२४ घण्टा नबित्दै यसरी समातिए सन्तोषी सुब्बाको हत्या आरोपित सुरेश | Khabarhub Khabarhub

२४ घण्टा नबित्दै यसरी समातिए सन्तोषी सुब्बाको हत्या आरोपित सुरेश


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न पशुपन्छीको आवाज दुरुस्तै निकालेर सामाजिक सञ्जालमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

सन्तोषीको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई प्रहरीले बिहिबार सार्वजनिक गरेको हो ।

महानगरी अपराध महाशाखाका अनुसार गाडीको सहचालक रहेका तिमल्सिना काठमाडौँको असनबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार दक्षिणकाली पुगेकी सन्तोषीले सुरेशसँग खान र बस्न समस्या भएको बताएकी थिइन् ।

महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले भने, ‘सन्तोषीले खान र बस्न समस्या भएको बताएपछि अभियुक्त तिमल्सिनाले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भनेर वचन गरे । अनि त्यही आश्वासनमा सन्तोषीलाई दक्षिणकाली मन्दिर नजिकैको जंगलमा पु¥याए र जरबरजस्ती गर्न खोजे । सन्तोषीले प्रतिकार गरेपछि तिमल्सिनाले उनको घाँटी थिचेर हत्या गरे ।’

दक्षिणकाली मन्दिर परिसरमा मंगलबार बिहानै एक जना महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिला नजिकैको इलाका प्रहरी कार्यालयमा खबर गर्न पुगेका थिए ।

घटनास्थलमा तत्काल महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी बृत्त, कीर्तिपुरसहित त्रि.वि. शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो ।

प्रहरीले शव सन्तोषीको भएको पुष्टि बुधबार नै गरेको थियो भने २४ घण्टा नबित्दै हत्या आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । एसएसपी खापुङका अनुसार तिमल्सिनाले हत्या पश्चात पहिचान खुल्ने डरले मृतकको अनुहारमा पटक–पटक ढुंगाले प्रहार गरी फरार भएका थिए । सन्तोषीको बलात्कारपछि हत्या भएको आशंका गरिए पनि आरोपीले प्रहरीको प्रारम्भिक सोधपुछमा त्यसलाई इन्कार गरेका छन् ।

विभिन्न पशुपन्छीको आवाज नक्कल गर्ने क्षमताकी अन्दाजी २७ वर्षीया सन्तोषी कालोपुलमा धर्मबुबासँग बस्दै आएकी थिइन् । करिब ९ वर्षको उमेरकी सन्तोषीलाई काभ्रेका धनबहादुर तामाङले १८ वर्षअघि चाबहिलमा भेटेका थिए । त्यसपछि सन्तोषीलाई उनले धर्मछोरी बनाएर संरक्षण दिएका थिए ।

उनले करीब ५ वर्ष अघिबाट जनावरहरुको दुरुस्तै आवाज निकालेर सुनाउन थालेपछि युट्युबलगायत सामाजिक सञ्जालमा छाउन थालिन् । यहीबाट उनको चर्चा चुलियो र भाइरल बनिन् । पहिले टेम्पो र फुटपाथमा पसल चलाएका धर्मले पछिल्लो पटक सन्तोषीलाई विभिन्न विद्यालय तथा कार्यक्रममा कला प्रस्तुतिका लागि समेत लैजाने गरेका थिए ।

यस्तो छ घटनको वृतान्त

प्रहरीका अनुसार सन्तोषी र सुरेशको चिनजान शनिबार मात्रै भएको हो । शुक्रबार फर्पिङको पदमसम्भव होटलमा बसेकी सन्तोषी शनिबार दिउँसो १२ बजेतिर सोही स्थानको एक चिया पसलमा गएकी थिइन् ।

पैसा नभएपछि के खाने र कसरी घर जाने भन्ने समस्यामा रहेकी उनले चिया पसलमा बसेर आफ्नो प्रतिभा देखाउन थालिन् । अरुसँगै सुरेशले पनि उनको प्रतिभा नियाली रहेका थिए ।

सुरेश काठमाडौँ–दक्षिणकाली चल्ने बसका सहचालक भएकाले फर्पिङमै कोठा लिएर बस्दै आएका थिए ।

प्रहरीकाअनुसार सन्तोषीको कला हेरिरहेका सुरेशले उनलाई खाने बस्ने व्यवस्था मिलाई दिने वचन दिए । त्यसपछि सहयोग पाउने अपेक्षाले उनको पछि लागेकी सन्तोषीलाई सुरेशले हत्या गरेर शौचालयसम्म पुर्‍याएको प्रहरीको दाबी छ ।

शौचालय देखेपछि शौच गर्न गएकी सन्तोषीलाई सुरेशले बलात्कार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीकाअनुसार  प्रतिकार गर्न खोज्दा सुरेशले सन्तोषीलाई उनकै सलले घाँटी थिचे र टाउकोमा ढुङ्गाले हानेर हत्या गरेको खुलेको हो।

घटना भएको थाहा पाउना साथ अनुसन्धान थालेका प्रहरी टोली दुई वटा कोणबाट घटनालाई अनुसन्धान गरेको जनाएको छ ।

प्रहरीले एकतर्फ सन्तोषीको मोबाइलमा केन्द्रित भएर अनुसन्धान अघि बढाएको थियो भने अर्कातर्फ उनी बसेको होटल क्षेत्र वरपर सोधपुछ गर्न थालेको थियो ।

सन्तोषीले विभिन्न चराचुरुङ्गी लगायत जनावरको आवाज निकाल्ने भएको हुँदा  प्रहरीले छोटो समयमा नै उनी गएको चिया पसल पत्ता लगाउन सफल भयो । चिया पसल पत्ता लागेपछि प्रहरीको अनुसन्धानले उक्त चिया पसलमा सन्तोषी बसेको अवधिभर को को मानिसहरु आएका थिए भन्ने तर्फ मोडियो ।

उक्त अनुसन्धानमा प्रहरीले सुरेश पनि उक्त चिया पसलामा आएको र घटनापछि कोठामा नभएको पत्ता लगायो । कोठामा नभेटिएपछि सुरेशमाथि शंका गरेको प्रहरीले कोठा जाँच गर्दा रगतले लत्पतिएको कपडा र सन्तोषीको मोबाइल फेला पारेको थियो ।

त्यपछि सुरेशको खोजी कार्यलाई अघि बढाएको प्रहरीले आफन्तको घरमा गएको सुइको पायो । त्यसपति काठमाडौँको असनबाट उनलाई पक्राउ गर्न सफल भएको थियो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : १८ बजे

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।