व्यासको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा « Khabarhub
Logo
२० श्रावण २०७८, बुधबार

व्यासको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा



तनहुँ– तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नगरपालिकाले नगर अस्पताल सञ्चालन, कृषिमा व्यवसायीकरण र पर्यटन क्षेत्रको प्रबद्र्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीबाट जीवनरक्षाका लागि सङ्घीय सरकार, प्रदेश सरकार, सबै पालिका र नागरिक समाजको सहभागितामा दुम्सीबजारको आधारभूत स्वास्थ्य चौकीमा पिसीआर परीक्षण प्रयोगशाला सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हाल कृषि विकास बैंकको भवनमा २५ श्ययाको आइसोलेशन केन्द्र स्थापना गरिएकामा आगामी वर्ष दुम्सी बजारमा रहेको आधारभूत स्वास्थ्य केन्द्रअन्तर्गत नगरपालिका मातहतमा रहने गरी अस्पताल सञ्चालन गर्ने नीति लिइएको उपप्रमुख जोशीले बताए । विद्यमान कोरोना महामारीबाट प्राप्त तितो अनुभव र यसले सिकाएको पाठलाई ध्यानमा राखी दमौलीस्थित जिल्ला अस्पताललाई एक सय श्ययामा विस्तार गर्ने गरी व्यास–११ पोल्याङमा करिब एक सय रोपनी जग्गा उपलब्ध गराउने र गुरुयोजना तयार गरिने जोशीले बताए ।

हाल सञ्चालित दमौली अस्पताललाई भने नगरपालिकाअन्तर्गत ल्याउन सम्बन्धित निकायमा पहल गर्ने नीति लिइएको छ । जिल्ला अस्पतालमा न्यूनतम एक सय श्ययामा डायलासिस, सुत्केरी, आइसियु, भेन्टिलेटरको विशेषज्ञ सेवा र सुविधा उपलब्ध गराउन पहल गरिनेछ ।

नगरपालिकाले स्वास्थ्य संस्थाको सेवालाई स्तरीकरण गर्दै हरेक वडामा स्वास्थ्य स्वयंसेविकको सहयोगमा सरुवा रोगलगायत सङ्क्रमणबाट नगरवासीलाई सुरक्षित राख्न व्यवस्था मिलाउने नीति लिइएको उपप्रमुख जोशीले बताए । कोरोना कहरका कारण वैदशिक रोजगारीबाट घर फर्किएका युवालाई लक्षित गरी विविध कार्यक्रम ल्याउने नगरपालिकाले जनाएको छ ।

उनका अनुसार नगरपालिका क्षेत्रभित्र रहेका निजी तथा सार्वजनिक अवस्थाका खाली जमीनको उत्पादनशील ऊर्जालाई खेर जान नदिन र कृषियोग्य भूमिको उपयोग गरी कृषि उत्पादनलाई बढवा दिइनेछ । आगामी वर्ष नगरपालिकाले कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण र विशिष्टकरण गर्दै स्थानीयस्तरको उत्पादन वृद्धिमा जोड दिने नीति अवलम्बन गरेको छ ।

कृषि उत्पादनलाई सङ्कलन गर्न हरेक वडामा न्यूनतम एक कृषि उपज सङ्कलन केन्द्र र बजारीकरणका लागि कृषि उपज ढुवानी गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइनेछ । नगरपालिकाले आलु, लसुन, प्याजको पकेट क्षेत्र निर्धारण गरी उत्पादनमा लाग्ने किसानलाई अनुदानको व्यवस्था मिलाउने भएको छ । नगरको विकासमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिकस्थलको पहिचान गरी पर्यटन क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासका लागि कानून निर्माण गर्ने नीति अवलम्बन गरिएको छ ।

एक सय आठ फिटको व्यासमूर्ति, व्यास गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला, ऐतिहासिक तनहुँसुर दरबार, मानुङकोट, गलेखामकोट, कालिका शहीद जङ्गलपार्क, क्यामिन कालिका, सिद्धेश्वरी राजापानी महादेव, छाङ्गावाराही मन्दिरको संरक्षण र सम्बद्र्धन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

वडा नं १० दुम्सीचौरमा पर्यटकीय प्रबद्र्धनका लागि नारेश्वर ताल निर्माण सम्पन्न गर्ने र भानुघाँसी स्मारक पार्कलाई व्यवस्थित गर्ने नीति लिइएको उपप्रमुख जोशीले बताए । उनका अनुसार मानुङ यात्राका लागि केबलकार, मानुङकोटमा तारे होटल निर्माण, शिशा पुल निर्माण, जीप लाइनलगायतका निर्माण कार्यका लागि निजी लगानीकर्तालाई आकर्षित गरी साझेदारी गर्ने नीति लिइएको छ ।

नगरसभामा नगरप्रमुख वैकुण्ठ न्यौपानेले स्रोत र सीमामा रहेर कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालगायत पूर्वाधार निर्माणका कार्य गर्दै आएको बताए ।


भर्खर

0