भाषा भेष भरोस भव्य भरिला बिर्सेर बिर्सिन्छ र ?

सात समुद्रपारिको भूमिबाट नेपाल हेर्दा राजनीतिमा अनेक विकृति र विसङ्गतिहरू देखिन्छन् । मातृभूमिको राजनीतिक खिचातानीले चिन्ता हुन्छ । यस्तै चिन्ता र अलिकति चिन्तनको फल हो ‘मेरो घर’ शीर्षकको कविता । पहिलो श्लोकमै यसरी पोखिएको छ चिन्ता–

के खोजूँ अब शान मान घरमा चारै दिशा जर्जर

प्वालैप्वाल परी विदीर्ण बहुतै मक्की सकेका भर

बाझाबाझ विरोध भाइ बहिनी बेमेलले सर्वदा

रोजिन्दा रमिते भएर रिपुले ताली पिटेका सदा ।

कवितामा कहिले ‘जय गुरु गणपति’ उदाउँछन्–

गणपति गुरु हाम्रा ज्ञानदाता गणेश

गुणनिधि गिरिजाका पुत्र प्यारा परेश

गुणमय गुणग्राही विश्वव्यापी विशाल

गजमणि गजदन्ती कामयाबी कमाल ।

र, कहिले न्यु योर्ककै सडकमा यसरी ‘घन्किन्छ घण्टाघर’–

घुस्साले घननादले घटकले घोचे घमासानले

घच्का घायल घाउले घटनले घच्च्याउने घानले

जागा बस्छ जगाउँदै जनहरू जैलेसुकै जाँगर

घच्चा घात घना खपेर विचरा घन्किन्छ घण्टाघर ।

भूगोलको दूरीले जति नै टाढा भए पनि  मातृभूमिको माटो अनायासै मगमगाउँछ र ‘मेरो माटो हातमा मुस्कुराओस्’ शीर्षक बनेर कवितामा पोखिन थाल्छ

मेची काली सम्झनामा अगाध

न्यानो मायाँ स्वच्छ सद्भाव साथ

नेपाली हूँ नाम निष्ठा नजाओस् 

मेरो माटो हातमा मुस्कुराओस् ।

स्वदेशमा हुँदा विदेशमा डलर देखिँदो रहेछ । विदेशी भूमिमा प्रवासी हुनुको पीडा त भोग्नेलाई मात्रै थाहा हुन्छ । बुढापाकाले त्यसै भनेका होइनन् नमरी स्वर्ग देखिन्न भनेर । धन कमाउने मनले प्रवासी हुनुको पीडा ‘नमरी स्वर्ग देखिन्न’ शीर्षकमा यसरी छताछुल्ल हुन्छ–

छोड्यो बन्धु सखा पिता र जननी आयो प्रवासी हुँदै

थाल्यो देख्न यहाँ हजार सपना आकाशगङ्गा छुँदै

कैले हुन्न अभीष्ट पूर्ण जगमा हड्डी गलाए पनि

मच्चिन्छौँ धनधान्य वैभव दिने भेटिन्छ खोलो भनी ।

कोमलसरका लागि कविता दैनन्दिनी भएको छ । उनी कविताकै आसमा छन्, कविताकै पासमा छन् । विदेशी भूमिमा रहेका कविहरूको सञ्जालमा ‘छन्दकवि’ को उच्च छवि बनाएका छन् । त्यसैले त ‘पासमा छौ कवि’ लेखेका छन्–

सासमा आसमा पासमा छौ कवि

गाँसमा बासमा खासमा छौ कवि

रोजका रातमा चम्किला चिन्तना

जोडमा तोडमा मोडमा सम्झना ।

विदेशी भूमिमा बस्ने नेपालीहरूका सङ्गठन र सञ्जालहरू छन् । नेपाली साहित्य विश्व सञ्जाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सहृदयता अन्तर्राष्ट्रिय इत्यादिमा आबद्ध छन् कोमलसर । यी सञ्जालहरूले समयसमयमा कविसम्मेलन, छलफल, गोष्ठी इत्यादि चलाउँछन् । समयले साथ दिएसम्म कोमलसर सहभागी हुन्छन् । यसले उनलाई विदेशी भूमिमा छरिएका नेपाली कविहरूको सञ्जालमा परिचित गराउन मद्दत गरेको छ । उनको कवि व्यक्तित्व उजागर गरेको छ । उनलाई सशक्त कवि बनाएको छ ।

हालै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसहित तीन वटा अन्तर्राष्ट्रिय संस्थाले संयुक्तरूपमा ‘विश्व कविता सम्मेलन’ आयोजना गरे । कोमलसरले कविता सुनाए । गौरवको कुरा हो, उनी दश जना उत्कृष्ट कविमा छानिए ।

कोमलसर कवितामात्रै लेख्दैनन्, गजल पनि लेख्छन् । गजलमा उनको कलम कम्ती सशक्त छैन । उनका लागि गजल निकै महत्वको विधा हो । गेय हुन्छ, कविताभन्दा थोरै सहज पनि हुन्छ । उनी आफ्नो गजल सिर्जनालाई ‘कोमल गजल’ भन्छन् । गजलमा पनि छन्द नै पछ्याएका छन् । केही गजल सङ्गीतबद्ध गरेर गाइएका पनि छन् । उनले एउटा गजलमा चन्द्रमालाई यसरी सम्झेका छन्–

नजाऊ तिमी चाँद फर्केर आऊ

अँधेरो छ धर्ती उदाएर आऊ

तिमी रत्न हौ झल्ल बल्ने जुहार

निभ्यो रोशनी फेरि बालेर आऊ

अमेरिका, विश्वको समृद्ध देश भनेरमात्रै के गर्नु ! मातृभूमिको यादले सताउन छाड्ने होइन । त्यो अमेरिकी समृद्धिभन्दा स्वदेशकै पाखापखेरा प्रिय लाग्छन् । अनि सुविधासम्पन्न भए पनि प्रवासी हुनुको खिन्नता कोमल गजलमा पोखिन्छ–

प्रवासी भएँ जिन्दगानी छ खल्लो

दरा दुर्दशाले कहानी छ खल्लो

चमेली न बेली न जाई न जूही

दुखे पल्लवी बागवानी छ खल्लो

कुराका सिलसिलामा कोमल सरले प्रवासी जिन्दगीबारे अर्को गजलको एक सेर सुनाए–

प्रवासले लुटे सबै खुसी

नझाङ्गिँदै टुटे सबै खुसी

कोमलसरले धेरै कविता, कविताकै हाराहारीमा गजल र केही मुक्तक लेखेका छन् । यी फुटकर रचनाको संख्या कति होला ? कोमलसर भन्छन्, ‘पैँतीस सय जति होला, छानेर पनि कम्तीमा पञ्चीस सय त निख्खरा निस्किन्छन् ।’

यति धेरै लेखेर पनि सङ्ग्रह त आएको छैन नि !

कोमलसर एकछिन मौन भए अनि मन खोले । सङ्ग्रह प्रकाशन गर्ने मौका नै मिलेन भन्दा उचित होला । किताब छाप्ने नेपालमै हो । अमेरिका बसेर त्यसको चाँजोेपाँजो मिलाउन सजिलो भएन । आज, भोलि भन्दाभन्दै दिन बितेको पत्तै भएन ।

यति वेला तीन खण्डको एउटा सङ्ग्रह छापाखाना पुगेको छ । खण्ड ‘क’ मा कविता, खण्ड ‘ख’ मा गजल र खण्ड ‘ग’ मा मुक्तक सङ्गृहित छन् । नाम हो– कोमल मुनाहरू ।

कुराकानीको बिट मार्ने सुर गर्दै मैले जिज्ञासा राखेँ– आखिर जिन्दगी के रहेछ त कोमल सर !

जीवनको सातौँ दशक छुने लयमा अघि बढ्दै गरेका कोमलसर एकछिन मुस्कुराए । इन्टरनेट भिडियो कलमा उनको अनुहारमा खोइ के भन्नु र जस्तो भाव झल्कियो । निमेषभरमै उनले प्रियम्वदा छन्दको गजलको सेर सुनाए–

असजिलो सफर रैछ जिन्दगी

अधमरो रहर रैछ जिन्दगी

लखतरान छ सदैव दौडिँदा

विरहको बगर रैछ जिन्दगी ।

एकातिर मातृभूमिप्रतिको तिर्सना अर्कातिर विदेशी भूमिको ऐकान्तिकता र अनेक हन्डर छ । कोमलसरले आफूले साथ लगेकी छोरी सात समुद्रपारिको त्यही भूमिमा गमाउनु पर्‍यो ।

कोमलसर एकछिन अडिए अनि भने, ‘मलाई त जिन्दगी जटिल लाग्छ ।’ उनले जिन्दगीबारे आदिकवि भानुभक्त आचार्यलाई सम्झे–

बुझ्नलाई कठिन बुझ्यो अति कठिन

झन् झन् बुझ्यो झन् कठिन ।

कविवर माधवप्रसाद घिमिरेलाई बिर्सने कुरै भएन–

यो जिन्दगी जति बुझ्यो

उति बुझ्न बाँकी ।

एउटा अन्तिम जिज्ञासा राखेँ– कोमलसर ! नेपाल फर्किने कि नाइँ ?

कोमलसरले सपाट जवाफ दिए, ‘फर्किन्छु, यसमा मेरो दृढ निर्णय छ, मैले अमेरिकी नागरिकता लिएको छैन, लिने छैन, आदर्शवादी सुनिन्छ होला तर मलाई मेरो पेन्सन प्रिय छ ।’

यता रातको साढे नौ बज्यो, उता मध्याह्नको लग छुन खोज्दैछ । यतिकैमा हाम्रो कुराको मैझारो भयो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : ५५ बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द