भारतमा फैलिएको दोस्रो लहरले प्रभावित विश्व « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

भारतमा फैलिएको दोस्रो लहरले प्रभावित विश्व



काठमाडौँ- भारतमा बढेको कोरोना महामारीका कारण संसारका सबै देशमा भ्याक्सिन उपलब्ध गराउने अभियानमा ठूलो धक्का लागेको छ । हालसम्म विश्वव्यापी रूपमा उपलब्ध हुनुपर्ने १४ करोड डोज भ्याक्सिनमा असर परिसकेको छ ।

महामारी बढ्दै भएपछि भारतले गत मार्चमा भ्याक्सिन अन्य देशमा नपठाउने नीति लियो । यसपछि कोभ्याक्समा सबैभन्दा बढी डोज उपलब्ध गराउने सेरम इन्स्टिच्युटले खोप उपलब्ध गराएको छैन ।

भ्याक्सिन खरिद गरेर कोभ्याक्सलाई उपलब्ध गराउने युनिसेफले जी सेभेन राष्ट्रका साथै युरोपेली युनियनसँग आफूले खरिद गरेको भ्याक्सिन बाँडफाँडको लागि अनुरोध गरेको छ ।

आउने जुनमा लन्डनमा हुने भेटवार्ताले यसबारे एउटा बाटो तय हुने अनुमान गरिएको छ । युनिसेफले ती देशले १५ करोड ३० लाख डोज सहयोग गर्न सक्ने जनाएको छ ।

सेरम इन्स्टिच्युटले कोभ्याक्सलाई यस वर्षको अन्त्यसम्ममा २ अर्ब डोज भ्याक्सिन उपलब्ध गराउने जनाएको थियो । तर, मार्च अप्रिल र मेमा एक डोज पनि उपलब्ध गराएन ।

युनिसेफका कोभ्याक्स संयोजक जियान गान्धीले अवस्था कहिले सामान्य हुन्छ भन्ने अनिश्चित छ भनेका छन् । उनले भारतको अवस्था सुधार भए पनि उसले कहिले सबै खोप आपूर्ति कहिले थाल्छ भन्ने पनि अनिश्चित रहेको उनको भनाइ छ ।

युनिसेफले धेरै देशले आफ्नो देशको जनसंख्या भन्दा धेरै बढी भ्याक्सिन अर्डर गरेका कारण कोभ्याक्समा उपलब्ध गराउन भनेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गरिब देशलाई भ्याक्सिन सहयोग गर्ने भनेका भए पनि कहिलेदेखि भन्ने निचित छैनन् । अमेरिका पनि यही अवस्थामा छ ।

क्यानडाले ३३ करोड ८० लाख डोज अर्डर गरेको छ, उसको जनसंख्याको आवश्यकताभन्दा ५ गुणा बढी । बेलायतले ४५ करोड ७० लाख डोज अर्डर गरेको छ, आवश्यकताभन्दा साढे तीन गुणाभन्दा बढी । युरोपेली युनियनले १ दशमलव ८ अर्ब डोज अर्डर गरेको छ, आवश्यकताभन्दा २ दशमलव ७ गुणा बढी ।

अस्ट्रेलियाले १२ करोड ४० लाख डोज अर्डर गरेको छ, जनसंख्यालाई पुग्ने भन्दा साढे दुई गुणा बढी । अमेरिकाले १ अर्ब २० डोज अर्डर गरेको छ, आवश्यकताभन्दा दुई गुणा बढी ।

युनिसेफले जी सेभेन र युरोपेली युनियनले अर्डर गरेको मध्ये जुन, जुलाई र अगस्टमा गरी २० प्रतिशत कोभ्याक्सलाई सहयोग गरे १५ करोड ३० लाख राहत हुने जनाएको छ ।

फ्रान्सले जुनमध्यमा ५ लाख डोज उपलब्ध गराउने भएको छ । बेल्जियमले अर्को साता १ लाख डोज कोभ्याक्सलाई दिने भएको छ । स्पेन, स्विडेन र संयुक्त अरब इमिरेट्सले पनि केही डोज खोप अहिले कोभ्याक्सलाई दिने भएका छन् ।

दास्रो लहरमा महामारीले विकराल रूप धारण गरेका देशमा भारतसँगै नेपाल, श्रीलंका र माल्दिभ्स पनि छन् । ब्राजिल र अर्जेन्टिनाको अवस्था पनि त्यतिकै खराब छ ।

अफ्रिकामा पनि समस्या छ । कोभ्साक्समै निर्भर रहने अफ्रिकाका धेरै जना त भ्याक्सिन लिन हिचकिचाउने गरेका छन् । भ्याक्सिन दिन धेरै स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन आवश्यक छ ।

अहिले अफ्रिकामा पहिलो डोज लगाएकालाई दोस्रो डोज सुरक्षित राख्ने किन सबै दिएर दोस्रो डोजका लागि पहल गर्ने भन्ने चिन्ता देखिएको छ । संयुक्त राष्ट्र सङ्घका अनुसार घाना, सेनेगल, बोत्स्वाना र रुवान्डाले त एक डोज नराखी खर्च गरेका गरेका छन् ।

अफ्रिकाका सात देशले कोभ्याक्स सुविधा अन्तरगत पाउने सम्पूर्ण डोज उपयोग गरिसकेका छन् । केन्या र मलावीले कोभ्याक्स मार्फत ९० प्रतिशत डोज उपयोग गरिसकेका छन् । जुनसम्ममा म्याद सकिने र त्यो समयसम्म वितरण भईनसक्ने भएका कारण कङ्गोबाट १ करोड ३० लाख डोज अफ्रिकाका अन्य देशमा पठाइएको छ ।

सन् २०२१ को अन्त्यसम्म २ अर्ब डोज भ्याक्सिन उपलब्ध गराउने कोभ्याक्सको लक्ष्य छ । सबै देशले २० प्रतिशत जनसंख्यालाई भ्याक्सिन उपलब्ध नगराएसम्म कुनै पनि देशले २० प्रतिशतभन्दा बढी जनसंख्याका लागि कोभ्याक्स डोज नदिने नीति छ । यसअन्तर्गत १२२ देशमा हालसम्म ६ करोड डोज पठाइएको छ ।

अहिलेको संकट टार्न राष्ट्र सङ्घले विभिन्न भ्याक्सिन निर्माता कम्पनीसँग नयाँ सम्झौता गरिरहेको छ । यी यावत प्रयासका बाबजुद भारत संकटमुक्त नभएसम्म खोप आपूर्तिको मात्रा चित्तबुझ्दो हुने सम्भावना देखिएको छैन ।

अहिले धनी देशको समस्या समाधान हुँदै आएकोले भ्याक्सिन, उपचार सामग्री र औषधिमा पनि गरिब देशलाई सहयोग गर्न राष्ट्र सङ्घले आह्वान गरेको छ ।

गत जनवरीमा जुन समय युरोप महामारीको पिकमा थियो, यसै समयमा भारतले आफ्नै देशमा उत्पादित कोभ्याक्सिन र कोभिसिल्ड ( अक्सफोर्ड र अस्ट्राजेनिकाको भारतीय उत्पादन) लाई अनुमति दिएको थियो । सुस्त गतिमा भ्याक्सिन दिन थालेको भारतले महामारी बढेसँगै तेस्रो भ्याक्सिनलाई पनि अनुमति दिएको छ ।

जुलाईसम्ममा प्राथमिकतामा परेका २५ करोड लाई भ्याक्सिन दिने नीति लिएको भारतले गति सुस्त गर्‍यो । अहिले परिवर्तित भेरिएन्टका कारण सबैलाई भ्याक्सिन लगाउन आवश्यक देखिन थालेको छ । यसै कारण रुसको स्पुतनिक भीलाई मान्यता दिएको दियो । भारतले फाइजर र मोर्डनाको भ्याक्सिन पनि प्रयोग गर्ने अनुमान गरिएको छ ।

स्पुतनिक भी निर्माण कम्पनी गामलेय इन्स्टिच्युटले पछिल्लो समय स्पुतनिक लाइटको रूपमा नयाँ भर्सन पनि परीक्षण गरिसकेको छ । एक डोजको यो नयाँ भर्सन पनि ७० प्रतिशत भन्दा बढी प्रभावकारी मानिएकाले धेरै देशमा प्रयोग हुने सम्भावना छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड ( आरडीआइएफ) ले भारतमा ७५ करोड डोज भ्याक्सिन बनाउन सम्झौता गरेको छ, विभिन्न ६ वटा कम्पनीसँग । हैदरावादको डा. रेडिज लेबरटरिजले जुन अन्त्यसम्ममा १२ करोड ५० लाख डोज भारत सरकारलाई उपलब्ध गराउने सम्झौता गरेको छ । यसकै निगरानीमा अन्य कम्पनीमा पनि भ्याक्सिन निर्माण शुरू हुनेछ ।

कोरोना भ्याक्सिनको संकट टार्न राष्ट्र सङ्घले भ्याक्सिन निर्माता कम्पनीहरूसँग नयाँ सम्झौता गरिरहेको छ । यावत प्रयासका बाबजुद भारत संकटमुक्त नभएसम्म खोप आपूर्ति चित्तबुझ्दो मात्रामा हुने सम्भावना देखिएको छैन ।

भारतमा महामारीको दोस्रो लहर शुरू हुनुअघि भारत बायोटेकले कोभ्याक्समार्फत धेरै देशका भ्याक्सिन दिने अनुमान गरिएको थियो । चौबीस वर्षअघिदेखि भ्याक्सिन बनाइरहेको भारत बायोटेकले यसअघि १६ वटा भ्याक्सिन बनाइसेको थियो । संसारका १२३ देशमा आफ्ना उत्पादन पठाउने गरेको यो कम्पनीले बजार यथावत राख्न पनि कोरोनाको भ्याक्सिन पठाउने अनुमान गरिएको थियो ।

अहिले भारतका चार वटा शहरमा उत्पादन भइरहेको यो भ्याक्सिन भारत बायोटेकले भारत सरकारलाई वर्षको अन्त्यसम्म ७० करोड डोज उपलब्ध गराउने सम्झौता गरेको छ ।

यी बाहेक भारतमै अन्य भ्याक्सिनको काम पनि नभएको होइन । जाइडस क्याडिलाको तेस्रो चरणको काम भइरहेको छ । भारत बायोटेकले नाकमा स्प्रे गर्ने भ्याक्सिनको तयारी गरेको छ । संसारका अहिले चलेका थुप्रै भ्याक्सिन भारतमा उत्पादनका लागि सम्झौता भइरहेको छ ।

हैदरावादको बायोलोजिकल इले अमेरिकी कम्पनी जोन्सनको भ्याक्सिन उत्पादनका लागि सम्झौता गरेको छ । एक डोजमात्र दिइने यो भ्याक्सिनले अमेरिका लगायतका देशमा अनुमति पाइसकेको छ । सेरम इन्स्टिच्युटले अमेरिकामा निर्माण भइरहेको नोभाभ्याक्स कम्पनीको भ्याक्सिनका लागि पनि सम्झौता गरेको छ । अमेरिकामा यो पनि तेस्रो चरणको परीक्षणमा छ ।

हैदरावादकै अर्को कम्पनीले अमेरिकाको डाइनाभ्याक्ससँग सम्झौता गरेको छ । पुनेमा अर्को एक भ्याक्सिन पनि निर्माणको क्रममा छ ।

दोस्रो लहरको महामारी शुरू हुनुअगावै भारतले संसारका ८६ देशमा गरी ८ करोड ४० लाख डोज भ्याक्सिन उपलब्ध गराएको थियो, केही सहयोग स्वरूप र नगदमा ।

भारतले १९० देशमा यो वर्षको अन्त्य सम्ममा २ अर्ब डोज निर्यात गर्ने अनुमान गरिएको थियो । मार्चमा भारत सरकारले अस्ट्राजेनिका र सेरमलाई भारतमा सङ्कट बढेकाले अन्यत्र भ्याक्सिन नपठाउन भन्यो ।

भारतमा महामारी केही घट्न थालेको छ । भारतको महामारीका कबारण संसारका धेरै देश अप्ठेरोमा रहेका छन् । यसमा नेपाल पनि छ । दोस्रो चरणमा कोभिसिल्डको पहिलो खोप लगाउनेले दोस्रो डोज निर्धारित समय (८ देखि १२ हप्ता) मा पाउने सम्भावना न्यून बन्दै गएको छ ।

संसारको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता देश भारतको समस्या समाधान हुने र बिस्तारै अन्य देशको पनि समस्या कम हुने आशा धेरैले गरेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)


भर्खर

0